बलराम पौडेल
संयुक्त राष्ट्र संघले एक दशक अघिबाट २० जुनका दिन विश्व शरणार्थी दिवस मनाउन सुरु गरेको छ। दुई दशकअधि आफ्नो भूमिबाट बलपूर्वक लखेटिएका भुटानीहरूले पनि आरम्भ्देखि नै यस दिवसलाई मनाउँदै आएका छन्। शरणार्थीहरूले नाँचेर, गाएर, कविता, गजल वाचन गरेर, खेलेर, उफ्रिएर जसरी भए पनि यो दिवस मनाउँदै आएका छन्। शरणार्थी सम्बन्धी संयुक्त राष्ट्र संघीय उच्चआयोगले दिने केही रकमले वाध्य तुल्याउँछ, यो दिवस नमनाउन - ‘शरणार्थी भएपछि मनाउनै पर्छ रे’। यो दिवस नमनाउने शरणार्थी, शरणार्थी हुनै सक्दैन रे! खुसी देखाउन वर्षमा एकदिन भए पनि रुन्चे हाँसोसहित मनाउनै पर्छ।
२० जुन अर्थात् ‘विश्व शरणार्थी दिवस’ हो। विश्वमा अलपत्र परेका चार करोडभन्दा बढी मानिसको दिवस। आश्रयविहीन तुल्याइएकाहरू लागि एक दशक अघिदेखि मनाउन थालिएको दिवस। जन्मभूमि छाडेर भाग्न वाध्य हुनेहरूको दिवस। बिर्सिइएकाहरूका लागि वर्षमा एक पटक सम्झना गरिने दिवस। मुलुकबाट बलजफ्ती गलहत्याइएका मानिसहरूको दिवस। राष्ट्र गुमेकाहरूको दिवस। अधिकार खोसिएकाहरूको दिवस। परिवारबाट विछोडिएकाको दिवस। चलअचल सम्पत्ती लुटिएकाको दिवस। आफ्नो मातृभूमिबाट रुँदै अर्काको देशमा शरण माग्न पुग्नेहरूको दिवस। अनिश्चित भविष्य लिएर जिउनेहरूको दिवस। योग्यता र दक्षताहुँदा पनि मान्यता नपाउनेहरूको दिवस। गन्तव्य हराएका मानिसको दिवस। जाति, भाषा, संस्कृतिसहित समाजभित्र हुर्किए पनि अस्तित्वविहीन तुल्याइएकाहरूको दिवस। सक्षम हुँदाहुँदै पनि अशक्तहरूलेजस्तो सहयोगको प्रतीक्षामा जिउन वाध्य हुनेहरूको दिवस। राष्ट्र, गाउँ, घर, अस्तित्व केही नभएकाको दिवस।
युद्धको चपेटाबाट बाँच्नकालागि देश छाड्नेहरूको दिवस। जातीय हिंसामा परी ज्यान जोगाउन आफ्नो माटो छाडेर अन्यत्र भाग्नेहरूको दिवस। कहालीलाग्दो जीवन लिएर बाच्नेहरूको दिवस।
विश्व शरणार्थी दिवस मनाउन शिविरभित्र सभा, सम्मेलन पनि आयोजना हुने गर्छ। दिवसको औचित्यमाथि प्रकाश पार्न शिविरभित्र परिचालित दातृ निकायका प्रतिनिधि चिल्ला गाडी चढेर रमाउँदै मञ्चमा आउने गर्छन्। शरणार्थीहरू चिसा भुइँमा बसेर मञ्चमाथि सजिएर बस्नेहरूबाट दिवसका बारेमा तर्कपूर्ण प्रवचन सुन्ने गर्छन्। वर्षभरि भुलेर एकदिन मात्रका लागि पाइएको दिवसका बारेमा गरिने व्याख्यान बुझे पनि नबुझे पनि ताली पिटेर समर्थन गर्छन्। दिन ढल्दै गएपछि सोफा, कुर्सीमाथि बसेर भाषण छाट्नेहरू पालै पालो मिनरल वाटर, चिया पिउन सुरु गर्छन्।
तल चिसो भूइँमा बस्ने शरणार्थी पनि घुटुक्क थुक निलेर तिर्खा मेटाउँछन्। छाडेर आउनु परेको आफ्नो गाउँको पँधेराको चिसो पानी पिएको कल्पना गर्छन्। बटुकाभर आफ्नै गोठको ताजा मही पिएको सम्झना गर्छन्। भाषणमा सुनाइएका मीठा शब्दले चाँडै आफ्नो घर फर्कन पाउने निष्कर्षमा पुग्छन्। साँझपख अर्को वर्ष अझ धुमधामसँग दिवस मनाइने प्रतिबद्धतासँगै उद्घोषकले सभा विसर्जन गर्छन्। सभा सकिनासाथ मञ्चमा बस्नेहरू स्न्याक्स र डिनरका लागि महँगा होटलतिर हुँइकिन्छन्। शरणार्थीका लागि छुट्याइएको आधा रकम लज र होटलतिर जम्मा हुने गर्छ। शरणार्थीहरू ओठ कलेँटी पार्दै धुलो खेलिरहेका बालबच्चा च्यापेर छाप्रोतिर फर्किन्छन्। कोही रित्तो जर्किन बोकेर पानी थाप्न हतार हतार इनार, कुवातिर ताँती लाग्छन्। अर्कोले ब्रिकेट कोइला आँगनमा निकालेर आगो जोर्छ। रेलको धुवा उँडेजस्तो कुइरीमण्डलभित्र छाप्रो हराउँछ। भोलिदेखिको दिनचर्या उस्तै र सँधैजस्तै हुन्छ। बिर्सिएका, गलहत्याइएकाहरूको चर्चा वर्ष दिनसम्म हुँदैन। चकमन्न हुन्छ।
तल चिसो भूइँमा बस्ने शरणार्थी पनि घुटुक्क थुक निलेर तिर्खा मेटाउँछन्। छाडेर आउनु परेको आफ्नो गाउँको पँधेराको चिसो पानी पिएको कल्पना गर्छन्। बटुकाभर आफ्नै गोठको ताजा मही पिएको सम्झना गर्छन्। भाषणमा सुनाइएका मीठा शब्दले चाँडै आफ्नो घर फर्कन पाउने निष्कर्षमा पुग्छन्। साँझपख अर्को वर्ष अझ धुमधामसँग दिवस मनाइने प्रतिबद्धतासँगै उद्घोषकले सभा विसर्जन गर्छन्। सभा सकिनासाथ मञ्चमा बस्नेहरू स्न्याक्स र डिनरका लागि महँगा होटलतिर हुँइकिन्छन्। शरणार्थीका लागि छुट्याइएको आधा रकम लज र होटलतिर जम्मा हुने गर्छ। शरणार्थीहरू ओठ कलेँटी पार्दै धुलो खेलिरहेका बालबच्चा च्यापेर छाप्रोतिर फर्किन्छन्। कोही रित्तो जर्किन बोकेर पानी थाप्न हतार हतार इनार, कुवातिर ताँती लाग्छन्। अर्कोले ब्रिकेट कोइला आँगनमा निकालेर आगो जोर्छ। रेलको धुवा उँडेजस्तो कुइरीमण्डलभित्र छाप्रो हराउँछ। भोलिदेखिको दिनचर्या उस्तै र सँधैजस्तै हुन्छ। बिर्सिएका, गलहत्याइएकाहरूको चर्चा वर्ष दिनसम्म हुँदैन। चकमन्न हुन्छ।
नेपालमा भुटानी शरणार्थीका लागि शिविरको स्थापना भएदेखि नै धेरै देशका मन्त्री, राजदूत, कर्मचारी र राष्ट्र संघीय निकायका प्रतिनिधिले धारावाहिक भ्रमण गरेका छन्। बेलायतकी राजकुमारी एनदेखि म्याडम ओगाटासम्मले उनीहरूलाई ससम्मान स्वदेश फर्काउने प्रतिबद्धता जनाएका छन्। नेपाल-भूटानबीच पन्ध्रौँचरणसम्म औपचारिक द्विपक्षीय वार्ता र अनगिन्ती अनौपचारिक कुराकानी भएका छन्। यही वर्ष जेनेभामा सम्पन्न मानवअधिकार परिषद्को तेह्रौं सम्मेलनमा उनान्सय देशका प्रतिनिधिले निर्वासित भूटानीलाई ससम्मान स्वदेश फर्काउन भूटानमाथि नैतिक दबाब दिएका छन्। हालैमा अमेरिका, बेलायतलगायत विभिन्न देशका राजदूतले शरणार्थी शिविर घुमेर आआफ्नो देशको निर्णय सुनाएका छन्। स्वदेश फर्काउन सहयोग गर्ने बचन दिएका छन्। साथै शरणार्थीलाई पुनर्वासको फाइदा लिन भनेका छन्। शिविर स्थापनाकालदेखि नै यस्तै क्रम चलिरहेको छ। सायद धेरै पछिसम्म चलिरहन्छ।
पशुपक्षी राखिने चिडीयाखानाजस्तै मान्छे नै मान्छेले भरिएको शरणार्थी शिविर अर्थात् ‘ह्युमन जु’ घुमेर फर्कनेले दिने फोस्रो आश्वासनमा चित्त बुझाउनुबाहेकको उपलब्धि हासिल हुन सकेको छैन। शरणार्थी दिवसलाई सम्झनुपर्ने, मनाउनुपर्ने परम्परा किन बसालियो भन्ने सबै शरणार्थीलाई थाहा पाउने विषय पनि भएन। शरणार्थीले यो दिवस केका लागि, के भनेर, कुन विषयमा मनाउनुपर्छ, स्पष्ट छैन। समाजमा कुनै पर्व या दिवस खुसीका लागि मनाइने चलन हुन्छ। प्रायः मानिसहरूले जन्म दिवसलाई हर्षोल्लासपूर्वक मनाउँछन्। यसैगरी विवाह भएको दिनको सम्झना गर्छन्। हिजोआज प्रणय दिवस मनाउने चलन सुरु भएको छ। मर्नेहरूको सम्झनामा मृत्यु दिवस या शोक दिवश मनाउने परम्परा पनि छ। मर्नेहरूका नाममा श्राद्ध गरिन्छ। तर्पण, पिण्डदानआदि गरिन्छ। श्रद्धाले गरिने कार्य भएकाले पनि श्राद्ध भनियो होला। तर यो दिवस शरणार्थीहरूले के भनेर मनाउने? देश छाड्नु पर्दाको विरक्तिमा कि अस्तित्वविहीन भएको खुसीमा? अर्को देशमा पुगेको हर्षमा या अन्योलग्रस्त भविष्यको चिन्तामा? कि जीवनभर बसीबसी खान पाइने खुसीमा?
यो दिवस जन्म जन्मान्तरसम्म शरणार्थी हुनका लागि मनाइने उत्सव पक्कै होइन। यसैले आफू जस्तैहरूका लागि तोकिएको दिवस २० जुनलाई भूटानी शरणार्थीले पनि मनाउन थालेका छन्। देशको, गाउँको, घरको, बगँचाको, छरछिमेकी र इष्टमित्रको सम्झनामा यस दिवसलाई आत्मसात् गर्दैछन्। विभिन्न शिविरमा भेला भएर गहभर आँसु पारेर मनाउँदैछन्। उनीहरूले यस दिवसलाई सुख, दुःख साटासाट गर्ने माध्यम बनाएका छन्। तेस्रो मुलुक पुनर्वास भएकाले टाढारहेका आफन्त, भाइ, बहिनीलाई सम्झने दिवस ठहराएका छन्। मेल, इमेलबाट आफ्नो विचार र माया पठाएका छन्। चन्दा संकलन गरेर सहयोग पठाएका छन्।
यसपाली खुदुनाबारी शिविरबाट अमेरिकामा पुनर्वास भएका कुमार गुरुङको अगुवाई संकलन गरी यहाँका क्याम्प सचिव भानु ढुंगानाको नाममा २५ हजार ५६८ रुपैया दिवस मनाउनकै लागि पठाइएको छ। यो शरणार्थी भुटानीले समाजप्रतिको प्रतिबद्धता र दायित्व नबिर्सेको उदाहरण हो। जहाँ पुगे पनि भुटानीहरू सँगै छन् भन्ने एकताको सन्देश हो।
पुनर्वास भएकाले मात्र होइन अन्य तरिकाबाट पश्चिमी मुलुकतर्फ जानेले पनि नेपालमा रहेका शरणार्थी आफन्त, छिमेकीलाई बिर्सिएका छैनन्, बिर्सँदैनन्। उनीहरूले शिविरहरूमा आगलागी हुँदा सहयोग गरेका छन्, बिरामी पर्दा औषधोपचारका लागि पैसा पठाएर धेरैको जीवनदान दिएका छन्। सानै उमेरमा क्यान्सर लागेर बाँच्ने आशा गुमाइसकेका श्याम गुरुंगलाई पाँच- दश डलर गर्दै एकमुष्ठ रकम पठाएर उपचार गराएका छन्। हाल उनी नेदरल्याण्ड पुनर्वास भए पनि त्यहाँको सरकारको सहयोगमा थप उपचार गराउँदै छन्। परिवारभित्र, छिमेकीमा बिहेबटुलो, मर्दा, पर्दा सबैतिर सहयोग पुर्याएका छन्।
हुनत, शरणार्थीले यो दिवस मनाउनुको कुनै औचित्य देखिँदैन। सन्तान, दरसन्तानसम्म शरणार्थी बन्न प्रोत्साहन गरिने यस दिवसलाई कसैले मनाउन नपर्ने वातावरणको सिर्जना गरिनुपर्छ। आफूलाई शरणार्थी अवस्थामा पुर्याउने तत्व, सरकार, समाज र परिवेशलाई अन्त्य गर्ने योजनातर्फ लाग्नुपर्छ। यस दिवसलाई विश्वबाट शरणार्थी उन्मूलन भएको दिवसको रुपमा रूपान्तरण गर्नेतर्फ पाइला चाल्नुपर्छ।
No comments:
Post a Comment