Monday, September 7, 2009

शिविरमा इन्धनको समस्याले

आगो सल्काउने बेलामा दाउरा र कोइलाको अभाव, साँझमा बत्ती बाल्ने बेलामा मट्टितेलको अभाव उर्जाको यो अभावले शरणार्थीलाई हैरान बनाएको छ ।सहायता संस्था लुथरन विश्व महासंघले हरेक महिना खाना पकाउन शरणार्थीलाई ब्रिकेट कोइला दिन्छ । आधा दर्जन सदस्य भएका शरणार्थी परिवारले २५ किलो, आठ जनासम्म सदस्य भएका परिवारले ३० किलो र आठजना भन्दा बढि सदस्य भएका परिवारले ३५ किलो ब्रिकेट पाउँछन् । त्यो सँगै कोइला सल्काउन भन्दै हरेक छाप्रामा महिनाको एक घनो बाँस पनि दिइन्छ ।साँझ विहान देखिने धुँवाको कुइरीमण्डलले शरणार्थीलाई खाना पकाउन समस्यै छ भन्ने बुझाउँछ । न कोइलाले महिना मर्छ, न सुखले भात पकाउन नै सकिन्छ । शरणार्थीलाई इन्धन सहयोग गर्ने अर्को संस्था बज्र फाउण्डेसन हो । यसले शरणार्थीका हरेक दुईवटा छाप्राका विचमा घामबाट भात पाक्ने छाते चुल्हो दिएको छ । यो चुलोलाई प्याराभोलिक भनिन्छ । सातै शिविरमा गरेर छ हजार चारसय ४७ थान घामबाट खाना पकाउने छाते चुल्हो बाँडिएको छ । आकाशमा बादल लाग्यो भने वा हावाहुरी चल्यो भने यो चुल्होको काम छैन ।
विद्यार्थी भएको छाप्रामा त इन्धनको समस्याले झन धुरुक्कै पार्छ । महिनामा पाउने एक लिटर मट्टितेलले एक छेउ पनि थेग्दैन । विद्यार्थीहरु न बेलामा खाना खाएर विद्यालय जान पाउँछन् न त रातको समयमा लेखपढ गर्न नै ।
एकातिर दिइएको सहायताले नपुग्ने समस्या त्यहिँमाथि इन्धनको आपूर्ति पनि नियमित छैन । हरेक महिनामा दिनुपर्ने ब्रिकेट र मट्टितेल कोहीवेला दुई तीन महिनासम्म पनि नआउने शरणार्थीको गुनासो छ । शरणार्थीको आवश्यकता एकातिर छ अर्कातिर सहायता निकाय आफ्नै समस्या देखाउँछन् ।
शरणार्थीको गाँस र बासको व्यवस्था गर्न थुप्रै संस्थाहरु लागिपरेका छन् । तर उनीहरुको न्यूनतम आवश्यकतासमेत पूरा नहुने गरि दिइने राहतलाई के भन्ने ? खाना पकाउन चाहिने इन्धन जस्तो अत्यावश्यक चिज समयमै र चाहिएजति नपाउँदा हुने समस्या शरणार्थीले मात्रै भोगेका छन् तर यसको अनुभूति सहायता संस्थाका प्रतिनिधिलाई समेत हुनु आवश्यक छ ।
गोपाल(पूर्वसन्देशबाट साभार)

No comments:

Post a Comment