Tuesday, April 27, 2010

जीवन्त अनुभूतिहरुको यो “अनुभूति”


पुरानाघरे / अमेरिका

भूटानी नेपाली साहित्यमा गजललाई न्याय दिन अत्यान्तै सफल मध्येका एक सर्जक हुन् टङ्क वयलकोटी । भूटानी नेपाली साहित्यमा गजल विधाबाट अत्यान्तै शालिन अनुभूतिहरुलाई व्यवहारिक अर्थबाट बेजोड लेखिएको एउटा उत्कृष्ट संग्रह हो टङ्कको यो “अनुभूति” गजल संग्रह । प्रवासी परिवेश, खास गरी शरणार्थीहरुले झण्डै दुई दशकदेखि भोगिरहेका अनुभूतिहरुको प्रतिबिम्ब हो भन्ने लागेको छ यो “अनुभूति” । भूटानी नेपाली साहित्यको गजल विधामाप्रकाशित भएको नवौं कृति तथा भूटान गजल मञ्चको प्रकाशनको आठौं प्रस्तुति टङ्क वयलकोटीको चौंसठ्ठी पृष्ठमा उभिएकोयस कृतिमा समर्पण गजल सहित जम्मा ५२ वटा गजल सङ्कलित छन् ।भूटानी नेपाली साहित्यको क्षेत्रमा गजल विधालाई सशक्तरुपमा उभ्याउँदै प्रकाशित भएको यस कृतिलाई झलक्क हेर्दा सेतो रङ्गको सामान्यताभित्र पहेंलो रङ्ग उभिएर आवरण बन्छ कालो रङ्गको सोभामा, जसभित्र अवोध जीवनका झलकहरु सरल तथा अमूर्त उभिन्छन् अनुभूति बनेर । जब प्रकाश धमालाको प्रकाशकीय पढेपछि हामी “अनुभूति” भित्रका यावत दृष्टान्तहरु नियाल्ने वस्तुतामा प्रवेश गर्दछौं ।


भूटानी नेपाली साहित्यको क्षेत्रमा गजलकार याम थुलुङल, गजलका प्रथम स्रष्टा हुन् । उनको भूमिकाले यस कृतिको लौकिक सान्दर्भिकता र कार्यगत वफादारिता प्रकट भएको मैले अनुभव गरेको छु । भारतीय नेपाली क्षेत्रबाट उदाएर समग्र नेपाली साहित्यकै आदरणीय महाकवि मोहन दुखुन र समकालिन नेपाली गजल माहौलमा प्रख्यात युवा गजलकार प्रकाश आङदेम्बेले यस कृतिका अनुभूतिहरुलाई उचालेर अन्तर्राष्ट्रिय डायस्पोरामा उभिइसकेको नेपाली गजलकारितामा प्रवेशको ढोका खोलिदिएका छन् ।

गजलकार वयलकोटीको कलममा सरलता र कलात्मकताको तादात्म्यता पाइन्छ । उनको यो प्रयासलाई सुमित्रा वाङदेलले होष्टेमा अदम्य हैंसे गरेको पाइन्छ । कलामा सिद्धहस्त स्रष्टा जितेन्द्र अनमोलले टङ्कको गजलकारितालाई अब्बल दर्जा मानेका छन् । वयलकोटीका गजलहरु यसै पनि स्तरीय, परिपक्व र मर्मस्पर्शी छन्, त्यसमा झन जितेन्द्रका चित्रहरुले यस सङ्ग्रहलाई झनै आकर्षक बनाएको छ । चित्र हेर्दै, गजल पढ्दै गरियो भने पृष्ठ पल्टाउनु अघि धेरैचोटि पाठकलाई रोकिन मनपर्छ । यस पक्षमा “अनुभूति”भित्र विषयगत बहुलताको उपस्थिति उचित मान्नु पर्छ ।

वयलकोटी स्वयमले लेखकीय शीर्षक मार्फत भनेका छन् कि “विषम परिस्थितिभित्रका सजीव खुल्दुलीहरु, मनभरी छरिएका आकाँक्षाहरु जस्ता अझ धेरै समवेदनाहरु, कारुणिक अभिव्यक्तिहरु अनि विद्रोहका ज्वालाहरु र यस्ता धेरै अनुभूतिहरुको समष्टिगत रुप भन्न मन पराउँछु यो गजल सङ्ग्रहलाई ।” यसरी वयलकोटीले यस सङ्ग्रहका औपचारिक धारणालाई छर्लङ्ग पारेका छन् । उनले भने झैं लाग्छ, समस्त अनुभूतिहरुको हो यो “अनुभूति” गजल सङ्ग्रह । यस सङ्ग्रहलाई विभिन्न दृष्टान्तहरुमा विशिष्टिकरण गर्न सकिन्छ ।



तिहारमा सयपत्री फूलको माला उन्छिन् दिदी

आउने छ भाइ भन्दै आँसु झार्दै रुन्छिन् दिदी



काँडाबीच फुल्छ खुशी टिप्न धेरै गाह्रो रै’छ

चाड आउँदा आँसुले ती आँखाहरु भुन्छिन् दिदी – (पृष्ठ ११)



साँस्कृतिक पक्षलाई उठाउन वयलकोटीको कलम विविधताले घनिभूत छ विषयवस्तुको चयनमा । उनका गजलमा मक्ता र मतला साह्रै चित्त बुझ्ने गरी कुँदिएको पाइन्छ । अन्य विषयहरुमा वियोग, प्रणयता, विद्रोह, श्रृंगारिकता, सामाजिक कुरीति, धार्मिक, स्वदेशचिन्तन आदि प्रगतिशील चेतनाहरुलाई कलात्मक र शैलीगत सजगता दुबै किसिमले निर्माण गरिएको पाइन्छ यस अनुभूति गजल सङ्ग्रहभित्र ।



सगरमाथा शीर उच्च बनाउने नेपालीको

दशैं तिहार चाड—पर्व मनाउने नेपालीको



दौरासुरुवाल ढाका टोपी फरिया र चौवन्दी

चिनारी र सँस्कृति जनाउने नेपालीको – (पृष्ठ १२)



वयलकोटी नेपाली संस्कृतिप्रति आस्था प्रकट गर्छन् प्रायः गजलहरुमा । कतिपय गजलहरुमा नामवत प्रयोगले गजलकारलाई अझ बढी प्रयोगधर्मी देखाउँछ तर यही पक्षले उनको भाषिक पक्षलाई प्रभाव पारेको पाइन्छ । कति पय अवस्थामा गजलकारले, व्याकरणिक हिसाबले भाषिक पक्षलाई नजरअन्दाज गरेको भान हुन्छ । तर धेरै हदसम्म सजग र सचेत चाहिँ अवश्य देखिन्छन् । काल्पनिकतामा धेरै गहिरिएर यथार्थ भेटाउनु उनको गजलीय प्रवृति हौ । यस सङ्ग्रहमा भएका गजलहरुले विप्रलम्भश्रृंगार, प्रणयघात र यस्ता बिडम्बना पछिका अनुभूतिहरुलाई अत्यान्तै गहनताकासाथ उठाएको पाइन्छ । यस पक्षमा यो कृति लगभग आधाआकाशमा उभिएको पाइन्छ । गजलकार वयलकोटी दक्षिण एशियामा राजनीतिक नेतृत्वले नागरिकमाथि गरिरहेको कुठाराघात र यसको दुश्परिणामलाई मजाले चित्रण गर्न सफल भएका छन् । ।



आधा पूर्व आधा पश्चिम फर्केको छ हाम्रो देश

पहिरो जान अलिकति चर्केको छ हाम्रो देश



बुद्ध शान्ति चुहिदैछ रगतको थोपा थोपा

अध्यारो रात युद्धैयुद्ध झर्केको छ हाम्रो देश (पृष्ठ १९)



युद्धले आघात बनेको देश नेपाल, अवस्थाले संघारमा उभिएको भूटान र भारतप्रतिको उहाँको गजलीय धारणा गजव छ । यसरी सांकेतिक लेखनमा पनि गजलकार अगाडि देखिन्छन् । माथिको गजलले देखाएको समस्याको सौहार्दपूर्ण निकासको खोजी वर्तमानको गम्भिर विषय हो । संक्षिप्तताभित्रबाटै विष्तृताको खोलो बगाउन सक्नु गजलकारको परिपक्वता मान्नु पर्छ । संगीत गरिएका गजल यस सङ्ग्रहमा ६ वटा छन् । भूटानका चर्चित गजल गायक अर्जुन रसाइलीले संगीत दिएका छन् यी गजलहरुमा । समग्रमा भन्नु पर्दा भूटानी नेपाली साहित्यमा गजलको विकास र सम्वृद्धिको सूचक समेत बनेर यो गजल सङ्ग्रह बजारमा आएको छ ।
                                                                                             
                                                                                     source:http://www.bhutaneseliterature.com




No comments:

Post a Comment