Saturday, March 13, 2010

त्रिदेशीय गजल महोत्सव शुरू

त्रिदेशीय गजल महोत्सव झापाको दमकमा आजदेखि शुरु भएको छ । महोत्सवमा नेपाल, भुटान र भारतका सयौं गजलकारको सहभागिता रहेको छ ।
दुइ दिनसम्म चल्ने उक्त महोत्सवमा नेपालको झापादेखि पर्वत जिल्ला, भारतको दार्जिलिङदेखि भुटान गजल मञ्चका श्रष्टाहरुको जमघट रहेको छ । आज भएको साहित्यिक कार्यक्रमको उद्घाटन प्रमुख अतिथि नेपाल प्रज्ञा प्रतिष्ठानका सदस्य तथा प्राज्ञ बुँद रानाले गर्नु भएको थियो ।

उक्त महोत्सवको अवसर पारेर पाँचवटा नयाँ गजल संग्रहको समेत विमोचन गरिएको छ । यसरी विमोचन गरिएका कृतिहरुमा गजलकार वलभद्र कोरइरालाको ‘काँचको मुटु”, डिकेश लामाको ‘मृगतृष्णा’ एलिना सग्रौला, अम्वीका कडरीया, दीपीका मिश्र, दीपा दाहालको संयुक्त ‘दर्पण’ गजल संग्रहको समेत विमोचन भएको छ । त्यसैगरी यम सुवेदीको ‘त्यसपछि मलाई सोध’ र भुटान गजल मञ्चका वुद्धी सम्वाहाम्फेको ‘सगंम’ नामक कृति विमोचन भएको छ ।
उक्त उद्घाटन कार्यक्रममा वोल्दै प्रमुख अतिथि रानाले गजलको राम्रो परिभाषा समेत नभएको अवस्थामा नयाँ पिँडिले यसको नक्सा कोरेर लानु पर्ने वताउनु भएको छ । कार्यक्रममा चितवनका गोर्खे साइला, विमला कुसुम सिन्धुलीकी अमला अधिकारी लगायतले आ-आफ्ना कृति वाचन गरेका थिए । कार्यक्रमको सभापतित्व झापाका गजलकार केशव आचार्यले गर्नु भएको थियो भने कार्यक्रममा वरिष्ट संगितकार मणिकमल क्षेत्री, लोक गायक एलपी जोशी लगायतले विचार व्यक्त गर्नु भएको थियो । महोत्सव भोली समापन हुनेछ ।

No comments:

Post a Comment