Friday, November 20, 2009

यात्राले जन्माएको कथा


……………म दमक देखि पथरी सम्मको छोटो यात्रामा थिएं । उर्लावारी आइपुग्दा म जाममा परें । दुइ घण्टा पर्खंदा पनि जाम खोलिएन । त्यसपछि गाडीबाट ओर्लिएर प्राकृतिक पाङग्रा चलाउन थालें । मनमा अनेकौ कुरा खेलाउँदै हिड्न थालें । बन्द - के यो परम्परा हो ? विदेशीहरुले दिन प्रतिदिन सीमा मिचिरहेको बेला सडक बन्द हुनुको के अर्थ छ ? कसले सक्छ त्यो मिचिएको सिमा बन्द गर्न ? यस्ता धेरै प्रश्न मभित्र जन्मे र त्यतिकै मरेर गए हजारौं सहिद जस्तै…………..मैले केहिपछि सोचें, के यो सब प्रश्नहरु जन्माउने मेरो अधिकार छ ? (हजारौंलाई हिँडाएर, कुराएर, रुवाएर कहाँ के भयो र के हुदैँछ ? ) म यो राष्ट्रको नागरिक हैन भन्ने सत्यतालाई मैले भूलिरहेको त छैन ? म आफैमा अनुत्तरित हुन्छु । परन्तु म आफैले आफ्नो चित्त बुझाउँछु । आज नेपालको राष्ट्र प्रमुखले हिन्दीमा सफथ लिन्छ भने, म एउटा नेपालीभाषी भएको नाताले यो सब प्रश्न जन्माउनु पाउनुपर्छ । नेपालका राज परिवार एकै चिहान हुँदा यी मेरा आँखा रोएका छन् । दोस्रो जन आन्दोलनको सफलतामा म रमाएको छु ।


एउटा नमिठो यथार्थमा झटारिएर आइपुगें । एउटा १७/१८ बर्षकी केटी रातो पिरो भएर उभिरहेकी थिईन् । धन्न बाँची छोरी मान्छे भएको हुनाले । मैले ३३प्रतिशतको भागेदार पनि बनाइनँ । बरु चुपचाप लुगा टकटकाएर बाटो लागें । विष हालेर दिएको अमृतको के अस्तित्व ? पाइला निरन्तर अघि बढाएँ खुल्ला सीमाको फाइदा लिए जस्तै । आकास्मात मेरो आँखा एउटा ठूलो पोस्टरमा पर्यो ‘पर्खी बसें’, म फेरी एक पल्ट नराम्ररी दुखें नेपाल र नेपालीहरु जस्तै । आज देश शंकटमा छ……………सामान्य झाडा पखालाले सयौंको ज्यान गइरहेको छ । कुर्सी अर्काको इसारामा छ , नेपाल सिक्किम हुँदैछ…………यो समय देश चलाउने यूवाहरु एक अर्काको अंगालोमा बेरिएर निदाउनुको के अर्थ छ ? यहाँ अहिले मायालु, यो मायाको सागर, माया नमार………..हरुको के आवश्यक्ता ? अब अर्को वलिदान र आगोको आवाश्यक्ता छ यहाँ । केवल माया जताततै । देश मृत्यु र जीवनको धरातालमा छटपटाइरहेको छ ।………रिक्सा आफ्नै गतिमा थियो ।मेरो मनको गति भने विस्तारै शान्त हुँदै थियो । मेरो मनमा एक प्रकारको हिनतावोध उम्लिरहेको थियो । कारण म नचाहेरै रिक्सा चढिरहेको थिएँ । वास्तवमै गरीबको पसिनामा बुइँ चढ्नु मेरो सिद्धान्तभन्दा बाहिरको कुरा थियो । तर त्यस दिन म बाध्य भएँ बन्दाले……………..।

यात्रा निरन्तर अघि बढिरहेको थियो । चियाका बुट्टाहरुवाट मनै छुने चिसो हावा वहिरहेको थियो । परन्तु ती रिक्सावाला दाइ चिसो हावामा पनि पसिनै पसिना भएर रिक्सा चलाइरहेका थिए । ………..झन्झट लाग्दो गरी मोवाइलको घन्टी बज्यो । विना कुनै उत्सह फोन उठाएँ, नर्वेवाट साथीले गरेको रहेछ, उ नेपालको हालखवर सोध्दै थियो । ठिकै छ भनिदिएं । उ भन्दै थियो – नेपालमा त फेरि आन्दोलन शुरू भएछ नि ? मैले भनें - मैले पनि पत्रिकामा पढेको थिएँ । उसले मेरो भन्दा नेपालको हालखबर बढि सोध्यो । तर मैले कम बताएँ । मैले यति भने सगरमाथा मुस्कुराएकै छ । हिमालहरु दिनप्रतिदिन चुलिएकै छन् । लालीगुरासँ फुल्न छाडेका छैन ।………उ अगाडि बढ्यो , हामीले हाम्रो नेपाली संस्कृति र परम्परा बचाउनलाई यहाँ एउटा अर्गनाइजेसन खोलेका छौं । त्यसको म एउटा सकृय सदस्य हुँ । नेपाली संस्कृति र परम्परा जोगाउने महान कार्यमा लागेको मेरो मित्रलाई मैले धन्यवाद र शुभकामना दिएँ ।
गफको डोरामा झुन्डिरहेका थियौं, फोन काटियो । नेटवर्क गएछ । दुःख लागेन किनकी सधैंजसो जाने नेटवर्क त्यो दिन पनि गयो ।………….
साँच्चै उ जहाँ भए पनि नेपालीपनमा रमाउन चाह्यो, नेपाली संस्कृति र परमपराको संरक्षणमा लाग्न चाह्यो । वास्तवमै म धेरै खुशी भएँ उप्रति । यथार्थमा नेपालीमा आफ्नो नेपालीत्व कहिल्यै, कहिँ पनि घटेन त्यो किन भूटानमा नहोस किन भारतको सिक्किम, दाजिर्लिङमा नहोस आफ्नो अस्तित्वको निम्ती निरन्तर लडेका छन्, नेपालीभाषीहरु गोर्खालीहरु । तर दुःखको कुरा आज सगरमाथाको छहारीमा बसेर राष्ट्र प्रमुख हिन्दीमा सफथ खाँदैछ ।
मेरो छोटो यात्रा एउटा कथा बनेछ….. म यहि प्रार्थना गर्छु कुनै समय नेपाल घुम्न आएछु भने केचनाको थकाई सगरमाथाको छहारीमा विसाउन पाइयोस् । नेपालको एक इन्च माटो पनि मिचिएको नहोस् । अनि म गौरव गर्नेछु, नेपालीपनमा । म विरानो पराइ भूमिमा जाने वेलामा बाचा गर्ने छु । म यो मेरो शिर कुनै पराईसामु झुकाउने छैन वरु यो काटिएर धर्तीमा मिलोस् ।

(घायल भुटानी युवा साहित्यकार हुन् । उनको भर्खरै रूवाइ संग्रह जुन हराएको रात प्रकाशित भएको छ ।)

-प्रवाशी कृष्ण ‘घायल’

No comments:

Post a Comment