Saturday, June 26, 2010

लागू औषध प्रयोगमा शरणार्थी किशोर बढे

डिकेश लामा
“नतानुन्जेल चाँही केटाहरु हान्ने गोरु जस्तो गर्छन हरे, त्यो स्वाँक्क सुँघेपछि चाँही तनक्क तन्किन्छन् रे । अनि त यता पल्टायो पल्टिने उता पल्टायो पल्टिने, खै के भाका अहिलेका केटाहरु ।”


यो संवादका हरफहरु भूटानी शरणार्थी शिविर बेलडाँगीको काउन्सिल बोर्डमा रहेका काउन्सिलर डिल्लिराम घोर्साइंको हो । केहीदिन अघिमात्र शिविरमा बढ्दै गएको नशाजन्य लागु पदार्थको विषयमा छलफल हुँदा जिम्मेवारी शिविर रेखदेख समितिका पदाधिकारीहरु बसेर छलफल गरिएको थियो ।


छलफलमा पछिल्लोपटक शिविरभित्र बढ्दै गएको नशाजन्य लागु पदार्थले बिग्रँदै गएको बालबालिका र युवाहरुको अवस्थाको विषयमा न्यूनिकरणको उपाय खोजिएको थियो । पछिल्लो समयमा विगतको भन्दा नशाजन्य पदार्थ प्रयोग गर्नेको संख्या बढ्न थालेकोले सो नियन्त्रण गर्नको लागि शिविर स्तरीय टाक्स फोर्स ग्रुप पनि गठन गरिएको बेलडाँगी २ का क्याम्प सुपरिवेक्षक दिपक निरौलाले बताएका छन् । ग्रुपले गरेको छानविन र खानतलासीमा धेरै युवाहरु यसप्रति बढ्न थालेको पाईएको क्याम्प सचिव नारदमुनी सन्यासीले बताएका छन् । सन्यासीका अनुसार शिविरभित्र लागु औषध र मादक पदार्थको विषयमा हरेक सेक्टरमा सचेतना कार्यक्रम पनि संचालन गरिएको छ । तथापि बानी परेका नशाजन्य पदार्थका प्रयोगकर्ताहरुलाई भने यो लतबाट छुटाउन गाह्रो परेको छ । २ दिन अघिमात्र भूटानी शरणार्थी शिविर बेलडाँगी २ बाट पक्राउ परेका ३ युवाहरुलाई क्याम्प रेखदेख समितिले शसस्त्र प्रहरी बेश बेलडाँगीमा बुझाएको बेशले जानकारी दिएको छ ।
पक्राउ परेका मध्ये एक १३ बर्षीय किशोर नशाको अनुभव बाँढ्दै भन्छन्- “दमकमा आमासँग जाँदा छाडिएर हराउँदा अलपत्र परेपछि धेरै दिनसम्म बाहिर नै बस्नु पर्दा त्यस्तो डेन खानेसँग भेट भए पछि ३ बर्षअघि सिकेको हुँ ।” यसरी नराम्रो संगतले आफू समाजमा बेकामको भएपछि सवैको गाली र बेइज्जती सहनु पर्दा अहिले उनलाई नराम्रो लाग्छ र भन्छन् – “अव म दिनहुँ बरु यही बेश क्याम्पमा एक पटक आउँछु र दिनमा बुवासँग काम गर्न जान्छु ।” केही दिन खान नपाउँदा बौलाएको जस्तो हुने, छटपटी हुने भएकोले पनि उनलाई यो लत छोड्न गाह्रो पर]को बताउँछन् । पछिल्लोपटक शरणार्थी सुरक्षामा खटिएका शसस्त्र प्रहरी बेश क्याम्पमा पनि धेरै जसो मुद्दा मामिला लागु औषध प्रयोग गरेर झगडा, विगार गरेर नै किशोरहरु पक्राउ गरी आउने गरेको त्यहाँ कार्यरत सहायक प्रहरी निरीक्षक जय पाठकले बताएका छन् ।
 शिविरमा शान्ति स्थापनार्थ खटिएको क्याम्प रेखदेख समितिले पनि यो खाले नशाजन्य पदार्थमा मुछिएको केसहरु धेरै आउने भएकोले शसस्त्र बेशमा नै बुझाउने गरेको क्याम्प रेखदेख समितिले जानकारी दिएको छ । पक्राउ परेका प्रयोग कर्तालाई कार्वाहीको लागि इलाका प्रहरी कार्यालय दमक पठाईने गरिएको भएता पनि केही दिनपछि छाड्ने गरेकाले थप न्युनिकरणमा गाह्रो भएको सचिव सन्यासीले बताएका छन् । बालकदेखि युवाहरु प्रायँ नजिकैको बजार बेलडाँगी आउने जाने गरेकाले पनि बाहिरभित्र सँधै सर्म्पर्क र भेटघाट भईरहन्छ ।
जसले गर्दा यस्ता नशाजन्य पदार्थ खाने समूह दुवै भित्र र बाहिरका मिश्रित भएका हुने गर्छन् । प्रयोगकर्ताहरु बजार आसपास क्षेत्रका बाँसघारी, खेतबारी र एकान्त स्थान प्रयोग गर्दै आइएको स्थानीय शिविर प्रभावित क्षेत्रका बासिन्दा भूटान नेपाल शान्ति समितिका सदस्य रुद्र मिश्र बताउँनु हुन्छ । फोहोर थुपार्ने स्थान र बाँसघारीमा डेन्ड्राइटका खोल, गाँजा खाने सुल्फा, इन्जेक्सनका एम्पुलहरु प्रसस्त भेटिने गरेको स्थानीय व्यवसायीहरुले बताएका छन् ।


पछिल्लो पटक शिविरमा यूवाहरुको हितमा काम गर्दै आएको संस्था युवा मैत्री केन्द्रले सुध्रन चाहने युवाहरुलाई यूएनएचसीआरको पहलमा सुधार केन्द्रमा समेत लान सक्ने वातावरण मिलाउन सक्ने हुँदा पनि प्रयोगकर्ताहरु सम्पर्कमा नआएकोले नशा प्रयोगमा विग्रिएका युवाहरुलाई सुधार्न नसकिएको केन्द्रका सहायक कार्यक्रम संयोजक मनोरथ पोखरेलले बताएका छन् ।

कुलतमा परेर भविष्य खराव गरिरहेका १० देखि २०/२२ बर्षका यी बालक तथा युवाहरुलाई सुधार्ने जिम्मा कस्को हो त ? यो प्रश्नको उत्तर खोज्न जरुरी छ । आज फलानाको छोरा बिग्रँदा छिमेकी चुप लाग्नु भनेको कतै आफ्नै छोरा बिग्रनु त होइन ? यस विषयमा सरोकारवाला संघ/संस्थाको उत्तरदायित्व के त ? सोच्ने र सुधारको पक्षमा काम गर्ने कि ?

No comments:

Post a Comment