Friday, July 31, 2009

"गन्त्ब्य थिएटर" मा तोडफोड



दुइ बर्षअघि दमक-१० स्थापित साँस्कृतिक नाट्यघर "गन्त्ब्य थिएटर" माथि बुधबार राति अज्ञात समृहले तोडफोड गरी कम्पाउण्ड वाल, भवन, बगैंचा र अन्य सामाग्रीहरुमा क्षति पुर्‍याएको छ ।
तोडफोड कसले र किन गर्‍यो भन्नेबारेमा अहिलेसम्म पनि खुल्न नसकेको थिएटरका अध्यक्ष प्रकाश आङदेम्बेले पत्रकार सम्मेलनमा बताउनु भयो ।

सो घटनालाई निकृष्ठ र घृणित आक्रमणको रुपमा थिएटरले लिदैं घोर भर्त्सना गरेको छ भने सम्बन्धित सुरक्षा निकाय, मानबअधिकारवादी संघ-संस्था, सामजिक संस्था, आम नेपाली जनता, सञ्चारमाध्यम र सञ्चारकर्मीहरुमा थिएटरको संरक्षणमा सहयोग पुर्‍याइ दिनसमेत अपिल गरिएको छ ।
समाज र राष्ट्रलाई केहि दिन सकिन्छ भन्ने उद्देश्यले सांस्कृतिक गतिविधि गरि थिएटरले पूर्वाञ्चलमा जनचेतनामूलक काम गर्दै आएको छ ।
>
दमकको पत्रकार मञ्चमा आयोजित पत्रकार सम्मेलनमा थिएटरका अध्यक्ष प्रकाश आङदेम्बे र सचिब दिनेश्वर राजंजशीको हस्तक्षरमा घटनाप्रति दुःख ब्यक्त गर्दै दोषीमाथि कार्यबाहीको मागसमेत राखेका छन् ।
नयाँ नेपाल निर्माणका लागि देशब्यापि सचेतना फैलाउदै, जनमानसमा उजागरण गराउँदै नेपाली कला, साहित्य र संस्कृतिको संरक्षणमा जुटेका कलाकारहरुको साझा मन्दिरमा पटक पटक तोडफोड हुनु राज्यको नै वेइज्जति होइन र ?

Thursday, July 30, 2009

हरिको हत्यारा पक्राउ


अमेरिकका फ्लोरिडामा गत आइतबार भएको भूटानी शरणार्थी हरी अधिकारीको हत्यामा संलग्न एकजना अपराधी पक्राउ परेको छ । हरिको हत्यामा संलग्न भएको आशंकामा आज बिहानै त्यहाँको प्रहरीले उसलाइ पक्राउ गरेको हो । पक्राऊ गरिएका २१ बर्षीय कुख्यात अपराधी ट्रूमैन ब्रान्च भएको ज्याकसनभील डटकमले जनाएको छ ।
अपराधीहरूले अधिकारीको हत्यापश्चात लुटेको मोवायल फोनमा आएको कलका आधारमा हत्यारालाइ पक्राऊ गरिएको हो। हरिको हत्या गरिएको केही घन्टापछि ब्रान्चकी प्रेमिकाले उक्त नम्बरमा कल गरेकी थिइन्। प्रहरीले कल ट्र्याकिंग गरी ब्रान्चकी प्रेमिकाका मध्यमबाट उसलाइ आज बिहान करीब ४ बजे उसकै निवासछेउबाट पक्राऊ गरेको हो। सो घटनाका सम्बन्धमा आफुलाइ थाहा नभएको गरिरहेको उक्त अपराधीलाइ हाल हिरासतमा राखिएको छ। ज्याकसनभीलका शेरिफले ब्रान्चको पक्राऊका बिषयमा आज १:३० बजे पत्रकार सम्मेलन गर्दै छन् भने हत्यामा संलग्न अपराधीलाइ भोली कोर्टमा उपस्थित गराइने भएको छ।
अदालतको रेकर्डका अनुसार हत्यारा ब्रान्च बिगतमा बिभिन्न आपराधिक क्रियाकलापमा संलग्न भएको र जेल समेत बसेको बुझिएको छ। अधिकारी नयाँ भएको र यस्ता नया शरणार्थीहरु धेरै परिश्रम गरि पैसा कमाउने र बैंकमा नराखी खल्तीमै बोक्ने भएकाले उनीमाथि त्यस अपराधीले हमला गरेको प्रसाशनले अनुमान गरेका छन्। बिगत ५ बर्षमा ज्याकसनभीलमा हरी अधिकारी लगायत १९ जना यस्ता नयाँ आप्रवासीहरुको हत्या भैसकेको छ।
उता यस समाचारले ज्याकसनभील स्टोनमोन्ट अपार्टमेंट्समा रहेका मृतकका परिवारले केही हदसम्म राहतको महसूस गरेका छन। हिजै मात्र करीब ६० जना भूटानीहरुको अधिकारीको अपार्टमेन्टमा भएको भेलाले घटनाका अपराधीको खोजी गर्न र शक्त कारबाही गर्न प्रशासन समक्ष आव्हान गरेको थियो र त्यसको लगतै आज बिहानै आएको हत्याराको पक्राऊको समाचारले त्यहाका भूटानीहरुमा आशा छाएको छ कि अपराधीलाइ हदसम्मको कारबाही गरिने छ जसले भोली अर्को भूटानी त्यसको निसाना नबनोस्।
समाचार अनुसार शरणार्थी पुनस्थापना गर्ने त्यहाँको एजेंसी वर्ल्ड रिलीफ़का निर्देशक एलेन कार्सनले अधिकारी परिवारलाइ त्यस अपार्टमेन्टबाट अन्यत्रै सारिने योजना बनाइएको बताएका छन। त्यसै गरी हाल अधिकारी परिवार बस्दै आएको अपार्टमेन्टमा सेक्यूरिटी क्यामरा जडान गरिने, बत्तीहरु थापिने र सकेसम्म सुरक्षाकर्मीलाइ एउटा अपर्मेंट दिइने अपार्टमेन्टका मेनेजरले बताएको जानकारीमा आएको छ
हरीलालको शब हाल प्रशासन समक्ष नै रहेको र करीब ८ दिनसम्म रहने बुझिएको छ। उनको काजक्रियाको लागी ज्याकसनभीलका भूटानी, नेपाली र अन्य संघ-संघठनले सामूहिक सहयोग गर्ने कुरा भैरहेको थाहा भएको छ । साथै वेलडाँगी शिवरमा रहेका मृतक अधिकारीका दाजु भाउजुहरूलाइ पनि आजै यहाँबाट अमेरिकाका लागि लगिने भएकोछ ।

हरिको हत्या लुटेराबाट


एकाविहानै आफ्नै निवासअगाडि छताछुल्ल पोखिएको रगत देख्दा आफ्नै छोराको हो भन्ने कुरा टिका अधिकारीलाई विश्वास नै भएन । तर त्यो उनकै छोराको रगत थियो जसलाई केही घण्टा अघिमात्र वन्दुकधारी लुटेराहरुले गोली हानी हत्या गरेका थिए ।

अमेरिका पुनर्वास भएपछि परिवार धान्ने एकमात्र सहारा हरिको मृत्यु यसरी लुटेराहरुको गोलीले यति अल्पायु हुन्छ भन्ने कल्पना कसले गरेको थियो होला र ? तर निर्दयी हत्यारा लुटेराहरुले केही रकम र एउटा मोवाइल फोनको लागि कल्कलाउँदो उमेरको एक नवयुवकको हत्या मात्र गरिदिएनन्, वृद्ध मातापिताको जीवनको सहारा पनि छिनिदिए ।

पैंसठ्ठी बसन्त पार गरिसकेका टिका अधिकारी गत मार्च २१ मा भुटानी शरणार्थी शिविर वेलडाँगी-२, सेक्टर वि.२, छाप्रो नं. १४५/१४६ बाट आइओएम मार्फत अमेरिका पुनर्वास भएका थिए ।

देवरको मृत्युको खवर सुनेर शोकाकुल मृतक हरीकी भाउजु, वेलडाँगी शिविरस्थित आफ्नै छाप्रामा (फोटो - टिकाराम उप्रेती)

बेलडाँगीको दुःखैदुःखको जीवनबाट मुक्ति पाउनका लागि अमेरिका पुगेका अधिकारी परिवारको सहारा नै गुमेपछि परिवारमा अब के गर्ने भन्ने चिन्ता थपिएको छ ।








मृत छोराको फोटो हातमा लिएका बाबु टिका अधिकारी

Saturday, July 25, 2009

पर्चा-आंतकबारे आइओएमको चासो

नेताहरुमाथि कारबाही गरिने चेतावनी दिदै १५ जुनका दिन राति भूटानी शरणार्थी शिविरहरुमा भएको पर्चा आतंकका सम्बन्धमा शरणार्थी पुनर्वासमा संलग्न अन्तराष्ट्रिय आप्रावास संगठन (आइओएम)ले चासो व्यक्त गरेको छ ।
झापाको दमकस्थित आइओएमका सुरक्षा अधिकारीहरुले लिबरेशन आर्मी अफ भूटानको नाममा शिविरमा टाँस गरिएका पर्चाबाट असुरक्षा बढेको महसुस गरेका छन् । ती अधिकारीहरुले शसस्त्र प्रहरी कार्यालय पाडाजुँगीका सुरक्षा अधिकारीसँग यस विषयमा छलफल अघि बढाएको उल्लेख छ ।
छलफलका क्रममा शिविरमा शसस्त्र सुरक्षाकर्मीको संख्या थपी सुरक्षा मजवुत बनाउन आग्रह गरिएको आइओएम स्रोतले बताएको छ । पर्चा आतंकपछि लिवरेशन आर्मी लगायतका भूमिगत शरणार्थी संगठनप्रति निगरानी बढाइएको सशस्त्र प्रहरीले उल्लेख गरेको छ । सस्त्र प्रहरी बल बेलडागी-एकका स.प्रा.ना.नी प्रदिप कुमार राईलाई एक इस्काइ मोबाइल (९७४२०४६१७१)बाट अपहरण गरि ज्यान लिने धम्कि आएको र्राईले बताउनु भएको छ ।
झापा र मोरङका ७ शिविरमा एक साता अघि टाँसिएका पर्चामा २१ दिन भित्र स्वदेशफिर्तीको आन्दोलन तय नगरिए शरणार्थी नेताहरुमाथि भौतिक कारबाहीको चेतावनी दिइएको छ । पर्चामा शरणार्थी नेताहरु शिविरमा नबसी सुविधाभोगी भएको तथा स्वदेश फिर्ती अभियानलाई वेवास्ता गरी शरणार्थीमाथि धोका दिएको आरोप समेत पर्चामा उन्लेख गरिएको थियो । पर्चामा भनिए झै प्राय जसो शरणार्थी नेताहरु शिविर बाहिर बस्ने गरेका छन् भने शरणाथीमा दिन-दिनै त्रास पैदा भएको छ ।

Friday, July 24, 2009

शिविरमा आतङ्क फैलाउने हामी होइनौं ।

भूटान कम्यूनिष्ट पार्टी (मालेमावादी) का केन्द्रिय संस्थापक सदस्य क.विज्ञानसँग इमेल अर्न्तवार्ता यस प्रकार छ ।

भूकपा मालेमाको विकासक्रम र स्थापना ?
- सन् २००१ को ७ नभेम्बरमा भूटानको एक ग्रामिण इलाकामा उत्पिडित जनताको उपस्थितिका वीचमा स्थापित भयो । यस अघिदेखि नै पार्टी निर्माणको आधारका निम्ति हामी धेरै भूटानी कम्यूनिष्टहरुले गाँउ-शहरहरु भ्रमण गरेका थियौं । त्यसका निम्ति साँस्कृतिक अभियानहरु, विचारगोष्टी, छलफल, अर्न्तकृया र विविध कार्यक्रमहरु सञ्चालन भए । समग्रमा बैदेशिक प्रतिकृयावादको आडभरोसामा टिकेको बर्षौं पूरानो एकात्मक सामन्ती राज्यप्रणालीलाई सदाका लागि अन्त्य गरेर नौलो जनवादी भूटान निर्माणको अपरिहार्यतालाई संष्लेशित गर्दै मालेमावादको मार्ग निर्देशनमा जनवादवाट समाजवाद हुँदै साम्यवादसम्म पुग्ने यूगान्तकारी पहलकदमीलाई ब्यवहारमा बद्ल्यौं । फलतः भूटानी सर्बहारावर्गको अपार माया तथा तमाम नेता कार्यकर्ताहरुका क्रान्तिकारी इच्छाशक्तिका कारण पार्टी तीब्र गतिमा अघि बढ्यो ।


पछिल्लो चरणमा पार्टी दुइ खेमा भएको प्रचार छ नि ?

-हामीले महान् साम्यवादको सपना बोकेका छौं । त्यसलाई साकार पार्नका निम्ति मार्क्सवाद, लेलिनवाद, माओवाद बाहेक अरु कुनै पनि विचार, सिद्धान्त र दर्शन अवैज्ञानिक ठहर्दछ । तत्कालीन पार्टी प्रमुख विकल्प छद्म अवसरवादबाट वर्ग समन्वयबादी संसोधनवाद हुँदै प्रतिकृयावादमा पतन भइसकेपछि हामीले गद्दार विकल्पको चिहान खन्नुको विकल्प केही देखेनौं । क्रान्तिकारी पार्टीको नेतृत्व क. विराटको हातमा इतिहासले सुम्पियो र गद्दार विकल्पलाई गोडाबाट खसाल्यो । यसमा भ्रमित हुने कुनै कारण छैन किनकि आँखाको कसिंगर फालिनु हाम्रो लागि हितकर छ ।

अधिकांश भूटानी तेस्रो देशमा पलायन भए, अब कसरी विश्वास जित्नु हुन्छ ?
-हामीले के कुरा बुझ्न आवश्यक छ भने शरणार्थी समूदयमात्र भूटानी होइन् । निश्चित रुपमा शरणार्थी समूदायले भूटानी नागरिकको संज्ञा पाउनु स्वभाविक हुन सक्छ संख्याको हिसाबले र हिस्सा ओगटेको स्विकार्नु पर्छ । परन्तु राज्य ब्यवस्था परिवर्तनको बाहकशक्ति देशभित्रका जनता नै हुन् । यद्यपि, शरणार्थी समूदाय कर्तब्यविमुख भएर पलायन हुनुभन्दा क्रान्तिमा कुनै न कुनै भूमिका निर्वाह गर्नु महान् ठहर्दछ । मुठी दिएर मुरी लुट्ने राजा बाद्शाहहरुका राहत श्रमिकहरुका निम्ति सधैं अधुरो हुन्छ र अस्तित्वविनाको जीवन विलोपिकृत हुने निश्चित हुन्छ । आगामी दिनमा महान् जनयोद्धाको उठान र विकाशको गतिले संसारका विभिन्न देशहरुमा रहेका भूटानी नागरिकहरुको समेत हामी मन जित्ने छौं।-हामीले के कुरा बुझ्न आवश्यक छ भने शरणार्थी समूदयमात्र भूटानी होइन् । निश्चित रुपमा शरणार्थी समूदायले भूटानी नागरिकको संज्ञा पाउनु स्वभाविक हुन सक्छ संख्याको हिसाबले र हिस्सा ओगटेको स्विकार्नु पर्छ । परन्तु राज्य ब्यवस्था परिवर्तनको बाहकशक्ति देशभित्रका जनता नै हुन् । यद्यपि, शरणार्थी समूदाय कर्तब्यविमुख भएर पलायन हुनुभन्दा क्रान्तिमा कुनै न कुनै भूमिका निर्वाह गर्नु महान् ठहर्दछ । मुठी दिएर मुरी लुट्ने राजा बाद्शाहहरुका राहत श्रमिकहरुका निम्ति सधैं अधुरो हुन्छ र अस्तित्वविनाको जीवन विलोपिकृत हुने निश्चित हुन्छ । आगामी दिनमा महान् जनयोद्धाको उठान र विकाशको गतिले संसारका विभिन्न देशहरुमा रहेका भूटानी नागरिकहरुको समेत हामी मन जित्ने छौं।


वर्तमान पार्टी गतिविधि के-कस्तो रहेका छन् ?
-हामीले थुप्रै चिजहरु गुमाएका छौं, मुख्यतः विकल्पको गद्दारी र अन्य आत्मगत कमजोरीका कारण, थुप्रै साथीहरु जेलमा हुनुहुन्छ, कोहि वेपत्ता हुनुहुन्छ भने कसैले सहादत प्राप्त गरिसक्नु भयो । यो संवेदनशील घडीमा नयाँ चिजहरुको प्राप्ति, तिनको रक्षा, प्रयोग र विकाश हाम्रो निम्ति प्राथमिक काम बनेको छ । देशभित्र र प्रवासमा नयाँ ढङ्गले पार्टी निर्माण गर्दै शसक्त सैनिकदस्ता निर्माण गरेर महान् जनयोद्धाको उठान् गर्नु हाम्रो वर्तमान अभिभारा हो । आत्मगत र बस्तुगत परिस्थितिलाई क्रान्त्ति अनुकुल बनाउन दृढतापूर्वक अघि बढिरहेका छौं । -हामीले थुप्रै चिजहरु गुमाएका छौं, मुख्यतः विकल्पको गद्दारी र अन्य आत्मगत कमजोरीका कारण, थुप्रै साथीहरु जेलमा हुनुहुन्छ, कोहि वेपत्ता हुनुहुन्छ भने कसैले सहादत प्राप्त गरिसक्नु भयो । यो संवेदनशील घडीमा नयाँ चिजहरुको प्राप्ति, तिनको रक्षा, प्रयोग र विकाश हाम्रो निम्ति प्राथमिक काम बनेको छ । देशभित्र र प्रवासमा नयाँ ढङ्गले पार्टी निर्माण गर्दै शसक्त सैनिकदस्ता निर्माण गरेर महान् जनयोद्धाको उठान् गर्नु हाम्रो वर्तमान अभिभारा हो । आत्मगत र बस्तुगत परिस्थितिलाई क्रान्त्ति अनुकुल बनाउन दृढतापूर्वक अघि बढिरहेका छौं ।


शरणार्थी शिविरमा पर्चा लगायत विभिन्न माध्यमबाट जनतालाई आतङ्कित बनाउने हल्ला सुनिन्छ नि ?
-शरणार्थी शिविरहरुमा हामीले निःशस्त्र र मैत्रीपूर्ण कार्यक्रम सञ्चालन गर्दै आएका छौं । त्यहाँ विभिन्न रुपमा आतङ्क फैलाउनेहरुसँग हाम्रो पार्टी असहमत छ ।


सयुंक्त क्रान्तिकारी मोर्चा, भूटानसगँ के सम्बन्ध छ पार्टीको ?
-उहाँहरुले देशभित्र सञ्चालन गर्नु भएको छापामार कार्बाहीहरुप्रति हामी सकारात्मक छौं । भौतिक भेटघाट नभएपनि सामन्तवाद, विस्तारवाद र साम्राज्यवाद विरोधी संघर्षहरु मार्क्सवादको हितमा हुन्छन् ।

वर्तमान सरकारको नीति तथा कार्यक्रममा स्वदेश फिर्ती गर्ने भनेको छ नि ?
-यो सरकारको झुट्टा आश्वासन र प्रचारलाई हाम्रो आलोचनात्मक नैतिक समर्थनको औपचारिकता रहन्छ ।


नेपाली राजनैतिकलाई कसरी हेर्नु भएको छ ?
- साहस र विवेकका धनी नेपाली जनताले दश वर्षिय महान जनयुद्धद्वारा पूरानो राज्य सम्यन्त्रलाई धरासाहि बनाउदै १९ दिने जनआन्दोलनका वीचबाट राजतन्त्रलाई इतिहासको संग्राहलयमा थन्काई दिएका छन् । अब नेपालमा क्रान्ति सम्पन्न हुने आत्मगत र बस्तुगत परिस्थिती अनुकुल हुँदै गएको छ । ए.ने.क.पा.माओवादीले संसार भरिका कम्यूनिष्टहरुलाई नयाँ शिक्षा प्रदान गरेको छ । यो शिक्षा सम्वृद्द हुने या नहुने भन्ने कुराको निर्धारण ए.ने.क.पा. माओवादीको आगामि कार्यक्रमले गर्ने छ । यद्यपि हामी आशावादी छौं ।


अन्त्यमा जनतामा के सूचना प्रवाह गर्न चाहनुहुन्छ ?
-हामी अहिले महान क्रान्तिकारी लडाईको उतारचडावका वीचमा छौं । हामीले अन्तिम तयारीलाई घनिभुत बनाउनुछ । यसखेर हामीले साहसकासाथ आमूल परिवर्तनका निम्ति लड्नुपर्छ, त्याग, तपस्या र बलिदानविना कुनै पनि कायापलट असंम्भब छ । हाम्रो गैरबशाली पार्टीले अंगिकार गरेको बाटोले मात्र घरेलु सामान्तवादको अन्त्य गर्न सक्छ र समतामूलक सुन्दर भूटानको निर्माण गर्नसक्छ । म हाम्रो गौरबशाली पार्टीको तर्फबाट सम्पूर्ण भूटानी सर्वहारा वर्ग र क्रान्तिकारी विश्वजगतलाई हाम्रो क्रान्तिलाई सहयोग, समर्थन गरिदिनका लागि हार्दिक अपिल गर्दछु ।

देश दुखेको पीडा गजलमा


स्वदेश फिर्तीको पटक पटकको पहल असफल भएपछि शरणार्थीहरु निराश भएका छन् । शिविरमा आफनो भविष्य अन्योल देखेर शरणार्थीहरु छातीभरी देशको माया बोकेर तेस्रो मुलुक स्थानान्तरण हुने क्रम जारी छ । यसै क्रममा भूटानी स्रष्टाहरु पनि आपना सिर्जना नेपालमा छोड्दै पुनर्वासमा जाँदैछन् । तेस्रो मुलुक पुनर्वासको सिलसिलामा धेरै सर्जकहरुले आफना सिर्जना छाडेर पुनर्वास भइसकेका छन् । यही क्रममा आशा लाग्दा भूटानी गायक अर्जुन रसाइली पनि छन् । उनले आफनो माया चिनो स्वरुप नेपालीहरुलाई भाव एल्बम छाडेर पुनर्वास हुँदैछन् ।

पिउँदिन भन्थें साथी भाग्य फुटेर पिएँआफ्नो देशसंग आज नाता टुटेर पिएँ ।
देश छ भने मात्र सबै थोक हुन्छ । देशै नभए पछि अरु कुराहरु गौण हुँदा रहेछन् । आफ्नो देशबाट लखेटिएर बस्नु पर्दाको पीडा कस्तो होला ? देश भएर पनि देशविहीन हुनु पर्दाको पीडा कस्तो होला अनि घर भएर पनि घरबीहीन हुनु पर्दाको पीडा कस्तो होला ? त्यो भोग्नेहरुलाई नै थाहा हुन्छ। १९ वर्षदेखि


नेपाली भूमिमा शरणागत जीवन विताइरहेकाहरुको कथालाई पूर्ण नर्जालीले उत्कृष्ट ढंगले भाव एल्बमको सो गजलमा प्रस्तुत गरेका छन् । एल्बमको पहिलो सो गजलमा गायक रसाइलीले आफनो उत्कृष्ट गायन क्षमता देखाएका छन् । छातीभरी देश दुख्दाको पीडालाई रसाइलीले गायकीमा पूर्ण रुपमा न्याय गरेका छन् ।
सिमानाले किन पराइ हुनु पर्छ नेपालीले ।जिते हारे जे गरे नि रुनु पर्छ नेपालीले ।
बिश्वमा बहादुरको उपाधि हात पारेका नेपाली जातिलाई यतिखेर त्यही उपाधिले गिज्याइरहे झैं लाग्छ स्रष्टा प्रकाश धमलाको गजलमा । भुटानी श्रष्टा धमलाले आफनो गजलको शेरमा सिमानाका कारण पराइ हुनु परेको नेपालीको पीडालाई मार्मीक ढंगले उठाएका छन् । उनले भूटानका नेपाली मात्र होइन बर्मा, असामलगायतका ठाउँहरुमा नेपालीहरुमाथि बोलिएको धावालाई समेत उतारेका छन् । उनको गजलको सो शेरले नेपाली भूमिमा शरणागत भुटानीहरुको पीडालाई चाँहि केन्द्रित गरेको छ ।एल्बममा भुटानी श्रष्टा याम थुलुङको तिम्रो दिलको आँगन, कमल धिमाल खल्तिपीडितको जब फाटिसक्यो यो मन बोलका गजलले एल्बम सिंगारिएको छ । नवराज लम्सालको मदिराको मातमा माया गजल जीवनको यर्थाथता बोलेको छ । जीपी ढुंगेलको शिशिरको घाम तिमी र कुमार उप्रेतीको आउँला है आउँला बोलका गीतले पनि उतिकै मिठास बोकेका छन् । सात वटा गीत-गजलमा अर्जुन एक्लैले स्वर दिएका छन् । आउँला है आउँलामा भनें श्रेया मोक्तानले साथ दिएकी छिन् । संगीत दिएका छन्- अर्जुनका साथै उदय सोताङ, सत्यराज आचार्य र स्वरुपराज आचार्यले ।एल्बमको उत्पादन नागरिक मञ्चका अध्यक्ष जीपी ढुंगेल र भुटान गजल मञ्चका अध्यक्ष कमल धिमाल खल्तिपीडितले गरेका हुन् ।भाव एल्बमको लोकार्पणको अवसरमा युवा गायकहरु सत्य /स्वरुपराज आर्चाय भन्दै थिए - “अर्जुन यही ठाउँमा बसिरहेमा एक दिन उसले धेरै गायकहरुलाई पछि पार्नेछ । विदेशमै गएर पनि उसको सम्भावना भने नहराउला ।”
मायामितु न्यौपाने

सभार तितोपिरोमिठो डट कम

शिविरमा विरामी बढे

दमकको आम्दा अस्पतालमा गर्मीले विरामी भएर उपचारका लागि आउने भुटानी शरणार्थीको संख्या बढेको अस्पतालले जनाएको छ । गर्मीमा विशेष गरि शिविरमा ज्वरोका रोगी बढ्ने गरेका छन् । ज्वरोका साथै टाउको दुख्ने, र छालासम्वन्धी रोग समेत देखा परेको छ ।
बेलडाँगी शिविर १ का सचिव टिवी गुरुङ शिविरमा बालवच्चाहरु समेत ज्वरोबाट ग्रसीत भएको बताए । झापा लगायत पूर्वी तराइका जिल्लामा यसपालीको वर्षा ऋतुमा पर्याप्त पानी नपरेको कारण अत्याधिक गर्मी बढेको हुनाले शरणार्थी शिविरहरूमा गर्मीका कारण उत्पन्न हुने रोगका रोगी यसरी बढेका हुन्

Sunday, July 19, 2009

स्वदेश फिर्तीका लागि काठमाण्डौंमा कार्यालय स्थापना

भुटानी दलहरुको मोर्चाले शरणार्थीको स्वदेश फिर्तीको लागि कुटनीतिक स्तरमा छलफल गर्ने काम शुरु गरेको छ ।नेशनल फ्रन्ट फर डेमोक्रेसीले काठमाण्डौंमा कार्यालय स्थापना गरि कुटनीतिक नियोगका अधिकारीहरु सँग छलफल चलाउन शुरु गरेको सभापति बलराम पौडेलले बताउनु भयो ।उहाँले घर फिर्न चाहने भुटानी शरणार्थीको आत्मस्वाभिमान रक्षाको वातावरण बनाउन नेपालका दलहरुसँग पनि छलफल गरिने जानकारी दिनु भयो ।शरणार्थी समस्याको दीघकालिन समाधान स्वदेश फिर्ती मात्र हो भन्ने मान्यता राख्दै आएको मोर्चामा भुटान पिपुल्स पार्टी ड्रूक नेशनल काँग्रेस र भुटान गोर्खा राष्ट्रिय मुक्ती मोर्चा संलग्न छन् ।
पछिल्लो डेढ वर्षमा १६ हजार ६ सय २८ जना भुटानी शरणार्थी पूनर्वासमा अमेरिका लगायतका सात पश्चिमी मुलुक गइसकेका छन ।शरणार्थीलाई पूनर्वासमा लैजाने काममा खटिएको अन्तराष्ट्रिय आप्रवासी सँस्था आइओएमले दिएको जानकारी अनुसार इच्छापत्र भरेका ७० हजार भुटानी शरणार्थी मध्ये १४ हजार सातसय ३२ जना सँयुक्त राज्य अमेरिका पूनर्वास भएका छन ।
यसैगरी दुइसय ७१ जना न्युजिल्याण्ड, एकसय २६ जना नेदरल्याण्ड, एकसय ६४ जना नर्बे, एकसय ७२ जना डेनमार्क, सातसय ८६ जना अष्ट्रेलिया र तीनसय ७७ जना क्यानडामा पूनर्वास भइसकेका छन् ।अहिले सरदर महिनामा एक हजार पाँचसय शरणार्थी पूनर्वासमा गइरहेका आइओएमका भुटानी शरणार्थी पूनर्वास कार्यक्रमका ब्यवस्थापक डेविड डर्थिकले बताउनु भएको छ । डेविडले सन २००९ को अन्त्य सम्ममा २५ हजार शरणार्थी पूनर्वासमा गइसक्ने पनि बताउनुभएको छ । उहाँले चालु शरणार्थी पूनर्वासको कामबाट आँफू सन्तुष्ट भएको पनि बताउनुभएको छ ।

कुखुरा मर्न थाले






झापाको दमकस्थित बेलडाँगी भुटानी शरणार्थी शिविरमा पालिएका कुखुरा मर्न थालेका छन् ।
बिरामी तीन दिनयता कुखुरा विरामी परेका कुखुरा मर्न थालेको शिविर व्यवस्थापन समितिले जनाएको छ ।
बेलडाँगीका तीनवटै शिविरमा दर्जनौ कुखुरामा झोक्राउने, मुन्टो बटार्ने र र्याल काड्ने लक्षण देखिएको छ । कुखुरा मर्न थालेको विषयमा शरणार्थीले शिविर व्यवस्थापन समितिलाई जानकारी गराएको बेलडाँगी १ शिविर सचिव टिबी गुरुङले बताउनु भयो । कुन रोग लागेर ती कुखुरा मरेका हुन भन्ने खुल्न सकेको छैन् ।
झापाको काकरभिट्टा र शरणामतीमामा केही समयअघि बर्डफ्लु फैलिएपछि भुटानी शरणार्थी शिविरबाट समेत कुखुरा हटाइएको थियो । त्यसबेला शिविरका कुखुरामा बर्डफ्लु नभएको परीक्षणबाट पुष्टि भएको थियो ।
शरणार्थीको स्वास्थ्य सहयोगमा संलग्न संस्था आम्दा नेपालले बर्डफ्लु र स्वाईन फ्लु रोगको विषयमा सतर्क रहन शिविर व्यवस्थापनलाई पत्राचार गरिसकेको शिविर सचिव गुरुङले जानकारी दिनु भयो ।

शिविरमा सुरक्षा व्यवस्था कडा बनाइएको छ

भुटानी शरणार्थी शिविरहरुभित्र राजनितिक पार्टीको नाममा त्रास फैलाउने कार्य बढेपछि प्रहरीले बिशेष सुरक्षा सतर्कता अपनाएको छ ।
शिविरभित्र विभिन्न राजनैतिक पार्टीको नाममा पर्चा फाल्ने ब्यक्तिहरुको खोजतलास भइरहेको शिविर सुरक्षा बेश क्याम्पका सइ प्रदिप कुमार राईले बताउनुभयो
त्यसैगरी केही आपराधिक गिरोहले ९७४२०४६१७१ को मोबाइल नम्बरबाट सशस्त्र प्रहरी बल बेलडाँगी-१ का जवानलाई ज्यान मार्ने धम्की पनि आएको बुझिएको छ ।
यस अगाडि लिवरेसन आर्मी अफ भूटानले शिविरको सार्वजनिक स्थलमा स्वदेश फिर्तीको आन्दोलन २१ दिनभित्रमा राजनैतिक पार्टीले अगाडि नबढाए भौतिक काबार्हीको चेतावनी सहितको पर्चा छरेको थियो । घटनापछि शिविरको सुरक्षा व्यवस्था अत्यन्त्यै कडा बनाइएको छ ।

Friday, July 17, 2009

पर्चाले फैलायो त्रास


हिजो-आज शिविर त्रासले शुन्यतामा परिणत भएको छ । पटक-पटक शिविरभित्र विभिन्न राजनैतिक तथा भूमिगत पार्टीका नाममा शरणार्थीहरुको नाममा कालोसुचि गरिएको पर्चा, छाप्रा छाड्न तथा छाप्रा जलाउने धम्की, स्वदेश फिर्ती अगाडि बढाउन दबाब, शरणार्थीको ज्यान मार्ने धम्की जस्ता कुरा उल्लेख गरि राति-राति शिविरको सार्वजानिक स्थलहरुमा पर्चा-पम्लेटहरु टाँस्ने तथा छर्ने काम भइरहेको छ ।

तर १५ जुलाईको पर्चा भने धेरै पृथक रुपको थियो । सात शिविरमा एकैचोटी राति शिविरको सार्वजनिक स्थलमा टाँसिएको पर्चामा स्वदेश फिर्तीको पहलमा संघर्षरत पार्टीलाई २१ दिनभित्रमा स्वदेश फिर्तीको काम कार्वाही अगाडि बढाउन दबाब दिइएको थियो । पर्चामा राजनैतिक पार्टीका नेताहरुले सर्वसाधारण भूटानी जनतालाई ललाईफकाई स्वदेश फिर्तीको नाममात्र जप्न लगाउने गरिएको तर पूनर्वासमा खुट्टा बढाउने नेताहरुलाई केही नभनिएकोले त्यस्ता नेतालाई भौतिक कार्वाही गरिनेसमेत उल्लेख गरिएको थियो ।

यस्तो पर्चा लिवरेसन आर्मी अफ भूटानले गरेको थियो । यो पार्टी शिविरभित्र विभिन्न समयमा शरणार्थी नेता, स्वदेश फिर्ती कार्यक्रम आन्दोलन दबाउन खोज्ने ब्याक्तिहरु माथि भौतिक कार्बाही गरिरहेको सत्य छ । हामीलाई सर्वविदितै छ । बैशाख महिनाको ६ गते भूटानी शरणार्थी शिविर बेलडाँगी-एकमा शान्तिराम नेपाललाई घरमै ज्यान लिएकोमा त्यस कार्यमा संलग्न ब्यक्तिहरुलाई अदालतले सजाय गरिसकेको छ भने शिविरमा पर्चा-पम्प्लेट गर्ने व्यक्तिहरुको खोजी कार्य गरिरहेको प्रहरीले जानकारी गराएको छ ।

यिनै काम कार्बाहीले पनि होला शिविरभित्र रातारात शरणार्थीको नाममा पर्चाहरु टाँसी शरणार्थीहरु त्रासमा परेका । कतिपय शरणार्थीहरु स्वदेश फिर्तीको एजेन्डा बोकेर शिविरमा बसेकाहरु यो पर्चा पछाडि शिविर छाडि अन्यतिर बसाइसरेको पनि स्रोत अनुसार खुल्न आएको छ ।

यो पर्चा पम्प्लेट किन र कसरी भइरहेको छ शिविरमा यस बारेमा कसैले पनि बताउँदैन । तर शिविर हिजोआज त्रासमा परिणत भएको छ । त्रासमा पर्ने शरणार्थीहरु क्याम्प ब्यवस्थापन समिति, यू.एन.एच.सि.आर र नेपाल सरकारलाई लिखित निबेदन मार्फत सुरक्षा माग गरिरएको पाइन्छ । उनीहरूलाई सुरक्षा प्रदान गर्नका लागि सुरक्षा निकाय पनि अहोरात्र रुपमा लागि परेको छ शिविर भित्र । तर किन भइरहन्छ यस्तो शिविर भित्र ? यो खुल्न सकेको छैन ।

शिविर भित्र के हुदैछ त ?

शिविर भित्र पर्चा-पम्प्लेट, हिँसा र नारा जुलुसको विचमा रहेर जेष्ठ नागरिक समूहले स्वदेश फिर्तीको फाराम भराउने कार्य बैशाख महिनाको २२ गतेदेखि विभिन्न राजनैतिक पार्टी, भूटान मानवअधिकार संगठन (ह्युरोब), भूटानी शरणार्थी स्वदेश फिर्ती कार्यक्रम ब्यवस्थापन समिति लगायत भूटान गोर्खा राष्ट्रिय मोर्चाको सहयोगमा सात शिविरमै सञ्चालन भई इच्छुक शरणार्थीहरुको तथ्यांक खोज्ने काम सम्पन्न भईसकेको कार्यक्रम संयोजक हर्कजङ्ग सुब्बाले बताउनु भएको छ । सो विवरण शरणार्थीहरुको मुद्दामा सहयोग गर्ने संस्थाहरु यू.एन.एच.सि.आर, आप्रवाश संगठन आइ.ओ.एम. लगायत नेपाल, भारत, भूटान सरकारलाई बुझाउने समेत बताएका छन् । विवरणमा इच्छुक शरणार्थीहरु २२ हजार बढी भइसकेको सार्वजनिक भइसकेको छ ।

तर, सन् १९५१को रिफ्युजी कन्भेसन अनुसार पहिले स्वदेश फिर्ती, तेश्रो देशमा शरणभूमि समायोजन र अन्त्यमा नेपालमै बसाउने कार्यको सहमतिलाई उल्टो पारी शरणार्थीको आन्दोलनलाई बाध्यताको मुखमा पारिदिए शरणार्थी सरोकारवालाले । एकापट्टि स्वदेश फिर्तीको नारा छ भने अर्कोपट्टि पूनर्वासको लुकिछिपी फाराम भर्ने कार्यले शरणार्थीहरुलाई शरणार्थीहरुले नै अन्यायमा परेको समेत देखिन्छ शिविरभित्र ।
यी र यस्ता कार्यको विचमा रहेर शरणार्थीको स्वदेश फिर्तीमा संघर्षरत पार्टीहरू तथा भूटान जेष्ठ नागरिक समूहले आफनो कार्यक्रम अगाडि बढाइरहेको छ ।

शिविर बाहिर

शरणार्थीहरुको लागि लामो समयदेखि संघर्षमा लागि रहेको भूटानी पार्टी हातको औंलामा गन्न सकिदैन तर पनि हामीले सुनेका र संघर्ष गरिरहेको पार्टी भने राष्ट्रिय प्रजातान्त्रिक मोर्चा भूटान एक हो । नेपालको सिमानादेखि भारत हुँदै भूटान प्रबेश गर्ने ठूलो लक्ष्य बोकेको यो पार्टी लङमार्च अभियान, विभिन्न समयमा अनसन, नेपाल, भारत, भूटान सरकारलाई स्वदेश फिर्ती गर जस्ता पत्र चढाइ सकेको छ विभिन्न समयमा तर भारतले कुनै पनि निणर्य नदिएकाले आन्दोलन महिना, बर्ष हुँदै शिविरभित्रै छ ।
आन्दोलनका लागि राजनैतिक, कुटनैतिक समर्थन जुटाउनका लागि सो पार्टीले नेपालको राजधानी मार्फत प्रजातन्त्रिक विश्वासका लागि नयाँ चरणको शान्तिपूर्ण आन्दोलन गर्ने भएको छ । प्रजातन्त्रमा विश्वास राख्ने अन्य प्रजातान्त्रिक मुलुकलाई शरणार्थीहरुको

घर फिर्तीमा सहयोग, समर्थन र ऐक्यवद्धता जुटाइदिन आव्हान गरेका छन् । पार्टीले शिविरभित्र भइरहेका नकारात्मक कृयाकलापहरुमाथि पनि भर्त्सना गरि पूनर्वास कार्यक्रमलाई रोक लगाउन अनुरोध गरेको छ ।

राष्ट्रिय प्रजातान्त्रिक मोर्चा, भूटानका सभापति बलराम पौडेलको हस्ताक्षरमा निकालेको प्रेश विज्ञाप्तिलाई तपाईले पनि पढ्न सक्नु हुन्छ । यो यसप्रकारको छ ।


प्रेश विज्ञाप्तिमार्फत थाहा हुन्छ कि कसले के गर्दैछ, स्वदेश फिर्तीको लागि ? शिविरभित्र किन पर्चा मार्फत शरणार्थीहरु त्रासमा परेका छन् ? केका लागि पर्चा हुन्छ ? कसले आन्दोलन दबाउने खेल खेल्दैछ र यो किन वार्तामार्फत समाधान हुँदैन ? किन नेपाल सरकारले यसपाली नीति तथा कार्यक्रममा स्वदेश फिर्तीको कुरा उठाएको होला ? के समाधान हुन्छ त आदि..........कुराहरु ?
यी प्रश्नको सहि उत्तर शरणार्थीले समयमै थाहा पाएको भए शिविर शान्त र सुन्दर हुने थियो होला ।

Wednesday, July 15, 2009

भविष्य निर्माणका लागि अधुरो शरणार्थी शिक्षा

यस वर्षको प्रवेशिका परीक्षाको नतिजाको आधारमा शरणार्थीहरूले शिक्षा आर्जन गर्ने शिविरबाहिरका विद्यालयहरूमा पनि उत्तीर्ण विद्यार्थीको संख्या तुलनात्मक रुपमा राम्रै भएको आंकलन गर्न सकिन्छ ।

तर शरणार्थी शिविरभित्रका विद्यालयहरूमा भने त्यस्तो प्रकारको नतिजा आएन । नेपालकै एतिहासमा यस वर्ष सबैभन्दा बढी विद्यार्थीहरू फलामे ढोका मानिएको प्रवेशिका परीक्षामा उत्तीरंण हुँदा शरणार्थी शिक्षाले भनेजस्तो नतिजा निकाल्न सकेन ।

यसवर्ष झापा र मोरङका सात शिविरबाट परीक्षामा सामेल भएकामध्ये ६ सय २६ जना विद्यार्थी मात्र फलामे ढोकाबाट छिर्न सफल भएका छन् । यसमा नियमिततर्फ ५ सय ८१ र एक्जाम्टेडतर्फ ४५ परीक्षार्थी उर्तीण भएका छन् । यो संख्या परीक्षामा सहभागी विद्यार्थीको ३१ प्रतिशत हुन आउछ । भूटानी शरणार्थीका लागि शिक्षा कार्यक्रम संचालन गर्ने संस्था कारितास नेपालका अनुसार प्रथम श्रेणीमा ८२ जना, द्वितियमा ४ सय ३५ जना र तृतीयमा श्रेणीमा ६४ जना शरणार्थी उत्तीर्ण भएका छन् ।

तीस हजार भन्दा बढी विद्यार्थीहरूले अध्ययन गर्ने शरणार्थी शिविरका विद्यालयहरुमा यस प्रकारको नतिजा पहिलो र अनौठो कुरा भने होइन । वरू यस वर्षको नतिजाले धेरैमा हर्ष छाएको छ । शिविरका विद्यालयका कक्षा कोठामा विद्यार्थीको संख्या ६० भन्दा कम हुन्न भने उति नै संख्यामा सेक्सन विभाजन भएका हुन्छन् । यसरी हेर्दा एउटा शिक्षकले आठ घण्टीको अवधीमा कम्तिमा ४५० विद्यार्थीलाई पढाउने गर्दछन् । विद्यार्थीको चापले गर्दा विद्यार्थीहरू गृह कार्य गर्न ध्यान पटक्कै लगाउदैनन् भने शिक्षकले कापी जाँच्ने त के कुन कुन विद्यार्थीले गृहकार्य गरे, सोध्नेसम्म फुर्सद हुन्न ।

सायद शरणार्थी भएकाले नै हो क्यार कक्षा नौ-दशको लागि पनि कक्षा बाह्र उर्तीण भएका वा भरखर पढ्दै गरिकाले यहाका विद्यालयमा पढाउने गर्दछन् । शिक्षक र विद्यार्थीको उमेर उस्तै भएकाले एक अर्कामा धेरै अन्तरको महसुस हुन्न । बरू साथीविचको नाता सम्वन्ध जस्तो हुने गर्दछ । शैक्षिक सामाग्रीको टट्कारो अभावमा संचालित यहाँका विद्यालयहरू स्थानीय विद्यालयहरूभन्दा फरक परिवेश पाइन्छ । नेपाल सरकारले तोकेको न्युनतम मापदण्डबाहेक यहाँका विद्यार्थीहरू भूटानी इतिहास, भूगोल र उनीहरूको राष्ट्रिय भाषा जोङ्खा पढने गर्दछन भने भूटानमा मनाइने राष्ट्रिय विदा पनि यी विद्यालयहरूमा मनाइने गरिन्छ ।

विहान साढे सात बजेदेखि सुरू हुने यी विद्यालयहरू एक बजेपछि विदा हुने गर्दछन् । शिविरभित्र विजुली बत्ती नभएकाले एकाविहानै विद्यालयहरू सुरु गरिएको भनिए पनि यसले विद्यार्थीमा फायदा भन्दा वेफायदा गरेको पाइन्छ । विद्यालयहरू चाँडै छुट्ने भए पछि अधिकांशहरू घुमघाममा समय विताउने गर्दछन् । चार-पाँच कक्षाका विद्यार्थी चुरोट पिएर शिविरमा भौतारिएको देख्नु कुनै अनौठो कुरा होइन बरू चुरोट, पान, खैनी र जाडँ-रक्सीको साथ नभएका विद्यार्थी विद्यालयमा पाउन मुस्किल छ भन्दा अनौठो लाग्ला ।

दिनभरी घुमेर समय काट्ने विद्यार्थीहरुसित पढ्ने पाठ्य पुस्तक पनि पर्याप्त हुन्न, एउटा पुस्तक समूह बनाएर दिइने गरिन्छ । उता रात परे पछि पढ्नलाई विजुली बत्ती त के कुरा टुकी बाल्ने मट्टितेल पनि हुन्न ।

भविष्यका सुन्दर सपना बोकेर कष्टकर जीवन विताउँदै आएका यी हजारौ निर्वाशित भूटानी विद्यार्थीहरूको शैक्षिक स्तर भूटानका विद्यालयहरूमा भन्दा धेरै प्रतिशत तल छ । यदि शरणार्थीहरू स्वदेश र्फकने परिस्थति बन्यो भने यी आजका हजारौ विद्यार्थीको अवस्था कस्तो होला, यस विषयमा सम्वन्धित पक्षको ध्यान बेला मै गए भूटानी विद्यार्थीहरू सक्षम र सवल बन्ने निस्चय नै छ ।
सन् १९९२ देखि हालसम्म भूटानी शरणार्थीहरुले सहायता संस्था कारितासको शैक्षिक सहयोगमा एस एल सी पास गरेको नतिजा -

भानु जयन्तिको अवसरमा

एक सय 96 औं भानु जयन्तिको अवसरमा खुदुनावारी शिविरमा रहेका भुटानी शरणर्थीहरुले रक्तदान कार्यक्रम सम्पन्न गरेका छन् ।

सोमवार भएको सो कार्यक्रममा १० जना महिला सहित ६० जनाले रक्तदान गरेको कुरा कार्यक्रम संयोजक कराँत्ते सिनीयर प्रशिक्षक टी.आर. राईले जानकारी गराउनु भएको छ ।

क्याम ब्वस्थापन समिति र सितोरीयो कराँते डो एसोसीएसन अफ भुटानले आयोजना गरेको कार्यक्रममा क्याम सचिव भानु ढुङगानाको सभापतित्व रहेको थियो ।

सो कार्यक्रममा नेपाल रेडक्रस उपशाखा दमकको प्राविधिक सहयोग रहेका थियो भने कार्यक्रममा शरणार्थी प्रभावित क्षेत्रका मानिसहरुको पनि सहभागिता रहेको थियो । त्यसै गरि वेलडाँगी एक स्थित शिविरमा सितेरीयो कराँतेले खेलकुद संरक्षणका लागि एक कार्यसुचि समेत तयार गरेको छ ।

कार्यसुचि अनुसार शिविरहरुमा, राष्ट्र तथा अर्न्तराष्ट्र जगतमा हुने खेलकुद र जनचेतना मुलक अभियान सञ्चालन गरिने कुरा अध्यक्ष रन बहादुर राईले जानकारी गारउनु भएको छ । शरणार्थी खेलाडी पुर्नवासमा गएकाले शरणार्थी शिविरमा खेलकुदको मुहान हिजो आज शुकेर गएको र कुनै पनि सघं-सस्थाहरुले सहयोग नगरेको अवस्था राईले बतानुभयो ।

पूनर्वासको सात राष्ट्रमा गएका शरणार्थी खेलाडीहरुलाई पनि समावेश गरि शिविरमा खेलकुदको सरंक्षण गर्ने योजना बैठकले पारित गरेको छ ।

बाइस हजार बढी शरणार्थी सहभागिता

झापा र मोरङमा रहेका सात वटै शिविरका शरणार्थीले स्वदेश फिर्तीका लागि दबाव सृजना गर्नका लागि भुटानी शरणार्थी ज्येष्ठ नागरिकले संचालन गरेको फाराम भर्ने अभियान सोमबार (२०६६ असार २९ गते) सम्पन्न भएको छ ।

बैसाख महिनामा शुरु भएको अभियानमा बाइस हजार बढी भुटानी शरणार्थीले सहभागिता जनाएका छन् । युवा-युवती र सबै उमेरका शरणार्थीले स्वदेश फिर्तीको लागि चाहना गरेको बताइए पनि भरिएका फारामहरु सर्टिङ्ग गर्ने काम बाँकी रहेकोले पूरा जानकारी आउन नसेको अभियानका संयोजक हर्कजंग सुब्बाले बताउनु भयो ।

ज्येष्ठ नागरिकले चलाएको अभियानलाई भुटान मानव अधिकार सगठन (ह्युरोब), भुटानी शरणार्थी स्वदेश फिर्ती कार्यक्रम व्यवस्थापन परिषद र भुटान गोर्खा राष्ट्रिय मुक्ती मोर्चाले पनि सहयोग गरेका थिए ।

घर फिर्न चाहने भुटानीकालागि सातवटै शिविर-शिविरमा स्वंमसेवक मार्फत फाराम भराइरहेको थियो । भरिएका फाराम स्वदेश फर्काउन पहल गर्न आग्रह गर्दै शरणार्थी मामिला सम्बन्धि राष्ट्र संघीय उच्चायोग, नेपाल, भुटान, भारत सरकार र शराणार्थीको तेस्रो मुलुक पुनर्स्थापनामा सकृय सातवटा देशका राजदुतावास, मानवअधिकारवादी सघं-संस्था समक्ष हस्तान्तरण गरिने छ ।हाल पुनर्वासको सात मुलुकमा गएका शरणार्थीहरु अठार हजार बढी र इच्छुक शरणार्थीहरु भने सत्तरी हजार बढी रहेको यू.एन.एच.सि.आरले बताएको छ ।

Monday, July 13, 2009

जोखिममा परेका वालवालिका

भूटानी शरणार्थी वाल मञ्चले आजदेखि जोखिममा परेका वालवालिकाको अनुगमन तथा मुल्याङ्कन कार्यक्रम केन्द्रिय कार्यालय बेलडाँगी-१ मा सातै शिविरका वाल सहजकर्ता, स्वयमसेवक, केन्द्रिय प्रतिनिधि र विद्यालयका परार्मशदाता लगायत सहयता संस्थाविच चार दिनसम्म गर्दैछ ।

लुथरन विश्व फेडेरेसन नेपाल- शरणार्थी परियोजनाको निर्देशनमा शरणार्थी युवा कार्यक्रम (यू.के) को सहयोगमा वाल मञ्चले सात शिविरमा बाबु-आमा विहिन, आफन्तकोमा शरण लिएका आदिलाई जोखिममा परेका वालवालिकाको स्थानमा उल्लेख गरेको छ । २०६६ को बैशाख महिनादेखि विभिन्न जनचेतनामूलक कार्यक्रम मार्फत बत्तिश हजार वालवाललिकाहरु मध्ये पाँच सय उनसाठी (५५९) वालवालिका जोखिममा परेका तथ्यांक कार्यक्रममा सार्वजनिक गर्ने कार्यक्रम संयोजक सुनिल अधिकारीले जानकारी दिनुभयो ।

कार्यक्रममा जोखिममा परेका वालवालिकाको अवस्था र सहायता संघ-संस्थाले उनीहरुलाई के गर्न सक्दछ भन्ने बारेमा छलफलका साथ हिंसाको चपेटामा पिसिएका वालवालिकाका सम्बन्धमा परार्मश पनि गरिने वाल मञ्चका कार्यक्रम संयोजक इन्द्र तिम्सिनाले बताए ।

वालमञ्चले जोखिममा परेका वालवालिकाहरुप्रति गर्दै आएको कार्ययोजना, उद्देश्य र उनीहरुबाट सिकेको र आवश्यकताको बारेमा पनि कार्यक्रममा शरणार्थी युवा कार्यक्रम (यू.के) की सहायता ब्यक्ति लौरा र लु.वि.फे-नेपालसगं छलफल गर्ने छन् भने वाल चेतना नामक पुस्तकको पनि विमोचन गरिनेछ ।

वाल मञ्चले जोखिममा परेका वालवालिकाहरुलाई सभागिताको माध्यमबाट प्रस्तुत गरेको फोटो कार्यक्रम यस प्रकार छ ।

प्रविणको प्रविणता

भुगोलभित्र जतिनै दुःख, ब्यथा भए पनि मानवताको नाता भन्ने कडा हुँदो रहेछ । न त कुनै नातालाई सीमानाले छेक्न सक्दछ न त कुनै कला र साहित्यलाई कसैले प्रतिवन्ध नै लगाउन सक्छ । हो यिनै कथाहरुको बिचमा छ नेपालको पूर्वी भागको झापा र मोरङमा १८ बर्षदेखि अवस्थित भूटानी शरणार्थी शिविर ।

शरणार्थी शिविरलाई विभिन्न सघं-सस्थाहरुबाट मानविय सहयोगहरुको संयोजन भइरहेको छ । उनीहरुलाई स्वास्थ्य, शिक्षा, गाँस, बास र कपासको पनि भरथेगका लागि सहयोग भइरहेको अवस्थामा देशविहिन हुनुको अर्को कथा छ । तर बाध्यताको डोरीमा शरणार्थीहरु पूनर्वासका लागि लागिपरेका छन् आज-भोली ।

बाध्यता होस् या जर्वजस्ती उनीहरुले आफ्नोपन, नेपालीपन र कला, साहित्य र संगीतलाई नङ र मासुको सम्बन्ध दिँदै संरक्षणमा लागिपरेका भूटानीले शिविरभित्र विभिन्न कार्यक्रम मार्फत शिविरलाई साहित्यीक तथा संगितमय बनाई रहेका छन् ।
पूनर्वासको तयारीमा लागिपरेका कतिपय शरणार्थी यतिबेला शिविरमा आफ्नो माटोको नाममा केहि एकल सांगितीक भेट, बृहत सांगितीक तथा साहित्यिक समारोहमा ब्यास्त छन् ।

आज आइतबार शरणार्थी शिविरको मित्तेरी शान्ति खेल केन्द्रमा वालकलाकार प्रविन दियालीले एकल साँगितीक भेट मार्फत हजारौं दर्शकमाझ नेपाली लोक, आधुनिक तथा हाल बजारमा चलनचल्तीमा रहेका गीत,सांगितलाई लयवद्धरुपमा गाएर हजारौंको तालीको सम्मान ग्रहण गरेका थिए ।

सांगितीक भेटमा प्रविन दियालीले आफ्ना बुबा चन्द्र दियालीलाई आधुनिक गीतबाट चिनाएका थिए भने एक दर्जन गीतहरु भेट कार्यक्रममा पस्केका थिए उनले । बर्ष १२का प्रविनले नेपालका विभिन्न स्थान जस्तैः विर्तामोड, मधुमल्ला, इलाम, पाँचथर लगायत सातवाटै शिविरहरुमा आफ्नो वाल कोसेली भाग-२बाट पनि सांगितीक महोलमा हिँडिसकेका छन् । बुबा-आमा चन्द्र र पवित्र दियालीको कोखबाट शिविरमा जन्म लिएका प्रविन हाल शरणार्थी शिविरको विद्यालय ग्रिन भेल एकेडेमीमा कक्षा ६मा अध्ययनरत विद्यार्थी हुन् ।

भेटमा प्रमुख अतिथि पूर्वाञ्चल गजल मञ्चका अध्यक्ष प्रकाश आङदेम्बे, सभाध्यक्ष टि.बि.गुरुङ, विशेष अतिथि अशोक पाठक लगायत कलाकार अतिथि, सञ्चारकर्मी, वाल-अधिकारकर्मीहरुको बाहुलीबाट उद्घाटन तथा शुभकामना मन्तब्य गरिएको थियो ।

कार्यक्रमलाई भूटानी शरणार्थी वाल मञ्चले आयोजना गरेको थियो जसले वाल सहभागिता, वाल विकाश, र वाल सुरक्षाको पाटोमा हरहमेशा वकालत गरिरहेको छ ।

Saturday, July 11, 2009

“प्रलयाग्निको सङ्घारबाट”कविता संग्रह विमोचन

भूटान गजल मञ्चका प्रथम अध्यक्षद्वारा लिखित “प्रलयाग्निको सङ्घारबाट” नामक कविता संग्रह बरिष्ट सहित्यकार कृष्णभुषण बलको प्रमुख आतिथ्यमा विमोचन तथा अर्न्तकृया समारोह आज दमकमा सम्पन्न भयो ।

कार्यक्रममा भूटानी सहित्यलाई नजिकबाट हेरिरहेका बरिष्ट सहित्यकार खेम नेपाली, प्रकाश आङदेम्वे, प्रकाश बुदाथोकी, मधु पोख्रेल, मुनाराज शेर्मा, मायामितु न्यौपाने, भुपेन्द्र तिम्सिना लगायत स्थानिय तथा भुटानी सहित्यकार तथा गजलकारहरुको पनि उपस्थिति रहेको थियो ।

उक्त कार्यक्रममा विवश वलिभद्र कोइराला, प्रकाश आङदेम्वे, मिश्र बैजयन्ती, कृष्ण बराल लगायतका सहित्यकारहरुले कविता संग्रहभित्रका केहि कविताका बारेमा छलफलका, समिक्षा, टिकाटिप्पणीका साथ प्रतिकृया राखी पुरानाघरेलाई शुभकामना दिएका थिए । विमोचन समारोहमा नेपाली तथा भूटानी सहित्यकारहरुलाई कृतिकार पुरानाघरेले खादा ओढाई सम्मान गरेका थिए भने आफ्ना बाबा-आमा लगायत संग्रहका प्रकाशन सहयोगी भाई गोपालको सम्झनामा दाई इन्द्र खड्कालाइ पनि सम्मान गरेका थिए ।

यो कविता संग्रहमा माटोको खोजीमा आजभन्दा १८ बर्षअगाडि देखि भूटानी जनताहरुले गरेको गरिमामय
संघर्षका कथा अनि पुरानाघरेको कलमी संघर्षको कथालाई कविता मार्फत प्रलयाग्निको सङ्घारबाट भूटानको थिम्पूसम्म सहित्यीक सम्मेलन गर्न र भूटानी आमाका प्यारा छोरा-छोरीले अकालमै नेपालको सिमाना र बसेको स्थानमा देशको खोजी गर्दै ज्यान गुमाएको कथा चित्रण गरिएको छ ।

कविता संग्रह विमोचनको क्रममा नेपाली सहित्यकारले भूटानी शरणार्थीहरुको पूनर्वासको थोरै चर्चा गरे तर भुगोलको कुनै पनि सिमाना नभएकाले लेखकले जहाँ रहेर पनि देशको माया गर्नु पर्नेमा जोड दिएका थिए भने प्रकाश आङदेम्बेले देश भनेको माटो होइन, देश त मन हो भनि पुरानाघरेलाई सिर्जनात्मक शुभकामना दिए ।

विमोचान तथा अर्न्तकृयात्मक समारोह भूटानी गजलकार याम थुलुङको सभाध्यक्षतामा दमकमा सम्पन्न भएको थियो ।

Monday, July 6, 2009

विद्यालय उदघाटन


नागरिक मञ्च नेपालले विविध सामाजिक, साँस्कृतिक एवं प्रकाशन सेवामा निरन्तर सक्रिय रहि मौलिक नेपाली लोक, आधुनिक, शास्त्रिय संगित, नृत्य, र कलालाई विकाश र प्रवर्धन गरि सगितंकौ ब्यवसायीकारण मार्फत दक्ष कलाकर्मीहरुको उत्पादन गर्ने उद्देश्यका साथ नागरिक सगिंत विद्यालयको आज दमकमा बरिष्ट संगितकार जिवन अधिकारीको प्रमुख अतिथ्यमा उदघाटन गरिर्यो ।

वरिष्ट लोक गायक एल पि जोशी, सुरविर श्रेष्ठ, नेपाली लोकप्रिय गायक यम बराल, सत्य-स्वरुप राज आचार्य लगायत नेपाल, भूटान-भारतका बरिष्ट गजलकार तथा सगितकार लै आफ्नो कला प्रस्तुत गरि नागरिक सगित विद्यालयलाई शुभकामना दिइ सुनमा सुगन्द्य थपिदिइका थिएं ।

कार्यक्रममा भूटानी गजलकार याम थुलुङ, टंक वयालकुटी र अर्जुन रर्साईली ले देश दुखेको गजल प्रस्तुत गरेका थिएं । नागरिक मञ्च नेपालको महतहातमा रहेर नागरिक सगित विद्यालयले नेपाली कला, साहित्यको संरक्षाण गरि राष्ट्र तथा अर्न्तराष्ट्र जगतमा आदन-प्रदान गर्नै मञ्चका अध्यक्ष तथा कार्यक्रमका सभापति जि.पि.ढुङ्गेलले बताउनु भयो । विद्यालयमा वरिष्ट प्रशिक्षकबाट नृत्य, सगितं तथा गितको प्रशिक्षण दिइने बताएको छ ।

नागरिक सगितं विद्यालयले झापाको वितामोडमा पनि विद्यालयको साउन २ गतेका दिन वरिष्ट गितकार तथा संगितकारको बहुली बाट उद्घाटन गर्ने भएको छ ।

बेलाडागीमा बृहत साँस्कृतिक, साहित्यिक तथा साँगितिक कार्यक्रम







भुटानी शरणार्थी शिविरमा बृहत साँस्कृतिक, साहित्यिक तथा साँगितिक कार्यक्रम -२०६६ आयोजना गरिएको छ ।भुटान गजल मञ्च र स्रष्टा मञ्चको आयोजना तथा गन्तव्य थिएटरको विशेष सहयोगमा सञ्चालन गरिएको सो कार्यक्रममा गजलकार टंक बयलकोटीको अनुभुति गजल संग्रह र गजल गायक अर्जुन रसाइलीको गजल एल्बम भावको बिमोचन तथा लोकार्पण गरिएको थियो ।





कार्यक्रमको प्रमुख आकर्षण नेपालका ख्यातप्राप्त कलाकार यम बराल, सत्यराज र स्वरुपराज आचार्य तथा भारत र भूटानका कला, साहित्यप्रेमी तथा नागरिक समाजका अगुवाहरुको समेत उल्लेख्य उपस्थिति रहेको थियो ।



कार्यक्रममा शरणार्थी गायक टेक बहादुर विश्वाले भक्तराज आचार्यको कहाँ छन् बुद्धका आँखा नामक गीत हुवहु गाएका थिए भने सत्यराजले धन्यवाद दिँदै आफ्नै शैलीमा गीत गाउनसमेत सल्लाह दिएका थिए । उक्त कार्यक्रममा नेपाल, भारत र भूटान तीनै देशका श्रष्टाहरुलाई सम्मानसमेत गरिएको थियो ।



कार्यक्रममा भूटान गजल मञ्चले नागरिक समाजका अगुवा जी.पी ढुंगेललाई सम्मान गर्दै अभिनन्दन पत्र प्रदान गरेको थियो भने दुइ भुटानी गजलकार अर्जुन रसाइली र टंक वयलकोटीलाई कदरपत्र प्रदान गर्नुका साथै नेपाली गायकहरुलाई ढाका टोपी लगाई सम्मानित गरिएको थियो ।




बेलडाँगी १ को मितेरी शान्ति खेलकुद केन्द्रमा सम्पन्न कार्यक्रममा सत्यराज, स्वरुपराज, यम बराल र टिट फर ट्याटका रमेश पाठकले दर्शकहरुलाई लोकप्रिय गीत तथा प्रहसनबाट मनोरञ्जन दिलाएका थिए । कार्यक्रम भुटान गजल मञ्चका अध्यक्ष कमल धिमाल खल्तीपिडितको सभापतित्व र बरिष्ट भारतीय संगीतकार जीवन अधिकारीको प्रमुख आतिथ्यमा सम्पन्न भएको थियो ।






लागू पदार्थदेखि टाढा रहुँ





भूटानी शरणार्थी शिविरमा लागु औषध विरुद्ध यूवा मैत्री केन्द्रले जनचेतनामूलक अभियान विहिवारदेखि सातवाटै क्याम्पमा लागू पदार्थदेखि टाढा रहुँ भन्ने नाराका साथ संचालन गरेको छ ।
शिविरमा बस्दै आएका पैंत्तिस हजार बढि शरणार्थी यूवाहरुलाई लक्षित गरेर यूवा मैत्री केन्द्र (कारितास नेपाल)ले यू.एन.एच.सि.आरको सहयोगमा विभिन्न चेतनामूलक नृत्य, सडक नाटक, पर्चा-पम्प्लेट, मार्फत जनचेतनामूलक कार्यक्रम गदै आएका छन् ।
मैत्री केन्द्रले यस अगाडि खुदुनाबारी, बेलाडाँगी र गोलधाप शिविरमा लागू औषध विरुद्ध सबको एक हात भन्दै नारा-जुलुसका साथ विभिन्न तालिम, गोष्ठी र अन्तर्कृया मार्फत शरणार्थी क्याम्पलाई लागू औषध विहिन बनाउँ भन्ने सन्देश दिँदै हिडेको छ।

शरणार्थी शिविरमा यस अगाडि मात्र यू.एन.एच.सि.आर र सहायता संस्थाले विभिन्न उमेर समूहमा रहेका शरणार्थी विच अर्न्तकृया कार्यक्रम गरि लागु औषध बढि मात्रामा सेवन गर्ने गरेको एक साप्ताहिक बुलेटिनको अंक ३१ र ३२ मा उल्लेख गरिएको छ ।
अभियान शरणार्थी शिविरका शिविर प्रतिनिधि अभिभावक, शिक्षक र विधार्थी माझ पुनः देखाइने यूवा मैत्री केन्द्रका कायक्रम संयोजक फादर पिटर जोङ लेप्चा एस.जेले बताउनु भएको छ । अभिभान साउन अन्तिमसम्म शरणार्थी र शरणार्थी प्रभावित क्षेत्रमा संचालन हुन छ ।