Sunday, September 20, 2009

'भूपाली’ भारतीय सुरक्षा निकायको कोड वर्ड हो


भक्त घिमिरे अर्थात् "वि.पि. काश्यप"ले चर्चित भूटानी साहित्य तथा पत्रकारिता जगत्मा निक्कै अग्रणी स्थानमा आउने मध्येको एक नाम हो । भूटानी साहित्यलाई विशेष भूटानीहरुले नेपाली भाषामा प्रयोग गर्ने साहित्यमा जताततै 'भूपाली साहित्य’ भनेर लेखिरहँदा वहाँ त्यसलाई पटक्कै स्वीकार गर्ने पक्षमा देखिनु भएन । 'भूपाली’ भूटानी साहित्य नभएर भारतीय सुरक्षा निकायले हामीलाई संकेत गर्न प्रयोग गर्ने विशेष शब्द (कोड वोर्ड) भन्नु हुन्छ । साहित्य संसारको जुनसुकै कुनामा गए पनि साहित्य परिवर्तन नहुने उदाहरण समेत वहाँको छ । सन् १९९० बाट साहित्य पत्रकारिता क्षेत्रमा प्रवेश गरे पनि सन् २००० बाट चर्चाको शिखरतर्फ लाग्नु भएका घिमिरे इतिहासको एक पात्र बन्ने नै छन् । सन् २००० को नोभेम्बरमा प्रकाशित 'सन्देश साप्ताहिक’का प्रधान सम्पादक रहेका भक्त घिमिरेसँग प्रतीतका सम्पादक दधिराम अन्तिमले गर्नुभएको छोटो वार्तालाप प्रस्तुत गरिएको छ -

यहाँलाई साहित्य जगतमा कलम चलाउने प्रेरणा कसबाट प्राप्त भयो ? कहिले ?

- यस प्रश्नको उत्तर दिन म ठ्याक्क समयविन्दु भेट्न सक्दिनँ । म यसरी औंल्याउन लायक साहित्यकार पनि होइन जस्तो लाग्छ मलाई । यद्यपि, सन्दर्भ उठेपछि केही भन्नै पर्ने भएकोले पर्गेल्न प्रयास गर्दछु । सन् १९८० को दशकमा हुनुपर्छ, म प्राथमिक तहमा पढ्दा भारतीय साहित्यकार पारसमणि प्रधानको 'कवि कविता होस्, कविता कवि होस्, कविता तब पो हुन्छ, शब्द थुपारिकन के हुन्छ ? भाव भए पो हुन्छ’, भन्ने कवितांशले मलाई निक्कै प्रभाव पारेको थियो । त्यसपछि लगातार मेरो विचार छिप्पिँदै गयो, साहित्यतर्फ लगाव बढ्दै गयो ।

आफैंले रुचाउनु भएको आफ्नो एक लेख वा कृति ?
- आफ्ना सृजनाहरु सबै प्यारा लाग्छन्, सन्तानजस्तै । तर छान्नु वा चुन्नु पर्ने घडी आए मैले पत्रकारितामा अन्तर्राष्ट्रिय राजनीति र साहित्यको 'बीट’ लिएर जाने अठोट गरेकोले राजनीतिक लेखहरु नै बढी मनपर्छ । आफ्नै कुरा गर्दा चाहिँ 'इतिहासले भुलेको क्षणमा अनुहार र जातको सञ्जालभित्र भूटान’ भन्ने लेखलाई लिन चाहन्छु । यो लेख सन् २००२ को मध्येतिर नेपालको राष्ट्रिय मासिक 'राजदूत’ले प्रमुखता दिएर छापेको थियो । यसकै हाराहारीमा भारतीय विदेशमन्त्री प्रणव मुखर्जीले भूटानी शरणार्थीहरु भूटान फर्किए त्यहाँको 'डेमोग्राफिक इम्व्यालेन्स’ हुन्छ भनेपछि प्रतिक्रियास्वरुप लेखेको 'भूटानीहरु देश जान्छन्, मुखर्जीको 'डेमोग्राफी’ कसरी जोगाउने’ भन्ने लेख अत्यधिक मन पर्छ । यो लेखलाई भारतको गुवाहाटीबाट निस्कने नेपाली पत्रिका 'सपरिवार’ मासिकले छापेको थियो र यसै लेख वापत मैले सन् २००७ को उत्तर-पूर्वाञ्चलस्तरीय उत्कृष्ट निबन्धको रुपमा 'खगेश्वर सड्कीया स्मृति पुरस्कार’ पनि पाएको थिएँ ।

भूपाली साहित्यलाई एकै शब्दमा कसरी समेट्नु हुन्छ ?
-पहिलो कुरा त म हाम्रो साहित्यलाई 'भूपाली’ भन्न रुचाउँदिनँ । 'भूपाली’ शब्द भारतीय सुरक्षा निकायलाई संकेत गर्न प्रयोग गर्ने एउटा विशेष (कोड वर्ड) हो । हामी भूपाली होइनौं, भूटानी हौं । हाम्रो साहित्य नेपाली हो । अंग्रेजहरुको साहित्य अमेरिका, अष्ट्रेलियालगायत विश्वभरिका विभिन्न देशमा पुगेर पनि अंग्रेजी नै रहन सक्षम छ । फ्रेञ्च भाषा र साहित्य फ्रान्सभन्दा बाहिरिएका देशहरूमा सोही नाम र रुपमा प्रयोग भइरहेको छ । तिब्बतको 'छ्चोके’ भाषा-साहित्य आएर 'ड्रक्पा साहित्य’ बनेको छ । त्यसो भए हामीचाहिँ किन हाम्रो भाषा-साहित्यमा नयाँ-नयाँ टाउको र पुच्छर गाँस्तै जाने ।

तेस्रो मुलुक पुनर्वासपछि साहित्यको अवस्था कस्तो होला ?
- यो मैले भविष्यवाणी गर्ने विषय होइन । तर, पुनर्वासअर्न्तर्गत तेस्रो मुलुक गएकाहरुमा आफ्नो जाति, भाषा र सँस्कृतिप्रति मोह बढ्ने कुराचाहिँ निश्चित छ । युवाहरुबाट लगन र लगानी दुवै जुट्यो भने अहिलेभन्दा पुनर्वासपछि हाम्रो साहित्य अझ फस्टाएर जानेछ । यद्यपिः चिन्ताको विषय के हो भने त्यो साहित्य प्रयोगविहिन, कल्पनाशीलमात्र हुने सम्भावना बढी छ । त्यसप्रति स्रष्टा र सर्जकहरु आजैदेखि सचेत हुनु जरुरी छ ।

प्रसंग मोडौं, तपाईको विचारमा पत्रकारिता के हो ?
- पत्रकारिता भनेको संसारलाई देखाइएको ऐना हो । चौदिशा फर्किएको ऐना हेरेर कुनै पनि मान्छेले आफू स्वयं र संसारलाई देख्न सक्दछ ।

पत्रकारितामा तपाईको प्रवेश कहिलेदेखि भयो ?
- अनौपचारिक ९० को दशकमा अनि सन् २००० देखि औपचारिक रुपमा ।

कस्ता चुनौती आफ्नो कार्यक्षेत्रमा विशेष अनुभव गर्नुभयो ?
- पत्र-पत्रिका र सञ्चारको महत्व नबुझेका मान्छेहरुको भीडमा बौद्धिक चेतनाको कमी, आर्थिक तथा प्रशासनिक, मानसिक तथा भौतिक आक्रमणसमेत सबै किसिमका चुनौती र बाधाहरु पार गर्दै आएको छ हाम्रो पत्रकारिताले । म त्यसको सानो अङ्ग मात्र हुँ ।

हाल पत्रकारिता क्षेत्रलाई कहाँ पाउनुहुन्छ ?
- भूटानभित्रको पत्रकारिता स्वतन्त्र भएकै छैन, निर्वासनमा पनि विभिन्न कारण पत्रकारिताले मौलाउने अवसर पाएको छैन । सुसुप्त अवस्थामै छ, शैशवकालमै छ, हाम्रो पत्रकारिता । यद्यपि, सबै कुरा छोडेर यस क्षेत्रमा लागेका हाम्रा केही युवामित्रहरुको परिश्रम हेर्दा भविष्य उज्यालै हुने आशा गर्न सकिन्छ ।

तपाईको विचारमा भूटानी पत्रकारहरुले नसमेटेको विषय ?
- भूटानी पत्रकारहरुको नजर वा पहुँच नपुगेको विषय भनेको भूटानको ऐतिहासिक परिप्रेक्ष्यमा हामीलाई कसरी प्रस्तुत गरिएको छ, विभिन्न लेखकहरुले विगतमा के लेखे र आज के लेख्दैछन्, हाम्रो जातीय अवधारणा र प्रजातन्त्रप्राप्तिको आन्दोलनबीचमा के भिन्नता छ ? वर्तमान हामीप्रति विभिन्न देशका विचारकहरुमध्ये धारणा के छ, विश्वका राजनीतिक वा सामाजिक विश्लेषकहरुले हाम्राबारे के-के लेख्दैछन् भन्ने कुरा हो ।

अन्तमा, नवागन्तुक साहित्यकर्मी र पत्रकारहरुलाई सुझाव ?
- साहित्यकारहरुले सुतेको साहित्य, मरेको साहित्य नलेखेर जिउँदो, चलायमान, झर्झाउँदो साहित्य लेखुन् । यथार्थ र प्रयोजनीय साहित्य लेखुन् । विलना, हिक्का र रोदनमात्र नभई जीवन्ततापूर्ण साहित्य लेखुन् अनि पत्रकारहरुले हाम्रो समाजको अन्तरचेतनालाई खोतलेर सीप, सृजना र नवचेतनाको मुहान फुट्ने हिसाबले आफ्नो क्षेत्रलाई अघि बढाउन्, शुभकामनासहित यही सुझाव छ मेरो । पत्रकारहरुको त्यस दायित्वपथमा म स्वयं पनि एउटा अङ्ग हुँ, माथि नै भनिसकेको छु ।

साभारः प्रतीत

No comments:

Post a Comment