Wednesday, November 25, 2009

ग्लोवलमा बम


 दमकस्थित ग्लोवल झापाको दमक ११ स्थित ग्लोवल एजुकेशन एकेडमीमा सकेट बम फेला परेको छ ।

शरणार्थी सन्देश




महिला हिँसा विरूद्ध चेतना दिने कार्यक्रम आज भुटानी शरणार्थी शिविर शनिश्चरेमा शुरू भएको छ । उक्त अवसरमा शरणार्थी विद्यार्थीहरू र अंग्रेजी भाषा सिक्ने विद्यार्थीहरू सहभागी भएको र्याली समेत गरिएको थियो । कार्यक्रम दिप प्रज्ज्वलन गरि उद्घाटन गरिएको थियो । उक्त कार्यक्रमका सभापति शिविर सचिव चन्द्रसिंह राइ हुनुहुन्थ्यो भने प्रमुख अतिथि दिगो समाधान सहायक अधिकारी (Assistant Durable Solution Officer) सुशील कार्की रहनु भएको थियो । शनिश्चरे शिविरको आयोजना तथा युएनएचसीआरको प्रायोजकत्वमा भएको उक्त कार्यक्रममा साँगितिक तथा प्रतियोगितात्मक चित्रकला प्रदर्शनी पनि गरिएको थियो । सो कार्यक्रम आजदेखि १६ दिनसम्म चल्ने बताइएको छ ।





खुदुनाबारी शरणार्थी शिविरका शिक्षकहरुलाई धम्क्याएको अभियोगमा त्यहाँका तीन शरणार्थी युवा पक्राउ परेका छन् ।

गएको सोमबार पक्राउ पर्नेहरुमा खुदुनाबारी शिविरको सेक्टर डि १ का अजित सेन्चुरी, मणिकुमार बिश्व र सेक्टर डि४ का प्रविण अधिकारी रहेका छन् ।

उनीहरुले त्यहाँका केही शिक्षकहरुलाई हस्तलिखित पर्चा मार्फत ब्यवहार नसुधारे ज्यान लिने धम्की दिएको प्रहरीले जनाएको छ । तर पर्चामा कुन ब्यवहार भनेर खुलाइएको भने छैन ।



Tuesday, November 24, 2009

सम्वन्ध सुधारका लागि तालिम

भुटानी शरणार्थी र शरणार्थी प्रभावित क्षेत्रका बासिन्दबीचको सम्बन्ध सुधार गर्न दमक र भद्रपुरमा मेलमिलाप तथा सरसफाई सम्बन्धि तालिम आयोजना गरिएको छ ।


शरणार्थी मामिला सम्बन्धि राष्ट्र संघीय उच्चायोग र लुथरन विश्व फेडेरेसनको आर्थिक र प्राविधिक सहयोगमा ती तालिम आयोजना गरीएका हुन् ।

Monday, November 23, 2009

कलाकार केदार उप्रेतीसँगको वार्तालाप


नेपाली कला सँस्कृतिको उत्थानका लागि शरणार्थी शिविरमा रहेर पनि अहोरात्र खटिनु भएका भुटानी कलाकार केदार उप्रेतीले नेपाली रंगमञ्च तथा चलचित्र क्षेत्रमा आफ्नो एउटा छुट्टै परिचय स्थापित गरिसक्नु भएको छ । करीव एक दशक अघिदेखि कलाकारिताको क्षेत्रमा लाग्नु भएका उप्रेती हालसम्म दशवटा भन्दा बढि चलचित्रमा विभिन्न विधामा संलग्न रहिसक्नु भएको छ । नेपाली चलचित्र जगतमा उहाँ एउटा अभिनय मात्र नभएर लेखन तथा निर्देशनतर्फ पनि कृयाशील हुनुहुन्छ । यिनै प्रतिभाशाली व्यक्तित्व केदार उप्रेतीसँग हाम्रा सहयोगीद्वय अर्जुन तथा लाक्पा तामाङ्गले उहाँकै निवास शनिश्ररे शरणार्थी शिविर सेक्टर इ १,/ छाप्रा नं. १३ मा गर्नु भएको संक्षिप्त कुराकानी

डकुड्रामा रुपान्तरण

मोरङको पथरी, उर्लाबारी, लेटाङ, इन्द्रपुर, जाँतेलगायतका क्षेत्रमा विशेष गरी महिला समूहले समाज रुपान्तरण गरेको कुरालाई डकुड्रामा रुपान्तरण ले समेट्ने प्रतिष्ठानका सामुदायिक विकास कार्यक्रम अधिकृत बन्धु निरौलाले बताउनु भएको छ ।

सञ्चारकर्मी एवं रंगकर्मी भूपेन्द्र तिम्सिनाको लेखन निर्देशन रहेको डकुड्रामाको सुटिङ कार्य शुरु भएको छ ।
गन्तव्य थियटर झापा र कञ्चनजंघा नाट्य समूह मोरङका कलाकार तथा समूदाय परिवर्तन गर्ने स्थानीय महिलाहरुले सो डकुड्रामामा अभिनय गरेका छन् ।

Friday, November 20, 2009

यात्राले जन्माएको कथा


……………म दमक देखि पथरी सम्मको छोटो यात्रामा थिएं । उर्लावारी आइपुग्दा म जाममा परें । दुइ घण्टा पर्खंदा पनि जाम खोलिएन । त्यसपछि गाडीबाट ओर्लिएर प्राकृतिक पाङग्रा चलाउन थालें । मनमा अनेकौ कुरा खेलाउँदै हिड्न थालें । बन्द - के यो परम्परा हो ? विदेशीहरुले दिन प्रतिदिन सीमा मिचिरहेको बेला सडक बन्द हुनुको के अर्थ छ ? कसले सक्छ त्यो मिचिएको सिमा बन्द गर्न ? यस्ता धेरै प्रश्न मभित्र जन्मे र त्यतिकै मरेर गए हजारौं सहिद जस्तै…………..मैले केहिपछि सोचें, के यो सब प्रश्नहरु जन्माउने मेरो अधिकार छ ? (हजारौंलाई हिँडाएर, कुराएर, रुवाएर कहाँ के भयो र के हुदैँछ ? ) म यो राष्ट्रको नागरिक हैन भन्ने सत्यतालाई मैले भूलिरहेको त छैन ? म आफैमा अनुत्तरित हुन्छु । परन्तु म आफैले आफ्नो चित्त बुझाउँछु । आज नेपालको राष्ट्र प्रमुखले हिन्दीमा सफथ लिन्छ भने, म एउटा नेपालीभाषी भएको नाताले यो सब प्रश्न जन्माउनु पाउनुपर्छ । नेपालका राज परिवार एकै चिहान हुँदा यी मेरा आँखा रोएका छन् । दोस्रो जन आन्दोलनको सफलतामा म रमाएको छु ।

बोल्न पाउने अधिकारको पक्षमा


नेपालमा प्रजातन्त्र आए लगत्तैको सन् १९९० को समय भूटानको प्रजातान्त्रिक आन्दोलनको एक महत्वपूर्ण समय थियो । त्यतिखेर भूटानले आफ्नै नागरिकहरूलाई देशभित्र बसेर बोल्न त दिएन नै; देशमा बस्न पनि दिएन । नागरिकहरू शरणार्थी हुन बाध्य भए । भूटानमै छँदा सुरु गरेको ‘बोल्न पाऊँ’ अभियानको धुक्धुकी शरणार्थी बन्दा पनि मेटिएन । फलतः शरणार्थी बनेको करिब एक दशकपछि भूटानी शरणार्थी समुदायमा पत्रकारिता फस्टाउन थाल्यो- बोल्न पाउने अधिकारको खोजी गर्दै ।

आज भूटानी शरणार्थीहरू मध्येबाटै पाँच दर्जनभन्दा बढी पत्रकार जन्मेका छन् । साधन स्रोतको सीमितता अनि अवसरको अभावका कारण उनीहरूले आफ्नो क्षमतालाई तिखार्न सकिरहेका छैनन् । करिब दुइ दर्जन पत्रिका शरणार्थी समुदायको पहलमा उदाए पनि आर्थिक समस्याका कारण लामो समय टिक्न सकेनन् । त्यसो त उदाउँदो कालमा झापाको स्थानीय प्रशासनले पनि शरणार्थी पत्रकारमाथि कुदृष्टि नै राख्यो ।

Thursday, November 19, 2009

दातव्यबाट चलचित्र निर्माण

मायामितु न्यौपाने,
दाताले दिएको भरमा आफनो जीवन गुजारा गरिरहेकाहरुले सिर्जनात्मक काम कति गर्न सक्लान् ? यसको जवाफ दिएका छन् भूटानी शरणार्थी शिविर बेलडाँगीका कलाकारहरुले । उनीहरुले दाताहरुले दिएको थोरै थोरै जोहो गरेर नेपाली चलचित्र क्षेत्रमा एउटा इँटा थप्ने काम गरेका छन् । नेपाली कला, साहित्य र संस्कृतिको मोहका कारण उनीहरुले तिहारलगायतका चाडपर्वमा देउसी भैलो समेत खेलेर त्यसबाट आएको रकम चलचित्र निर्माणमा खर्चिएका छन् ।

शरणार्थी सन्देश


हालसम्म २३ हजारबढी भुटानी शरणार्थी पुनर्बासमा तेस्रो देश गइसकेको संयुक्त राष्ट्र संघीय शरणार्थी सम्बन्धी उच्च आयोगले जनाएको छ ।आयोगले दिएको जानकारी अनुसार पुनर्बास भएका २३ हजार दुइ सय १४ जना भुटानी शरणार्थी मध्ये बिस हजार तिनसय २७ जना अमेरिका लगिएका छन् ।यसैगरि अष्ट्रेलियामा नौ सय ५९ जना , क्यानडामा आठसय ९२ जना , नर्बेमा तीन सय १० जना , डेनमार्कमा तीन सय ५ जना, न्युजिल्याण्डमा दुइसय ९९ जना र नेदरल्याण्डमा एकसय २२ जना शरणार्थी पुनर्बासमा लगिएका छन् ।सात शिबिरमा रहेका एकलाख १० हजार भुटानी शरणार्थी मध्ये अहिले सम्ममा असी हजार चारसय ७७ जना शरणार्थीले पुनर्बासको इच्छा पत्र भरेको पनि बताइएको छ ।

Tuesday, November 17, 2009

धेरै खेलका खेलाडी


फूटवल, भलिवल, क्रिकेट, व्याडमिन्टन, टेवलटेनिस अनि मार्शल आर्ट - यी सवै खेलमा पोख्त एउटै मानिस तपाईहरुले कतै देख्नु भएको छ ? सायद छैन होला । हो, कुनै कुनै मानिस एक-दुईभन्दा बढि खेल खेल्न सक्छन् पनि, तर छ-सात वटा भन्दा बढि खेल खेलेर पदक या पुरस्कार जित्नु पक्कै पनि चानचुने कुरा होइन । धेरैवटा खेल खेलेर धेरै नै पदक र पुरस्कार हात पार्न सफल एक व्यक्तित्व भुटानी शरणार्थी शिविरमा रहेको थाहा पाउँदा तपाईंहरु पनि सायद अचम्ममा पर्नु हुन्छ होला, जसरी म परेको थिएँ ।
उनी हुन् बुवा रनधोज र आमा रुञ्चीमायाका अनमोल रत्नरुपी सन्तान तथा एक बहिनी र एक भाइका प्रेरणाका स्रोत रन बहादुर योङयाङ सुव्वा अर्थात् डेन्डु । हाल भुटानी शरणार्थी शिविर वेलडाँगी, सेक्टर बी २ को छाप्रो नम्वर २१० निवासी सुव्बा भुटानको सर्भङबाट १९ बर्षअघि लखेटिएका आफ्ना आमाबुवाको पछि लागेर शरणार्थीको रुपमा नेपाल प्रवेश गरेका थिए ।

Monday, November 9, 2009

अष्ट्रेलियनल खाद्यान्न सहयोग

अष्ट्रेलियन सरकारको समुद्रपार सहयोग कार्यक्रमले भुटानी शरणार्थीहरुको खाद्यान्न सहयोगका लागि राष्ट्रसंघीय विश्व खाद्य कार्यक्रमलाई पाँच लाख अष्ट्रेलियन डलर (झण्डै साढे तीन करोड रुपैंया) प्रदान गरेको छ । नब्बे हजारको हाराहारीमा सात शिविरमा रहेका शरणार्णीहरुका लागि उक्त रकमले २० दिनको खाद्य आपूर्ति गर्नेछ ।
नेपालका लागि अष्ट्रेलियन राजदुत सुसन ग्रेसका अनुसार

दधिराम विश्व पक्राउ

नचिनेको समूहको आक्रमणबाट मारिएका भुटानी शरणार्थी शिविर वेलडाँगीका अगुवा केवी खड्काको हत्यामा संलग्न भएको आरोपमा थप एक शरणार्थीलाई प्रहरीले पक्राउ गरेको छ ।
दमक प्रहरीका अनुसार यसरी पक्राउ पर्नेमा बेलडाँगी - १ का दधिराम विश्व रहेका छन् । अभियुक्त विश्वलाई शिविरबाट आइतवार प्रहरीले घटनामा संलग्न रहेको दावी गर्दै नियन्त्रणमा लिएको दमक प्रहरी प्रमुख नविन कार्कीले बताए ।
दुइ महिनाअघि सोही शिविर नजिक मारिएका खड्काको हत्यामा संलग्न चारजनालाई पक्राउ गरि कारवाही चलाइएको पनि प्रहरीले जनाएको छ ।
(प्रतिदिनबाट)

Sunday, November 8, 2009

आइओएमको गाडी चलाउन प्रतिवन्ध


आप्रवास सम्वन्धि अन्तराष्ट्रिय संस्था आइओएमले सम्झौता अनुसारको काम नगरेको भन्दै झापाको दमकमा स्थानियवासीले सो सस्थाका गाडी चलाउन आजदेखि प्रतिवन्ध लगाएका छन् ।
भुटानी शरणार्थीलाई तेस्रो मुलुक पुनर्स्थपनाको काम गर्दै आएको सो संस्थाले दमक नगरपालिका क्षेत्रभित्र आइओएम कार्यालय वरीपरीको वाटो कालोपत्रे गर्ने सम्झौता गरेको थियो । २२ महिनाअघि नै यस्तो सम्झौता गरिएपनि हालसम्म सो कार्य नगरेको भन्दै संस्थाका गाडी गुडाउन नदिने निर्णर्य गरिएको स्थानिय पदम कोइरालाले जानकारी गाराउनु भएको छ । सो संस्थाको कार्यालय आसपासमा स्थानिय वासिन्दाले सम्झौता कार्यान्वयन नभएसम्म गाडी चलाउन नदिने वताएका छन् ।


                  खुल्ला प्रगियोगिता

दार्जीलिङ्गमा नाटकसम्पन्धी संगोष्टी सम्पन्न

भारतीय नेपाली नाटकले सयवर्ष पूरा गरेको उपलक्ष्यमा दार्जीलिङ्गलाई मुख्य केन्द्र मानेर अहिले सम्पूर्ण भारतीय नेपाली रङ्गकर्मीहरुले नाटक सतवाषिर्की मनाई रहेका छन् । सो अवसरमा गएको नोभेम्वर १ तारिखका दिन दार्जीलिङ्गमा नाटकसम्वन्धी भव्य संगोष्ठी सम्पन्न भयो ।


प्रकाश आङ्देम्बेसहित सो टोलीमा कवि, गीतकार उपेन्द्र सुव्वा, चलचित्रकर्मी अशोक चेम्जोङ पनि कार्यक्रममा सहभागी थिए । कार्यक्रम पछि आयोजक संस्था गोर्खा दुःख निवारक सम्मेलनले चारैजना कार्यपत्र प्रस्तोतालाई दोसल्ला, अभिनन्दनपत्र र संस्थाको लोगो अँकित मायाको चिनो प्रदान गरेका थिए । साथै भारतीय नेपाली रङ्गकर्मीहरुलाई कार्याशाला दिन केही महिनापछि  संस्थाको आयोजनामा आङ्देम्वे सिक्किम, आसाम, दार्जिलिँग, देहरादुन लगायतको क्षेत्रमा जाँदैछन् ।

Friday, November 6, 2009

‘कविता सिङ्गो सभ्यताको गहना हो’


प्रयास गरे अवश्य नै सफलता मिल्छ’ भन्ने उक्तिलाई सार्थकता दिइसकेका छन् लोद्राई, गेलेफु भुटानमा स्व. आमा-बुबा गंगा माया र भोलानाथ धिमालको कोखबाट वि.सं. २०३२ सालमा जन्मनु भएका युवा कवि मणिराम धिमाल ‘दिपित’ले ।
भारतीय शोक-काव्यदेखि हौसला पाएर बाल्यवस्थादेखि नै साहित्य क्षेत्रमा कलम चलाउँदै आउनु भएका ‘दिपित’ले ‘अविरल आँसु’ कविता संग्रह प्रकाशन गरिसक्नुभएको छ । उहासँग हाम्रा सहकर्मी लाक्पाले गरेको भलाकुसारीको मुख्य अंश :

Thursday, November 5, 2009

२३ लाइ कार्वाही हुने

झापाको दमक स्थित हम्सेदुम्से सामुदायिक बनले २३ जना भुटानी शरणार्थीहरुलाई वन फँडानी गरेको भन्दै कारवाहीको सुचीमा राखेको छ ।
शसस्त्र प्रहरी र बनका पदाधिकारीहरुले गरेको एलआरपीले बेलडागीँ १ का २३ वटा छाप्राबाट अबैध रुपमा राखिएका काठ बरामद गरेपछि बनले कारवाहीको प्रकृया अघि बढाएको हो ।
सामुदायिक बनका अध्यक्ष महेन्द्रसिहं निरौलाले वन फँडानीमा भुटानी शरणार्थीहरुको अधिक सहभागीता रहेको बताउनुभयो । शिविर आसपासका शरणार्थीहरुका बन फडानीमा संलग्न भएको पाइएपछि प्रहरी र बनले शरणार्थीहरको निगरानी बढाएको छ

रिजालको तेश्रो पुस्तक विमोचन



भुटानी मानवअधिकारवादी एवं प्रजातन्त्रवादी नेता टेकनाथ रिजालले जेलमा आफूलाई दिइएका यातनाको विषयमा लेखेको पुस्तक बजारमा आएको छ।
‘टर्चर किलिङ मी सफ्टली’ नामक अंग्रेजी भाषाको यो पुस्तक मंगलबार सविधानसभा अध्यक्ष सुवास नेम्बाङले सार्वजनिक गरे। यसअघि रिजालका नेपाली भाषामा ‘निर्वासन’ र अंग्रेजीमा ‘प्यालेस टु प्रिजन’ प्रकाशित छन्।

Monday, November 2, 2009

साग चोर पक्राउ

भुटानी शरणार्थी शिविर, शनिश्चरेमा शंकास्पद रुपमा साग वेचिरहेको अवस्थामा एकजना चोर पक्राउ परेको छ । साइकलको क्यारियरको दुवैपट्टि चामलको बोरामा साग बोकी शिविरका छाप्रा छाप्रामा बेच्दै हिंडिरहेको अवस्थामा उक्त चोर पक्राउ परेको हो । सोही शिविरको सेक्टर के ३, छाप्रो नं. ३२ को रुद्र बहादुर गुरुङ साग चोरीको अभियोगमा पक्राउ परेको हो ।

साग चोरी भएको थाहा भएपछि सागको खोजी गर्दै शिविरस्थित बाङ्गे बजारतर्फ जाँदै गर्दा बाटोमै सागसहित उक्त चोर फेला परेको सागधनी सोही शिविरको सेक्टर एल ४, छाप्रा नं. ५ का गडुलध्वोज कार्कीले बताए । तेश्रो मुलुक स्तान्तरण भएका परिवारको घडेरी र आफ्नै घर आँगनमा उमारेको साग एक छाक पनि खान नपाई कलिलो छँदै चोरी भएको गुनासो गरेका छन् कार्कीले ।

 

त्यसैगरि सोही सेक्टरका डिल्लीराम बस्नेत, भिम कुमार सार्की लगायत सात-आठ घरको पनि साग चोरी भएको सेक्टर एल का प्रमुख शिवलाल रिमालको दावी छ । उनका अनुसार करिव एक क्वीन्टल जति साग चोरी भएको छ ।

साग चोर रुद्र बहादुर गुरुङलाई शिविर निगरानी टोली (क्याम्प वाच टिम) मा सोधपुछका लागि राखिएको छ भने साग चोरीमा संलग्न अन्य चोरहरु फरार रहेको र थप अनुसन्धान जारी रहेको टोलीका संयोजक दल बहादुर गुरुङले जानकारी दिएका छन् ।

 लाक्पा

 

Sunday, November 1, 2009

खड्का हत्याको मुद्धा जिल्ला अदालत झापामा

भुटानी नेता केबी खड्काको हत्यामा संलग्न रहेका आरोपमा पक्राउ परेका तीनजनाको मुद्धा आज जिल्ला अदालत झापामा पेशी भएको छ ।

उद्घोषण तालिम


भूटानी शरणार्थी शिविर शनिश्चरे अर्न्तगत यूवा मैत्री केन्द्रले दिने आधारभूत उद्घोषण तालिम सञ्चालन गरेको
तालिममा शरणार्थी प्रभावित क्षेत्रका विभिन्न समूहमा संलग्न यूवा शरणार्थी शिविर भित्रका यूवा गरि करिवन ५८ जानको सहभागि मैत्री केन्द्रका संयोजक प्रेम धितालले बताउनु भयो
तालिमलाई प्रशिक्षण नारद तिम्सिना, कमल प्रधान दधिराम अन्तिमले दिनु को थियो उद्घोषण तालिम लगायत अन्य तालिमबाट शरणार्थी शरणार्थी प्रभावित क्षेत्रमा रहेका यूवाविच सुमधुर सम्वन्ध कायम गर्ने उद्देश्य रहेको मैत्री केन्द्रका सहसंयोजक मनोरथ पोख्रेलले तालिमको उद्घाटन सत्रमा महन्त्वय राख्नु भएको थियो
उक्त तालिममा रेडियो सम्बन्धि, मञ्च तथा रंगमञ्च सम्बन्धि जनमानसका अगाडि कसरी उद्घोषण गर्न सकिन्छ भन्नेबारेमा तालिम दिइरहेको धितालले जानकारी दिएका छन्
तालिम कारितास नेपालको सहयोगमा सञ्चालन भइरहेको