Sunday, March 21, 2010

शरणार्थी शिविरमा पनि शोक

भूतपूर्व प्रधानमन्त्री तथा काँग्रेस सभापति गिरिजा प्रसाद कोइरालाको निधनले भुटानी शरणार्थी समुदायलाई पनि शोकाकुल बनाएको छ । विभिन्न भुटानी राजनैतिक तथा सामाजिक संघ संगठनहरुले कोइरालाको निधनले दक्षिण एसियाको एउटा बलियो लोकतान्त्रिक छवि ओझेल परेको भन्दै शोक व्यक्त गरेका छन् ।
ड्रुक नेशनल काँग्रेस (डेमोक्रेटिक) का अध्यक्ष थिन्ले पेन्जोरले काँग्रेस नेतृ तथा उपप्रधानमन्त्री सुजाता कोइरालालाई पठाएको शोक तथा समवेदना पत्रमा कोइराला भुटानी शरणार्थीलाई माया गर्ने लोकतन्त्रबादी शिखर पुरुष थिए भनिएको छ ।
यसैगरी भूटानी शरणार्थी प्रतिनिधि स्वादेश फिर्ती समितिका अध्यक्ष डा.भम्पा राईले भूटानीको प्रजातन्त्र र मानव अधिकारको आन्दोलनका सशक्त सारथीको निधनले शरणार्थी समूदाय शोकाकुल भएको बताएका छन् । डा. राईले विश्वको जुनसुकै कुनाको निरंकुशता पनि बाँकी विश्वका लागि अहितकार हुन्छ भन्नेमा दृढ विश्वस्त कोइराला भूटानीको घर फिर्ती अभियान र मानवअधिकार आन्दोलनका प्रेरक पनि थिए भनेका छन् ।
बेलडाँगी ३ शरणार्थी शिविरका पूर्व सचिब सुवास आचार्यले भारत प्रवासमा रहेका कोइराला परिवारका कान्छा छोरा कालान्तरमा आफ्नो मूलुकमा फर्किएर राष्ट्राध्यक्ष समेत भएको तथ्य प्रत्येक भूटानी शरणार्थीका लागि प्रेरक तथ्य बन्नुपर्ने बताए ।
यसैबीच २००७ साल का प्रजातन्त्र सेनानी रही भारत प्रवासपछि भुटान पुगेका कप्तान भरत राई आफ्ना हितैसी भरोसाका केन्द्र गुमेकोमा निकै शोक मग्न छन् । बेलडाँगी ३ शरणार्थी शिविर सेक्टर आइ ३ को २० नं छाप्रोमा बस्ने ८३ बर्षीय राई ३० बर्षको भूटान प्रवास पछि २०४९ सालमा नेपालमा शरणार्थीको रुपमा आएका हुन् । उनले भने – ‘मेरो त सबथोक गुमेजस्तो लाग्यो ।’ राई २००७ सालतिर कोइराला निवास विराटनगरमा रहेका थिए ।

No comments:

Post a Comment