Friday, January 29, 2010

युवा मैत्री केन्द्र निर्वाचन

आज पूर्वी भूटानी शरणार्थी शिविर गोलधाप, टिमाई र खुदुनावारी शिविरको युवा मैत्री केन्द्रका निम्ति १८ देखि २५ बर्षसम्मको यूवाहरुविच कारितास नेपालले निर्वाचन २०१० गराएको छ

Thursday, January 28, 2010

अग्निपिडितको विजोग

भूटानी शरणार्थी शिविर बेलडाँगी १को सेक्टर ए/३ छाप्रा नं.४७६बाट बुधबार राति पौने दश बजे निस्केको आगोले २८ छाप्रा जलेर नष्ट भएको थियो भने ४८ वटा छाप्रा भत्काएको थियो । आगलागीले करिबन ४५० जनसंख्या शिविरबाट विस्थापित भई शिविरका विद्यालयहरुमा शरणागत भएका थिए तर तत्काल शरणार्थी शरोकारवालाहरुले उनीहरुलाई राहत वितरण गरि पिडामा मलहम लगाउने कार्य गरेको थियो ।
आगलागी भएका छाप्राहरू हाल पुनर्निर्माण गर्ने काम भइरहेको छ तर यूएनएचसिआर र लुथरन विश्व फेडेरेसन तथा नेपाल सरकारका प्रतिनिधिहरुविच भएको निर्णयबाट विस्थापितमध्ये २९ छाप्रालाई मात्र त्यस ठाँउमा पुनर्स्थापित गरिने र बाँकी ३० छाप्रालाई तेश्रो मुलुक पूनर्वासका कारण खाली भएका छाप्राहरुमा राखिने बेलडाँगी १का शिविर प्रमुख हर्क बहादुर राईले जानकारी दिनु भयो ।

Monday, January 25, 2010

यूवा मैत्री केन्द्रको चुनाव हुने

यूवा मैत्री केन्द (YFC) ले २०१० को निर्वाचन यहि जनवरी २९ र ३० तारिकका दिन सात शिविरमा गर्ने भएको छ ।
२९ तरिकका दिन पूर्वी भुटानी शरणार्थी शिविर गोलधाप, खुदुनावारी, टिमाईमा हुनेछ भने ३० तारिकका दिन शनिश्चरे, बेलडाँगी १,२ र ३ क्याम्पमा हुने युवा मैत्री केन्द्रका कार्यक्रम संयोजक फादर पिटर जोङ लेप्चा एस.जे ले बताउनु भएको छ ।
प्रत्येक वर्ष हुने निर्वाचनमा १६ जनालाई प्रत्यक्ष रुपमा निर्वाचन गराईन्छ । प्रजातान्त्रिक रुपमा हुने निर्वाचनमा १८ बर्षमाथि र २५ बर्ष मुनिका यूवायुवतीहरुको सहभागिता रहेको हुन्छ । हरेक कार्यहरु कारितास नेपाल अर्न्तगत यूएनएचसिआरको सहयोगमा शरणार्थी शिविर भित्रका युवाहरुलाई शिप विकाश, समाज परिवर्तन जस्ता कार्यमा सहकृया गराई शिविरलाई शान्त बनाउने उद्देश्यले २००६मा यसको स्थापना गरिएको कार्यक्रम संयोजक बताउनु हुन्छ ।

Sunday, January 24, 2010

शरणार्थी सेरोफेरो

आवेदन दिएर तेस्रो मुलुक पुर्नवास भएका भुटानी शरणार्थीहरुले पुर्नवास भएकै मुलुकहरुबाट समेत स्वदेश फिर्तिको आन्दोलन शुरु गरेका छन ।आन्दोलन सुरु गरेका भुटानी शरणर्थीहरुले तेस्रो मुलुक पुर्नवास भुटानी नागरीकको उद्देश्य नभएको र पुर्नवासले शरणार्थी समस्या समाधान नहुने ठहर समेत गरेका छन् । स्वदेश फिर्तीको लागि भुटानी सरकारलाई दवाव दिनुको साटो पश्चिमी धनी देशहरुले शरणार्थीको मनोभावना विपरित पुर्नवासको प्रकृया थालेकाले पुर्नवास भएकै मुलुकबाट त्यस्तो आन्दोलन शुरु गरिएको केहि महिनाअघि अमेरिका पुर्नवास भएका एक भुटानी शरणार्थीले जनाएका छन्।उनले स्वदेश फिर्तिको आन्दोलन बुलन्द पार्न पुर्नवास भएका सातबटै मुलुकमा आन्दोलन समिति गठन भईसकेको जानकारी दिएका छन्। उनले अबको केहि दिनमै पुर्नवास भएका मुलुकमा स्वदेश फिर्तीको माग गर्दै शान्तिपूर्ण र्‍याली निकाल्ने तयारी भइरहेको खुलासा गरेका छन्।उनले र्‍याली शान्तीपूर्ण हुने र त्यसमा हस्तक्षेप नगर्न समेत आन्दोलन समितिले त्यहाको सरकारलाई जनाइसकेको वताएका छन् ।आन्दोलन समितिले केहि दिनअघि विज्ञप्ति निकालेर आफुहरुको स्वदेश फिर्ती आन्दोलनमा सहयोग गरीदिन विश्व समुदायलाई अपिल समेत गरिएको उनले जनाएका छन् ।आफ्नो परिचय नखुलाई दिन आग्रह गर्दै उनले भुटानको जोताहा प्रवृतिको विरुद्ध तेस्रो मुलुकवाटै विद्रोह गर्ने चेतावनी पनि दिएका छन् । झापा मोरङका विभिन्न सातवटा शरणार्थी शिविरवाट अमेरीका अष्ट्रेलिया, नर्वे, क्यानाडा, डेनमार्क, न्युजिल्याण्ड र नेदरल्याण्डमा २७ हजार भुटानी शरणार्थि पुर्नवास भइसकेका छन् ।तेस्रो मुलुक पुर्नवासका लागि ८० हजार ७ सय २८ जनाले अभिरुचि देखाएर आवेदन दिएपनि सयौं शरणार्थी भुटान नै फर्काइनु पर्ने अड्डी कसेर वसेका छन् ।

आगलागीसम्बन्धि थप तथ्य तथा राहत वितरण

भुटानी शरणार्थी शिविर बेलडाँगी एकको सेक्टर ए मा गत बुधबार राति भएको आगलागिबाट पिडित शरणार्थीहरुका लागि राहत वितरण कार्य धमाधम भइरहेको छ । उक्त राहत वितरण कार्यको लागि शिविर व्यवस्थापन समितिका सुपरभाइजर हर्क बहादुर राइको संयोजकत्वमा शिविर स्तरीय दैवीप्रकोप व्यवस्थापन समिति पनि बनाइएको छ ।
समितिको नामावली, आगलागिसम्वन्धी तथ्य तथा राहत वितरण सम्वन्धी जानकारी जस्ताको तस्तै -

Friday, January 22, 2010

राहत वितरण शुरू


झापाको भूटानी शरणार्थी शिविर बेलडाँगी १ मा भएको आगलागीले विचल्नीमा पारेका शरणार्थीलाई आज विभिन्न दातृ निकायले बन्दोबस्तीका सामाग्री लगायत खाद्यान्य उपलब्ध गराएको छ ।
नेपाल रेडक्रस सोसाईटी झापा शाखाले भाडाबर्तन १सय२४ थान, व्लाङकेट ६२ थान, कपडा ५४ थान उपलब्ध गराएको छ । क्यारिटस नेपालले सिरक २८, कराई २८, मख ७६, जग १५२, तौलिया ७६ थान उपलब्ध गराएको संस्थाका स्टोर तथा लजिस्टिक अफिसर पुन्य प्रसाद पराजुलीले बताउनु भयो ।

इयु प्रतिनिधिले बुझिन शरणार्थीको हालखवर


यूरोपियन युनियनले भुटानी शरणार्थीहरुलाई दिँदै आएको सहयोग आगामी सन् २०११ देखि रोक्ने निर्णय भइसकेको अवस्थामा उक्त सहयोग निरन्तर राख्न युएनएचसीआरले गरेको आग्रहपछि युनियनले सो सहयोग रोक्ने कि नरोक्ने भन्ने विषयमा जानकारी लिन स्थलगत भ्रमणमा खटिइ आउनु भएकी युनियनकी प्रतिनिधि शिला बी. रिड र शरणार्थी समन्वय इकाइका प्रमुख हर्क बहादुर राई विच भेटघाट तथा छलफल भएको छ ।

Wednesday, January 20, 2010

वेलडाँगी एक मा आगलागी

हिजो राति ९:४० बजेदेखि भुटनी शरणार्थी शिविर वेलडाँगी १ को सेक्टर ए३, छाप्रा नं. ४७६ बाट शुरु भएको आगलागीबाट ६० छाप्रा जलेर ध्वस्त भएका छन् भने त्यती नै संख्या अरु छाप्रा भत्काइएको छ । आगलागि नियन्त्रणका लागि तत्काल दमकल नआएप्छि शरणार्थी, सशस्त्र प्रहरीका साथै स्थानीय युवाहरुको सयहोगमा करिव १ घण्टामा आगो पूर्ण रुपमा नियन्त्रणमा आएको थियो ।

आगलागिबाट विस्तापित भएका परिवारहरुलाइ अहिले शिविर व्यवस्थापन समितिको कार्यालय, विद्यालय र वालमञ्चको कार्यालयमा आश्रय दिइएको छ । उनीहरुलाई लुथरन विश्व फेडेरेसन र अन्य सरोकारवालाहरुले राहत वितरण कार्य गर्नका लागि ती निकायका प्रतिनिध अवलोकन भ्रमणका लागि घटनास्थलमा गएका छन् ।
आगलागिबाट कुनै पनि मानविय क्षति भएको छैन ।

फोटोका लागि www.titopiromitho.com मा हेर्नु होला ।

Thursday, January 7, 2010

दीपाको समुच्च चिन्तन




हङकङमा बसेर नेपाली साहित्य सिर्जनामा लाग्नु भएकी झापा दमककी स्रष्टा दीपा एवाई राईले   समुच्च विचार नामक नयाँ चिन्तन अघि बढाएकी छिन्  ।
गन्तव्य थियटरको आयोजनामा दमकमा सम्पन्न कार्यक्रममा राईले अघि सारेको नयाँ चिन्तनको विषयमा चर्चा परिचर्चा गरिएको छ । कार्यक्रममा कवि कृष्णभूषण बलले नयाँ चिन्तनहरु जीवनका लागी सार्थक हुनु पर्नेमा जोड दिँदै भने “कुनै पनि चिन्तन जन्मनु ठूलो कुरा होइन, त्यसलाई जिवन्तता दिनु मूल कुरा हो” ।
, प्रा.डा टंक न्यौपानेले कार्यक्रममा बोल्दै चिन्तन लिएर अघि बढेको सम्भवत पहिलो महिला स्रष्टा भएको हुन सक्ने बताएका छन् । “हालसम्म नेपाली साहित्यमा पछिल्लो समयमा आएका ५ वटा चिन्तनलाई समेट्ने गरी दिपाबाट समुच्च चिन्तन आएको छ । महिला वर्गको नेतृत्व गर्दै यस्तो चिन्तन अघि बढ्नु अत्यन्त खुशीको कुरा हो ।” न्यौपानेले भने । राईको चिन्तन र हालै प्रकाशित सोही चिन्तनमा आधारित कविता कृति अर्धवृत्तमाथि संगीतकार मणिकमल क्षेत्री, साहित्यकारहरु डा. बद्रीविशाल पोखरेल, कृष्ण बराल, मनु मन्जिल, प्रकाश आङदेम्बेले समेत चर्चा गरे । यसअघि सो संग्रहको काठमाण्डौमा लोकार्पण भइसकेको छ ।

Tuesday, January 5, 2010

शिपमूलक तथा ब्यक्तित्व विकास तालिम सम्पन्न


भूटानी शरणार्थीको शैक्षिक सहायता संस्था कारितास नेपालको आयोजनामा "शिपमूलक तथा ब्यक्तित्व विकास" सम्बन्धि एक दिने अभिमुखिकरण गोष्ठी आज दमकमा सम्पन्न भएको छ ।
गोष्ठीमा भूटानी शरणार्थी शिविरका उच्च माध्यमिक विद्यालयमा अध्यनरत र १८ वर्षदेखि माथिका युवाहरु, जो वर्तमान परिप्रेक्ष्यमा शरणार्थी सरोकारवालाको सहयोगमा शिविरबाहिर गएर शिपमूलक कार्यक्रम सिक्दै आएका छन्, उनीहरुलाई नै आधार बनाएर अभिमुखीकरण तालिम गराइएको हो । सात शिविरका १६० जना शरणार्थीलाई सो तालिम दिने योजना रहेको छ । हाल कारितास अर्न्तगत झापामा विभिन्न इन्ष्टिच्यूटहरूले शरणार्थी विद्यार्थीलाई शिपमूलक कार्यक्रम दिँदै आएका छन् । त्यस मध्ये लेखासम्वन्धी, स्काफोल्डिङ्ग, हाउस वाइरिङ्ग, प्लम्विङ्ग, एडभान्स कम्प्यूटर का साथै अन्य जीवन उपयोगी तालिममा सहभागि भएकाहरूका लागि सो तालिम प्रदान गरिएको हो ।

Monday, January 4, 2010

गोलधापमा चेम्जोङको जन्मजयन्ती मनाइयो ।

झापाको गोलधाप भूटानी शरणार्थी शिविरमा किरात इतिहासविद् इमानसिङ चेम्जोङ्गको १०७औं जन्मजयन्ती भव्यताका साथ मनाईएको छ । 

शिविर व्यवस्थापन समिति र किरात परिवारको आयोजनामा सम्पन्न सो कार्यक्रममा शरणार्थी समाजसेवी, अगुवा तथा शिक्षकलाई सम्मान गरिएको थियो । सम्मानित हुनेहरुमा श्री भागवत निरौला, भानु घले, लक्ष्मी दहाल र चेतन खनाल हुनुहुन्थ्यो ।
शिविर व्यवस्थापन समितिका अगुवा तथा सचिव भानु गुरुङ्गको सभाध्यक्षता सम्पन्न सो कार्यक्रममा प्रमुख अतिथि किरात धर्म तथा सहित्य उत्थान संघका केन्द्रिय उपाध्याक्ष देवदास राई रहनु भएको थियो भने भूटानी गजलकार याम थुलुङ्ग विशेष अतिथि हुनुहुन्थ्यो । साथै शरणार्थी अगुवा बम बहादुर राईलगायतको आतिथ्यता रहेको सो कार्यक्रममा विभिन्न वक्ताहरुले किरात गुरू इमानसिङ चेम्चोङले किरात धर्ममा पुर्याउनु भएको योगदानका बारेमा मन्तब्य राखेका थिए ।
किरात परिवारबाट सो अवसरमा विभिन्न झाँकी तथा नृत्यहरु प्रर्दशनसमेत गरिएको थियो ।

Friday, January 1, 2010

Happy New Year 2010

नयाँ बर्ष २०१० को हार्दिक शुभकामना