Tuesday, August 11, 2009

स्वदेश फर्कन इच्छुक भुटानीले राजदुतलाई अपिल

स्वदेश फर्कन इच्छुक विस हजार भुटानी शरणार्थीले पुनर्वासमा संलग्न मुलुकलाई आफ्नो अभियानमा समेत सघाउन आग्रह गरेका छन् । सातवटै शिविरमा भईरहेको घर फिर्ती अभियानको फाराम भर्ने कार्यमा संलग्न ज्येष्ठ नागरिकहरुका तर्फबाट सोमवार ती देशका राजदुतलाई अपिल पठाई सो आग्रह गरेका हुन् ।शिविरमा जारी फाराम भर्ने अभियानमा विस हजारभन्दा धेरै शरणार्थीले सहभागिता जनाएका छन् । तीनै शरणार्थीको प्रतिनिधत्व गर्दै नेतृत्व गरिरहेका ४१ जना ज्येष्ठ नागरिकले हस्ताक्षर गरि अमेरिका, अष्ट्रेलिया, डेनमार्क, नेदरल्याण्ड, न्युजिल्याण्ड र नर्वेका नेपाल स्थित राजदुतावासलाई अपिल पठाइएको हो । भुटानी शरणार्थी ज्येष्ठ नगारिक स्वदेश फिर्ती संयुक्त समितिका सह संयोजक सन्तवीर घलेले भुटानी शरणार्थीलाई तेस्रो मुलुक पुनर्वास गराईरहेका देशहरुले स्वदेश फिर्तीको लागि वातावरण बनाउनु पर्ने आफूँहरुको माग रहेको बताए । उनले भने- जसरी हाम्रा मान्छेलाई तेस्रो मुलुक लगिदैं छ हामीलाई पनि त्यसरी नै भुटान फर्काउन पर्यो । उनले सोमवार कुरियर मार्फत शरणार्थीको अपिल ती देशका राजदुतलाई पठाइएको बताए ।अपिलमा पुनर्वासले मात्र शरणार्थी समस्याको दीघकालिन समाधान नहुने उल्लेख गर्दै शरणार्थी उच्चायोग, नेपाल र भारतले समेत भुटानलाई अफ्ना नागरिक फर्काउन दबाव दिन आग्रह गरिएको छ । शरणार्थीलाई न्याय, शान्तिपूर्ण, ससम्मान र सुरक्षित तवरले भुटान फर्काउन अपिलमा माग गरिएको छ ।गत वैसाख महिनामा शिविरमा शुरु भएको अभियान सातवटै शिविरमा अहिले पनि चलिरहेको छ । घर फिर्तीका लागि इच्छुक शरणार्थीले फाराम भर्ने काम अहिले पनि जारी छ- अभियानका संयोजक हर्कजंग सुब्बाले भने ।सन् १९९० को दशकमा आफ्नो मुलुकबाट लखेटिएर नेपाल आएका शरणार्थीले यसअघि पटक पटक गरेको स्वेच्छिक स्वदेश फिर्तीको अभियान निष्फल भएका थिए । पुनर्वास शुरु भएपछि १६ हजार भन्दा धेरै शरणार्थी तेस्रो मुलुक पुगिसेका छन् ।

No comments:

Post a Comment