Friday, September 25, 2009

शरणार्थीको आर्थिक हैसियतबारे अनुसन्धान

भुटानी शरणार्थीले चलाउँदै आएका सवारी साधन र उनीहरुको आर्थिक हैसियत विषयमा अनुसन्धान शुरु गरिएको छ । पूर्वी नेपालका विभिन्न सातवटा शिविरमा बस्दै आएका कतिपय शरणार्थीको आर्थिक हैसियतमा तुलनात्मक रुपमा परिवर्तन देखिएपछि अनुसन्धान शुरु गरिएको हो ।झापा र मोरङका विभिन्न सातवटा शिविरमा खटिएका सशस्त्र प्रहरीले त्यस्ता शरणार्थीको विषयमा अनुसन्धान र जानकारी संकलन गर्न शुरु गरेका छन् ।सशस्त्र प्रहरी बल पाथिभरा गण मेचीका गणपती सशस्त्र प्रहरी उपरिक्षक गणेश ठाडा मगरले तुलनात्मक रुपमा आर्थिक हैसियत उच्च देखिएका र शिविरमा सवारी साधन चलाएर हिंड्नेहरुको सूचि बनाएर अनुसन्धान थालिएको बताए । उनले भने- शरणार्थीको आर्थिक हैसियतमा आएको परिर्वतन मूल्यांकन गर्न पनि यो काम थालेका हौं । शरणार्थीबाट हुने धेरै अपराधमा मोटरसाईकलको प्रयोग पाईकोले पनि ती साधनको जानकारी दुरुस्त राख्न लागिएको उनले बताए ।उनका अनुसार सूचिमा परेका र मोटरसाईकल चलाएर हिंड्ने शरणार्थीको विषयमा शिविर व्यवस्थापन समितिका पदाधिकारीले सुरक्षा अधिकारीलाई जानकारी दिने छन् ।

त्यस विषयमा केही समय अघि बेलडाँगी शिविरमा भएको सर्वपक्षिय छलफलमा विभिन्न १२ बुदाँमा सहयोग गर्न शरणार्थी सहमत भएका थिए । शिविर व्यवस्थापन समितिमा शरणार्थीले मतदान गरि निर्वाचित गरेका प्रतिनिधि रहन्छन् । त्यो समितिले शिविरमा शान्ति सुव्यवस्था कायम गर्ने लगायत कार्यमा नेपाल सरकारका अधिकारी र सुरक्षाकर्मीलाई सघाउने काम गर्दछ ।केही समययता भुटानी शरणार्थी शिविरमा हुने गरेको अपराधिक गतिविधिमा मोटरसाईकलको अत्याधिक प्रयोग हुने गरेको पाईएपछि सुरक्षाकर्मीले कडाई गर्न शुरु गरेको हो । सशस्त्र प्रहरी उपरिक्षक मगरले भने- सातै शिविरमा सवारी साधन प्रवेशमा रोक लगाएका छौं । जान दिनै पर्नेको विषयमा पूर्ण जानकारी राखेर मात्र प्रवेश दिईन्छ ।झापा दमकको बेलडाँगी १, २ र ३, मोरङको शनिश्चरे तथा पूर्वी झापाका खुदुनावारी, टिमाई र गोलधाप शिविरमा ढाट राखेर सशस्त्र प्रहरीले चेकजाँचलाई कडाई गरेको छ । ती शिविरहरुमा साँझ ७ बजे पछि शरणार्थीलाई डिंडडुल गर्न प्रतिबन्ध लगाइएको छ ।यसैगरि आउट पासको व्यवस्थालाई अझ व्यवस्थित गर्न एक शिविरबाट अर्को शिविर पुगेका शरणार्थीले सम्बन्धित शिविरको व्यवस्थापन कार्यालय र गृह मन्त्रालय मातहतको शरणार्थी समन्वय इकाई कार्यालयलाई जानकारी गराउनु पर्ने नियम छ ।

तर शरणार्थीले त्यो नियमलाई अटेर गर्ने गरेकोले थप कडाई गरिएको बताइको छ ।नेपाल सरकारले शरणार्थीलाई शिविर बाहिर निस्केर श्रम गर्न इजाजत नदिएको भएपनि उनीहरु खुल्लम खुल्ला रुपमा बाहिर आई श्रम गर्ने गर्दछन् । शिविरका छाप्राहरुमा शरणार्थीले टेलिभिजन, डिस एन्टना, मोवाईल जस्ता विलासीताका सामान पनि प्रयोग गर्दै आएका छन् ।

No comments:

Post a Comment