Friday, July 17, 2009

पर्चाले फैलायो त्रास


हिजो-आज शिविर त्रासले शुन्यतामा परिणत भएको छ । पटक-पटक शिविरभित्र विभिन्न राजनैतिक तथा भूमिगत पार्टीका नाममा शरणार्थीहरुको नाममा कालोसुचि गरिएको पर्चा, छाप्रा छाड्न तथा छाप्रा जलाउने धम्की, स्वदेश फिर्ती अगाडि बढाउन दबाब, शरणार्थीको ज्यान मार्ने धम्की जस्ता कुरा उल्लेख गरि राति-राति शिविरको सार्वजानिक स्थलहरुमा पर्चा-पम्लेटहरु टाँस्ने तथा छर्ने काम भइरहेको छ ।

तर १५ जुलाईको पर्चा भने धेरै पृथक रुपको थियो । सात शिविरमा एकैचोटी राति शिविरको सार्वजनिक स्थलमा टाँसिएको पर्चामा स्वदेश फिर्तीको पहलमा संघर्षरत पार्टीलाई २१ दिनभित्रमा स्वदेश फिर्तीको काम कार्वाही अगाडि बढाउन दबाब दिइएको थियो । पर्चामा राजनैतिक पार्टीका नेताहरुले सर्वसाधारण भूटानी जनतालाई ललाईफकाई स्वदेश फिर्तीको नाममात्र जप्न लगाउने गरिएको तर पूनर्वासमा खुट्टा बढाउने नेताहरुलाई केही नभनिएकोले त्यस्ता नेतालाई भौतिक कार्वाही गरिनेसमेत उल्लेख गरिएको थियो ।

यस्तो पर्चा लिवरेसन आर्मी अफ भूटानले गरेको थियो । यो पार्टी शिविरभित्र विभिन्न समयमा शरणार्थी नेता, स्वदेश फिर्ती कार्यक्रम आन्दोलन दबाउन खोज्ने ब्याक्तिहरु माथि भौतिक कार्बाही गरिरहेको सत्य छ । हामीलाई सर्वविदितै छ । बैशाख महिनाको ६ गते भूटानी शरणार्थी शिविर बेलडाँगी-एकमा शान्तिराम नेपाललाई घरमै ज्यान लिएकोमा त्यस कार्यमा संलग्न ब्यक्तिहरुलाई अदालतले सजाय गरिसकेको छ भने शिविरमा पर्चा-पम्प्लेट गर्ने व्यक्तिहरुको खोजी कार्य गरिरहेको प्रहरीले जानकारी गराएको छ ।

यिनै काम कार्बाहीले पनि होला शिविरभित्र रातारात शरणार्थीको नाममा पर्चाहरु टाँसी शरणार्थीहरु त्रासमा परेका । कतिपय शरणार्थीहरु स्वदेश फिर्तीको एजेन्डा बोकेर शिविरमा बसेकाहरु यो पर्चा पछाडि शिविर छाडि अन्यतिर बसाइसरेको पनि स्रोत अनुसार खुल्न आएको छ ।

यो पर्चा पम्प्लेट किन र कसरी भइरहेको छ शिविरमा यस बारेमा कसैले पनि बताउँदैन । तर शिविर हिजोआज त्रासमा परिणत भएको छ । त्रासमा पर्ने शरणार्थीहरु क्याम्प ब्यवस्थापन समिति, यू.एन.एच.सि.आर र नेपाल सरकारलाई लिखित निबेदन मार्फत सुरक्षा माग गरिरएको पाइन्छ । उनीहरूलाई सुरक्षा प्रदान गर्नका लागि सुरक्षा निकाय पनि अहोरात्र रुपमा लागि परेको छ शिविर भित्र । तर किन भइरहन्छ यस्तो शिविर भित्र ? यो खुल्न सकेको छैन ।

शिविर भित्र के हुदैछ त ?

शिविर भित्र पर्चा-पम्प्लेट, हिँसा र नारा जुलुसको विचमा रहेर जेष्ठ नागरिक समूहले स्वदेश फिर्तीको फाराम भराउने कार्य बैशाख महिनाको २२ गतेदेखि विभिन्न राजनैतिक पार्टी, भूटान मानवअधिकार संगठन (ह्युरोब), भूटानी शरणार्थी स्वदेश फिर्ती कार्यक्रम ब्यवस्थापन समिति लगायत भूटान गोर्खा राष्ट्रिय मोर्चाको सहयोगमा सात शिविरमै सञ्चालन भई इच्छुक शरणार्थीहरुको तथ्यांक खोज्ने काम सम्पन्न भईसकेको कार्यक्रम संयोजक हर्कजङ्ग सुब्बाले बताउनु भएको छ । सो विवरण शरणार्थीहरुको मुद्दामा सहयोग गर्ने संस्थाहरु यू.एन.एच.सि.आर, आप्रवाश संगठन आइ.ओ.एम. लगायत नेपाल, भारत, भूटान सरकारलाई बुझाउने समेत बताएका छन् । विवरणमा इच्छुक शरणार्थीहरु २२ हजार बढी भइसकेको सार्वजनिक भइसकेको छ ।

तर, सन् १९५१को रिफ्युजी कन्भेसन अनुसार पहिले स्वदेश फिर्ती, तेश्रो देशमा शरणभूमि समायोजन र अन्त्यमा नेपालमै बसाउने कार्यको सहमतिलाई उल्टो पारी शरणार्थीको आन्दोलनलाई बाध्यताको मुखमा पारिदिए शरणार्थी सरोकारवालाले । एकापट्टि स्वदेश फिर्तीको नारा छ भने अर्कोपट्टि पूनर्वासको लुकिछिपी फाराम भर्ने कार्यले शरणार्थीहरुलाई शरणार्थीहरुले नै अन्यायमा परेको समेत देखिन्छ शिविरभित्र ।
यी र यस्ता कार्यको विचमा रहेर शरणार्थीको स्वदेश फिर्तीमा संघर्षरत पार्टीहरू तथा भूटान जेष्ठ नागरिक समूहले आफनो कार्यक्रम अगाडि बढाइरहेको छ ।

शिविर बाहिर

शरणार्थीहरुको लागि लामो समयदेखि संघर्षमा लागि रहेको भूटानी पार्टी हातको औंलामा गन्न सकिदैन तर पनि हामीले सुनेका र संघर्ष गरिरहेको पार्टी भने राष्ट्रिय प्रजातान्त्रिक मोर्चा भूटान एक हो । नेपालको सिमानादेखि भारत हुँदै भूटान प्रबेश गर्ने ठूलो लक्ष्य बोकेको यो पार्टी लङमार्च अभियान, विभिन्न समयमा अनसन, नेपाल, भारत, भूटान सरकारलाई स्वदेश फिर्ती गर जस्ता पत्र चढाइ सकेको छ विभिन्न समयमा तर भारतले कुनै पनि निणर्य नदिएकाले आन्दोलन महिना, बर्ष हुँदै शिविरभित्रै छ ।
आन्दोलनका लागि राजनैतिक, कुटनैतिक समर्थन जुटाउनका लागि सो पार्टीले नेपालको राजधानी मार्फत प्रजातन्त्रिक विश्वासका लागि नयाँ चरणको शान्तिपूर्ण आन्दोलन गर्ने भएको छ । प्रजातन्त्रमा विश्वास राख्ने अन्य प्रजातान्त्रिक मुलुकलाई शरणार्थीहरुको

घर फिर्तीमा सहयोग, समर्थन र ऐक्यवद्धता जुटाइदिन आव्हान गरेका छन् । पार्टीले शिविरभित्र भइरहेका नकारात्मक कृयाकलापहरुमाथि पनि भर्त्सना गरि पूनर्वास कार्यक्रमलाई रोक लगाउन अनुरोध गरेको छ ।

राष्ट्रिय प्रजातान्त्रिक मोर्चा, भूटानका सभापति बलराम पौडेलको हस्ताक्षरमा निकालेको प्रेश विज्ञाप्तिलाई तपाईले पनि पढ्न सक्नु हुन्छ । यो यसप्रकारको छ ।


प्रेश विज्ञाप्तिमार्फत थाहा हुन्छ कि कसले के गर्दैछ, स्वदेश फिर्तीको लागि ? शिविरभित्र किन पर्चा मार्फत शरणार्थीहरु त्रासमा परेका छन् ? केका लागि पर्चा हुन्छ ? कसले आन्दोलन दबाउने खेल खेल्दैछ र यो किन वार्तामार्फत समाधान हुँदैन ? किन नेपाल सरकारले यसपाली नीति तथा कार्यक्रममा स्वदेश फिर्तीको कुरा उठाएको होला ? के समाधान हुन्छ त आदि..........कुराहरु ?
यी प्रश्नको सहि उत्तर शरणार्थीले समयमै थाहा पाएको भए शिविर शान्त र सुन्दर हुने थियो होला ।

No comments:

Post a Comment