भुटानी शरणार्थी पुनर्वास गराउन थालेको एक बर्ष वितिनसक्दै शरणार्थी युवा हरिलाल अधिकारीको अमेरिकाको फ्लोरिडामा हत्या भएको छ । यति मात्र कहाँ हो र दिनहुँजसो कुटाई र लुटपाटको खवर शरणार्थी क्याम्पमा सनसनी बन्ने गरेको छ । यसले पुनर्वासमा जान खुट्टा उचालेर बसेकाहरुलाई पुनर्वास जाने निर्णय कतै गलत पो गरियो कि भन्ने लागेको छ । यसले शरणार्थीहरु पुनर्वास गराउने ठेक्का पाएको संस्था आइओएम र शरणार्थी पुनर्वास गराउने देशहरुको आश्वासन फोस्रो सावित भएको छ। यति मात्र होइन, मानविय आधारमा शरणार्थी पुनर्वास गराएको बताउने देशहरुप्रति ठूलो प्रश्न चिन्ह खडा गरिदिएको स्पष्ट हुन्छ । यो प्रक्रिया भुटानी लोकतान्त्रिक आन्दोलन तुहाउने षडयन्त्र हो भन्ने कुरा बुझ्न जो कोहीलाई पनि सजिलो पारिदिएको छ । यस प्रकरणले निम्न प्रश्नहरु खडा गरिदिएको छ ।
क) शरणार्थीको सुरक्षाको प्रश्न -
हरिलाल अधिकारीको हत्यापछि के शरणार्थीहरुको दीर्घकालीन समस्याको समाधान आफू पुनर्वास भएको देशमा कुटाई, डर र त्राससँग बस्नु हो ? या जागिरको लागि भौंतारिनु र लुटिनु हो ? अथवा शरणार्थीहरुको दिनदहाडै हत्या दीर्घकालीन समाधान हो ? पुनर्वास गराउने देशहरु, संघसंस्थाहरु र पुनर्वास पक्षधर नेताहरुले सटीक जवाफ दिनै पर्छ । पुनर्वासअघि सम्वन्धित देशहरु र संस्थाले शान्ति सुरक्षाको प्रत्याभूति गर्ने भने पनि यथार्थ अर्कै पाइयो । यसको सटीक प्रमाण हो - बेलडाँगीबाट न्यूयोर्क पुगेका ओडारी परिवार र रिजाल परिवारले खाएको मारपिटाई र फ्लोरिडामा भएको हरिलालको हत्या संसारलाई नै दादागिरी देखाउने देशमा गएर सुरक्षित रहने र सुखसुविधा उपभोग गर्ने सपना, सपना मै सीमित रहने देखिन्छ । शरणार्थीहरुको सुरक्षा जहाँ गए पनि खासै सुरक्षित नहुने यथार्थ छर्लाङ्ग छ ।
ख) रोजगारीको सुनिश्चिततमा प्रश्न -
पूँजीवादी देशहरुमा भएको आर्थिक मन्दीले आज लाखौं मानिसहरु बेरोजगार बनेका छन् । पूँजीवादी देशहरुमध्ये अमेरिका वित्तिय संकटको केन्द्रविन्दु हो, जहाँ ६० हजार शरणार्थी पुनर्वास गराउन अमेरिका तम्सिएको छ । एकातिर आफ्नै देशमा आर्थिक संकटले रोजगारी गुमाएका छन् । यस्तो अवस्थामा अर्ध शिक्षित भुटानीहरुले जागिर पाउने सम्भावना निकै कम छ । कसै कसैले पाइहाले पनि नपढेका सामान्य मानिसले गर्ने साधारण काम पाउने छन् । यसले पुनर्वास हुने अधिकाँशको जीवन कष्टकर हुने राम्रो जोखाना देख्न सकिन्छ ।
ग) मानवीय समस्या गलत सावित -
भुटानी शरणार्थी समस्या मानवीय आधारमा हल गर्न तेश्रो देश पुनर्वास गराइएको भन्ने तर्क देखावटी भएको पुष्टि गरिदिएको छ । यदि मानविय हुँदो हो त पुनर्वास भएकाहरुले कुटपिट र हत्याको शिकार बन्नु पर्ने थिएन । उनीहरुलाई मानविय आधारमा रेखदेख र शान्ति सुरक्षाको भरपर्दो व्यवस्था गरिन्थ्यो होला, जसले पुनर्वास भएकाहरु विना कुनै डर, त्रास बस्ने थिए ।
भुटानी शरणार्थी समस्या विलकुल राजनैतिक समस्या हो । यो भुटानमा लोगतन्त्र वहाली गर्ने लर्डाईंसँग जोडिएको मुद्दा हो । यसको समाधान राजनैतिक आधारमा गरिनुपर्छ । निरंकुशता विरुद्धको संघर्षलाई सवैले साथ दिनु पर्दछ । यसको मतलव भुटानीहरुलाई स-सम्मान स्वदेश फिर्ता गर्नका लागि अन्तराष्ट्रिय जगतको ध्यान जानु जरुरी छ ।
घ) भुटानी क्रान्ति तुहाउने नियत -
सन् १९९० मा लोकतन्त्रका लागि भुटानी जनताले देशव्यापी विद्रोह गरेका थिए । उक्त विद्रोहलाई दवाउन वाङचुक राजतन्त्रको मुख्यतः दक्षिण भुटानीलाई निशाना बनाएर नागरिक उच्छेद नीति लागू गरेको हो । जसले निरंकुश राजतन्त्रको विरुद्ध संघर्ष गर्न खोज्छ वा गर्छ उसैलाई राजनैतिक पूर्वाग्रहका कारण देश निकाला गर्दै आयो । यसको मुख्य मार दक्षिण भुटानी गोर्खालीहरुलाई पर्यो भने पूर्वी भुटानी सार्छोप समुदायलाई पनि अछुतो राखने । यसैको परिणाम एकलाख बढि भुटानीहरु नेपालमा शरणार्थी जीवन विताइरहेका छन् ।
१८ वर्ष शरणार्थी जीवन विताएका भुटानीहरुले स्वदेश फिर्तीका लागि पटक पटक आन्दोलन गरे र बर्तमान घडीमा पनि गरि नै रहेका छन् । शरणार्थीहरु संगठित भएर बस्नु आफैंमा एउटा आन्दोलन हो । वाङचुक राजतन्त्रको लागि टाउको दुखाइको विषय हो । तर संगठित भुटानीहरुलाई फुटाएर आज निरंकुश राजतन्त्रको आयु लम्व्याउने काम भइरहेको छ । लोकतान्त्रिक आन्दोलनलाई पछाडि धकेल्ने काम भएको छ । यस्तो कामले सामन्तवादको सेवा गरेको छ । यसले अन्ततः प्रतिकृयावादीहरुकै सेवा गरेको छ ।
सन् २००१ मा कम्यूनिष्ट पार्टीको स्थापना पश्चात दक्षिण एसियाभरि नै कम्यूनिष्टहरु हावी हुने देखेर साम्राज्यवादी, विस्तारवादी नै लागेर ग्र्याण्ड डिजाइन बनाएका हुन् । क्रान्ति तुहाउन तेस्रो देश पुनर्वास यसैको एउटा कडि हो । यसमा मुख्यतः अमेरिकाको स्वार्थ अन्तरनिहित छ । जुन कुरा विगतको जोन मेकएनको भुटान भ्रमणबाट स्पष्ट भएको छ । शरणार्थी पुनर्वास गराइदिए वापत भुटानमा राजदुतावास खोल्ने र चीनलाई घेरावन्दी गर्दै दक्षिण एसियामा आफ्नो सैनिक अखडा मजवुत बनाउने, यिनै स्वार्थको कारण अमेरिकाले आर्थिक संकटका कारण आफ्नै देशमा वेरोजगार बढिरहँदा पनि शरणार्थीहरुलाई पुनर्वास गराउन तयार भएको हो । अधिकारी हत्या प्रकरणले यहि पुष्टी गरेको छ ।
ङ) सस्तो श्रम शोषण -
शरणार्थीहरुको दयनीय अवस्थाको फाइदा उठाएर सस्तो श्रम शोषण गर्न पनि उनीहरुलाई लाखौं खर्च गरेर त्यहाँ लगिएको छ । पुनर्वास भएका हरुले सस्तोमा काम गरिदिएपछि बर्षौंदेखि काम गर्दै आएका अमेरिकी मूलका काला जातिलाई कामबाट निकालियो । यस्ता कुराले विशेषतः कालाजातिमा आक्रोस पैदा भयो, जसको परिणाम हरि हत्या प्रकरणसम्म आइपुग्यो । यो र यस्तै कुराले शरणार्थीहरुको श्रम शोषण हुने छर्लङ्ग देखिन्छ ।
निष्कर्ष -
फ्लोरिडामा भएको प्रकरणलाई सामान्य घटनाका रुपमा मात्र बुझ्नु हुँदैन । यसले धेरै यथार्थहरु उदाङ्गो पारिदिएको छ । पुनर्वास भएकाहरुको सुरक्षा सम्वेदनशील बनेको छ भने स्वास्थ्य, शिक्षा र रोजगारी संकटमा परेको छ । मानवीय समस्या हल गर्ने नामले राजनैतिक स्वार्थ पूरा गरिदिएको छ । यसमा प्रतिक्रियावादीहरुको साँठगाँठ राम्रो छ । मुख्यतः भुटानी क्रान्ति तुहाउन थिम्पु-वासिङ्गटन देखि दिल्लीसम्मको शक्ति खनिएको छ । यस विरुद्ध भुटानी जनताले संघर्ष गर्नै पर्दछ । आफ्नो अस्तित्वको लागि संघर्ष नै अन्तिम विकल्प हो । यही हो हरि हत्या प्रकरणले सिकाएको पाठ । त्यसैले भुटानी जनता एक हौं, राष्टि्यता र स्वभिमानका लागि लडौं । यसैमा हाम्रो सपना पूरा हुनेछ ।
पुष्प क्षेत्री
(पुर्वसन्देशबाट साभार)
No comments:
Post a Comment