Monday, August 9, 2010

दश महिनादेखि छाप्रो प्रहरी घेरामा

भूटानी शरणार्थी शिबिर बेलडाँगी-१ का ठगबहादुर थापा आफ्नो छाप्रोबाट बाहिर ननिस्केको नौ महिना भयो । उनकै छिमेकी छाप्रोमा बसेका शान्तीराम आचार्यको अवस्था पनि उही हो । यी दुई परिवार भने घरेलु बन्धक झैं शिबिरमा बसिरहेका छन् ।



उनीहरुलाई सशस्त्र प्रहरी बेस क्याम्प बेलडाँगी-१ को हाता भित्रका दुइवटा छाप्रामा राखिएको छ । ५३ बर्षीय थापाको साता जनाको परिवार छ भने ३१ बर्षीय आचार्यको तीन जनाको परिवार छ । अलग अलग पृष्ठभूमिका थापा र आचार्यलाई एकै किसिमको धम्की बारम्बार आएपछि उनीहरुलाई प्रशासन र राष्ट्रसंघिय शरणार्थी उच्च आयोगले सुरक्षाका लागि प्रहरी हाताभित्र राख्ने निर्णय गरेका हुन् ।

‘कैयौं पटक ज्यान मार्ने धम्की आएपछि सुरक्षा मागेको हुँ’ - आफूलाई धम्की दिएका पर्चा देखाउदै थापाले भने ‘मेरो सुरक्षाका लागि प्रहरीले धेरै चनाखो हुँदा पनि मलाई धम्की आउने क्रम नरोकिएपछि यहाँ ल्याइएको हो ।’यसअघि बेलडाँगी दुईको सेक्टर जी दुई छाप्रा नम्बर ४२ मा बस्दै आएका थापालाई २४ नोभेम्बर २००९का दिनदेखि प्रहरी हातामा सारिएको हो ।थापाको साथमा श्रीमती दुई छोरा, दुई छोरी र एक नाती छन् ।


थापा सन् १९९४देखि भूटान पिपुल्स पाटी(बिपिपि) को साम्ड्रुप जोङखर जिल्लाका उपाध्यक्ष थिए ।उनी आधिकारिक रुपमा नभए पनि सर्बसाधारणले उनलाई पार्टीको केन्द्रीय सदस्यको उपाधी दिने गरेका थिए ।शरणार्थी भएर आएदेखि नै उनले राजनीतिमा लागेर स्वदेश फिर्ती आन्दोलनलाई सघाएका थिए ।यही क्रममा सन् १९९८मा भूटानमा छद्मभेषमा गएर करिब दुई महिनासम्म त्यहाँका स्थानियहरुसँग सहकार्य गरेर त्यहाँको शासक बिरुद्ध आन्दोलनको माहोल बनाउने काम आफूले गरेको थापा बताउँछन् ।

भूटान र नेपालका शिबिरहरुमा राजनीति गर्दै शरणागत जीबन बिताइरहेका थापाले त्यतिबेला देखि आफूलाई खतरा महशुस गर्न थाले जतिबेला यूएनएचसिआरले शरणार्थी समस्याको तत्कालिन समाधान भन्दै तेस्रो देश पुनर्स्थापना कार्यक्रम ल्यायो ।सन् २००७मा सुरु गरिएको सो कार्यक्रमको हल्ला आउने बित्तिकै शिबिरभित्र ठुलो द्वन्द्व, मारकाट, आन्दोलन, पारिवारिक फूट र अन्य आपराधिक समूहरुले चलखेल गर्ने मौका पाएका थिए ।

‘धेरैजसो नेताहरु शिबिर बाहिर बसेर तेस्रो देश पुनर्स्थापनाको बिरोध गर्थे तर म चाँहि शिबिरभित्रै बसेर यो अभियान ठिक होइन भन्थें’ थापा भन्छन् ‘जसले गर्दा मलाइ धम्क्याउन सजिलो हुन्थ्यो ।’
पुनर्स्थापना र स्वदेश फिर्ती पक्षधर बीच त्यसबेला शिबिरहरुमा दैनिक जसो झैं झगडा हुन्थे ।यसैक्रममा २०६६साल बैसाख ६गते बेलडाँगी एकका शान्तीराम नेपालको हत्या भयो । नेपालको हत्या भएको छ दिनपछि थापाको मोबाइलमा फोन आयो ।’परिवार सहित शिबिर छोडिनस् भने शान्तीराम नेपालको हालतमा पुग्दैछस् भनेर धम्क्याए’ आफूलाई पहिलोपटक आएको धम्की सम्झदै उनले भने ।त्यसैदिन उनले आफू असुरक्षित भएको भन्दै स्थानिय प्रहरीसँग सुरक्षा माग गरे । ‘त्यसपछि कहिले दमकमा डेरा गरी बसें, कहिले शिबिरमै आएर बसें ।’

सोही बर्षको साउन १५मा भूटान मानवअधिकारबादी संस्था (पिएफएचआरबि)का महासचिब डि पि काफ्लेले बिर्तामोडमा बोलाएर एक अपचिरतसँग भेट गराए ।’उनले आफूलाई भूकपा माओबादी (बिराट समूह)को कार्यकर्ता बताए । ‘भूकपा माओबादी बिकल्प समूहले शिबिरमा रहेका नेताहरुको सफाया गर्दैछ ।त्यसमा तपाइलाई अगस्त ६मा सिध्याउने योजना छ भनेर सुनाए’ थापाले भने ‘त्यसपछि मैले तुरुन्तै सिडीओकहाँ सुरक्षा मागें ।’

३१ जुलाइमा अर्को धम्की आयो । त्यसपछि अगस्त ६ तारिखको बिहानै उनलाई अर्को धम्की आयो । त्यसको दुई दिनपछि अर्थात अगस्त ८ तारिखमा बेलडाँगी ३ का पूर्व क्याम्प सचिब केबी खड्काको बेलडाँगीमा हत्या भयो ।

यो घटनाले शरणार्थीहरुमा थप त्रास उत्पन्न भयो । दमकमा रहेका बेला उनलाई अगस्त १४ तारिखमा भारतिय नम्बरको मोबाइलबाट फोन आयो आजको पर्चा हेर्नु भनेर । शिबिरभरी छरिएको पर्चामा थापा लगयात ८ जना शरणार्थी नेताको हत्या गर्ने सुचना थियो । पर्चामा जारी गर्ने ‘क्षेप्यास्त्र, क्षेत्रिय संयोजक ड्रुक लिओपार्ड’ भन्ने समूहले पर्चा फालेको थियो ।यो समूह बिकल्प पक्षको सेना भनेर प्रचार गरिएको थियो ।त्यसपछि अक्टोबर दुई तारिखमा बाँच्नका लागि दुईदिनको म्याद छ भनेर अर्को धम्की आयो ।’ ‘अक्टोबरको २४ तारिखमा तैंले शिबिर छाडिनस् अब हाम्रो भेट हुने भो भनेर अर्को म्यासेज आयो’ थापाले आफ्नो बृत्तान्त सुनाए ।

‘त्यसपछि भने अब बाँचिदैन भन्ने लागेर प्रशासन र यूएनएचसिआरमा गएर सबै कुरा राखें । शिबिर प्रशासन लगायतले मेरो अबस्था अध्ययन गरेर यहाँ ल्याएर राखेका छन्’ गालामा हात लगाएर थापाले भने ‘तर म बिना अपराधको कैदी भएर बसेको छु ।’ थापा र उनका परिवारलाई छाप्रा बाहिर निस्कन प्रहरीको आदेश लिनुपर्छ । उनका छोराछोरी डरले छ महिनाजति बिद्यालय पनि गएनन् । पछि यूएनले आफैं बिद्यालय लैजाने ल्याउने प्रबन्ध मिलाइदिएको छ ।नौ महिनाको बीचमा एकपटक मात्र उपचारका लागि प्रहरीका साथमा उनी दमकसम्म निस्किएका छन् ।उनका परिवार पनि प्रहरीको आदेशमा करिब दुईसय मिटर वरपर मात्र जाने गरेका छन् ।


आफू राजनैतिक रुपबाट असुरक्षित रहेको महसुस गरेपछि बिपिपिको साधारण सदस्य समेत नरहने गरी राजीनामा दिए । सन् २००९मै दिएको राजिनामा सन् २०१०मा मात्र स्विकृत भएको छ ।’राजनीति र समाजसेवा मेरो जीबनका लागि अभाशाप भएछ’ थापा भन्छन् ।

त्यतिमात्र होइन थापाले अर्को पनि निर्णय गरेका छन् । दिलोज्यान दिएर भूटान फर्कनका लागि आन्दोलन गरिरहेका उनले अब तेस्रो देशमा पुनर्बास हुने निर्णय गरेका छन् । ‘कति दिनसम्म प्रहरी घेरामा बस्नु ?’ उनकी श्रीमती डम्बर कुमारीले भनिन् ‘मर्ने बाँच्ने निधो नभएपछि देश माया मारेर बिदेशतिरै जाने निर्णय गरेका हौं ।’

प्रहरी हातामा हुंदा पनि उनलाई धम्की आउन छोडेको छैन ।केही समयअघि एउटा फोन आयो ‘तँ मर्नु पर्थ्यो बाँचिस् ।’


थापाले पुनर्बासका लागि फाराम भरेको ९ महिना बित्यो । तर अहिलेसम्म प्रक्रिया अघि नबढेकोमा उनी थप चिन्तित छन् ।असुरक्षा र अफ्ठेरामा परेका शरणार्थीलाई तत्काल पुनर्बास गराइन्छ भन्ने सुनेका उनले आफ्नै हकमा भने त्यस्तो पाएनन् ।’तत्काल हुन्छ भन्थे, खै कहाँ भयो र । यो नर्कमा कहिले सम्म बस्नुपर्ने हो ठेगान भएन ।’ थापाले भने ।

बेलडाँगी ३का पूर्व सचिब सुवास आचार्यको राजनैतिक पृष्ठभूमी होइन ।उनी बिज्ञान बिषयमा स्नात्तकोत्तर हुन् ।बिना कारण उनलाई फोन, म्यासेज, पर्चा र घेराउ जस्ता घटना गराइए । जसबाट असुरक्षित रहेका आचार्य कैयौं समय लुकेर भागे बसे ।’म बाहिर बसे पनि परिवारलाई धम्की आउन थालेपछि यहाँ ल्याएर राखियो’ आचार्य भन्छन्’ बाढीले बगाएर ल्याएको फोहर सबै यही छाप्रामा पसेर हैरान बनाउँछ ।’ यूएनले यति अमानविय ढंगले राख्ला भन्ने उनले कल्पना गरेका थिएनन् ।

आचार्यले पनि तेस्रो देशका लागि फारम भरे ।तर अहिले सम्म प्रक्रियाले गति नलिएको देख्दा उनलाई अचम्म लागेको छ । ‘दुबैतिरबाट पिडित हुँदा मलाई जीबनमा के अपराध गरेछु भन्ने लागेको छ’ आचार्यले गुनासो गरे ।

बेलडाँगी एकका शरणार्थी समन्वय इकाइ (आरसियू). हर्क राईका अनुसार थापा र आचार्यको परिवारको तेस्रो देश प्रकृया तत्काल अघि बढाउनु पर्ने देखिन्छ ।’ती दुई परिवारको अबस्था देख्दा युएनदेखि लाज लाग्छ, उनीहरुको माया’ राईले भने ।

यी दुई परिवार जस्तै मोरङको शनिश्चरे शिबिरमा पनि एक परिवार सशस्त्र प्रहरीकै हातामा राखिएको छ ।



सशस्त्र प्रहरी श्रोतका अनुसार पिडित शरणार्थीहरुले आफूहरु अत्यन्तै असुरक्षित रहेको भन्दै मानसिक तनाबमा परेपछि आफनै हाताभित्र युएनले निर्माण गरेका छाप्रामा ल्याएर राखिएको हो ।’यहाँ हामीले राखेको होइन प्रशासन र युएनले राखेका हुन् । हामीले त सुरक्षा मात्र दिने हो’ सशस्त्र प्रहरी बल पाथिभरा गणका एसपि गणेश ठाडा मगरले भने ।



चेतन अधिकारी
(कान्तिपुरबाट)

No comments:

Post a Comment