Monday, December 21, 2009

शरणार्थीले मनाए राष्ट्रिय दिवस



 भुटानमा राजतन्त्र स्थापना भएको खुशीयालीमा विहिवार राष्ट्रिय दिवस मनाइरहेको वेला त्यही राजसत्ताले लखेटेका शरणार्थीले भने राष्ट्रिय पहिचान र अस्तित्व वचाउन सो दिवस मनाए ।
राष्ट्रको संरक्षण र जनताको सुशासनको जिम्मा लिएको राज्य नै वैरी वनेपछि १८ वर्षअगाडि घरवार छोडेर शरणार्थी जीवन विताइरहेका भुटनी जनतामा भुटान प्रतिको माया अलिकत्ति पनि विचलित भएको छैन । त्यही भुटानी शासकले लखेटेको पिडामा त्यहाँको राष्ट्रिय पोशाक गो (पुरुषले लगाउने पोशाक) र किरा (महिलाले लगाउने राष्ट्रिय पोशाक) लगाएर आफ्नो देशको सम्झना गरेका छन् शरणार्थीले । वर्षौसम्म
शिविरमा वस्दा समेत भुटानले आफुहरुलाई स्वदेश फर्काउने छाँट नदेखेपछि निराश भएको जनाउँदै झापाको वेलडाँगी एक स्थित भुटानी शरणार्थी शिविरका अगुवा भक्त घिमिरे आफ्नो देशको पहिचान र अस्तित्व वचाउन आफुहरुले सो दिवस मनाएको वताउनु हुन्छ । यति लामो शिविर वसाईको क्रममा शरणार्थीले भोगेको कष्टकर पिडालाई पोख्दै केही शरणार्थी अवसर र विकल्पको खोजीमा तेस्रो मुलुक जान वाध्य भएको उनीहरुको गुनासो छ । तेस्रो मुलुक पुनस्थापना कार्यप्रति लक्षित गर्दै जहाँ गएपनि राष्ट्रिय अस्तित्वको लागि भुटानी पहिचान अक्षुण राख्नु पर्ने उनीहरुको जोड छ ।

आफ्नै देशका लाखौं जनतालाई शरणार्थी वनाएर आफ्नो राजशत्ता स्थापनाको खुशीयाली मनाउनुको कुनै अर्थ नहुने शरणार्गीहरुको भनाई छ । शिविरका छाप्रामा दाताले दिएको मानो मुठीले गर्जो टार्दै आएका शरणार्थीले आज राष्ट्रिय दिवसमा भुटानका राजा (डुक्पाजाति)को पोशाक लगाएर भुटानको पहिचान वचाउन गरेको प्रयास कम सह्रानिय छैन । त्यतिमात्र हैन शरणर्थीहरुले डिसेम्वर १७ तारिखलाई भुटानको राष्ट्रिय दिवसलाई भव्य साँस्कृतिक कार्यक्रमको आयोजना गरि मनाएका छन् । राष्ट्रिय सो दिवस मनाउन कार्यक्रममा भुटान साँस्कृतिक मञ्चका कलाकारले मारुनी, सेलो र आफ्नो जातिको पहिचान खुल्ने खालका लोक नृत्य प्रस्तुत गरेका थिए । कार्यक्रम स्वलगनशिल किराँत परिवार तथा त्रिकोण परिवारले आयोजना गरेको थियो । यसरी आफ्नो राष्ट्रिय दिवस मनाउने सो कार्यक्रमको सम्पूर्ण खर्च भने शरणार्थी रेखदेखमा खटिएका दातृ संस्थाले सहयोग गरेका थिए । आफुहरु जुन मुलुकमा पुगेपनि आफ्नो राष्ट्रियताका लागि सवै एक हुन पनि वक्ताहरूले आह्वान गरेका छन् ।

भुटानमा सन १९०७ साल डिसेम्वर १७ तारीखमा राजतन्त्र स्थापना भएको थियो सोही अवसरमा उक्त दिनलाई भुटानमा राष्ट्रिय दिवसको रुपमा मनाइदै आएको छ । झापा र मोरङका विभिन्न सातवटा शिविरमा रहेका एक लाख आठ हजार भुटानी शरणार्थी मध्ये २५ हजार भन्दावढी तेस्रो मुलुक पुनस्थापनामा गइसकेका छन् ।
आज भएको कार्यक्रममा गायक एलपी जोशी, कलाकार विशाल राई, गोपाल आचार्य, टेकबहादुर दहाल लगायतले पनि आफनो कला प्रस्तुत गर्नु भएको थियो ।
कार्यक्रममा बोल्ने बेलडाँगी १ का सचिव टिबी गुरुङ र शरणार्थी प्रतिनिधि भक्त घिमिरेले भुटानी शरणार्थीहरुले राष्ट्रियता, संस्कृति, पहिचान तथा सामाजिक सहअस्तित्वका लागि दिवस मनाउने गरेको बताए । शिविरमा रहेका शरणार्थीले विहिवार मनाएको १०२ औं भुटानी राष्ट्रिय दिवस हो ।

No comments:

Post a Comment