Tuesday, September 22, 2009

अमेरिकामा भुटानी जनताको दशैं

पुनर्वास भएर अमेरिकाका विभिन्न भागहरुमा पुगेका भुटानी शरणार्थीहरुले यसपालीको दशैं आफ्नो परम्परागत शैलीमा मनाउने भएका छन् । १७,६०० को हाराहारीमा अमेरिकामा मात्रै पुनर्स्थापित भएका भुटानी शरणार्थीहरुको दशैंको तयारी अमेरिकाको विभिन्न राज्यहरुमा भइरहेको छ ।टेक्सस राज्यको डल्लस शहरमा पुनर्स्थापित भएका शरणार्थीहरुले आगामी आइतबार एक ठाउँ (एउटा हल)मा भेला भएर दशैं मनाउने भएका छन् । उक्त दिन सो हलमा करिव असी परिवार उपस्थित हुने आशा गरिएको छ । डल्लसका भुटानी समुदाय (बीसीडी) का सदस्य तथा उक्त कार्यक्रमका आयोजक एल।वी.सुव्वाका अनुसार उक्त हलमा दुर्गा पूजाका साथै एउटा विषेश साँस्कृतिक कार्यक्रमको पनि आयोजना गरिनेछ ।

त्यसै गरि टकसनका भुटानी आपसी सहयोग संगठन (वीएमएएटी) को अगुवाइमा एरिजोजना राज्यको टकसन शहरमा पनि सोही दिन करिव चारसय शरणार्थीको सहभागिता रहने कार्यक्रमको आयोजना गरिने भएको छ । वीएमएएटीले उक्त शहरका मेयर, पुनर्वाससम्वन्धी संस्थाका प्रतिनिधि, प्रहरी तथा स्थानीय समुदायलाई समेत आकषिर्त गर्ने आशा गरेको छ । उक्त कार्यक्रमका लागि व्यक्तिको आर्थिक स्थिति हेरेर कम्तीमा १५ डलर तिर्नु पर्ने जानकारी वीएमएएटीका प्रमुख डीवी अधिकारीले दिनु भयो ।अति नै व्यस्त भए पनि केन्टुकी राज्यका भुटानी शरणार्थीहरुले तीन दिने दशै कार्यक्रमको आयोजना गरेका छन् । ती तीन दिनमा दुर्गा पूजा, टिका ग्रहण र भजन कीर्तन लगायत अन्य साँस्कृतिक कार्यक्रमहरु पनि सम्पन्न गरिनेछन् ।सिकागो शहरका भुटानी जनताले पनि आगामी शनिबार एक ठाउँ भेला भएर दशैं उत्सव मनाउने टीका लगाउने तयारी गरिरहेका छन् । उनीहरुले त्यहाँ भुटानी जनताको उत्थानका लागि एउटा संस्था गठन गर्ने योजना पनि बनाएका छन् ।त्यसैगरि जर्जीयाका भुटानी जनताले पनि शनिबार नै एकठाउँ भेला भएर दशैं मनाउने भएका छन् । एटलान्टा शहरमा भएका करिव ३००० भुटानी जनता उक्त समारोहमा सहभागी हुने अपेक्षा गरिएको छ ।वासिंङ्टनको सेटल शहरका भुटानी समुदायले पनि आगामी शनिबार नै भेला भएर दुर्गा पूजाको आयोजना गर्नेछन् । त्यहाँ उनीहरुले नेपाली संस्कृति झल्काउने गीत र नृत्यसमेत प्रस्तुत गर्नेछन् ।म्यासाच्युसेट्समा चाहिँ भुटानी जनताको जनसंख्या थोरै भएकोले उनीहरुले अग्रजहरुबाट टीका ग्रहण गरि सामान्य तरिकाले दशैं मनाउनेछन् ।त्यस्तै मिसिगनमा पनि भुटानी जनताले एकठाउँ भेला भएर दशैं मनाउने तयारी गरिरहेका छन् । त्यहाँ अधिकतम संख्यामा मानिसहरुको सहभागिता रहने अनुमान गरिएको छ ।
त्यसैगरि अमेरिकाका विभिन्न ठाउँहरुमा छरिएर रहेका भुटानी शरणार्थीहरुले परम्परादेखि चलिआएको हिन्दु संस्कृतिको महान पर्व दशैंलाई आ-आफ्नो तरिकाले मनाउने भएका छन् ।
(भूटान न्यूज सर्भिसबाट)

No comments:

Post a Comment