Thursday, March 25, 2010

शरणार्थीका सास्ती नै सास्ती

सोह्रजनाको एउटै चिहान
मेरो घर लामीडाँडामा थियो । हाम्रो गाउँदेखि गाडी चल्ने बाटोसम्म पुग्न तीन दिन पैदल हिँड्नुपथ्र्यो । यहाँका मानिस नुन, तेल र चामल लिन भुटान र आसामको सिमानामा रहेको सरभाङबजार र्झथे । तीन दिन जंगलको बाटो हिँड्नुपर्ने, ओडार या रूखमुनि बास बस्नुपर्थ्यो । जंगलको बाटोमा चोरी हुने, लुटिने घटना भइरहन्थ्यो ।

एक दिन सरभाङबजारबाट सामान लिएर लामीडाँडा र्फकँदै गरेका १६ गाउँले लहरिङ भन्ने जंगलबीचमा रहेको ओडारमा बास बसेका थिए । ती गाउँलेलाई चोरको एक समूहले ‘दही बोकेर बजार झरेको, बीचैमा फर्किनुपर्‍यो, दही खेर जानेभो,’ भनेर विष हालेको दही खुवाएछन् । ती १६ को बास बसेको ओडारमा एउटै चिहान भयो । दुईजना चाहिँ मेरा मामाका छोरा थिए । तिनताका यस्ता घटना कति हुन्थे कति ! त्यहाँका भोटे चोर्ने, लुट्ने र मार्ने गर्थे ।‘बेगार’ ले पार्ने विचल्ली
२३ वर्षको थिएँ म । सरकारी जागिरमा टेक्निसियन थिएँ । दक्षिणी भुटानको दोरखा र देन्चु गाउँका बीचमा तुर्साखोला थियो । हिउँदमा खोला तर्न त्यहाँ बाँसको फड्के हुन्थ्यो, तर बर्खामा भने खोला तर्न सकिँदैन थियो ।
त्यही नदीमा झोलुंगेपुल निर्माणका लागि म प्राविधिकका रूपमा गएको थिएँ । हामीसँग केही कामदार पनि थिए । एकजना थिए- देन्चुकाका अग्ला र हँसिला राई भाइ । त्यतिवेला सर्वसाधारणले वर्षमा एक महिना सरकारको काम निःशुल्क गर्नुपथ्र्यो । यसलाई भुटानमा बेगारप्रथा भनिन्छ ।
बेगार तिर्न आएका ती राई भाइले काम सुरु भएको दुई-चार हप्तापछि ‘घरमा श्रीमती बिरामी भएकाले केही दिनको बिदा दिनुपर्‍यो, फलाम बोक्ने काम गरेर केही पैसा कमाउँछु र श्रीमतीको उपचार गर्छु,’ भने । तर, बिदा दिने अधिकार मसँग थिएन । मैले जोङ्दा (जिल्लाप्रमुख) लाई सोधेर जानू भन्ने सुझाव दिएँ । उनले त्यसै गरे ।
एक दिन मसँगै काम गर्ने मद्रासी साथी र म तिनै राई भाइको गाउँतिर डुल्न गएका थियौँ । बेलुका उनको घर पुग्यौँ । घरभित्र सानी बालिका रोइरहेकी सुन्यौँ । भित्र गएर हेर्‍यौँ । राईकी श्रीमती बच्चा पाउन नसकेर मरेकी थिइन् । नजिकै राईकी चार-पाँच वर्षकी छोरी नांगै थिइन् । तिनी च्याँठ्ठी-च्याँठ्ठी रोइरहेकी थिइन् । पहाडी गाउँ भएकाले वरपर घर थिएनन् । हामीले कराएर मान्छे बोलायौँ, तर धेरैबेरसम्म कोही आएनन् ।
बल्लबल्ल दुई-चारजना गाउँले आए । ती बच्ची र मृतक उनीहरूलाई जिम्मा लगाएर हामी क्याम्प फर्कियौँ । त्यसको दुई दिनपछि ती राई भाइ भारी बोकेर आइपुगे । हामीले उनको श्रीमतीको मृत्युको खबर दिएपछि उनी केही नबोली दौडेर घरतिर लागे । केहीबेरपछि खबर आयो, ‘राई झुन्डेर मरे ।’ बेगार तिर्न जाँदा कैयौँको यस्तै बिचल्ली हुने गरेको थियो ।

द बेस्ट काउन्सिलर
लामीडाँडा क्षेत्रबाट राज्यसभाको सदस्यमा निर्वाचित भएको एघार वर्षपछि सन् १९८४ मा राजा जिग्मे सिङ्घे वाङ्चुकका राजकीय सल्लाहकार सदस्य पदमा मनोनीत भएँ । मेरो राजनीतिक जीवनको एउटा महत्त्वपूर्ण समय थियो त्ययो । सल्लाहकार सदस्यमा मनोनीत भएपछि मैले दिएका सल्लाह र सुझाबले भुटानका राजा र जनता सबैको भलाइ गरेको थियो भन्ने लाग्छ ।
एक दिन सल्लाहकार परिषद् सभामा राजाले सबैलाई सम्बोधन गरेर भने, ‘टेकनाथ रिजाल इज द बेस्ट, बेस्ट एन्ड बेस्ट काउन्सिलर इन द हिस्ट्री अफ भुटान (टेकनाथ रिजाल भुटानको इतिहासकै सबभन्दा राम्रा राजकीय सल्लाहकार सदस्य हुन् ) ।’ त्यो मेरो राजनीतिक जीवनको उपलब्धिपूर्ण क्षण थियो, राजाको मप्रतिको विश्वास र भरोसाको पहिलो अभिव्यक्ति थियो ।

आफ्नै मृत्युपत्रमा हस्ताक्षर
सन् १९८५ मा भुटानमा नाटकीय ढंगले नागरिकता अधिनियम संशोधन गरियो । त्यसवेला म भ्रष्टाचार छानबिन आयोग संयोजक थिएँ । त्यस अधिनियममार्फत दक्षिणी भुटानका लाखाै नागरिकलाई रातारात मुलुकविहीन बनाइँदै थियो । यसबारे विश्व भने अनभिज्ञ थियो । नेपालीभाषी भुटानीलाई खेद्ने प्रपन्च हुदै थियो । ती अन्यायमा परेका लाखौँ नेपालीभाषीका पक्षमा बोल्दा मलाई बर्खास्त गरियो ।
अनेक षड्यन्त्र गरेर मलाई थुनामा राखियो । पाँच दिन हिरासतमा राखेपछि मलाई क्याबिनेटले रिहा गर्ने निर्णय गरेछ । म हिरासतमा थिएँ । तात्कालिक उपगृहमन्त्री दागो छिरिङले दुई न्यायाधीशसामु जोङ्खा भाषा (भुटानको भाषा) मा लेखिएको कागजको दुई किनारामा हस्ताक्षर गर्न लगाए । र, म छोडिएँ । पछि, बुझ्दा त मैले आफ्नै मृत्युपत्रमा हस्ताक्षर पो गरेको रहेछु । ‘म एकैचोटि तीनजनासँग बोल्दिनँ र भेट्दिनँ, त्यसो गरे म आजीवन कारावास भोग्न तयार छु’ भन्ने व्यहोरा लेखिएको कागजमा हस्ताक्षर गरेछु । हस्ताक्षर गरिसकेपछि मलाई उपगृहमन्त्री दागो छिरिङले धम्की दिँदै भने, ‘अबदेखि राजालाई भेट्ने कोसिस नगर्नू । आफ्ना नानीलाई सरकारी स्कुलबाट तत्काल निकाल्नू । राजाको अनुमतिविना उनीहरूले पढ्न पाउने छैनन् ।’
मलाई त्यसक्षण सम्हालिनसक्नुको रिस उठेको थियो । त्यस दिन मेरो मात्रै होइन, लाखौँ नेपालीभाषी भुटानीको स्वतन्त्रता खोसिएको थियो, मेरा नानीहरूलाई मात्रै होइन, लाखौँ नेपालीभाषी भुटानी नानीलाई शिक्षाबाट वञ्चित गरिएको थियो ।
यसरी छाडेँ देश

ममाथि एकाएक प्रतिबन्ध लाग्न थालेपछि केही समय थिम्पुबाट लामीडाँडा गएर बसेँ । तर, त्यहाँ पनि अनेकखाले धम्की र आतंक सहनुपर्‍यो । त्यसपछि मैले ठानेँ- दक्षिण भुटानका लाखौँ नागरिकमाथि भएको अन्याय मैले विश्वलाई सुनाउनैपर्छ ।’
१० जुन १९८८  । यस दिन म नेपालीभाषी भुटानीमाथि भएका अन्याय, अत्याचारबारेमा विश्वलाई सुनाउन हजाराँै वर्षदेखि मेरा पुर्खाले खनिखोस्री गरेर बसेको देश छाड्दै थिएँ । राति नै उठेँ, झोला तयार गरेँ । झिसमिसे नै थियो । हातमा झोला बोकेर सुतिरहेका मेरा नानीहरूलाई हेरँे र श्रीमती कौशिलालाई भनेँ, ‘यी नानीहरूको राम्रो हेरचाह गर्नू । त्यसबखत मलाई आकाशले थिचेर आफू भासिँदै गएको अनुभूति भइरहेको थियो ।
कौशिलासँग बिदावारी भएर बाहिर निस्किएँ । ङालुङ जातिका मेरा मित आँगनमा देखेँ । म बाहिर जान लागेको देख्दा ‘उनले कता लाग्नुभयो ?’ भनेर सोधे । त्यसवेला पहिचानको लडाइँ चलिरहेकाले आफ्नै मितदेखि डराइरहेको थिएँ म । ‘भोलि भेटौँला, म एकछिन् बाहिर जान लागेको’ भनेर बाटो लागेँ । पछि घरबाट सबै कुरा बुझेपछि, ‘मितले मलाई पराई ठाने पनि यी नानीहरूलाई म पढाउँछु,’ भनेर मेरी श्रीमतीलाई भनेछन् । उहाँसँग त्यसपछि भेट भएन ।
नेपाल सरकारले नर्क पठायो
म, श्रीमती, दुई छोरा र पिताजी गरी पाँचजनाको हाम्रो परिवार झापाको विर्तामोडमा थियो । छोराहरूले पढ्न सुरु गरेका थिए । परिवारलाई बिर्तामोडमा छाडेर इलामको पशुपतिनगर हुँदै भारतको दिल्ली जाने तयारी गर्दै थिएँ । त्यहाँ पिपुल्स फोरम फर हयुमन राइट अफ भुटान भन्ने संस्था खोलेर भुटान सरकारलाई दबाब दिने योजना थियो ।
१५ नोभेम्बर १९८९ मा नेपाल प्रहरीले अचानक म बसेको घरमा छापा मारेर मलाई पक्राउ गर्‍यो । अपहरण शैलीमा पक्राउ गरेर मलाई काठमाडौं ल्याइयो । मलाई लागेको थियो- नेपाल सरकारले पक्राउ गरे पनि भुटानचाहिँ पठाउँदैन होला । तर, पक्रेको भोलिपल्ट सबै बयान लिएपछि हामीलाई भुटान सुपुर्दगी गरेर पठाउने भयो । करिब बिहान ९ बजे प्रहरीले हामी तीनजना जोगेन, सुशील र मेरो फोटो लिएपछि सीधै एयरपोर्टतिर लग्यो । प्रहरीले एयरपोर्टतिर लैजाँदा मैले जोडले चिच्चाएर भनँे, ‘हामीलाई फसाइँदै छ । बचाऊ, बचाऊ ।’ त्यसवेला न हामीले नेपालको कानुन उल्लंघन गरेका थियौँ, न नेपालको अहित हुने कुनै काम नै ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा भुटानको वायुसेवा ड्रक एयरको जहाज आइसकेको रहेछ । भुटानी राजाका प्रमुख अंगरक्षक कर्णेल भी नाम्गेल त्यस जहाजमा रहेछन् । भुटानको जहाज देख्नेबित्तिकै आफूलाई नर्क पठाइन लागेको ठानेको थिएँ मैले ।

पर्दापछाडिको भुटान नष्ट
काठमाडौंबाट भुटान पुर्‍याएपछि सुशील, जोगेन र मलाई थिम्पुको मोतिथाङमा राखियो । थिम्पु पुगेको दोस्रो दिन राजाका अगंरक्षक मेजर साङ्गे ठिन्लेले केही प्रश्न दिएर बयान लेख्न लगाए । मैल त्यही दिन लेखेर दिएँ । भोलिपल्ट बिहान मेजर ठिन्ले मकहाँ आएर भने, ‘तपाईंकोे बयान अपुरो भयो । सुशीलको बयानअनुसार तपाइंले सिक्किममा एउटा किताब छाप्न दिनुभएको छ, तर यहाँ उल्लेख गर्नुभएको छैन ।’ भुटानले सुनियोजित ढंगले लाखाँै नेपालीभाषी भुटानीलाई देशविहीन बनाउन गरेके षड्यन्त्रको पर्दाफास गर्दै मैले ‘पर्दापछाडिको भुटान’ नामक किताब लेखेर सिक्किममा छाप्न दिएको थिएँ ।
सुशीलले जानकारी दिएपछि मेजर ठिन्लेले मलाई सिक्किममा तुरुन्त फोन गर्न लगाए र पाण्डुलिपिसहित किताबका सबै प्रति झिकाउन लगाए । भुटान सरकारका हातमा किताब बुझाउन म सहमत भएँ । मलाई रातारात भुटान ल्याएको मेरो परिवारलाईर् थाहा थिएन । फोन गर्दा साथीहरूले भुटानमा पक्राउ गरेर ल्याएको खबर थाहा पाएर मेरो श्रीमतीलाई भनिदिनेछन् र मेरो जीवन रक्षाका लागि पहल हुनेछ भन्ने सोचेँ मैले । सिक्किमका मेरा मित्रहरूले किताबका केही प्रति राख्नेछन् र मेरो किताब पूर्ण रूपमा नष्ट हुने छैन भन्ने पनि ठानेँ । र, उनीहरूले भनेको नमान्दा ज्यान जानसक्ने भएकाले ‘बाँचे पो संघर्ष’ भन्ने सोच्दै सिक्किमका साथी अनिल उपाध्यायलाई फोन गरेर किताब झिकाएँ ।
तर, मैले सोचेभन्दा ठयाक्कै उल्टो भएछ । सिक्किमका साथीहरूले बिर्तामोडमा रहेकी मेरी श्रीमतीलाई न मेरो खबर पुर्‍याएछन्, न एकप्रति किताब नै आफूसँग सुरक्षित राखेछन् । ‘पर्दापछाडिको भुटान’ बाहिर आउन नपाउँदै भुटान सरकारले नष्ट गरिदियो । त्यतिवेला मलाई आफ्नै हत्या भएजस्तो लागेको थियो ।
प्वालबाट भगवान्को दर्शन
चरम यातनापछि मलाई थिम्पुको राबुना जेलमा राखिएको थियो । एक दिन मलाई त्यहाँका जेल कमान्डरले मृत्युदण्डको सूचना दिए । म बसेको कोठामा बाहिरबाट बन्दुकको नाल सोझयाएर राखियो । त्यसवेला मैले जीवनको माया मारिसकेको थिएँ । तर, केही दिनपछि त्यो बन्दुक त्यहाँबाट हटाइयो । मलाई आतंकित पारेर मानसिक यातना दिनका लागि मात्रै त्यसो गरिएको रहेछ । बन्दुक हटाएपछि नाल राखिएको प्वालबाट यसो बाहिर हेरेको- पर पाटु गाई चरिरहेको देखेँ । त्यो प्वालबाट प्रत्येक दिन हेर्ने गर्थेँ । पाटु गाई त्यहीँ वरिपरि चरिरहेको हुन्थ्यो । मैले गाईलाई भगवान् सम्झेर दिनदिनै प्रार्थना गर्न सुरु गरेँ ।
मैले प्वालबाट बाहिर हेर्ने गरेको थाहा पाएपछि जेल कमान्डरले प्वालै बन्द गरिदिए । त्यसपछि मैले गाई हेर्न पाइनँ । त्यस दिन पनि मैले आफ्नो स्वतन्त्रता लुटिएको नमिठो अनुभव गरेँ । केही दिन साह्रै न्यास्रो लाग्यो । जेल नाघेर भए पनि गाईलाई एकचोटि हेराँै जस्तो लाग्यो । अहिले पनि गाई देख्दा मलाई राबुना जेलको सम्झना हुन्छ । कतै म त्यही जेलभित्रबाट पो हेरिरहेको छु कि जस्तो लाग्ने गर्छ ।
यातना दिनेलाई यातना
चेमगाङ जेलमा थिएँ । जेलभित्र ठूलो क्षेत्र थियो । निकै समय बितेपछि हामी कैदीले जेलभित्र सानो मन्दिर स्थापना गर्ने योजना बनायौँ । जेल प्रशासकलाई हामीले भन्यौँ, ‘हामी जेलभित्र छौँ । हाम्रा आफन्तको निधन हुँदा हामी मन्दिरमा प्रार्थना गरेर उनीहरूका आत्माको शान्तिको कामना गर्छौँ ।’ हाम्रो अनुरोधपछि उसले बोक्रेबोक्रे स्वरमा अनुमति दियो । हामी जेलमा क्षेत्री, बाहुन र राई जातिका थियौँ । दुईवटा मन्दिर बनाएर पूजाआजा गर्न थाल्यौँ ।
एक दिन अचानक जेल निरीक्षणका बाहिरबाट सुरक्षाका उच्चपदस्थ प्रशासक आए । जेलभित्र मन्दिर बनाएको थाहा पाएपछि भत्काउन लगाए । त्यसैवेला दुईजना कैदी पनि भागे । त्यही विषयलाई लिएर प्रशासनले छानबिन समिति बनायो । छानबिनपछि जेलको सुरक्षामा रहेका एसपीसहित, इन्सपेक्टर र दुई हवल्दार पनि जेलमा थुनिएको थाहा पायौँ । कैदीलाई निर्मम यताना दिने ती प्रहरी जेल परेको सुन्दा हामी साह्रै खुसी भयौँ ।
एक दशकपछिको मिलन
१७ डिसेम्बर १९९९ मा म जेलबाट छुटेँ । त्यसको पाँच महिनापछि मात्रै कौशिलासँग भेट्ने साइत जुर्‍यो । दस वर्षपछि जीवनसंगिनीलाई भेट्न गइरहेको मेरो मनोदशा विचित्रको थियो । म थिम्पुस्थित आफन्तको घरमा बस्थेँ । बेलुका ४ बजेतिर आफन्तकी सानी छोरी मेरो कोठामा दौडिँदै आई र ‘सानीमा आइपुग्नुभो,’ भनी । म उठेर कौशिला भएको कोठातिर लागेँ । तर, ढोकामा पुगेपछि म एक्कासि रोकिएँ । कौशिलानजिक जाने आँटै आएन । ढोकाबाहिर थचक्क बसेर अघि खबर ल्याउने नानीसित कुरा गर्न थालेँ । मेरो स्वर सुन्नेबित्तिकै कौशिला वायुवेगले आइन् । केहीबेर हाम्रो वाक्य नै फुटेन । एक-अर्कालाई एकोहोरो हेरिरहयौँ । हाम्रा आँखाबाट बरर्रर आँसु र्झन थाल्यो । केही छिनपछि भने हामी अँगालो हालेर रुन थाल्यौँ । धेरै रोइएछ । आफन्तले ‘कति रोइरहेको ?’ भनेपछि मात्रै हामी सम्हालियौँ । मेरो जीवनको सबभन्दा सुन्दर र सुखद क्षण त्यही थियो ।
(नयापत्रिकाबाट)
प्रस्तुतिः राजेश राई
rajesh.dhankuta@gmail.com

No comments:

Post a Comment