Wednesday, October 6, 2010

नेपाली भाषी भूटानीको दशैं अझै भयपूर्ण

मिनोसोटा, अमेरिका - अर्जुन प्रधान 
प्रकाशनको मिति ०६ अक्टोबर २०१० १८:२२ बजे  
दशैं आशिर्वादको एक रङ्ग, प्रेरणा, मनोरञ्जन, एकले अर्कोलाई देख्ने ऐना र भय पनि हो । मनमा पीडा बोकेर बसेका कोहि मानिस अनि खुशीले रमाएका मानिसमा दशैंको माहोल भने धेरै फरक देखिन्छ । टाढाबाट र नजिकबाट आउने आफन्तजनमा दशैंको रुप, रमझम भने धेरै अन्तरको हुन्छ । कोहि मनका धनि छन्, भने कोहि धनका धनि छन् हाम्रो समाजमा । समाज दिन-प्रतिदिन परिवर्तित हुँदै आएको छ, यस अर्थमा कि समाजका मानिसहरुमा विचारको मुहान दैनिक रुपमा बढ्दै विकाशोन्मुख रुपमा लम्किएको छ । मानिसले नै निर्माण गरेको धर्म, सँस्कृति, चाडपर्व, रीतिरिवाज आदिमा भय छ, द्वन्द्व छ।
 एक आपसमा मेरो र तेरोको हारालुछ छ, किन ? के सब सिद्धान्त, विचार, दर्शन एकै नै होइन र ? आदिम कालमा देउताहरुको पक्ष र विपक्षबाट विजयी भएपछि मात्र निस्केको यो चाड दशैं सबले मान्नुपर्छ भन्ने पनि छैन तर मनभित्र देवता हुनेहरुले त दशैं मात्र होइन संसारमा मनाउने हरेक चाडपर्व खुशीले मनाउनु पर्छ र मनाउँछन् पनि । सबैले देखेको तारामण्डली एकै हुन्छ भन्ने छैन्, त्यसको आकार विभिन्न-विभिन्न हुन्छ, कसैले तारा गोलो छ भन्छन् भने कसैले ताराभित्र पहाड पो रहेछ भन्छन् । यस्तै फरक-फरक विश्लेषणबाट मनाइन्छ हरेक चाडपर्व । दशैं कहिलेदेखि र किन मनाइयो भन्ने बारेमा हामी सबैलाई थाहै छ । तर चाडपर्व मनाउने शैली हरेक राष्ट्रको आफ्नो-आफ्नो तरिका, नियाम र विधान हुन्छ । नियमभन्दा आफुमाथि उठेर चाडपर्व मनाएमा मानिसमा भय पैदा हुन्छ अनि हिंसाका कारण चाडपर्वमा नकारात्मक सोच, विचारहरुको भण्डार भरिन थाल्छन् ।

यस्तै.................


हामी नेपालीहरुको महान चाड दशैं धेरै रमाइलो नभए पनि रीतिरिवाजमा रहेर आफुभन्दा ठूलाबाट आशिर्वाद लिई शुभकार्यमा सदैब लम्किने प्रेरणाको स्रोत हो । नेपाली उखानमा नै छ ” घाँटी हेरेर हाड निल्नु पर्छ” भनेझैं । जब आफुसँग केहि नै छैन भने अरुको देखासिकी गर्नु चाहिँ आफ्नो मनलाई ढुङ्गामुनि सधैं पारिरहनु हो ।
मनभरि खुसीको पीडा सजाउने हामी नेपाली भाषी भूटानीको कथा भने धेरै फरक छ । सबले भन्दै आएको कथा र मेरो भयसँग जोडिएको एउटा कथा अलिक फरक छ । जस्तै....................।

नेपाली भाषा, नेपाली रीतिरीवाज, भेषभूषा आदिमा सन् १९९० अगाडिदेखि निरंकुश सरकारले आगो लगाउने, नेपाली भाषी भूटानी जनतामाथि बलात्कार, हत्या र देशद्रोहीको विल्ला ओडाई देश निकाला जस्ता कार्य गरि धेरै आमाका सन्तानलाई भूटानी सरकारले घाँटी निचोरेको सत्य जगजाहेर छ । यिनै अत्याचारको सिरकमा लुटपुटिएर रहेका एक लाख बढी भूटानीले सरकारको आँखा छेलेर महान चाडमा लुकिछिपि आफुभन्दा ठूलाको आशिर्वाद लिन रातको समय या विहानी कुखुराको डाकमा आउँथे गाउँघरमा, तर पनि आफ्ना-आफ्न्तकै सुराकीका कारण खान पनि पाउँदैनथिए हाम्रा अग्रजहरुले । सयौंचोटि सरकारी पक्षबाट दमन भयो, नेपालीभाषी भुटानीहरुको गाँस, बास र कपासमाथि सरकारले धावा वोल्यो र भुटान अहिले हरेक क्षण आफ्ना सन्तानलाई देश निकाला गरि आफैंभन्दा माथि रहेर खुशी मनाइरहेको होला । अहिले भूटानमा पहिलेको जस्तो भय त नहोला तर पनि सरकारी पक्षबाट मनाउने चाडपर्वलाई हर्षोल्लासका साथ मनाइदिनु पर्छ । तर आफ्नो मनमा आफ्नो महान चाड दशैंलाई भयमा राखेर निधारमा सेतो टिका लगाई पूर्वको डाँडातिर फर्कि हामीलाई नै हेरि हरेका होलान् । अहिले.............................।

हामी नेपाल आमाको न्यानो काखमा छौं । हरेक नेपालीले मनाउने चाडपर्व, नियम, कला, सँस्कृति र (संविधान) आदि/आदिमा पूर्वको झापा र मोरङ्गको पाँच ठाँउका सात शिविरमा नेपाल सरकार र यूएनएचसिआरको सहयोगमा एक लाख बढी भूटानी शरणार्थी शरणागत भएर बसेका छौं । समयको गतिसँगै हरेक दुःखबाट नयाँ जीवनको शुरुवात हुन्छ भने झैं गरि हाम्रा दाजुभाइ, दिदीवहिनी बाध्यताको लहरोमा जेलिएर भूटान-नेपाल हुँदै तेस्रो मुलुकमा पुनर्स्थापित भएका छौं । देश छोड्नुअघि अनि नेपाल छोड्नुपछि हामीमा भयको साँग्ली तन्किएर स्वदेश फिर्ती सम्बन्धि लामो यात्रा सम्पन्न हुन नपाउँदै हाम्रो मनमा झन ठूलो भय आसन जमाएर बसेको छ । लामो रेखामा बाँधिएको दर्जनौं छाप्राको दाँया/बाँया जहाँ भयको हाउगुजी देखाइ शिविर छाड नत्र परिवारसहित आगो लगाउँछौ जस्ता सूचना दिन प्रतिदिन सातै शिविरमा नाम किटान गरि टाँसिएको हुन्छ । आगो शब्दले हामीलाई बर्षौं दुःख दिएको छ। जहाँ आगोले भूटानी आमाको सिन्दुर पुछिएको छ, सन्तानहरु विस्थापित भएका छन्, नाम, दाम र कर्म लेख्ने भाग्य जलेको कथा आँखामा झल्झलि छ । आगोले शिविरभित्र मनाउने चाडलाई तहसनहस पारी फेरि नयाँ भयसँग भित्रिएको छ तर सुनसानसँगले ।
भय..............।

शिविर दिनदिनै खेल मैदान जस्तै गरि पातलो बन्दै गएको छ । मनमा नानाथरिका भयहरु पैदा भएर हुर्किएका छन् । कहिले आगो, कहिले राजनैतिक आक्रमण, चन्दाअसुली, बलात्कार, पर्चा आतंक, तेस्रो देशको नाममा नेपाली नागरिक भूटानी बन्दै, वाल तथा अन्य प्रकारका हिंसा, मानसिक तनाव, शैक्षिक गतिविधिमा रोक, खाद्यान्नमा मिसावट आदि मात्र होइनन् धेरै विषयमा भय छ यसपालिको दशैंअघि र पछि । यी सव विषयमा धेरै अग्रजले वकालत गरि मुक्तिको सास फेर्न हामीलाई नयाँ शिक्षा दिंदै आएका थिए तर उनीहरुमाथि नै दैनिक आक्रमण, नारा जुलुस, जस्ता कार्यले हामीमाथि पागलपनको एक भय जन्मियो नयाँ भएर । हामीलाई थाहा नै छ । हाम्रा आँखा अथवा मार्गदर्शक अगुवा केबी खड्कामाथि बुधबार ८ सेप्टेम्वर, २००९ का दिन साँझ अज्ञात समूहले छुरा प्रहार गरि भविष्य नै डामाडोल बनाइदिए । यस सम्बन्धि कुनै पनि आधिकारीक धारणा कुनै पनि व्यक्ति या समूहबाट आउन सकेको छैन । किन, कसरी बन्नेबारेमा न हामीले नै बुझ्न पाएका छौं, न त नेपाल सरकारका सुरक्षा निकायले हामीलाइ केही जानकारी गराएको छ । त्यसैले पनि जनताहरुमाथि एक भय छ दशैंमा ।

राजनैतिक घटनाक्रमहरूको परिदृष्य हेर्दा अन्नपूर्ण पोष्टका सम्पादकले लेखेको ”भुटानी शरणार्थी शिविरको समस्या भुटान सरकारको नेपाल भगाउ नीति र नेपाल सरकारको कुटनीतिक विफलताको जारी रूप हो” लाई मेरा आँखाले पनि सही ठहर्याएका छन्।
अन्त्यमा .........
यसपालिको चाडपर्व भयरहित रूपमा मनाउँ चाहे देशमा होस् या विदेशमा । यो चाडले सवैको मनमा शान्तिप्रति प्रतिवद्धता जनाउन मद्दत गरोस् । सवैले निर्भयताका साथ शान्तिसँग बाँच्न पाउँ । शुभकामना ।


Source: www.nepalipost.com

No comments:

Post a Comment