Friday, July 24, 2009

देश दुखेको पीडा गजलमा


स्वदेश फिर्तीको पटक पटकको पहल असफल भएपछि शरणार्थीहरु निराश भएका छन् । शिविरमा आफनो भविष्य अन्योल देखेर शरणार्थीहरु छातीभरी देशको माया बोकेर तेस्रो मुलुक स्थानान्तरण हुने क्रम जारी छ । यसै क्रममा भूटानी स्रष्टाहरु पनि आपना सिर्जना नेपालमा छोड्दै पुनर्वासमा जाँदैछन् । तेस्रो मुलुक पुनर्वासको सिलसिलामा धेरै सर्जकहरुले आफना सिर्जना छाडेर पुनर्वास भइसकेका छन् । यही क्रममा आशा लाग्दा भूटानी गायक अर्जुन रसाइली पनि छन् । उनले आफनो माया चिनो स्वरुप नेपालीहरुलाई भाव एल्बम छाडेर पुनर्वास हुँदैछन् ।

पिउँदिन भन्थें साथी भाग्य फुटेर पिएँआफ्नो देशसंग आज नाता टुटेर पिएँ ।
देश छ भने मात्र सबै थोक हुन्छ । देशै नभए पछि अरु कुराहरु गौण हुँदा रहेछन् । आफ्नो देशबाट लखेटिएर बस्नु पर्दाको पीडा कस्तो होला ? देश भएर पनि देशविहीन हुनु पर्दाको पीडा कस्तो होला अनि घर भएर पनि घरबीहीन हुनु पर्दाको पीडा कस्तो होला ? त्यो भोग्नेहरुलाई नै थाहा हुन्छ। १९ वर्षदेखि


नेपाली भूमिमा शरणागत जीवन विताइरहेकाहरुको कथालाई पूर्ण नर्जालीले उत्कृष्ट ढंगले भाव एल्बमको सो गजलमा प्रस्तुत गरेका छन् । एल्बमको पहिलो सो गजलमा गायक रसाइलीले आफनो उत्कृष्ट गायन क्षमता देखाएका छन् । छातीभरी देश दुख्दाको पीडालाई रसाइलीले गायकीमा पूर्ण रुपमा न्याय गरेका छन् ।
सिमानाले किन पराइ हुनु पर्छ नेपालीले ।जिते हारे जे गरे नि रुनु पर्छ नेपालीले ।
बिश्वमा बहादुरको उपाधि हात पारेका नेपाली जातिलाई यतिखेर त्यही उपाधिले गिज्याइरहे झैं लाग्छ स्रष्टा प्रकाश धमलाको गजलमा । भुटानी श्रष्टा धमलाले आफनो गजलको शेरमा सिमानाका कारण पराइ हुनु परेको नेपालीको पीडालाई मार्मीक ढंगले उठाएका छन् । उनले भूटानका नेपाली मात्र होइन बर्मा, असामलगायतका ठाउँहरुमा नेपालीहरुमाथि बोलिएको धावालाई समेत उतारेका छन् । उनको गजलको सो शेरले नेपाली भूमिमा शरणागत भुटानीहरुको पीडालाई चाँहि केन्द्रित गरेको छ ।एल्बममा भुटानी श्रष्टा याम थुलुङको तिम्रो दिलको आँगन, कमल धिमाल खल्तिपीडितको जब फाटिसक्यो यो मन बोलका गजलले एल्बम सिंगारिएको छ । नवराज लम्सालको मदिराको मातमा माया गजल जीवनको यर्थाथता बोलेको छ । जीपी ढुंगेलको शिशिरको घाम तिमी र कुमार उप्रेतीको आउँला है आउँला बोलका गीतले पनि उतिकै मिठास बोकेका छन् । सात वटा गीत-गजलमा अर्जुन एक्लैले स्वर दिएका छन् । आउँला है आउँलामा भनें श्रेया मोक्तानले साथ दिएकी छिन् । संगीत दिएका छन्- अर्जुनका साथै उदय सोताङ, सत्यराज आचार्य र स्वरुपराज आचार्यले ।एल्बमको उत्पादन नागरिक मञ्चका अध्यक्ष जीपी ढुंगेल र भुटान गजल मञ्चका अध्यक्ष कमल धिमाल खल्तिपीडितले गरेका हुन् ।भाव एल्बमको लोकार्पणको अवसरमा युवा गायकहरु सत्य /स्वरुपराज आर्चाय भन्दै थिए - “अर्जुन यही ठाउँमा बसिरहेमा एक दिन उसले धेरै गायकहरुलाई पछि पार्नेछ । विदेशमै गएर पनि उसको सम्भावना भने नहराउला ।”
मायामितु न्यौपाने

सभार तितोपिरोमिठो डट कम

No comments:

Post a Comment