Wednesday, September 8, 2010

सही शरणार्थीको उठिवास

लगातार चौध वर्षको जेल सजायपछि बितेको अप्रिल ३० मा भुटानको चामगाङ केन्द्रीय जेलबाट छुटेका सुकप्रसाद राई अहिले झापाको बेलडाँगी शरणार्थी शिविरमा झन्डै मगन्ते हैसियतमा दिन कटाइरहेका छन् । तीन वर्ष अघिको शरणार्थी जनगणनामा नपरेका कारण ‘परिचय पत्रविहीन’ बनेका यी ३४ वर्षेले अरूहरूसँगको मागजुग र सापटीमा दैनिकी गुजार्नुपरेको छ । यी आस्थाका बन्दी सुकप्रसादले अन्तर्राष्ट्रिय रेडक्रसको सहयोगमा जेलबाट छुट्कारा पाएका रहेछन् । उनका अनुसार अहिले पनि जेलबाट छुटेर आफ्ना हराइरहेका आफन्त पहिल्याउँदै नेपालका शरणार्थी शिविरहरूमा आउने भुटानीहरू थुप्रै छन् । सुकप्रसाद थुनामा रहेको चामगाङ जेलमा मात्रै ७२ नेपालीभाषी भुटानी आस्थाका बन्दी रहेछन् । भुटानका सबै जेलमा गरेर ४ हजार ३ सय राजनीतिक बन्दी रहेको तथ्यांक आधारमा (नमरी बाँचे) ढिलोछिटो यो संख्या नेपालै भित्रिने सुकप्रसादको विश्वास छ ।



सुकप्रसाद जस्तै आस्थाका बन्दीहरू पनि शरणार्थी शिविरहरूमा निकै रहेछन् । सन् १९९९ को डिसेम्बर १७ मा भुटानी मानवअधिकारवादी नेता टेकनाथ रिजालसहित २५ जनाले आममाफी पाएपछि चामगाङ जेलबाट मुक्त हुनेमध्येमा एकैसाथ दस वर्ष जेल बस्ने ४३ वर्षे धनबहादुर सुब्बा र नौ वर्ष जेल बस्ने ३५ वर्षे नन्दु पौडेल पनि रहेछन् । बेलडाँगी शिविरमा आफ्ना घरपरिवारसँग रहँदै-बस्दै आएका उनीहरू पनि आज आएर ‘शरणार्थी परिचय पत्रविहीन’ बनेका छन् र एकसाथ राहत कटौती अनि स्वास्थ्य उपचारसेवा र मानवअधिकारका अन्य न्यूनतम हकअधिकारबाट समेत टाढिएका छन् । भुटानी जेलहरूमा लामो समय कैदी बनेर फिरेका ४८ वर्षे खडानन्द भण्डारी, ४४ वर्षे मनबहादुर मोक्तान, ५१ वर्षे चन्द्रबहादुर प्रधानसहितका अधिकारवादीहरू बेलडाँगी शिविरमा राहतविहीन बनेर बसेका रहेछन् । यी सबैको जेलजीवन र आस्थाको लडाइँबारे अन्तर्राष्ट्रिय रेडक्रस (आईसीआरसी) ले प्रमाणित कागजातसमेत दिएको रहेछ । यी योद्धा, यिनका बालबच्चा र हकअधिकारको लडाइँमा अग्रसर हुन नसक्ने ४ हजारभन्दा बढी निमुखाहरू शिविरमा ‘परिचय पत्रविहीन’ बनेको अवस्था रहेछ ।
यसरी हाकाहाकी अनागरिक बन्नुको पीडा त छँदैछ, त्यसमाथि कोही जेलबाट छुटेर आइपुग्दा अथवा कोही रोजीरोटीका लागि शिविर बाहिर लामो समय गएका बेला आफ्नो घरपरिवार भने तेस्रो देशका नागरिक बनेर विदेश उडिसकेको अवस्था पनि रहेछ । ‘म मेघालयको कोइलाखानीमा ज्यालादारी गर्न गएको थिएँ । फर्केर आउँदा त मेरी श्रीमती, छोरा-बुहारी अमेरिका उडिसकेको पाएँ’, उमेरमा ५० नाघेका मकरबहादुर बानियाँ क्षत्रीको कुरा थियो । अहिले मकरबहादुरसँग न शरणार्थी परिचयपत्र छ, न तेस्रो देश जाने प्रक्रियामा उनलाई समेटिएको छ ।
चार वर्षअघि पूर्वी नेपालका बेलडाँगी, खुदुनाबारी, टिमाइ, पथरी र गोलधाप गरी सातवटा शरणार्थी शिविरमा बसिरहेका शरणार्थीहरूको २००६ नोभेम्बरदेखि २००७ मेसम्म गणना गरिएको थियो । नेपाल सरकारको सहमति र सहयोगमा राष्ट्रसंघीय शरणार्थी आयोगले गरेको गणनामा १ लाख ८ हजार शरणार्थी दर्ता भएका थिए । उक्त गणनापछि शरणार्थीलाई तेस्रो देशमा बसोबासमा लैजाने प्रक्रिया अझ सक्रिय र प्रभावकारी बनेको थियो । ‘पारिवारिक छुट र जनगणनामा छुट भएका शरणार्थी अथवा संयुक्त प्रमाणीकरण टोलीले अनुसन्धानमा राखेका शरणार्थीको नाम स्वभावतः त्यो सूचीमा थिएन’, पीडित शरणार्थी समूहका संयोजक नन्दु पौडेल भन्छन्- ‘जनगणना पूरा भएको चार वर्षपछि एकाएक (मार्च १० बाट) हामीले पाउँदै आएको राहत कटौतीमा पर्दा हामी आन्दोलनमा उत्रेका हौं ।’
राहत पाइरहेका शरणार्थीको दैनिकी पनि निकै मुस्किलको छ । राहत पाउनेले दैनिक ४ सय ग्राम चामल, ४० ग्राम दाल, २५ ग्राम भटमासको तेल, चिनी २० ग्राम, नुन साढे ७ ग्राम आदि पाइरहेको अवस्था छ । ‘अरूभन्दा पनि हाम्रो हकअधिकारका लागि संयुक्त प्रमाणीकरण टोली चाँडो बस्नुपर्‍यो, अनि ‘डि-रजिष्ट्रर’लाई ‘रि-रजिष्ट्रर’ गर्नुपर्‍यो भन्ने मुख्य मागमा अडिग भएर शरणार्थी आयोग र नेपाल सरकारको रेस्पोन्स पर्खिरहेका छौं’, संयोजक पौडेलले भने ।
दुई दसकअघि सुरु भएको भुटानी शरणार्थी समस्यामा घरफिर्ती प्रक्रियाका सबै बाटा अवरुद्ध भएपछि तेस्रो देशमा बसोबासको विकल्प सुरु भएको हो । यसक्रममा शिविरमा रहेकामध्ये ३५ हजारभन्दा बढी शरणार्थी यतिखेर अमेरिका, बेलायत, क्यानाडा, अष्ट्रेलिया, नेदरल्यान्ड, डेनमार्क र न्युजिल्यान्ड बसोबासमा पुगिसकेका छन् । ‘आज हाम्रा आफन्तजन र घरपरिवारहरू पारिवारिक विखण्डन व्यहोर्दै विभिन्न देशमा पुगिसकेको अवस्था छ’, संयोजक पौडेलको विनित स्वर थियो- ‘तर यहाँ परिचयविहीन भएर बसिरहेका हामी भुटानीको आवाज र कठिनाइलाई पनि दातृराष्ट्र र निकायले एकसाथ बुझिदिउन् भन्ने हाम्रो सामूहिक माग छ ।’
(कान्तिपुरबाट)


No comments:

Post a Comment