Thursday, November 19, 2009

दातव्यबाट चलचित्र निर्माण

मायामितु न्यौपाने,
दाताले दिएको भरमा आफनो जीवन गुजारा गरिरहेकाहरुले सिर्जनात्मक काम कति गर्न सक्लान् ? यसको जवाफ दिएका छन् भूटानी शरणार्थी शिविर बेलडाँगीका कलाकारहरुले । उनीहरुले दाताहरुले दिएको थोरै थोरै जोहो गरेर नेपाली चलचित्र क्षेत्रमा एउटा इँटा थप्ने काम गरेका छन् । नेपाली कला, साहित्य र संस्कृतिको मोहका कारण उनीहरुले तिहारलगायतका चाडपर्वमा देउसी भैलो समेत खेलेर त्यसबाट आएको रकम चलचित्र निर्माणमा खर्चिएका छन् ।




उनीहरुलाई देशप्रतिको माया औधी छ । देश दुखेको छ छातीभरी । देश दुखेको पीडा बोकेर पनि उनीहरु कला र साहित्यको लागि मरि मेटेर लाग्ने गरेका छन् । यतिखेर तिनै युवाहरु चलचित्र निर्माणमा जुटेका छन् । विशेष गरी युवाहरु कला साहित्यतर्फ आर्कषित भएका छन् । १७ वर्षीय शरणार्थी भीम ओडारीको लेखन तथा निर्देशन रहेको नेपाली चलचित्र रहस्य आफनोपनको हालै झापाको दमकस्थित बेलडाँगी शिविरमा शूभमूहुर्त सम्पन्न भएको छ। शरणार्थी कलाकार तथा कार्यकारी निर्माता सुरज राईले चलचित्रको शूभमूहुर्त गरेका हुन् ।


स्वेदश फिर्तीको आशा मर्दै गएपछि शरणार्थीहरुले विकल्पको रुपमा पुनर्वासलाई रोज्दै आएका छन् । सधैं शरणार्थी भएर बाँच्नु भन्दा पुनर्वासलाई उत्त्म ठान्दै धेरै सर्जकहरुले कृति छाडदै पुनर्वासमा जाँदै गरेका छन् । चलचित्र रहस्य आफनोपनको पनि निर्माणपछि यसका कलाकारहरु पुनर्वासमा जाने बताएका छन् ।


कतिले पनुर्वासको म्याद सारेर समेत सुटिङ गरिरहेको शरणार्थी पत्रकार अर्जुन प्रधानले बताए । सम्पूर्ण शरणार्थी कलाकारहरुले सामुहिक रुपमा निर्माण गरेको चलचित्रको विषयवस्तुले शरणार्थीले भोग्नु परेको पीडा मात्र समेटिएको छैन, चलचित्रमा पारिवारिक प्रेमकथालाई पनि उतिकै मार्मिक रुपमा प्रस्तुत गरिएको छ ।चलचित्रले भूटानमा बस्दा भूटानी शासकहरुले गरेको अन्याय र अत्यचारको विषय समेत उठान गरेको छ । शरणार्थी भएर स-साना छाप्राहरुमा जीवन विताउनु पर्दाको पीडा समेत समेटिएको छ। शरणार्थीको साथै साथै सिंगो नेपाली परिवेशलाई समेत छोएको छ।
सन्तोष खालिङको द्वन्द निर्देशन, सरस्वती मगरको नृत्य निर्देशन र सुवास राईको संगीत रहेको चलचित्रमा राकेश गजमेर, उत्तम गजमेर, सरस्वती मगर, महेन्द्र गुरुङ, भूवन राना, बुद्ध भुजेललगायतको अभिनय रहेको छ ।
फोटो - अर्जुन

No comments:

Post a Comment