Tuesday, November 17, 2009

धेरै खेलका खेलाडी


फूटवल, भलिवल, क्रिकेट, व्याडमिन्टन, टेवलटेनिस अनि मार्शल आर्ट - यी सवै खेलमा पोख्त एउटै मानिस तपाईहरुले कतै देख्नु भएको छ ? सायद छैन होला । हो, कुनै कुनै मानिस एक-दुईभन्दा बढि खेल खेल्न सक्छन् पनि, तर छ-सात वटा भन्दा बढि खेल खेलेर पदक या पुरस्कार जित्नु पक्कै पनि चानचुने कुरा होइन । धेरैवटा खेल खेलेर धेरै नै पदक र पुरस्कार हात पार्न सफल एक व्यक्तित्व भुटानी शरणार्थी शिविरमा रहेको थाहा पाउँदा तपाईंहरु पनि सायद अचम्ममा पर्नु हुन्छ होला, जसरी म परेको थिएँ ।
उनी हुन् बुवा रनधोज र आमा रुञ्चीमायाका अनमोल रत्नरुपी सन्तान तथा एक बहिनी र एक भाइका प्रेरणाका स्रोत रन बहादुर योङयाङ सुव्वा अर्थात् डेन्डु । हाल भुटानी शरणार्थी शिविर वेलडाँगी, सेक्टर बी २ को छाप्रो नम्वर २१० निवासी सुव्बा भुटानको सर्भङबाट १९ बर्षअघि लखेटिएका आफ्ना आमाबुवाको पछि लागेर शरणार्थीको रुपमा नेपाल प्रवेश गरेका थिए ।

आठ बर्षको कलिलो उमेरदेखि शरणागत जीवन जीउन वाध्य उनलाई मनमोहक कमल भएर फूल्न फक्रिन शरणार्थी शिविररुपी दह कहिल्यै वाधक भएन । माध्यमिक तहसम्मको शिक्षा शिविरकै त्रिरत्न माध्यमिक विद्यालयमा हासिल गरेका उनले कालिम्पोडको कुमुदीनी होम्सबाट आइ कम गरेका थिए । त्यस्तै भारतकै सिलिगुढीमा रहेर उनले उत्तर वंगाल विश्वविद्यालयबाट वि.कम पास गरेका हुन् ।

कलिलै उमेरदेखि खेलकुद भनेपछि हुरुक्कै हुने उनी क्रिकेटलाई आफ्नो सबभन्दा मनपर्ने खेलका रुपमा लिन्छन् । उनले शिविरस्तरीय र बाहिर पनि क्रिकेटका खेल खेली धेरै पटक पुरस्कृत भएका छन् । क्रिकेटको कुन पक्षमा तपाई राम्रो खेल्नु हुन्छ ? भनि सोध्दा उनी भन्छन् - क्रिकेटको त म अलराउण्डर हुँ ।
उनले फूटबलका पनि शिविर स्तरीय र बाहिर धेरै खेलहरु खेलेका छन् । विद्यालय जीवनमै उनले कालिम्पोङमा विद्यालय स्तरीय खेलहरुमा उत्कृष्टता प्रदर्शन गरी धेरै पटक पुरस्कृत भएका रहेछन् । उनले भारतमा जिल्ला स्तरीय खेलहरु समेत कुशलतापूर्वक खेलेका छन् । फूटवलका उनी डिफेन्स र हाफलाइन खेलाडी हुन् ।

उनले विद्यालय र क्याम्पस जीवनमा भलिवल, र टेवलटेनिस खेलमा उत्कृष्ट प्रदर्शन गरी दर्शकहरुको वाहीवाही कमाएका थिए । कराँतेका पनि उनी राम्रो खेलाडी हुन् । उनले कराँटेको ग्रीनवेल्ट सम्मको उपाधी हासिल गरेका छन् ।
खेल जीवनमा भोगेका तीतामिठा क्षणहरुको स्मरण गर्दा अधिकाँश समय रमाइलोसँग विते पनि एकाधपटक कुटाइ पनि खानु परेको तीतो यथार्थ उनको हृदयमा एउटा अविस्मरणीय छापको रुपमा रहेको छ, यद्यपि यसलाई एउटा सामान्य घटनाकै रुपमा लिन्छन् उनी ।
अनागरिक भएर बाँच्नुको पिडा अनि खेल खेल्ने क्रममा अनागरिक भएका कारण परेका असुविधा सम्झँदा अहिले पनि उनको मन कताकता कुँडिन्छ । “यदि म यो देशको नागरिक भैदिएको मैले मेरो प्रतिभाको आभालाई अझ बढि विस्तारित गर्न सक्थें होला तर ….” विवसताले रोकिदिन्छ उनको बोली ।
खेलकुदका साथसाथै उनी एउटा राम्रो नर्तक पनि हुन् । विद्यालयमा हुने गरेका विभिन्न साँस्कृतिक कार्यक्रमहरुमा उनले एकल तथा सामूहिक प्रतियोगितात्मक नृत्यहरुमा समेत भाग लिएका थिए ।
एकपटक असफल भएँ भनेर निरास हुने युवा खेलाडीहरुका लागि उनको एउटै सन्देश छ – “असफलता अन्त्य होइन, मात्र यो त एउटा मोड हो ।”
खेलप्रेमीहरुका लागि मात्र उनी राम्रा मान्छे होइनन्, उनी आफ्ना बुवाआमाका लागि पनि केही यस्तो राम्रो काम गर्न चाहन्छन् जस्ले गर्दा उहाँहरुलाई सँधै प्रशन्न पार्न सकियोस् ।
खेलकुदका अलावा उनी एक सकृय सामाजिक कार्यकर्ता पनि हुन् । कारितास नेपालको मातहतमा रहेर उनी शिविरका वयस्कहरुका लागि अंग्रेजी भाषा सिकाउँछन् र उनी त्यहाँका प्रमुख पनि हुन् ।
आइ ओ एमको प्रोसेस के छ भनेर सोध्दा “सँगैका साथीहरु तेश्रो मुलुक पुनर्स्थापना कार्यक्रम अन्तरगत विभिन्न देशहरुमा पुगिसके, मलाई पनि रहर त छ जाने, हेरुँ के हुन्छ ……” भन्छन् उनी ।

No comments:

Post a Comment