( विजय पौडेल - नेपाल अरब डट कमबाट) |
झन्डै १८ वर्ष युएनएचसीआरले व्यवस्थापन गरेको झापास्थित सात वटा शिविरहरुमा बसेर जीवन धान्दै
गर्दा सन् २००७ मा अमेरिकाले ६० हजार भुटानी शरणार्थीहरुलाई तेस्रो मुलुक पुनर्बासका लागि लैजाने सहमति जनाउँदा खुसीले बुरुक्क उफ्रेकी कृष्णमाया दर्जीको मन अहिले आफैं अमेरिका आएपछि भने भाँचिएको छ ।
अंग्रेजी लेख्न, पढ्न त परै जाओस् नेपाली पनि आउँदैन उनलाई । व्यस्त शहर न्युयोर्कको ब्रोङ्क्समा बसेकी उनलाई रेल चढेर आईआरसी आउनजान पनि समस्या छ, काम पाउने त कुरै छैन । उनी भन्छिन्- ‘नेपालमा त त्यै बाँसको घरमा बसे पनि लत्ताकपडा सिलाएर खान पुगेकै थियो, दुइ पैसा चलाउन पनि पाएकै थियो । यहाँ आएपछि त झन् पैसा पनि देख्न पाइएन, जीवन धान्न गाह्रो परिरहेछ । श्रीमान् पनि बिरामी छन् आफ्नो पनि काम छैन’, पढ्ने उमेरकी छोरीले आफ्नो पढाइ छाडेर बाउआमा हेर्नु परेको सुनाउँदै उनी भन्छिन्- ‘घरभाडा महिनाको १२ सय डलर तिर्नुपर्छ । बिजुली, पानी, ग्यास गर्दा कति हो कति, त्यसमा आईओएमलाई नेपालदेखि आउँदाको प्लेनभाडा चुक्ता नगरी हुँदैन । त्यसैले आईओएमलाई महिनैपिच्छे ४५ डलर तिर्ने नियम बनाइदिएका छन् । हामी दुई बूढाबूढीको एक डलर कमाइ छैन, त्यै छोरीले महिनामा १००० डलर ल्याउँछे, त्यही पैसामा सरसापट गरेर थप्दै हरेक महिना भाडा तिर्दैछौं । फुड स्ट्याम्पबाट बिहानबेलुकीको खर्च चलेको छ ।’ उनी अझै भावुक हुँदै भन्छिन् ‘हामी यहाँ छौं, छोरो नेपालमा छ, उसलाई ल्याइदिएको छैन, ऊ आएको भए पनि हामीलाई पाल्थ्यो होला ?’
प्रायजसो न्युयोर्कमा बस्ने आप्रवासीहरुको एक दुई वटा घर सँगसँगै छिमेकी हुन्छन् नभए पनि एक दुई वटा सडक काटेपछि भए पनि चिनेजानेका छिमेकीहरु हुन्छन् । तर यी भुटानी शरणार्थीहरुको छिमेकी भने पनि बोल्ने साथी भने पनि ब्रोङ्क्सस्थित युनिभर्सिटी एभिन्युमा रहेको पाँचतले पुरानो अपार्टमेन्टमा रहेका सात परिवार मात्र हुन् । उनीहरु हिजो नेपालमा पनि शिविरमा सँगै थिए यहाँ पनि सँगै छन् । ब्रोङ्क्सको फोर्दम रोडमा रेलबाट झरेर सुनसान महसुस हुने ४ वटा जति एभिन्यु (ब्लक) काटेर पुगिने युनिभर्सिटी एभिन्युमा रहेको उनीहरु बसेको अपार्टमेन्ट पुग्दा ‘अलि भित्रै रहेछ’ भनेर यस पंक्तिकारले बोलेको मात्र के थियो, त्यै अपार्टमेन्टमा बस्ने टेकबिर दर्जीले अँध्यारो मुख लगाउँदै भने ‘मलाई राति कामबाट फर्केर कोठामा आउँदा तीन चोटि लुटिसक्यो, अरु भुटानिजहरु पनि कोठामा आउँदा राति लुटपाटमा परिरहन्छन् ।’
हुन त तेस्रो मुलुक पुनर्वासअर्न्तर्गत अमेरिका आइपुग्ने भुटानी शरणार्थीमध्ये सानो समूहलाई मात्र न्युयोर्कको ब्रोङ्क्समा राखिएको छ, बाँकी ठूल्ठूला समूहहरु टेक्सासको हृयुस्टन, डल्लास, उभिलिन, सान एीन्टनो, अस्टिनमा गरी झन्डै ७००० को हाराहारीमा छन् । जर्जियाको एउटै सहर एट्लान्टामा पनि ७००० नाघिसक्यो । त्यसै गरी कोलोराडोको डेनभरमा ११०० जति छन् । त्यसको अलावा अमेरिकाभर करिब ४८ वटा राज्यमा भुटानी शरणार्थीहरुलाई पुनर्बास गराइएको छ । आजभोलि प्रायःआरु राज्यहरुबाट पेन्सलभानिया मुभ हुने क्रम बढेको टेक्सासको सान एन्टिनोमा बस्दै आएका केस मेनेजर गणेश घिमिर बताउँछन् । कारण के हो त भनेर प्रश्न गर्दा उनी भन्छन्- ‘पेन्सलभानिया पनि भौगोलिक हिसाबले भुटान नै जस्तो डाँडाकाँडा र पहाडी इलाका भएको कारण आकर्षण बढेको हो ।’
न्युयोर्कभन्दा बाहिरको राज्यमा राखिएका भुटानी शरणार्थीहरुको अवस्था र जीवन पद्धतिमा आकस्मिक सुधार देखिएको छ भने बाहिरी राज्यहरुमा पढ्दै नपढेकाहरुले पनि र्सवसुलभ ढंगले काम पाइरहेको देखिन्छ । भरमोनमा बस्दै आएका याम विष्टका अनुसार करिब ७०० को संख्यामा रहेका भुटानीहरुमध्ये अधिकांशले काम पाएका छन् भने झन्डै १२० परिवार त गाडी खरिद गरेर काममा आउजाउ गर्ने भइसकेका छन् । सायद त्यही कारणले हुन सक्दछ न्युयोर्क छाडेर अन्य राज्य जाने क्रम बढिरहेको ब्रोङ्क्सको त्यही युनिभर्सिटी एभिन्युमा बस्दै आउनुभएका सुमन लामा बताउँछन् । न्युयोर्कमा यति धेरै नेपाली आप्रवासीहरु कुइन्स क्षेत्रमा बसोबास गर्दर्छन् तर त्यही नेपाली भाषा बोल्ने र नेपाली नै संस्कार भएको भुटानी नेपालीहरुलाई म्यानहाटनबाट झन्डै एक घन्टाको रेलको बाटो तय गरेर आउनुपर्ने छुट्टै ठाउँ राखेको छ, जहाँ अन्य नेपालीको अनुहार पनि देखिंदैन न संगत गर्न नै पाइयो र राति कामबाट आउँदा हिँड्न अप्ठेरो परेको भन्दै सुमन लामा आक्रोश पोख्छन् ।
ब्रोङ्क्समा नै बस्ने ५० वर्षीय बीरबहादुर तामाङको अझ दर्दनाक कथा भेटिएको छ । बिहान उज्यालो हुन्छ, त्यसपछि कहाँ जाने थाहा छैन उनलाई, काममा जाउँ काम गर्न सक्दैनन् उनी । किनकि प्यारालाइसिसका बिरामी उनी झापाबाट ब्रोङ्क्स आएको सात महिना भयो । राम्ररी दायाँपट्टकिो भाग नै चल्दैन परिवारमा श्रीमती र २१ वर्षीय छोरा मात्र छन् । ५० वर्षे उमेर, प्यारालाइसिसका बिरामी राम्ररी शरीर हिँडाउन गाह्रो छ, त्यसमा पनि साक्षर होइनन्, त्यसैले अक्षर पनि चिन्दैनन् । अक्षर नचिनेपछि कुन ठाउँबाट कता जाने थाहा छैन, ट्रेन नै चढ्न जानिंदैन, त्यसैले ४२ स्ट्रिटस्थित आईआरसीको कार्यालयमा गएर वेयल फेयरमा पढ्न जान नसकेपछि तीन महिनासम्म दिएको फुड स्टाम्प पनि काटिदियो भनेर आफ्नो कथा सुनाउँछन् ।
बीरबहादुर त बिरामी भए यिनकी धर्मपत्नी लक्ष्मी तामाङको पनि भाषाको ज्ञान नभएको कारण काम नपाएर पूरै परिवार बिचल्लीमा छ । नेपालमा ११ कक्षा पढ्दै गरेको छोरालाई चटक्क छुटाएर अमेरिका आएका यिनी दुइका २१ वर्षे छोराले पढ्न छाडेर जेनतेन महिनाभरमा त्यही हजार एघार सय कमाएर ल्याउँदा रहेछन् अनि त्यसैले भाडा तिरी बसेका यिनीहरुको बिहान बेलुकाको गुजारा सरसापटबाट चलेको छ, तर फिर्ता गर्ने कहिले हो थाहा छैन । काम गर्न उमेरले नदिएर बुढ्यौलीले असमर्थ बनेकाको कथा भने अर्कै छ । ६८ वर्षीय धन दोर्जे ब्रोङ्क्समा आएको एक वर्ष भयो । दिउँसोभरि कोठामा कोही हुँदैन, एक्लै बस्यो, केही हेरौं केही बुझ्दिन । कुरा गरौं नेपाली भेटिन्न, अंग्रेजको कुरा बुझ्दिन, अन्योलमै बाँचिरहेछु । बाहिर निस्केर आफूजस्तै बूढासँग बोल्न मन लाग्छ, तर के गर्ने बोल्न आउँदैन अंग्रेजी भन्छन् यिनी । छोराको मुख जम्मा हप्तामा एक दिन मात्र देख्छन् रे यिनी ।
सँगसँगै झापामा एउटै शिविरमा बस्नेहरुमध्ये कतिपयले अमेरिका आएपछि अन्य राज्यमा बसेकाहरुले गाडीसमेत किनेर चढिसकेका खबर सुन्ने गरेका यी ब्रोङ्क्सबासी भुटानीहरु भने आफ्नो अपार्टमेन्टको शौचालयको ढोका बिग्रिएको तीन महिना हुन लाग्यो । अपार्टमेन्ट प्रशासनले नबनाइदिएको चित्त दुखाएर बस्नुपरेको दुःख सुनाउँछन् । महिनैपिच्छे भाडा भने समयमा बुझाउनु पर्दछ तर दश जनाको परिवार बस्ने अपार्टमेन्टको शौचालयभित्र बस्ने मान्छे सधैं सतर्क भएर बस्नुपर्ने बाध्यता मात्र होइन दुई फिट बाक्लो हिउँ पर्दासमेत हिटरबाट तातो नदिने अपार्टमेन्टमा किन हामीलाई त्यति टाढा राखेको होला भनेर अचम्म मान्छन् ।
यो लेख तयार पार्दा केही प्रश्नहरु आफैंमा जन्मिएका छन् । तेस्रो मुलुक पुनर्बास अर्न्तर्गत फरक भाषा र संस्कृति भएको ठाउँमा बसाइँ सरेर आफैंले नयाँ संसार रच्नुपर्ने भएपछि विभिन्न प्रकारको मानसिक दबाबका कारण पनि हुन सक्दछ, भुटानी शरणार्थीहरुको आत्महत्या गर्ने क्रम पनि बढेको छ । हालसम्म ६ जना भुटानी शरणार्थीहरुले आत्महत्या गरिसकेका छन् । तिनीहरुमध्ये २२ वर्षीय मित्र मिश्रले साराकजमा, एक जना अधिकारी थर भएका (नाम पत्ता नलागेका) को टेक्सासमा र पेन्सलभानियामा जितबहादुर प्रधान आदि छन् । यो समाचार तयार पार्ने क्रममा विभिन्न राज्यमा रहेका भुटानीहरुको साझा प्रश्न सुनियो । किन आईओएमले एकै पटक आएकासँग पनि फरक फरक प्लेन भाडा उठाउँदछ र अर्को किन आईआरसीले एउटै परिवार पनि छुटयाएर फरक फरक समयमा ल्याउँदछ ?.
No comments:
Post a Comment