Monday, December 21, 2009

घर फर्किने दिन


 जितेन मुस्कान
विद्रोह पर्खेर बाँचेकी छिन् राधा । विद्रोहतिरै फर्केर बाँचेकी छिन राधा, उनको भोको अनुहारमा परिवर्तनका उर्वरशील खेतको गराहरु स्पष्ट देखिन्छन् । चौबन्दी चोली फाटिसकेको छ । उमेरले डाँडा काटिसकेको छ । शरणार्थी शिविरभरी अमेरीका जानेहरु कसले फेसनेवल कपडा लगाउने, कसले महंगो मोवाइल बोग्ने भन्ने प्रतिस्पर्धा चलिरहेको बेला राधालाई झुपडीमा एक छाक भोक टार्नका लागि परिवर्तन पर्खिरहेकी छिन् । आफ्ना बालबच्चाहरु जिउँदो जाग्दो नभएकोमा झर्किरहेकी छिन् । कतै एकता हराएर छरपष्ट छरिएको जिन्दगीलाई आखाँभरि नियाली रहेकी छिन् । कहिले जन्मेको माटोको कुरा गर्छिन्, कहिले युध्द्धहरुको संघर्षशील बाटोको कुरा गर्छिन् ।

जिन्दगी थिलथिलिएर, पिल्सिएर बाँचेको देख्छिन् राधा, आफ्ना सन्तानहरुले सघर्षशील यात्रा विजयका लागि तय गरेको हेर्न चाहन्छिन् । कायर भएर इतिहासको दूलोमा लुकेको भन्दा गर्वले छाती फुकेको हेर्न चाहन्छिन् । विगतका आलो यातनाका यादहरुलाई कहिले रेडियो, कहिले टि.भी.बाट विश्वलाई सुनाउन चाहान्छिन् । यूवा यूवतीहरुले राधाको बेदना सुन्दैनन् अरे ! बुढा पाकाहरुले पनि सुन्दा सुन्दै थाकिसके अरे ! अहिले त राधा आफ्नो कथा केटाकेटीहरुलाई सुनाउँछिन् । ठूलाठूला नेताहरु मरेको देख्छिन् कतै झूट्टो भाषण पनि ओइलाएको देखछिन् । कसैले आमा ठूलाठूला मन्छेहरुको शब्द शब्दमा धेरै तेज हुन्छ, हामीले बोलेको भन्दा उनीहरुको शब्दमा जोश अनि जागँर हुन्छ, भन्दा चूपलाग …………… निर्दयी शब्दहरुले कुन चै मान्छेको पेट टन्न भरेर शरीरमा रक्तसञ्चार गरेको छ भन्छिन् । म पेट टन्न अघाए पछिको ठूला ठूला भाषण र परिवर्तन हेर्न चाहन्छु । भोको पेटमा नारा चर्किएको हेर्न चाहान्न । मान्छे भएको अर्थमा मान्छे भएर एक छाक खान चाहन्छु । मेरो आफ्नै माटोमा बाँच्न चाहान्छु । अरुको परिश्रमको फल लुट्नु भन्दा आफ्नै दश नङग्रा खियाउन चाहान्छु, आफ्नै पौरखमा गर्व गर्दै बाँच्नेहरु मात्र मेरा छोरा छोरी हुन भन्छिन् ।

प्लास्टिकको छानामूनी एकलै बस्छिन् । आफ्ना शाखा सन्तान्नहरु अमेरीका जाउँ, अमेरीका जाउँ, भन्दा भूटान जाने भूटान जाने भन्दै राधाले जीकीर गरीन् । छोराछोरीले त्यागेपछि सबैले हेप्छन् । राधाको कुरा कसैले टेर्दैनन् । अनुहारमा बढि मुजा भएकाले सबैले बोक्सी बुढी भन्छन् । अरुलाई प्रतिकार गर्न नसकेपछि केवल बोक्सीको आरोप खेपेर मनभित्र विद्रोहको आगो बोकेर बाहिर लाचार जीवन बाँच्न बाध्य भएकी छिन् । शिविरमा विदेशबाट सबैको फोन आउँछ तर राधाको फोन कहिले पनि आउँदैन । बाटामा भेटेजति सबैलाई सोध्छिन् “नाती तिमीले मेरो नाती अरुणलाई चिनेको छ ? उसको फोन नम्बर थाहा छ ?” अल्लारे ठिटाहरु “को अरुण ? कुन केटाको नाम सोध्छ यार यो सुड्ढी ?” भन्दै राधाको कुरालाई गल्लल्ल हाँस्दै हावामा उडाउँछन् । राधालाई धकेल्दै अघि बढ्छन् । हातपाउ बसिसकेका छन् । उमेरमा गरिएका कुराहरु दन्त्यकथा भइरहेका छन् । राधालाई दमको रोग छ, हरपल श्वास बढेर आउँछ । उनको कुरा कसैले सुन्दैनन् । जाडोको याम छ । झुपडीमा खान पकाएर दिनको कुरै नगरौं तातो पानीसम्म तताएर दिने कोही छैन् । सकीनसकी जाडोमा घिस्रिरहेकी छिन् । शिविरमा बुढाबुढीहरुलाई मर्ने बेला भयो भनेर राम्रो उपचार गर्दैनन् बाहिर उपचार गराउने पैसा पनि हुँदैन । राधा मृत्युसँग प्रत्येक प्रहर कुस्ती खेल्दै बाँचिरहेकी छिन् । थाहा छैन कालले जन्मेको माटोमाथि पूर्याउँछ या नेपालको माटो मूनी लुकाउँछ । तर अझै पनि राधा घर फर्किने दिन पर्खेर बाचेकी छिन् । हर रात सपनामा भूटान पुगेको कुरा गर्छिन् । उही देउराली, उही सुनकोश, उहि माने भन्झ्याङ्ग अनि धजेको माटोमा घुमेको कुरा गर्छिन् । वाटोमा हिँडी रहेका युएनएचसीआरका कर्मचारीहरुलाई “नानी घर फर्किने दिन कहिले आउँछ, कहिले आउँछ ……………. भन्देउन” भन्दै प्रश्न सोधी रहन्छिन् बेलडाँगी दुइको धाँधली चोकमा उभिएर !



1 comment:

  1. अर्जुन भाईको प्रगति देखेर मलाई धेरै नै खुशी लाग्यो । राम्रो छ तिम्रो कामहरु । जितेन् दाईको लेख राम्रो लाग्यो । सफलताको कामना गर्दछु ।

    ReplyDelete