Sunday, June 20, 2010

उनीहरूले मेरो घर खोसेपनि मेरो भविष्य खोस्न सक्दैनन् ।

विद्यापति मिश्र
आज विश्व शरणार्थी दिवस २०१० । हरेक वर्ष जुन २० लाई संसारभरका शरणार्थीहरुलाई सम्झेर विश्व शरणार्थी दिवस मनाउने गरिन्छ । राष्ट्रसंघीय शरणार्थीका लागि उच्चायुक्त (यूएनएचसीआर) को तथ्याङ्कअनुसार विश्वभरी १ करोड २० लाख मानिसहरु शरणार्थीको जीवन जिउन विवश छन् । यसका अलावा २ करोड ५० लाख मानिसहरु आन्तरिक विस्थापितको रुपमा आफ्नो देशभित्रै शिविर र आवश्यक पूर्वाधार नभएका क्षेत्रहरुमा दयनीय जीवन निर्वाह गर्न बाध्य छन् ।



३ करोड ७० लाखको हाराहारीमा रहेको विस्थापितहरुको यो संख्या विस्थापन परिदृष्यको एक हिस्सा मात्रै हो । यदि यसमा राजनीतिक, विकास निर्माण, प्राकृतिक विपत्ति वा अन्य कारणबाट विस्थापितहरुलाई जोड्ने हो भने यो संख्या कम्तीमा ५ देखि ६ करोडको बीचमा रहेको पाइन्छ । आफूसँग भएको सर्वस्व गुमाएर पीडादायी जीवन गुजारिरहेका शरणार्थीमध्ये नेपालमा पनि एक लाखभन्दा बढी शरणार्थीले आश्रय लिएको अवस्था छ । जसमा सबैभन्दा ठूलो संख्या भूटानी शरणार्थीहरुको छ । भूटानी तानाशाहको अत्याचार खप्न नसकेर रातारात पुर्ख्यौली भूमि नेपाल छिरेका यी भूटानी नागरिकहरुले दातृसंस्थाको भरमा गुजारा चलाउँदै आएको दुइ दशक वितिसकेको छ ।




प्रजातन्त्रका लागि दुइ दशकदेखि लडिरहेका भूटानी शरणार्थीहरु आज आफ्नो माटोमा ससम्मान र्फकन सक्ने वातावरण नबने पनि बाध्य भएर नयाँ जीवनको खोजी गर्दै तेस्रो मुलुकतिर लाग्नु परेको छ । तेस्रो मुलुक पुनर्वास कार्यक्रमअन्तरगत आज ३२ हजार भूटानी शरणार्थीहरु नेपालबाट अमेरिकालगायत अन्य मुलुकमा पुगिसकेका छन् । अझ धेरै शरणार्थीहरु उतैतिर जाने तयारीमा छन् । पहिचानका लागि राष्ट्रियता र बसोबासका लागि आफ्नो घरबाट टाढिएका शरणार्थीहरु विकसित देशका मानिसहरुले गर्ने अनुदानका भरमा बाँचेका छन् । तिनै दाताहरुले शरणार्थी र आन्तरिक विस्थापितहरुलाई सहयोग नगर्ने हो भने शरणार्थीहरुको पीडा चुलिंदै जाने निश्चित छ, अनि अभाव र छटपटी बाँचुञ्जेलको बाध्यता बन्ने छ ।



देखेर अनुभव गर्नेले भोगाइको पीडा कदापि गर्न सक्दैन । फेरि पनि कुनै पनि देशको एक स्वतन्त्र नागरिकले भन्दा तल्लो स्तरको जीवन गुजारिरहेका यस्ता शरणार्थीका कथाव्यथाले सबैलाई भावुक बनाउँछ । विश्वप्रशिद्ध बैज्ञानिक अल्बर्ट आइन्सटाइन पनि कुनै दिन शरणार्थी नै थिए । उनीजस्ता सयौं विश्वचर्चित व्यक्तित्वहरु पनि शरणार्थी बनेको इतिहास हामीसामु छ । नेपालकै कुरा गर्ने हो भने पनि पूर्व परराष्ट्रमन्त्री सहाना प्रधान शरणार्थी कै रुपमा बर्माबाट नेपाल छिरेकी थिइन् । त्यसैले यहाँ भावुकता र सहानुभूतिभन्दा पनि समान व्यवहारको कसीमा ल्याउने प्रयासको खाँचो छ ।

विश्वका अन्य शरणार्थीले जस्तै भूटानबाट लखेटिएका नेपालीभाषी भूटानीहरुको आफ्नो जीवनमा आर्जेको सम्पत्ति र भौतिक बस्तु खोसिएको छ । तर, उनीहरुसँग आफ्नो रहन-सहन, परम्परा, चाड-बाड, सीप र र्सिजना आफैसँग छ, किनभने उनीहरु आफ्नो पहिचान खोजिरहेका छन् ।




एक छाक खाना, लगाउने सुकिलो लुगा र टाउको ओताउने बास मात्रै शरणार्थीको अपेक्षा होइन । आफ्नो पहिचानको रक्षा गर्दै अधिकार प्राप्तिको लागि लडिरहेका भूटानी शरणार्थीहरुले तपाईं जस्तै सहयोगी भावका व्यक्तित्वसँग भौतिक, नैतिक र आर्थिक सहयोगको ठूलो अपेक्षा गरेका छन् । भूटानबाट लखेटिएर विताएको २० बर्षको दुखद भोगाइको यथार्थता सुन्दा तपाईमा एउटा बेग्लै भावना सृजना हुन सक्छ । विश्व परिदृश्यमा यो दृष्टान्त छोटो लाग्न सक्छ । अफगानी र प्यालेस्टाइनी शरणार्थीहरुको समस्या हेर्ने हो भने उनीहरुले पराईको माटोमा ५० वर्ष विताइसकेका छन् । तर, अस्तित्व खोसिएर पराई भूमिमा एक सेकेण्ड बिताउनु जोकसैको पनि कल्पना बाहिरको पीडा हो ।



शरणार्थी समस्याका कारणहरुलाई राम्ररी नियाल्ने हो विश्वमा अकल्पनीय रुपमा मानिसहरु शरणार्थी हुन बाध्य छन् । शरणार्थी छाप्रो भित्रको दृष्य जति कारुणिक छ, त्योभन्दा बढी उनीहरुभित्र पीडाबोध भएको हुन्छ । यसपालीको विश्व शरणार्थी दिवसका दिन तपाई-हामी पनि उनीहरुको छाप्राभित्र उभिएर शरणार्थी हुनुपर्दाको पीडाको कल्पना गर्ने हो कि !

No comments:

Post a Comment