Monday, July 13, 2009

प्रविणको प्रविणता

भुगोलभित्र जतिनै दुःख, ब्यथा भए पनि मानवताको नाता भन्ने कडा हुँदो रहेछ । न त कुनै नातालाई सीमानाले छेक्न सक्दछ न त कुनै कला र साहित्यलाई कसैले प्रतिवन्ध नै लगाउन सक्छ । हो यिनै कथाहरुको बिचमा छ नेपालको पूर्वी भागको झापा र मोरङमा १८ बर्षदेखि अवस्थित भूटानी शरणार्थी शिविर ।

शरणार्थी शिविरलाई विभिन्न सघं-सस्थाहरुबाट मानविय सहयोगहरुको संयोजन भइरहेको छ । उनीहरुलाई स्वास्थ्य, शिक्षा, गाँस, बास र कपासको पनि भरथेगका लागि सहयोग भइरहेको अवस्थामा देशविहिन हुनुको अर्को कथा छ । तर बाध्यताको डोरीमा शरणार्थीहरु पूनर्वासका लागि लागिपरेका छन् आज-भोली ।

बाध्यता होस् या जर्वजस्ती उनीहरुले आफ्नोपन, नेपालीपन र कला, साहित्य र संगीतलाई नङ र मासुको सम्बन्ध दिँदै संरक्षणमा लागिपरेका भूटानीले शिविरभित्र विभिन्न कार्यक्रम मार्फत शिविरलाई साहित्यीक तथा संगितमय बनाई रहेका छन् ।
पूनर्वासको तयारीमा लागिपरेका कतिपय शरणार्थी यतिबेला शिविरमा आफ्नो माटोको नाममा केहि एकल सांगितीक भेट, बृहत सांगितीक तथा साहित्यिक समारोहमा ब्यास्त छन् ।

आज आइतबार शरणार्थी शिविरको मित्तेरी शान्ति खेल केन्द्रमा वालकलाकार प्रविन दियालीले एकल साँगितीक भेट मार्फत हजारौं दर्शकमाझ नेपाली लोक, आधुनिक तथा हाल बजारमा चलनचल्तीमा रहेका गीत,सांगितलाई लयवद्धरुपमा गाएर हजारौंको तालीको सम्मान ग्रहण गरेका थिए ।

सांगितीक भेटमा प्रविन दियालीले आफ्ना बुबा चन्द्र दियालीलाई आधुनिक गीतबाट चिनाएका थिए भने एक दर्जन गीतहरु भेट कार्यक्रममा पस्केका थिए उनले । बर्ष १२का प्रविनले नेपालका विभिन्न स्थान जस्तैः विर्तामोड, मधुमल्ला, इलाम, पाँचथर लगायत सातवाटै शिविरहरुमा आफ्नो वाल कोसेली भाग-२बाट पनि सांगितीक महोलमा हिँडिसकेका छन् । बुबा-आमा चन्द्र र पवित्र दियालीको कोखबाट शिविरमा जन्म लिएका प्रविन हाल शरणार्थी शिविरको विद्यालय ग्रिन भेल एकेडेमीमा कक्षा ६मा अध्ययनरत विद्यार्थी हुन् ।

भेटमा प्रमुख अतिथि पूर्वाञ्चल गजल मञ्चका अध्यक्ष प्रकाश आङदेम्बे, सभाध्यक्ष टि.बि.गुरुङ, विशेष अतिथि अशोक पाठक लगायत कलाकार अतिथि, सञ्चारकर्मी, वाल-अधिकारकर्मीहरुको बाहुलीबाट उद्घाटन तथा शुभकामना मन्तब्य गरिएको थियो ।

कार्यक्रमलाई भूटानी शरणार्थी वाल मञ्चले आयोजना गरेको थियो जसले वाल सहभागिता, वाल विकाश, र वाल सुरक्षाको पाटोमा हरहमेशा वकालत गरिरहेको छ ।

No comments:

Post a Comment