Friday, September 18, 2009

शिविरहरूमा सुरक्षा कडा पारिने

झापा र मोरङमा रहेका भुटानी शरणाथीका शिविरको सुरक्षलाई थप व्यवस्थित गर्ने विषयमा सुरक्षा निकायले छलफल शुरु गरेको छ ।शिविर व्यवस्थापन समितिका पदाधिकारीसँग छलफल गरि सुरक्षा निकायका अधिकारीले अपनाउन सकिने सावधानी र सुरक्षाका विषयमा शरणार्थीका अगुवासँग सुझाव लिएको हो ।आज सशस्त्र प्रहरी बल पाथिभरा गण मेचीले त्यस विषयमा दमकस्थित बेलडाँगी शिविरको शिविर व्यवस्थापन समितिका पदाधिकारीसँग शिविरमा छलफल गरेको छ ।भुटान पिपुल्स पार्टी प्रवक्ता गोपाल गुरुङले त्यस क्रममा पछिल्लोपटक शिविरको सुरक्षा अवस्थाको विषयमा सुरक्षा निकायका पदाधिकारीलाई जानकारी गराइएको बताउनु भयो ।उहाँका अनुसार शरणार्थी युवा केबी खड्काको हत्यापछि उत्पन्न परिस्थिती र शरणार्थीका नेतालाई आएको धम्कीको विषयमा समेत छलफल भएको छ ।
छलफलमा सशस्त्र प्रहरी बल पाथिभरा गण मेचीका गणपति सशस्त्र प्रहरी उपरीक्षक गणेशठाडा मगर सहभागि हुनुहुन्थ्यो ।उहाँले शिविर भित्र र बाहिर आवतजावत गर्ने शरणार्थीहरुको व्यवहारलाई निगरानी गरिने बताउँदै आउट पासको व्यवस्थालाई थप कडाई गर्ने जानकारी दिनु भयो । शिविर बाहिर निस्कदा गृह मन्त्रालय अर्न्तगतको शरणार्थी समन्वय इकाई कार्यालयको इजाजत लिएर मात्र बाहिर निस्कनु पर्ने प्रावधान भएपनि शरणार्थीले अटेर गर्दै आएका छन् । उनीहरु लुकिछिपी शिविर बाहिर निस्कने गरेका छन् ।शिविरमा मोवाइल फोनको प्रयोग बढेपछि अपराधिक गतिबिधि समेत बढेको सुरक्षा अधिकारीहरुको अड्कल छ । अहिले साँझ ७ बजेपछि शिविर भित्र जान र बाहिर आउन कडाई गरिएको छ ।

No comments:

Post a Comment