शरणार्थी शिविरमा बेला बखत हुने सांगितिक कार्यक्रमको लहरमा पछिल्लो पटक आइतबार दमकस्थित बेलडाँगी १ मा शरणार्थीहरुले त्रिदेशीय गीतसंगीत सहितका विभिन्न कला मार्फत सिर्जनशीलता प्रस्तुत गरे ।
कार्यक्रममा छुट्टै गोर्खाल्याण्ड राज्यको माग भइरहेको भारतको दार्जिलिङका अगुवा संगीतकर्मी मणिकमल क्षेत्रीको नेतृत्वमा हिरा रसाइली, जीवनप्रकाश प्रधान, गौतम गजमेर, अनुपमा प्रधान सहितको टोली सामेल थियो । नेपाल र भूटानका तर्फबाट मदन मावो, राकेश सुब्बा, मीरा राई, राजेश सुब्बा, सुरज राई, तारामान खनाल, तिर्थराज विश्वा, केशरसिंह राईलगायतको सहभागिता थियो । कार्यक्रममा उनीहरुले गीत संगीतको गर्विलो स्वाद चखाए र उनीहरुसँगै हजारौं दर्शकहरु झुमे ।ती कलाकारहरुलाई आयोजक युवा मैत्री केन्द्रले सम्मान समेत गर्यो । संगीतकर्मी मणिकमल क्षेत्रीले सम्मानपत्रद्वारा स्रष्टाहरुलाई सम्मानित गरे ।
कार्यक्रममा वरिष्ठ संगीतकर्मी मणिकमले क्षेत्रीले भने -"पीडामा बढी सिर्जना हुर्कने हुनाले हामीमा भन्दा तपाईहरुमा सिर्जनशीलता बढी छ ।" सो साँगीतिक जमघटमा भूटान र भारतका स्रष्टाहरुको सिर्जनशील मनको कला, साहित्य र संस्कृति संरक्षणको अठोट देखेर नेपाली स्रष्टाहरु चकित देखिन्थे । बाहिर हुँदा कला , साहित्य र संस्कृति प्रतिको लगाव देखेर नेपाली स्रष्टाहरु त छक्कै परे । कार्यक्रममा ३ देशका स्रष्टाहरुबीचको त्रिवेणी कार्यक्रमका रुपमा सांगितिक लहर उर्लियो ।
शरणार्थी सहायता संस्था मध्येको कारितास नेपालको सहयोगमा तीनै देशका स्रष्टाहरुको संलग्नतामा गीती एलबम सम्झौता तयार थियो । गीत संगीतमै केन्द्रित कार्यक्रममा सम्मानित स्रष्टाहरु सँगसँगै राजेश सुब्बा, पहिलो भूटानी शरणार्थी बालतारा प्रविण दियाली, तुलसा आङदेम्बेले गीत प्रस्तुत गरे । आइत गुरुङ, बुद्धमाया भूजेलको समूहले राजनीतिक व्यंग्य गर्दै प्रहसन प्रस्तुत गर्यो । कार्यक्रममा भएको शरणार्थीबीचको कला प्रदर्शनीमा खुदुनावारी प्रथम, टिमाई द्धितीय र बेलडाँगी २ तृतीय भयो ।
No comments:
Post a Comment