Sunday, December 11, 2011

स्वेतपत्र महाकाव्यः एक विवेचना (भाग २)


विषय प्रवेषः
पहिलो कविता संग्रह श्रद्धाञ्जली (२०५४), दोश्रो हार्वर्डको चौतारीमा (२०६३), रश्मि (खण्डकाव्यः २०५६), योद्धा (काव्यः  २०६०) पछि प्रस्तुत स्वेतपत्र (महाकाव्यः २०६७) गरी पाँचौं कृति महाकाव्यका रुपमा पस्किनु हुने खेमनाथ दाहाल–विं.सं २००९, तेह्रथुम, (लाब्री) मा पिता स्व.पं.ज्यो सोमनाथ र माता जानुकादेवी दाहाल कोखबाट जन्मनु भएको रहेछ ।
आफूमा चेतना आएदेखि नै देशको माटोमा अन्याय, अत्याचार, कुसंस्कार, भेदभाव आदिमा आफ्नो स्वतन्त्र अभियानको कलात्मक प्रस्तुती प्रष्टरूपमा खुलेर गर्ने कविको सबल पक्ष र चरित्र हो । कविका कलमबाट जन्मलाई निम्नप्रकार प्रस्तुत गरिएको छ ।
‘जन्मनै नदिऔं हामी नवलेण्डुप कोखमा
नदिऔं छिर्न द्रोहीको आत्मा स्वच्छ हिमालमा
फुकौं बिगुल हामी लौ स्वत्वमाथि चियाउने
दुष्ट पापीहरुलाई छिया–छिया बनाउने’ (पृष्ठ २३४- २६ )
जन्मको अर्को जिम्मेवारी पक्ष देश निमार्णमा घातप्रतिघात गर्ने द्रोहीलाई र्वतमानमा निर्मित स्वाभिमान र स्वतन्त्रताको बिगुल फुकी कोखभित्रै सूलीमा चठाउनुपर्छ महान् आमाले । आमाको स्याहार-सुशार,लालनपोषण, भेष-भाषा एक हुन्छ । मानवीय प्रवृत्तिलाई दुष्ट-पापी योजनामा परिर्वतन गर्ने सन्तानको घिनलाग्दो खेलले आज देश र दूरदेशमा रहेका नेपालीहरुको योजना, लक्ष, अनुसाशनलाई अन्धकारमय बनाइदिएको छ । त्यहि अन्धकारमय जीवनमा आफ्नो सुनिश्चित भविष्य खोज्न कवि नौलो क्रान्तिको “स्वेतपत्र” मार्फत खुला मैदानमा गाउँ, शहर र हिमाली राज्यबाट जनतालाई सशक्त रूपमा बुलन्द आवाज निकाल्न आह्वान गर्नुहुन्छ ।
‘मशाल जब सल्कन्छ झन्डा बोकेर स्वत्वको
कदापि रोक्न सक्तैन शक्तिले पनि दैवको
जनता शक्ति हो मान प्रलय छालको सरि
जस्तै शक्तिहरु ढल्छन् वशमा त्यसको परी’-(सर्ग एक – ३५)
देशमा विभिन्न नाउँमा जबर्जस्त लुटपाट, हिमाली दिदी-बहिनीहरुमाथि चरम यातना भएको बेला कवि शासकलाई वा राजाहरुलाई “स्वेतपत्र” मार्फत हरेक सन्धिको खारेजी, त्यसमा दशगजाको संरक्षणमा अहोरात्र लाग्नुपर्ने, पौराणिक कथालाई उपमाको रूपमा प्रस्तुत गर्दै, निरन्तर जीवित राखेमा जनताले ग्रन्थमा गीत गाउने देश र जनतामाथि विश्वाश नगरेमा अस्तित्व लोप भइजानेमा औलो उठाउनु हुन्छ । हिमाली राज्यबाट विभेदकारी नीतिबाट सर्वश्व गुमाई विस्थापित भएका माईली (सिक्किम) र कान्छी (भूटान) बहिनीहरुप्रति आफ्नो भयभित घटना लुकाउँदै शान्त र शालीन हुँदै ठुली दिदी (नेपाल) भन्नुहुन्छ देश र दुरदेशबीच भएका सन्धिका कथा ।
‘हाम्रो हो एउटै मूल हाम्रा बाबु हिमालय’
(सर्ग दुइः २,११, सर्ग तिनः५, सर्ग चारः२८, सर्ग चारः१, सर्ग
६-४१, सर्ग दशः२८)
‘राजा र जनता मिल्दा विग्रह हुन्न राजमा’
(सर्ग सातः१०–६१सम्म,सर्ग बाह्रः९८)
‘जो मरे पनि मेरै हुन प्रिय सन्तान आखिर’
(सर्ग पाँचः७,२७, सर्ग एघारः१२)
प्रकृतिमा अनेकता होला तर सारांशमा प्रकृति एउटै छ ब्रह्माण्डमा त्यस्तै कवि दाहालको प्रस्तुति, दृष्टिकोण फरक देखिएला तर, समस्त भाव अडेको छ राष्ट्र अनि राष्ट्रियतामा । कवि “म” पात्र भएर परिवारिक सदस्यका रुपमा सिकिम, दार्जीलिङ, भूटानका कुनाकाप्चा हुँदै बेलायत देखि काश्मीर अनि चाइनासम्म पुगी त्यहाँ भएका नकारात्मक चलखेललाई नाटकीयरूपमा दिदी-बहिनीलाई मूलपात्रको रुपमा अघि बढाई उनीहरुको पीडा, भयलाई आफूसँग हरेक प्रमाण बनार्ई विश्व अदालतको कठघराबाट “श्वेतपत्र”मा शान्त, सदभावका साथ लेखिएको ऐतिहासिक एजेण्डामार्फत तीन दिदी बहिनीको आपस्तमा भाइचारा सम्बन्धलाई नजिक र गाढा बनाउने घोषणाका साथ आवाज बुलन्द गर्नुहुन्छ ।
(क) सिक्किम छिट्टै सार्वभौम-स्वतन्त्र हुनुपर्छ । नेपाल र भूटान पनि आफ्ना स्वत्वको अडानमा बस्नुपर्छ ।
(ख) सुगौली सन्धि पूर्वको नेपालको सबै भूमि र भूटानको कुचविहारसम्मको क्षेत्र फिर्ता हुनुपर्छ ।
(ग) यथाशक्य संघराज्य बनाएर त्यसमा नेपाल, सिक्किम, भूटान, गोर्खाल्यान्ड र लद्दाख सामेल भई नयाँ हिमाली गणतन्त्रको स्थापना हुनुपर्छ ।
(घ) अब परतन्त्रमुखी बन्न हुँदैन आफ्नै बल, औकात र साधनले देश विकास गर्नुपर्छ ।
(ङ) सारा शरणार्थीहरु सम्मानसाथ स्वदेश भूटानमा फर्कन पाउनुपर्छ ।
(च) “रअ” को चलखेल बन्द हुनुपर्छ ।
(छ) शान्ति क्षेत्रको घोषणा र असमान सन्धि खारेजी हुनुपर्छ ।
आज विश्वभरि विभिन्न माध्यममार्फत प्रचारप्रसार भइरहेका एजेण्डा पनि यिनै हुन् । गोर्खाल्याण्डका सुवास घिसिङ, विमल गुरुङ, सिक्किमका पवन चाम्लिङदेखि भूटानका टेकनाथ रिजाल, बर्माकी आङसान सुकी, पाकिस्तान, रुस, इरान आदिसम्मका नेतृत्वकर्ताहरु अनि महाकाव्यमार्फत दार्जीलिङका महाकवि मोहन दुखुन, भूटानका महाकवि डिल्लीराम आचार्य हुँदै युवा प्रतिनिधि कवि तथा महाकवि खेमनाथ दाहालसम्मले “स्वेतपत्र” महाकाव्यमार्फत स्वतन्त्रता भई एक्काइसौं शताब्दीसम्म खोसिएका पौत्रिक तथा दुर्लभ ऐतिहासिक सम्पत्तिहरु फिर्ता लिने उद्घोषण गर्नुभएको छ ।
‘एक्काइसौं शताब्दीको श्वेतपत्र विरोधको
घोषणा हो सबै हामी हिमाली अधिराज्यको
हुन्छ सिक्किम चाँडै नै स्वतन्त्र सार्वभौमको
भूटान अनि नेपाल हुन्छन् स्वत्व अडानको ।’ ( सर्ग १५- ५)
भूटानी राजतन्त्रले गरेको कठोर दमन, जनतालाई मातृभूमि छाड्न पारिएको विवशतामाथि प्रहार गर्दै कवि नेपाल र विश्वका कुना कुनासम्म पुर्याइएका शरणार्थीलाई आफ्नो अधिकार, शान्ति अथवा क्रान्तिको जुनसुकै मार्गबाट भए पनि पुनः प्राप्त गरी निर्वाध रुपले स्वदेश प्रवेशका लागि भूटान आमाबाट गरिएको आह्वानलाई यसरी व्यक्त गर्नुभएको छः-‘कदापि नबिर्स हे मेरा कर्णधार तिमीहरू
भत्केका घर तिम्रा र निमुखा स्वजनैहरु
हेर्दैछन् पथ तिम्रै त्यो फर्कने छौं भनीकन
क्रान्तिको पुञ्ज बोकेर आउँदै छौं भनीकन ।।’ (पृष्ठ १६७)
आज दक्षिण एशियाका साना राष्ट्रका निम्ति भारतको भूमिका सन्तोषजनक नरहेको कुरा जगजाहेर छ । पाकिस्तान विभाजनदेखि लिएर श्रीलंकाको गृहयुद्ध होस् अथवा भूटानमा जातीय सफाया अभियान, नेपालका आन्तरिक मामलामा अनावश्यक हस्तक्षेप, सिक्किमको अन्यायपूर्ण विलय सबैमा भारतको तानाशाही प्रवृत्तिको नांगो नाचप्रति लक्षित गर्दै कवि लेख्नुहुन्छः-
‘लियो दक्षिणले आमा नीति दुष्ट प्रवृत्तिको
बाली छिमेकमा आगो ताप्छ ज्वाला अशान्तिको
तसर्थ कहिल्यै आमा शान्ति छैन छिमेकमा
बंगलादेश, बर्मा र पाकिस्तान सिलोनमा ।।’ (पृष्ठ १४१)
महाकाव्य “स्वेतपत्र” आफैंमा पनि स्वच्छ अनि ओजपूर्ण भावहरुको परिवारिक नाटकीय वार्तालाप हो । कवि विश्व साम्यवाद हुँदै विस्तारवाद सम्मका गाथाहरुलाई संगालेर नयाँ पुस्ताका युवा जनमानसलाई जागरण गराउँदै साम्राज्यवादको अध्ययनमा अमेरिका प्रवेश हुनुभएको छ ।
सिक्किमलाई भारतमा गाभिएको कुरालाई कतिपय भारतीय विद्वानहरुले नै निन्दनीय कर्म भनेका छन् । सुनन्दादत्त रायले ‘स्म्यास् एण्ड ग्र्याब’ जस्तो कृति जसमा सिक्किमको भारतमा विलयनको वस्तुनिष्ठ तथा सन्तुलित अन्तरकथा लेखेर विश्वसमक्ष राखिसकेका छन् भने स्वेतपत्र महाकाव्यमार्फत कवि खेमनाथ दाहाल पनि सोही अनुरूप गर्नचाहनुहुन्छ । गाभ्न के देश अर्काको सक्छ अर्कै विदेशले,
‘विधेयकहरु ल्याई गाभ्न मिल्छ विधानले,
त्यसै हो, हुन्छ यो मान्य भने के अन्य देशले,
गाभ्यौ भारत भन्दैमा मान्छ भारतवर्षले ।’
यतिमात्र होइन सिक्किम आमाका सन्ततिलाई आफ्नो गुमेको अस्मिता फर्काउन उठ जाग भन्दै उत्साहित पनि गर्दछन् कवि दाहाल ।
‘झुप्पा सुनाखरीका र हिमाली टाकुराहरु
भगवान् बुद्धका आँखा घण्ट मन्दिरकाहरु
तिमीलाई सधैं भन्छन् जाग रे अब सिक्किमे
नहोऊ अब मुर्दाझैं आफ्नो अस्तित्व बिर्सने ।।’ (पृष्ठ १०४)
सुगौली सन्धि वास्तवमा बलका भरमा लादिएको सन्धि हो । यसको नेपालको तर्फबाट अनुमोदन भएकै छैन भन्दै कवि दाहालले यस असमान सन्धिलाई चाँडोभन्दा चाँडो खारेज गर्नुपर्ने कुरामा जोड दिँदै सन्धिको दुर्गन्ध नामक शीर्षकमा यावत् वृत्तान्तको अति मार्मिक तवरबाट उत्खनन गर्नुभएको छ । साथै नेपाली मूलभूमिबाट छुट्याइएका भूभाग र सन्ततिलाई नेपाल आमा र उनका सन्ततिले कदापि भुल्न, त्याग्न सक्तैनन् भन्ने कुरालाई यसरी नेपाल आमाको कथनबाट प्रष्ट पारिएको छ ।
‘सिरमौर म सम्झन्छु गोर्खाल्याण्ड झनै अझ
मबाट दूर पार्नाले टुहुराझैं भए सब
हरिद्वार र अल्मोडा, कुमाउ, देहरादून
गंगा र जमुना सम्झी काट्तैछु तड्पँदै दिन ।।’ (पृष्ट १११)
राष्ट्रिय स्वाभिमानको कुरा, राष्ट्रको अखण्डता, देशप्रेम तथा राष्ट्रवादकै सेरोफेरोबाट ओतप्रोत भई लेखिएका यस कृतिका हरेक श्लोकहरु आफैंमा ओजपूर्ण र उपमेय छन् । सायद यिनै कुरालाई दृष्टिगत गरी स्वेतपत्रको भूमिकामा प्रा. गोपिकृष्ण शर्मा लेख्नुहुन्छ:-
‘समाजबाट विषय लिएर कलात्मक ढंगले काव्यिक रुप दिइएको स्वेतपत्र महाकाव्यमा युगबोधका साथै प्रगति र रुपान्तरणका सन्देशहरु पाइन्छन् । स्वेतपत्रको घोषणाले अब हिँड्ने यात्रा पथको निर्देश गरेको छ । इतिहास र वर्तमानमा वर्णनप्रधान विषय यहाँ आएर काव्यिक बनेका छन् र साहित्यिक मूल्यवत्ता कायम गरेका छन् ।’
इर्ष्यालाग्दो कृति स्वेतपत्र भन्दै भूटानी मानवाधिकारवादी नेता टेकनाथ रिजाल यस कृतिको भूमिकामा लेख्नुहुन्छः-
‘नेपाली मूलको भएर हामीले संसारका जुनसुकै कुनामा रहे पनि आफ्नो जाति, धर्म र संस्कृतिको बचावटका लागि गरेका संघर्षको कथा हो यो महाकाव्य । कवि दाहालबाट अझ महत्वपूर्ण कृतिहरुको अपेक्षा गर्दै शुभकामना ।’
‘नेपालको सबै भूमि सुगौली सन्धि पूर्वको
भूटानको सबै भाग कुचविहारसम्मको
मुक्तिको चाहना गर्दै बाँचेका सिक्किमे प्रति
बनौं उत्तरदायी र लियौं यौटा नयाँ गति ।।’ (पृष्ट २३०)
स्वेतपत्रको मूल आह्वान के हो भने ठूला देशले ससाना देशलाई हेलाँहोचो गर्छन् भने नौलो क्रान्तिको बिगुल फुक्न पछिपर्नु हुँदैन । आजसम्म जति जति अन्याय, अत्याचार सहयौं, त्यसलाई पर्दाफास गर्नका लागि कतै कसैको आड-भरोसा नलिएर असमान सन्धिको खारेजीमा एउटै भएर स्वतन्त्रता, सार्वभौम देशको लागि एउटै आवाजमा सबै देशबासी लडौं अनि परिआएमा प्रतिकार गरौं ।
‘सार्वभौम लुटी कोही बन्न खोज्छ महान् भने
अन्यायी रुपमा कोही हेप्न खोज्छ यदा भने
प्रतिकार गरौं हामी भई समान एउटै
गरौं विरोध, विद्रोह साना देशहरु सबै…’ (सर्ग १५- ६)
एकलाई पर्दा अर्को कम्बरमा हात राखी हेर्ने दिन गएको समेत चेतावनी दिँदै कवि उर्जाशील युवाका प्रतिनिधि पात्र भएर युगीन सन्धि या आन्दोलनदेखि सन्धि प्रकरणसम्मका साझा सवाललाई विशाल रंगमञ्चमा उभिएर उद्ंघोषण गर्दै सशक्त अभियानमा घरदेश र दूरदेशका भयभीत नेपालीभाषीलाई एकै सन्तान हौं भन्ने मनोभावनाका साथ एकताबद्ध  साथसाथ हात उठाउन अपील गर्दै हुनुहुन्छ श्वेतपत्रमार्फत ।
‘हौं एकै बाबुका छोरी मात्र नाम अनेकन
एउटै रक्त हो हाम्रो मात्र क्षेत्र विभाजन’ (सर्ग पन्ध्रः ११)
कविले अत्यन्त मार्मिक हुँदै विश्व इतिहासलाई मसिनोसँग केलाउँदै विभिन्न सान्धिमार्फत देश र जनतामाथि भएको र भइआएको चरम यातनाको दृष्य खुल्लारुपमा देखाइदिनुभएको छ । कहिले विश्वको क्रान्ति देखाएर त कहिले घरदेशमाथि छिमेकी देशले गरेको बलात्कार, राजमोहमा बसिखानेलाई कविले अगाड़िबाट ऐन देखाई भूल सुधार्न मैका दिनुभएको छ । सुधार नभएमा आन्दोलनको स्वरुप परिवर्तन हुने कविको घोषणा छ । त्यसर्थ, कवि खेमनाथ दाहालले “श्वेतपत्र” मार्फत समाज परिवर्तनमा धेरै गोरेंटोहरु पहिल्याउनु भएको छ । समाजभित्रका सामाजिक कलंक, कुसंस्कार, रीतिरिवाज, भेषभुषा हुँदै पञ्चायतसाशन प्रणालीले अंगिकार गरेका कैयौं विकृतिको पनि कविले विरोध जनाउनु भएको छ । त्यसै गरी छिमेकी राष्ट्रहरु सिक्किम, भूटान, बर्मा आदिका नेपालीभाषीमाथि भइआएका हिंसाहरुको उन्लेख गर्नुभएको छ । त्यसमा हुन सक्नेसम्मका समस्या समाधानको पाटो पनि कविज्यूले श्वेतपत्रमार्फत नेता-कर्ताहरुलाई कति नहिच्किचाई सम्झाउनु भएको छ ।
अन्त्यमा, एउटा सामामन्य परिवारभित्रको वार्तालापलाई कविले पुनर्मिलनपश्चात देश–देशबीचमा ठूला देशले गरिआएका असमान सन्धिहरुको खारेजी, विस्थापनलाई पुनर्स्थापन, हिंसाको लहरलाई परिवर्तन गरी शान्तिपूर्ण, गणतन्त्रात्मक देश घोषणा हुनुपर्ने, महिला दिदी-बहिनीमाथि भइआएका ठूल्ठूला हिंसा प्रकरणहरु भनेको आफ्नी जन्मदातृ-जननीको कोख रित्याउनु हो भन्दै कवि हिंसारहित राष्ट्रको निर्माणमा विश्वपरिक्रमा गरी जनचेतना फैलाइरहनु भएको छ ।
स्वेतपत्र महाकाव्यभित्र देशप्रेम र असमान सन्धिहरूको ऐतिहासिक रहस्य
इतिहास कसैको लागि सानो-ठूलो हुँदैन । इतिहासले सबै यथार्थताको अभिव्यक्ति गरेको हुन्छ चाहे त्यो पौरणिक कालदेखि युगिन घडीसम्मको किन नहोस । इतिहास जनजनले सोधी, खोजीरहने मूल संविधान हो । ज्ञातअज्ञात शहीदहरुले बगाएको रगत पसिनालाई सलाम चढ़ाउनु हाम्रो कर्तब्य र अनुसाशन हो । तसर्थ, त्यही पहिचानबाट हामी सबैको परिचय विश्वसामु खुलिरहेको छ र सम्मान पनि गरिरहेका छन् ‘जय गोरखाली’ भनेर । हाम्रो वीरताको गाथा विश्वका हरेक कुना कुनामा बुलन्द भई हरेक प्रतिकारमा उठ्ने वीरहरूलाई खुकुरीले इन्साफ दिलाइदिएको छ ।
एक्काइसौं शताब्दीसम्म आइपुग्दा इतिहासमा नेपालीभाषी गोर्खालीहरु कहाँ कहाँ किन चुक्नु पर्यो अनि कुन आधारमा स्वाभिमानको लड़ाइँमा अहोरात्र मेहनत गरिरहेका छन् भन्ने विषयमा ऐतिहासिक कालखण्ड अध्यन गरी नौलो क्रान्तिका लागि थप उर्जाको श्रोतको रूपमा अघि सारिएको दस्तावेज हो कवि दाहालद्वारा लिखित श्वेतपत्र महाकाव्य ।

बाँकी भाग अर्को अंकमा


No comments:

Post a Comment