
श्रद्धाञ्जलि (कविता संग्रह), रश्मि (खण्डकाव्य), योद्धा (काव्य) र हावर्डको चौतारीमा (कविता संग्रह)कृतिहरु रचना गरिसकेका कवि दहालको लेखाइमा आफ्नै वैशिष्टता छ । उनका हरेक कृतिमा अन्याय, अत्याचार, शोषण, उत्पीडनसितको भीडन्त छ । श्रद्धाञ्जलिमा गोर्खाल्याण्डको अस्तित्वको लडाई लड्नेहरूप्रति श्रद्धासुमन र नेपाल भित्रका विकृति विसंगतिमाथि तिखो प्रहार, रश्मिमा सामन्तवाद विरुद्धको आवाज, योद्धामा ब्रिटिश साम्राज्यले नेपाली (गोर्खाली) माथि गरेको अत्याचार विरुद्धको शङ्खनाद छ भने हावर्डको चौतारीमा अमेरिकाले तेश्रो मुलुकप्रति गर्ने व्यबहारको यथार्थता छ ।
पन्ध्र सर्गमा विस्तारित श्वेतपत्र महाकाव्य पूरै अनुष्टुप छन्दमा रचना गरिएको छ । नाटकीय शैलीमा हिमालपुत्रीहरु नेपाल, सिक्किम र भुटानलाई तीन दिदी बहिनीको रुपमा चित्रण गरी तीनमध्ये माइली सिक्किमलाई कसरी नवसाम्राज्यवादीले हडप गर्यो, अरु बाँकी दुइलाई कसरी अस्तित्वहीन बनाउन प्रयत्न गरिँदैछ भन्ने मार्मिक यथार्थताको एकपक्षबाट यस कृतिमा बर्णन गरिएको छ भने अर्को तरवबाट सशक्त रुपमा प्रतिकार गर्दै चेतावनी दिइएको छ ।