Sunday, December 11, 2011

स्वेतपत्र महाकाव्यः एक विवेचना (भाग १)


मिनिसोटा, अमेरिका
दक्षिण एशियाली राजनीतिलाई मात्र मूल विषयवस्तु बनाएर काव्यिक छटा निर्माण गर्ने नेपाली साहित्यकारहरूमध्ये यस पंक्तिकारलाई ज्ञान भएसम्म ‘स्वेतपत्र’ महाकाव्यका स्रष्टा खेमनाथ दाहाल नै सम्भवतः प्रथम हुनुपर्छ । स्वेतपत्र महाकाव्यका विभिन्न अंशहरूमा समेटिएको कवि दाहालको मूल भावना अनुसार इतिहास कदापि मर्दैन, बरु युगौं युगपर्यन्त ज्ञान र प्रेरणाको श्रोत भएर परिवर्तनको संवाहक भइरहन्छ । अतीतलाई वर्तमानसँग तादात्म्य गराउँदछ र पुनः दोहोरयाउँदछ समाजलाई अग्रगमनतर्फ र लोकप्रिय भएर हङ्गामा मचाइरहन्छ पटकपटक । राष्ट्र, राष्ट्रियता र आफ्नो स्वभिमानको खोजीमा लड़ेका, मरेका ज्ञात-अज्ञात शहीद पुर्खाहरुका पौरखी पद-चिन्हहरुलाई, सदा सर्वदा पछ्याउँदछ नयाँ पुस्ताले र विशाल धर्तीलाई इतिहासको पुस्तकका रूपमा अध्ययन गरी परिवर्तनशील पाइला चाल्छ कतै क्रान्तिका रुपमा र कतै महान् परिवर्तनका रुपमा जसको फलस्वरुप ढल्दछन् साम्राज्यवादीका साम्राज्यहरु र सामन्तवादीका महलहरु ! हालै प्रकाशित ‘स्वेत पत्र’ नामक महाकाव्यका सर्जक खेमनाथ दाहालको भनाइ हो यो । महाकाव्यकार वा कवि दाहालका अनुसार हुन त इतिहासभित्र पनि देखाउने र चबाउने हात्तीका दाँतझैं दुईटा पक्षहरु हुन्छन् एउटै कथाभित्र ।
स्वेतपत्रमार्फत कवि दाहालको विचार प्रस्फुटन भएको छः-राज्य एकीकरणको बेला नेपालले टिस्टादेखि कांगड़ासम्म आर्जेको, सिक्किमले दार्जीलिङदेखि पूर्णियासम्म आर्जेको भूभागलाई ब्रिटिश साम्राज्यवादले मेची-महाकालीभित्र संकुचन गरी नेपाललाई अपांग बनाई अझ पूर्वदेखि पश्चिमसम्मका धेरै ठाउँ-ठाउँमा शक्तिको आडमा दशगजा कायम गरेर साम्राज्यवादको नांगो नाच देखाउँदै अन्ततः भारतीय विस्तारवादको पोल्टोमा बुझाएको कटु यथार्थता छ भने भूटानले सिमाना मिचाउँदै कहिले भारत त कहिले चिनलाई अनि कहिले बंगलादेशसित विभिन्न दस्तावेजमा हस्ताक्षर गरी आफू दासताको सुलिमा रहँदै अरुलाई विकासमा पु¥याएको र हुँदाहुँदा सिक्किमले अस्मितासमेत बली चढ़ाउनु परेको इतिहासलाई भावी पिढ़ीले अवश्य मनन् गर्नेछ र शक्ति सञ्चय गर्ने छ आफ्नो मुक्तिका लागि भन्ने अपेक्षा गर्नु अवश्य नै अपराध नहोला ।
महाकाव्यमार्फत कवि दाहाल भन्नुहुन्छः-
दशगजाको रक्षा खातिर देश–जनताको सुनिश्चित भविष्यको निम्ति साना-ठूला देशहरुले विभिन्न पहल गर्दै ठूल–ठूला युद्धसमेत लड़्नुपरेको भयावह परिस्थिति र अहितकर सन्धि-सम्झौतामा हस्ताक्षर गर्नुपरेका प्रकरणहरुमा लुकाइएका बुँदाहरुलाई २१औं शताब्दी पुस्ताका युवाहरुले आफ्नो ठाँउबाट वकालतको विषयमा अभ्यास गरी जनताको साहस बटुलेका छन् र निरन्तरताको अभियानमा छन् ।
काँचो–आलो रगतद्वारा लेखिएका नेपाल-बेलायतबीचको सुगौली सन्धि, ब्रिटिस एङ्गलो वार, तितालिया सन्धि, टी इस्टेट सन्धि, दार्जीलिङ एकीकरणको सन्धिदेखि गोर्खाल्याण्ड आन्दोलनमाथि दबाउने नियतले गरिएका सन्धिरूपी प्रपञ्चहरु, सिक्किममाथिको असंवैधानिक ठाड़ो हस्तक्षेपको प्रकरणबाट निस्केको विकल्पको सन्धि आदि असमान सन्धिहरु २१औं शब्तादीसम्म आइपुग्दा पनि छलकपटबाट अद्यावधिक गर्न खोज्नुले नवसाम्राज्यवादले विस्तारवादको बुई चढ़ेर दक्षिण एशियाका शान्तिप्रिय राष्ट्रहरुलाई क्रान्तिका बिरुवा सिंचन गर्न बाध्य बनाइरहेको कटु सत्य सबैले स्वीकार्नु आजको यथार्थता हो भन्नमा अत्युक्ति नहोला ।
वीर गोर्खालीहरुको वीरतालाई नै सिँढ़ीको रूपमा प्रयोग गरी विश्वसामु खुल्ला हात हल्लाउने नवसाम्राज्यवादी, विस्तारवादी राज्य समाजवादको मखुण्डो लगाएर आज हाम्रोसामु देखापरिरहेको छ । गोर्खालीहरुको अधिकारप्राप्तिको आवाजलाई बुलन्द हुनबाट रोकेर पुन १९१४ देखि १९५० सम्मको इतिहासका पाना पल्टाउन बाध्य पारिरहेको छ । वर्तमानलाई आफ्ना अनुकुल बनाउन जस्तोसुकै निर्लज्जता प्रदर्शन गर्न नहिच्किचाउने यसको ज्वलन्त उदाहरण भूटानी शरणार्थी समस्याको अघोषित जन्मदाता हुनु र आफ्नी रखौटी (भूटानी दरवार)-ले भूटानी आमाका सन्तानहरुलाई दिएको यातनाप्रति सहानुभूतिका एक शव्दसम्म नबोल्नु र उल्टै कम्बल ओडेर घिउ खाने प्रवृत्ति देखाउनु हुन् भन्दा केही अति सयोत्ति नहोला ।
अन्याय, अत्याचारपछि जबरजस्ती लादिएका दस्तावेजहरु खारेज गर्नुको साटो उल्टै कला, साहित्य, संस्कृति प्रबर्द्धनको नाममा हिमाली राज्यहरुबीच आफ्ना शकुनी राजदूत पठाएर षड्यन्त्रको खेल खेली भाइचारा सम्बन्धमाथि घातप्रतिघात गरी राष्ट्रको स्वाभिमान लुटेको हामीले कहिले कालो झण्डाले त कहिले रङ्गिन झण्डा उठाएर अनवरत रूपमा विरोध गरिरहेका छौं । देशको अस्मिता जोगाउन प्राकृतिक श्रोत, दशगजामा अतिक्रमण गर्ने विश्वासघातिमाथि छापामार युद्ध पटक-पटक नलडेको होइन नेपाल, भूटान, सिक्किम–दार्जीलिङका गोर्खालीहरुले तर विजय हातमा पर्नुभन्दा अगावै कुर्सीमोहका गोर्खाली नेतृत्वलाई अदृश्य खुनी पञ्जाहरु आइपुग्छन् संरक्षण दिन र आवाजविहीन बनाई पिञ्जडामा थुनिदिन्छन् गोर्खालीहरुको भविष्य । आज धेरैलाई गुण्डाराज अन्त्य गरी भयरहित देशको रणनीति बनाउनुपर्ने वाध्यताको समयमा पैसामा रचेको खेलले देशका कति नाइकेहरु खलनायकको इसारामा नाची देशबासीलाई विस्थापित गर्दैछन् र कति गरें भनेर दुस्वप्नमा रमाइरहेका छन् । तिनै राजनैतिक चलखेलका पञ्जामा कसिएका सन्धिहरुका कारण नेपालीभाषीहरू भूटानबाट, सिक्किमबाट, बर्माबाट, भारतलगायत नेपालका ठाउँ-ठाउँका दशगजा मिचिएपछि शरणार्थी अवस्थामा शरण खोजिरहेका छन् भन्दा फरक नपर्ला ।
आज तिनलाई पहाड बनाएर घरभित्रका सामान्य मनोमालिन्यलाई युद्धाभ्यासको हल्लाको रूप दिँदै आफ्नै दिदी-बहिनीबीच लड़ाईं गराएर बेमेललाई फाइदाको खेतीझैं आफ्नो सफलताको उब्जनी सम्झी मालिक भई घरदेश र परदेशका नागरिकलाई दासीतुल्य बनाउन प्रयत्नरत विशाल राज्यलाई चेतावनीका साथ सचेत गराउँदै आफ्ना यस्ता घृणित कुकृत्यबाट कति पनि विचलित नभएको सन्देश दिँदै सकुनीलाई वेनकाब पार्दै मैदानमा उतारी सामाजिक, आर्थिक, धार्मिक, सबै परिवेशलाई समेटेर भू–खण्ड बीचका रेखीहरुमा सिर्जनात्मक शैलीमा एक्काइशौं शब्तादीका महाकवि खेमनाथ दाहालले “स्वेतपत्र” महाकाव्यमा ऐतिहासिक पृष्ठभूमिलाई सकारात्मक रुपमा रेखी बाँधी सबैको मन-मुटुलाई दरो पार्न आग्रह गर्दै चेतावनीसमेत दिनुभएको छ ।
इतिहासले हामी सबैको यथार्थ अभिलेख राख्दछ, चाहे हारमा होस् या जीतमा । गोर्खालीहरुको वीरता युगीन घडीसम्म जीबित रहिरहेको छ, रहिरहनेछ किनकि गोर्खा अविजीत छ, गोर्खाली वीरताको प्रतीक छ । तसर्थ, हामी बाँचेको बाटो आज कता हो, कस्को हो भन्ने, सोच्ने दिन कम्तिमा पनि दिनको विहान र बेलुकाको समय आएकोमा कवि दाहाल “स्वेतपत्र” महाकाब्यमार्फत मञ्चमा उदाउनु भएको छ जोश, जाँगरका साथ, इतिहासको सकारात्मक गोरेंटो देखाउनका लागि ।
महाकाव्यमा समाजशास्त्रको विषयमा नेपाल (ठुली दिदी), सिक्किम (माइली) र भूटान(कान्छी) भित्र भईआएका आन्तरिक समस्या, छिमेकीको लुछाचुँडी आदिलाई राम्रोसँग केलाई विश्वका सघं-संस्था, मानव अधिकारका ठूला– ठूला कुरा गर्ने संस्था र राष्ट्रहरुलाई फेरि एकचोटि उनका गलत व्यवहारप्रति औंला ठड़्याएर उनीहरुले गरेका पूर्व गलत निर्णयलाई सही निर्णयमा रूपान्तरण गर्न प्रस्थानविन्दु बनाइदिनु भएको छ कवि दाहालले ।
“स्वेतपत्र” महाकाव्य एक हजार एक सय ११ कवितागुच्छामा पुरै परिवारिक संवादका साथ नाटकीयरुपमा नेपाल, भूटान र सिक्किमका कथाव्यगाथाहरूलाई मूलभुत रुपमा रोचकताका साथ अघि बडाई निरंकुशता, विस्तारवाद, साम्राज्यवाद र औपनिवेशिकताको अघि नेपाली स्वाभिमानलाई उच्च राखी भाइचारा सम्बन्धलाई कायम राख्नुपर्छ भने घोषणाका साथ महाकाव्य पन्ध्र सर्गसम्म अनुष्टुप छन्दमा रचिएको छ ।
बाँकी भाग अर्को अंकमा

No comments:

Post a Comment