Friday, November 6, 2009

‘कविता सिङ्गो सभ्यताको गहना हो’


प्रयास गरे अवश्य नै सफलता मिल्छ’ भन्ने उक्तिलाई सार्थकता दिइसकेका छन् लोद्राई, गेलेफु भुटानमा स्व. आमा-बुबा गंगा माया र भोलानाथ धिमालको कोखबाट वि.सं. २०३२ सालमा जन्मनु भएका युवा कवि मणिराम धिमाल ‘दिपित’ले ।
भारतीय शोक-काव्यदेखि हौसला पाएर बाल्यवस्थादेखि नै साहित्य क्षेत्रमा कलम चलाउँदै आउनु भएका ‘दिपित’ले ‘अविरल आँसु’ कविता संग्रह प्रकाशन गरिसक्नुभएको छ । उहासँग हाम्रा सहकर्मी लाक्पाले गरेको भलाकुसारीको मुख्य अंश :


गरेको भलाकुसारीको मुख्य अंश :

वर्तमान समय कसरी बिताउँदै हुनुहुन्छ ?

- हाल म छाप्रामा त्यसै समय बिताइरहेको छु । अविरल आँसुको विमोचन गरेँ । यो पुस्तकलाई भूटानी मनका बारीका पाटा पाटामा रोप्नु थियो । त्यो मेरो सोचाई यथार्थमा पूरा भएको छ । अब एउटा कथा संग्रह निकाल्नु छ । समयले साथ दिएमा प्रकाशित गर्ने नै छु ।

‘अविरल आँसु’ कविता संग्रहमा कस्तो कथा वस्तु समेट्नु भएको छ ?

- यो कविता संग्रहको नामबाट नै प्रष्ट हुने कुरा हो । यसमा भूटानी जनताले यथार्थमा बगाएका आँसुहरु छन् । आँसुको मूल्य नजिकबाट खोजिएको छ । भूटानीहरुको गाँस, बाँस, कपास जस्ता अति आवश्यक बस्तुहरुको अभावलाई कलमको माध्यमले विश्वसामु पस्कने प्रयास गरिएको छ । शरणार्थी भएर जिउनु पर्दाको जीवन, अभाव माथि अन्याय अनि प्राकृतिक प्रकोपको सामना, देशबाट छुटेपछिको खुल्ला आकाशमुनिको बास, यस्तै पीडा र आँसुका शब्दगुच्छाले पूर्ण रहेको छ ‘अविरल आँसु’ कविता संग्रहमा ।

यो शरणार्थी अवस्था अनि संसारको विभिन्न देशहरुमा पलायन हुने परिस्थिति छ यो समयमा पनि तपाई देशप्रति सद्भाव सद्विचार वा भूटान आमा सम्झनु हुन्छ ? तात्पर्य नि ?

- ‘आमा नहुनेलाई सोध, आमाको माया कति हुन्छ भनेर’ आमा जगतकी सृष्टि हुन् । भूटान आमाका सन्तानहरु आज राष्ट्रविहीन भएका छन् । कता भूटान आमाका काखबाट जर्बरजस्ती, अन्यायपूर्वक निस्कनु परेता पनि जन्म दिने आमालाई भुल्न कठिन हुन्छ । त्यसैले जस्तोसुकै परिस्थितिमा बाँच्नु परेता पनि यी भूटानी छोराहरुले आमालाई बिर्सन्छन् भन्ने मलाई लाग्दैन ।

साहित्य क्षेत्रमा प्रवेश कहिलेदेखि भयो ? र कोबाट प्रेरणा मिल्यो ?
- यस प्रश्नको उत्तर दिन अलिक अप्ठ्यारो छ । म समय र परिस्थितिले जन्माएको एउटा साधारण लेखक हुँ । म आफूलाई साहित्यकार वा कविको रुपमा औंल्याउनु पर्छ भन्ने पक्षमा छुइनँ । साहित्य एउटा साधना हो । जसले समय र परिस्थिति सँगसँगै साधना गर्छन् ती साहित्यकार वा कवि हुन् । साहित्य क्षेत्रमा मेरो प्रवेश कसरी भयो भन्ने सर्न्दर्भमा भन्नुपर्दा भारतमा जतिबेला इन्दिरा गान्धीको हत्या भयो, त्यो याम एउटा शोक काव्य रचिएको रहेछ । त्यो काव्य कसबाट रचिएको हो भन्ने पनि मलाई थाहा भएन तर त्यस भित्रका पंक्तिहरु पढ्दा जो कोई पनि रुन्थे । म त्यो याम भूटानको लोद्राई स्कूलमा कक्षा तीनमा पढ्थेँ, त्यो पुस्तक मैले पनि कनीकुथी पढेँ । एउटा लाइन सम्झदैछु । ‘इन्दिरा मारिस के पाइस दुष्ट बरु त पाइस पाप’ यो काव्य पढेपछि मलाई पनि लेख्ने रहर जाग्यो र प्रयास गर्दै गएँ ।
सन् १९९० मा म शरणार्थीको रुपमा विस्तापित भएँ । शरणार्थी शिविरमा विद्यालयको स्थापना पनि भयो म विद्यालयमा पढ्दै गएँ । विद्यालयका शिक्षक ज्यूहरुबाट स्नेह र सहयोग पाउँदै गएँ । वहाँहरुबाट पाएको प्रेरणा र सहयोगले आज यहाँसम्म बामे सरेर आइपुगेको छु ।

अहिले भूटानी जगतमा विशेष गरी गजलको माहोल छ तर तपाईले कविता विधालाई नै प्राथमिकता दिनुभएको छ नि ? किन ?

- मलाई लाग्छ कविता र गजल भनेका एउटै सिक्का दुइ पाटा हुन् । म कविता र गजल दुवै मन पराउँछु र साधना पनि गर्छु । समयको माग अनुसार मैले गजलको पुस्तक भूटानी समाजलाई दिनु थियो तर यो नभएर कविताको पुस्तक दिन सकेँ । कवितामा सजिलै आफ्ना विचारहरु पस्किन सकिन्छ (विशेष गध्य कवितामा) त्यसैले पनि भूटानीहरुका कारुणिक कन्दन समेट्ने प्रयास गरेको छु ‘अविरल आँसु’ कवितामा ।

भूटानी साहित्यलाई कसरी विकास गर्न सकिन्छ जस्तो लाग्छ ?

- हाल सम्मको साहित्यको चर्चा गर्नु पर्दा भुटानीहरुले साहित्य कलामा निक्कै ठूलो विकास गरेको पाइन्छ । तर अहिलेको परिस्थितिमा भन्नुपर्दा भूटानी साहित्यक जगतमा ठूलो भूकम्प चलेको छ । तेस्रो देश पुनर्वासका कारण भर्खर मुना हाल्दै गरेका ती वृक्षहरु पलायन भइरहेका छन् । यो अवस्था अलिक विग्रँदो हो । तर जे भए पनि भूटानी सर्जकहरुले आफ्नो कलमलाई जिवित राख्नु पर्छ र नयाँ नयाँ कृतिहरु जन्माइरहनु पर्छ भन्ने मेरो ध्येय हो ।
एक वाक्यमा भन्नु पर्दा कविता के हो ?
- मेरो विचारमा कविता ‘सिङ्गो सभ्यताको गहना हो’ ।

युवा साहित्य प्रेमी/सर्जकहरुलाई सल्लाह दिनुपर्दा ?

- आफू युवा भएको कारण म के भन्न सक्छु भने साहित्यले नै सिङ्गो समाजको विकास गर्न सकिन्छ । जस्तो सुकै अवस्थामा पनि कलमलाई खियाई रहनु पर्छ र आफ्नो समाजलाई सही मार्गमा हिँडाउन आफू लागिरहनु पर्छ । भूटानी साहित्यिक इतिहासलाई विश्वमान चित्रमा जिवित राख्न सबै युवा सर्जकहरु लागि पर्नु पर्छ ।

अन्त्यमा केही छ कि ?

- अन्त्यमा भन्नुपर्दा अविरल आँसु कविता संग्रह भूटानीहरुका हातमा आइपुगेको छ । यो कविता संग्रहलाई हजुरहरुले पनि पढेर सही र गलत औंल्याइ मेरो कलमको बाटोमा हिंड्न थप प्रेरणा र हौसला मिलोस् र अरु नयाँ कोशेली जन्माउन सकौं । यो छोटो अन्तर्रवार्ता लिई मलाई भूटानी माझ चिनाउन सहयोग गर्नुहुने तपाईलाई हृदयदेखि नै धन्यवाद दिन चाहन्छु ।

No comments:

Post a Comment