Thursday, February 4, 2010

शिविरमा

भुटानी शरणार्थी शिविर शनिश्चरेका एक विद्यार्थीले आफ्नै विद्यालयका वयोवृद्ध सहायक प्रधानाध्यापकलाई कुटपिट गरि घाइते बनाएका छन् ।
शनिश्चरे शिविरस्थित न्यू होराइजन एकेडमीमा कक्षा ९ मा पढ्ने सोही शिविर सेक्टर एच ४, छाप्रो नं. ३३ का किशोर राईले उक्त विद्यालयका पचहत्तर वर्षीय स.प्र.अ. देवीचरण धिमाललाई मुक्का प्रहार गरि घाइते बनाएका हुन् ।

विहान प्रार्थनाको समयमा तीन चार जना विद्यार्थीहरु कक्षा कोठामा बसिरहेको अवस्थमा स.प्र.अ. धिमालले उनीहरुलाई प्रार्थनाका लागि लाइनमा बस्न आग्रह गर्दा अन्य विद्यार्थी गए पनि निज राईले अटेर गरेपछि धिमालले कार्वाही गर्ने चेतावनी दिएका थिए । उनको चेतावनीलाई प्रतिवाद गर्दै निज राईले धिमालको अनुहारमा एक्कासी मुक्का प्रहार गरेका थिए ।
धिमालको नाथ्री फुटेको र अनुहारमा चोट लागेको छ । उनी पथरीस्थित एक नर्सिङ होममा उपचारपछि घर फर्किसकेका छन् भने राईलाई शिविर रेखदेख कार्यदल (CWT) ले पक्राउ गरि प्रहरीलाई बुझाएको छ ।
उक्त घटनापछि शिविरका सवै सेक्टर विद्यालयका शिक्षकहरुले घाइतेको उपचार र पिडक राईलाई कारवाहीको माग गर्दै हिजो पठनपाठन ठप्प पारेका थिए भने दमकस्थित कारितास नेपालको कार्यालयबाट गएका प्रतिनिधिहरुले आन्दोलिनरत शिक्षकहरुलाई आन्दोलन रोकी पठनपाठन सुचारु गर्न आग्रह गरेका शनिश्चरेस्थित हाम्रा सहयोगी लाक्पाले जानकारी दिएका छन् ।


राष्ट्रसंघीय बिश्व खाद्य कार्यक्रमले शरणार्थीलाई खाद्य सहायता पाउनका लागि नयाँ रासन कार्ड बितरण गर्ने तयारी गरिरहेको छ ।
सरकारको शरणार्थी समन्वय एकाईसँग संयोजन गरि यहि फेब्रुवरिभित्रमा नयाँ रासन कार्ड बितरण गरिने बताईएको छ ।
बितेको २ बर्षमा शरणार्थीको परिबारका कतिपय सदस्य पुनर्बासमा तेस्रो देश गएका लगायतका कारण रासन कार्ड नयाँ बनाउनु परेको बताईएको छ ।
बिश्व खाद्य कार्यक्रमले शरणार्थीलाई खाद्य सहायताको रुपमा २ साताका लागि ५ केजी ६ सय ग्राम चामल, ५ सय ६० ग्राम दाल, २ सय ८० ग्राम चना, साढे तीनसय ग्राम खाने तेल, २ सय ८० ग्राम चिनी, एकसय ५ ग्राम नुन र चारसय ९० ग्राम पौष्टिक पिठो दिने गरेको छ ।


गोलधाप शरणार्थी शिबिरको इन्ट्रिगेटेड साईन्स कर्नरले अस्ति शनिबार गोलधाप शरणार्थी शिबिरमा बिज्ञान सम्बन्धी हाँजिरी जवाफ प्रतियोगिता गर्यो ।
प्रतियोगितामा माध्यमिक तह सम्मका चार बिधार्थी समुह स्पर्धी थिए ।
प्रतियोगितामा ३५ अंक ल्याएर अर्थोपोडा समुह प्रथम, ३४ अंकका साथ प्रोटोजा द्धितिय र २५ अंक ल्याएर पेरिफेरा तृतिय भएका थिए ।
प्रतियोगिताका बिजेता टिमहरुलाई पुरस्कृत गरिएको थियो ।

No comments:

Post a Comment