Tuesday, December 8, 2009

जीवन जिउनेहरुका लागि

कथित तल्लो जातको विपन्न केटासँग विवाह गरेका कारण ढोंगी समाज र परिवारको तिरस्कारबाट चेतनासँगै विर्खे गाउँ छाड्न बाध्य बन्छ । चेतनालाई सुखै सुख दिन नसके पनि जीवनभर खुसी दिने विर्खेको बचन केही समयपछि नै तोडिन्छ । सामाजिक अपहेलनाको घाउलाई संघर्षको मल्हमले निको पारेर सार्थक एवं उदारहणीय जीवन जिउनेतर्फ उसको चेतना कमजोर सावित हुन्छ । फलस्वरुप विर्खेले रक्सी खाएर चेतनालाई कुटपिट गर्न थाल्छ ।




उसले जिविकोपार्जनको उपाय सोच्नु भन्दा पनि चेतनाले रक्सी र दाउरा बेचेर जम्मा गरेको २/४ पैसा समेत तासमा उडाउन थाल्छ । यस्तो परिस्थितिबाट आजीत भएकी चेतना एकदिन भीरबाट फाल हानेर मर्न लाग्दा गाउँकी एक महिलाले बचाउँछिन् र समाजमा महिलाहरुले गरेका प्रगतिका उदाहरण देखाउँछिन् ।

सकारात्मक सोचका साथ जीवनलाई मर्न होइन जिउनका लागि प्रयोग गरियो भने धेरै थोक गर्न सकिने कथा बोकेको छ डकुड्रामा “जीवन जिउनेहरुका लागि”ले ।

मोरङ र झापामा छायांकन कार्य पूरा भएको डकुड्रामाले चेतनाले समूहमा संगठित भइ तालिमहरु लिएर सहजरुपमा जीवन जिउने कलामात्र होइन समाजलाई समेत रुपान्तरण गरी चेतनशील बनाउन सफल भएको कथा छ । चेतनाको यस्तो उदाहरणबाट प्रभावित भएर उनका माइती र माइती गाउँका मानिसहरु आई माफी माग्दै उनलाई सम्मान गरेको प्रसंगलाई डकुड्रामाले मार्मिक रुपमा प्रस्तुत गरेको छ । यसले “भोकालाई एक छाक भोजन होइन जिउने जुक्ति सिकाउ” भन्ने मूल मर्मलाई समेटेको छ । मदन भण्डारी स्मृति प्रतिष्ठान नेपाल उर्लाबारी मोरङले हेफर इन्टरनेशनल नेपालको सहकार्यमा डकुड्रामाको निर्माण गरेको हो । यी संस्थाको सहकार्यमा समुदायमा दिगो निकासका लागि विपन्न वर्ग भित्रका पनि विशेष गरी महिलालाई ज्ञान, शीप प्रदान गरेपछि उनीहरुबाट समाज रुपान्तरण भएको वास्तविक अवस्थालाई डकुड्रामामा उतारिएको प्रतिष्ठानका सामुदायिक विकास अधिकृत बन्धु निरौलाले बताए । “पहिले आफूलाई रुपान्तरण गरी समाज रुपान्तरण गर्ने तिनै व्यक्तिहरु नै डकुड्रामाका पात्रहरु हुन ।” उनले अर्थ्याए ।
१ दर्जन बढी नाटक लेखन, निर्देशन गरिसकेका पत्रकार एव रंगकर्मी भूपेन्द्र तिम्सिनाले सो को लेखन निर्देशन गरेका छन् । गीत पनि उनकै रहेको छ । कलाकारका रुपमा मोरङ पथरी १ र ९ नम्बर वडाका समूहका सदस्यहरु नौ डकुड्रामामा देखा पर्छन । त्यसका अलवा कंचनजंघा नाट्य समूह मोरङका कमलराज भूजेल, भिष्म न्यौपाने, गन्तव्य थियटर झापाका ममता बुढाथोकी, र तुलसा आङदेम्बे पनि कलाकारका रुपमा प्रस्तुत छन् ।


थियटरका प्रकाश आङदेम्बेले अतिथि निर्देशकका रुपमा सहयोग पुर्याएका छन् । भूटानका अर्जुन प्रधान सहायक निर्देशकका रुपमा रहेका छन् । समूहका तर्फबाट प्रेमा श्रेष्ठ, यनुका थापा, दमन्ता मिश्र, उर्मिला थापा, सम्शेर रानामगर, अम्बिका सुब्बा, इन्दिरा सिग्देललगायतले अभिनय गरेका छन् । प्रसिद्ध संगीतकार मणिकमल क्षेत्रीको संगीत रहेको डकुड्रामाको छांयाकन सुमन योञ्जनले गरेका छन् ।
मायामितु

No comments:

Post a Comment