Wednesday, September 30, 2009

एक शरणार्थी सहित २३ को मृत्यु


धरान चर्च दुर्घटनामा मृत्यु हुने भुटानी शरणार्थी एक जना मात्र भएको पुष्टि भएको छ । दुर्घटनाको खवर सुनेर धरान पुगेका वेलडाँगीका सामुयललाइ मैले फोनबाट जानकारी मागेको थिएँ । उनका अनुसार वेलडाँगी २ (विस्तारित), सेक्टर वी २, छाप्रा नं. ५२ की ८२ बर्षीया दिलमाया ल्वागुन रहेकी छन् ।

धरान-१९ भिक्टोरिया चोकस्थित चर्चमा दुर्घटना हुँदा चार बालबालिकासहित २३ जनाको मृत्यु भएको छ । गएराति साढे ११ बजे सियोन चर्चमा आयोजित अन्तर्राष्ट्रिय पवित्र सम्मेलनका लागि बनाइएको बाँसको अस्थायी दुईतले टहरा भत्किएपछि दुर्घटना भएको हो ।


दुर्घटनामा ६४ जना गम्भीर घाइते भएकाहरुको विपि कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको आकस्मिक कक्षमा उपचार भईरहेको प्रहरीले वताएको छ ।
बाँसको टहरा भत्किएपछि ज्यान गुमाउनेहरुमा बौकाझोडा झापाकी ४५ बर्षीया नन्दाकिशोरी लिम्बू, भद्रपुर-१२ झापा बस्ने ४० बर्षीया सरोजा लिम्बू, सैनिकमोड झापा बस्ने १२ बर्षीया आशा राई, इमाडोल-८ ललितपुर बस्ने ४८ बर्षीया सरिता दियाली, काठमाडौ बस्ने ७ बर्षीय ञसुलेमान तामाङ, सूर्यनगर-३ झापा बस्ने ९ बर्षीया इकोला लिम्बू, बेलडाँगी झापा बस्ने ८२ बर्षीया दिलमाया ल्वागुन, उदयपुरको ठोक्सिला-८ बस्ने २९ बर्षीय राजेश राई, महेसपुर-३ झापा बस्ने १६ बर्षीया शान्ति तामाङ रहेका छन् ।


यसैगरी शान्तिनगर-१ झापा बस्ने १० बर्षीय अभिशेक राई, डाँगीहाट मोरङ बस्ने ३५ बर्षीया पवित्रा लिम्बू, तरहरा-२ बस्ने ६० बर्षीया गोमा भूजेल, निशानडाँडा सुनसरी बस्ने ५५ बर्षीया आटीमाया राई, झापाको विर्तामोड बस्ने २८ बर्षीय मर्सी मेचे, गुवाथान भारत बस्ने ३५ बर्षीया निरु राई, बेल्डाँगी झापा बस्ने नन्दीमाया विक रहेका छन् ।

यसैगरी ज्यान गुमाउने अन्यमा बेलबारी-३ मोरङ बस्ने ३८ वर्षीय राजेश राई, रुपन्देहीको मृगौली बस्ने ३८ बर्षीया कलावती खौसियार, डाँगीहाट-१ मोरङ बस्ने ६० बर्षीय किशन चौधरी, मोरङको चन्द्रपुर बस्ने ५५ बर्षीया कुमारी तामाङ, लक्ष्मीमार्ग मोरङ बस्ने ५० बर्षीया पुनम मगर, पान्थरको यासोक बस्ने ४८ बर्षीय पिटर लावती, कास्कीको तल्लो गगनगौंडा बस्ने २५ बर्षीया कल्पना थामी रहेका छन् ।

चर्चको सम्मेलनमा नेपाल भारतका २ हजार बढी सहभागी भएका थिए । सम्मेलन असोज १२ गतेदेखि सुरु भएको थियो । बाँसको टहरामा एक हजार ५ सय बढी बसेका थिए । उनीहरुलाई स्थानीय बासिन्दा र प्रहरीले उद्धार गरेका थिए ।

मृतक सबैको सनाखत भइसकेको प्रतिष्ठानस्थित प्रहरी पोष्टका प्रमुख बैजु योगीले बताउनु भएको छ ।

(अनलाइन खवरबाट)

Monday, September 28, 2009

सामुहिक टिका


जोखिममा पारिएका वालवालिकाको निधारमा शरणार्थी अगुवाहरुको हातबाट सामुहिक टिका कार्यक्रम भूटानी शरणार्थी शिविरको बेलडाँगी-१मा रहेको सामूदायिक बालस्याहार केन्द्रमा सम्पन्न भएको छ ।

आफ्नो हक-अधिकारबाट वञ्चित रहेका तथा अथवा अभिभावकको मायाबाट टाढा रहेका वालवालिकालाई विगतका दिनहरुदेखि भूटानी शरणार्थी महिला मञ्चको विधान अनुसार शिविरमा रही जोखिममा पारिएका वालवालिका तथा महिलाहरुको हक-अधिकार सम्बन्धि बुलन्द आवाजका साथ वाक स्वतनत्रताकालागि यूएनएचसिआरसगँको सहकार्यमा केन्द्र सञ्चालित छ ।


केन्द्रमा सात शिविरका विभिन्न सेक्टरहरुमा जोखिममा रहेका वालवालिकाको खोजी गरि उनीहरुलाइ शिक्षा, हक-अधिकार, गाँस, बास र कपास जुटाउन भूटानी शरणार्थी बालमञ्चले विगतका दिनहरुमा काम गर्दै आएको छ । हाल केन्द्रमा त्यस्ता वालवालिकाको संख्या चार रहे पनि विभिन्न कारणबाट जोखिमा परेका वालवालिकाको संख्या दैनिक रुपमा शिविरमा बढिरहेको कार्यक्रम संयोजक इन्द्र तिम्सिनाले बताउनु भयो ।

सो केन्द्रमा शिविरभित्रका वालवालिका को-कसैबाट जोखिममा पारिएको भए, त्यसको सुरक्षाका लागि सम्बन्धित निकायमा सोधपुछ गरि संरक्षण गर्ने कार्य गरिरहेको महिला मञ्चकी कार्यक्रम संयोजक पासाङ्ग भुजेलले बताउनु भयो । हाल बालस्यार केन्द्रमा शनिश्चरे क्याम्पबाट चार वालवालिकालाई ल्याई राखिएको र पछिका दिनमा अरु जोखिम अवस्थामा रहेका वालवालिकाहरुलाई सुरक्षा, सहभागिता र संरक्षणमा समावेश गरिने कार्यक्रम अधिकृत अम्बर सुव्वाले जानकारी दिनु भयो ।

उक्त कार्यक्रममा शिविर सचिब टि.बि.गुरुङ्ग, बालमञ्च संयोजक इन्द्र तिम्सिना, पासाङ्ग भुजेल, अम्वर सुब्बा लगायत सुरक्षा निकायका अगुवाहरुबाट जोखिममा पारिएका वालवालिकालाई आज मायाको आर्शिवाद प्रदान गरिएको छ ।



बालस्याहार केन्द्रमा त सामूहिक टिका मनाइयो भने शिविरमा पहिलेको जस्तो गरि दशैं नमनाइएको पाइयो । दैनिक रुपमा बढ्ने हिंसाका कारण शिविरमा सुरक्षा व्यवस्था कडा पारिएको सुरक्षा वेशका स.प्रा.ना.नि गुन्जराज बानिया बताउँछन् । शिविरमा शरणार्थी जनसंख्या घट्दो भएकाले कसैले तेस्रो देशमा चार्डपर्व मनाए भने आफन्तजनले भनि शिविरमा भयसँग दशैं मनाउनु परेको छ ।

Friday, September 25, 2009

शरणार्थीको आर्थिक हैसियतबारे अनुसन्धान

भुटानी शरणार्थीले चलाउँदै आएका सवारी साधन र उनीहरुको आर्थिक हैसियत विषयमा अनुसन्धान शुरु गरिएको छ । पूर्वी नेपालका विभिन्न सातवटा शिविरमा बस्दै आएका कतिपय शरणार्थीको आर्थिक हैसियतमा तुलनात्मक रुपमा परिवर्तन देखिएपछि अनुसन्धान शुरु गरिएको हो ।झापा र मोरङका विभिन्न सातवटा शिविरमा खटिएका सशस्त्र प्रहरीले त्यस्ता शरणार्थीको विषयमा अनुसन्धान र जानकारी संकलन गर्न शुरु गरेका छन् ।सशस्त्र प्रहरी बल पाथिभरा गण मेचीका गणपती सशस्त्र प्रहरी उपरिक्षक गणेश ठाडा मगरले तुलनात्मक रुपमा आर्थिक हैसियत उच्च देखिएका र शिविरमा सवारी साधन चलाएर हिंड्नेहरुको सूचि बनाएर अनुसन्धान थालिएको बताए । उनले भने- शरणार्थीको आर्थिक हैसियतमा आएको परिर्वतन मूल्यांकन गर्न पनि यो काम थालेका हौं । शरणार्थीबाट हुने धेरै अपराधमा मोटरसाईकलको प्रयोग पाईकोले पनि ती साधनको जानकारी दुरुस्त राख्न लागिएको उनले बताए ।उनका अनुसार सूचिमा परेका र मोटरसाईकल चलाएर हिंड्ने शरणार्थीको विषयमा शिविर व्यवस्थापन समितिका पदाधिकारीले सुरक्षा अधिकारीलाई जानकारी दिने छन् ।

त्यस विषयमा केही समय अघि बेलडाँगी शिविरमा भएको सर्वपक्षिय छलफलमा विभिन्न १२ बुदाँमा सहयोग गर्न शरणार्थी सहमत भएका थिए । शिविर व्यवस्थापन समितिमा शरणार्थीले मतदान गरि निर्वाचित गरेका प्रतिनिधि रहन्छन् । त्यो समितिले शिविरमा शान्ति सुव्यवस्था कायम गर्ने लगायत कार्यमा नेपाल सरकारका अधिकारी र सुरक्षाकर्मीलाई सघाउने काम गर्दछ ।केही समययता भुटानी शरणार्थी शिविरमा हुने गरेको अपराधिक गतिविधिमा मोटरसाईकलको अत्याधिक प्रयोग हुने गरेको पाईएपछि सुरक्षाकर्मीले कडाई गर्न शुरु गरेको हो । सशस्त्र प्रहरी उपरिक्षक मगरले भने- सातै शिविरमा सवारी साधन प्रवेशमा रोक लगाएका छौं । जान दिनै पर्नेको विषयमा पूर्ण जानकारी राखेर मात्र प्रवेश दिईन्छ ।झापा दमकको बेलडाँगी १, २ र ३, मोरङको शनिश्चरे तथा पूर्वी झापाका खुदुनावारी, टिमाई र गोलधाप शिविरमा ढाट राखेर सशस्त्र प्रहरीले चेकजाँचलाई कडाई गरेको छ । ती शिविरहरुमा साँझ ७ बजे पछि शरणार्थीलाई डिंडडुल गर्न प्रतिबन्ध लगाइएको छ ।यसैगरि आउट पासको व्यवस्थालाई अझ व्यवस्थित गर्न एक शिविरबाट अर्को शिविर पुगेका शरणार्थीले सम्बन्धित शिविरको व्यवस्थापन कार्यालय र गृह मन्त्रालय मातहतको शरणार्थी समन्वय इकाई कार्यालयलाई जानकारी गराउनु पर्ने नियम छ ।

तर शरणार्थीले त्यो नियमलाई अटेर गर्ने गरेकोले थप कडाई गरिएको बताइको छ ।नेपाल सरकारले शरणार्थीलाई शिविर बाहिर निस्केर श्रम गर्न इजाजत नदिएको भएपनि उनीहरु खुल्लम खुल्ला रुपमा बाहिर आई श्रम गर्ने गर्दछन् । शिविरका छाप्राहरुमा शरणार्थीले टेलिभिजन, डिस एन्टना, मोवाईल जस्ता विलासीताका सामान पनि प्रयोग गर्दै आएका छन् ।

Wednesday, September 23, 2009

शिविरमा सवारी साधन बर्जित

झापा र मोरङमा बस्दै आएका भुटानी शरणर्थी शिविरमा आपराधिक गतिबिधि बढेपछि प्रशासनले शिविरभित्र सबारी साधन लैजान बर्जित गरेको छ ।बेलडाँगीका ३ वटै शिविरमा प्रबेश गर्नेका लागि र बाहिर आउनेका लागि प्रशासनले निगरानी बढाएको छ । शिविरमा रहेको सशस्त्र प्रहरीको बेश क्याम्पले शिविर छिर्ने स्थानमा बाँसको ढाट राखि आवत जावतमा कडाइ गरेको हो ।

अनुमति विना शिविरभित्र पस्न दिदैनौं” बेलडाँगीस्थित शसस्त्र प्रहरी बेशका निरीक्षक गण्डीवराज स्याङतानलले भन्नुभयो ।शरणार्थी शिविरमा केही दिनयता बढेको आपराधिक गतिबिधिले शिविरमा रहेका शरणार्थीहरु बिस्थापित हुने क्रम बढेपछि कडाइ गरिएको शसस्त्र प्रहरीले जनाएको छ ।शरणार्थी अगुवामाथि हत्याको धम्की आएपछि उनीहरुले सुरक्षाको माग गर्दै आएका छन् ।

Tuesday, September 22, 2009

भुटानमा शक्तिशाली भूकम्प - १० को मृत्यु

भुटानमा सोमबार शक्तिशाली भूकम्प गएको छ। सो भुकम्पले १० जनाको ज्यान लिएको छ । भुटानमा भूकम्पको कारण पहाडबाट चट्टान खस्दा सडक यातायात अबरुद्ध भएको भुटानको गृह मन्त्रालयले जनाएको छ।शुरुमा सो भूकम्पको तिब्रता ६।३ रेक्टर स्केलको भनिए पनि अमेरिकाका भौगर्भिक विभागले त्यो ६.१ रेक्टर स्केल मात्रै भएको जानएको छ।भूकम्पको झट्का पूर्वी नेपालमा समेत महसुस गरिएको राससले जनाएको छ । काठमाडौं स्थित खानी तथा भूगर्भ विभागले भूकम्पको तिब्रता ६.४ रेक्टर स्केल भएको जनाएको छ । भूकम्पको कारण नेपालमा कुनै क्षति भएको समाचार आएको छैन ।

‘अहिलेसम्म मैले पाएको जानकारी अनुसार १० जनाको ज्यान गएको छ।’ भुटानको गृह मन्त्री मिन्जुर दोर्जीले अमेरिकी समाचार संस्था सिएनएनलाई भने।पूर्वी भुटानमा पहाडबाट चट्टान खसेका कारण दुर्गम क्षेत्रसँग सडक यातायातको सम्पर्क टुटेको उनले बताए। सो शक्तिशाली भूकम्पको कारण गुम्बा, घरमा क्षति पुगेको छ।भुटानको पूर्वी तासिगान जिल्लामा २ जना भिक्षुहरु गुम्बाको भग्नावशेषमा च्यापिएको दोर्जीले बताएका छन्।भुटानसँग सीमा जोडिएको भारतको उत्तरपूर्वी राज्य आसाममा समेत भुकम्प महशुस गरिएको छ। तर क्षतिको कुनै विवरण भने आएको छैन।स्थानीय समय अनुसार अपरान्ह २ बजेर ५० मिनेटमा भएको भूकम्पको केन्द्र बिन्दु राजधानी थिम्पुबाट १ सय ८० पूर्व र असम राज्यको राजधानी गुहाटीबाट १ सय ३५ किलोमिटर उत्तरपूर्वीमा रहेको अमेरिकाको भौगर्भिक विभागले जनाएको छ।


नागरिक र भुटान न्यूज सर्भिसबाट

अमेरिकामा भुटानी जनताको दशैं

पुनर्वास भएर अमेरिकाका विभिन्न भागहरुमा पुगेका भुटानी शरणार्थीहरुले यसपालीको दशैं आफ्नो परम्परागत शैलीमा मनाउने भएका छन् । १७,६०० को हाराहारीमा अमेरिकामा मात्रै पुनर्स्थापित भएका भुटानी शरणार्थीहरुको दशैंको तयारी अमेरिकाको विभिन्न राज्यहरुमा भइरहेको छ ।टेक्सस राज्यको डल्लस शहरमा पुनर्स्थापित भएका शरणार्थीहरुले आगामी आइतबार एक ठाउँ (एउटा हल)मा भेला भएर दशैं मनाउने भएका छन् । उक्त दिन सो हलमा करिव असी परिवार उपस्थित हुने आशा गरिएको छ । डल्लसका भुटानी समुदाय (बीसीडी) का सदस्य तथा उक्त कार्यक्रमका आयोजक एल।वी.सुव्वाका अनुसार उक्त हलमा दुर्गा पूजाका साथै एउटा विषेश साँस्कृतिक कार्यक्रमको पनि आयोजना गरिनेछ ।

त्यसै गरि टकसनका भुटानी आपसी सहयोग संगठन (वीएमएएटी) को अगुवाइमा एरिजोजना राज्यको टकसन शहरमा पनि सोही दिन करिव चारसय शरणार्थीको सहभागिता रहने कार्यक्रमको आयोजना गरिने भएको छ । वीएमएएटीले उक्त शहरका मेयर, पुनर्वाससम्वन्धी संस्थाका प्रतिनिधि, प्रहरी तथा स्थानीय समुदायलाई समेत आकषिर्त गर्ने आशा गरेको छ । उक्त कार्यक्रमका लागि व्यक्तिको आर्थिक स्थिति हेरेर कम्तीमा १५ डलर तिर्नु पर्ने जानकारी वीएमएएटीका प्रमुख डीवी अधिकारीले दिनु भयो ।अति नै व्यस्त भए पनि केन्टुकी राज्यका भुटानी शरणार्थीहरुले तीन दिने दशै कार्यक्रमको आयोजना गरेका छन् । ती तीन दिनमा दुर्गा पूजा, टिका ग्रहण र भजन कीर्तन लगायत अन्य साँस्कृतिक कार्यक्रमहरु पनि सम्पन्न गरिनेछन् ।सिकागो शहरका भुटानी जनताले पनि आगामी शनिबार एक ठाउँ भेला भएर दशैं उत्सव मनाउने टीका लगाउने तयारी गरिरहेका छन् । उनीहरुले त्यहाँ भुटानी जनताको उत्थानका लागि एउटा संस्था गठन गर्ने योजना पनि बनाएका छन् ।त्यसैगरि जर्जीयाका भुटानी जनताले पनि शनिबार नै एकठाउँ भेला भएर दशैं मनाउने भएका छन् । एटलान्टा शहरमा भएका करिव ३००० भुटानी जनता उक्त समारोहमा सहभागी हुने अपेक्षा गरिएको छ ।वासिंङ्टनको सेटल शहरका भुटानी समुदायले पनि आगामी शनिबार नै भेला भएर दुर्गा पूजाको आयोजना गर्नेछन् । त्यहाँ उनीहरुले नेपाली संस्कृति झल्काउने गीत र नृत्यसमेत प्रस्तुत गर्नेछन् ।म्यासाच्युसेट्समा चाहिँ भुटानी जनताको जनसंख्या थोरै भएकोले उनीहरुले अग्रजहरुबाट टीका ग्रहण गरि सामान्य तरिकाले दशैं मनाउनेछन् ।त्यस्तै मिसिगनमा पनि भुटानी जनताले एकठाउँ भेला भएर दशैं मनाउने तयारी गरिरहेका छन् । त्यहाँ अधिकतम संख्यामा मानिसहरुको सहभागिता रहने अनुमान गरिएको छ ।
त्यसैगरि अमेरिकाका विभिन्न ठाउँहरुमा छरिएर रहेका भुटानी शरणार्थीहरुले परम्परादेखि चलिआएको हिन्दु संस्कृतिको महान पर्व दशैंलाई आ-आफ्नो तरिकाले मनाउने भएका छन् ।
(भूटान न्यूज सर्भिसबाट)

Monday, September 21, 2009

भाइको पिटाइबाट दाइको मृत्यु


भूटानी शरणार्थी शिविर शनिश्चरेमा आफ्नै भाइको पिटाईबाट एकजनाको मृत्यु भएको छ ।
२२ बर्षीय विर्खबाहादुर तामाङ्गले शुक्रबारका दिन ठिक ४ बजे परिवारिक झै-झगडाको निहुँमा ३५ बर्षीय धनबीर तामाङ्गमाथि धारीलो बासँले शरिरमा जथाभावि कुटपिट गरेपछि शिविरको प्राथमिक स्वास्थ्य चौकीमा उपचार नहुने भएपछि उनलाई पथरीस्थित नसिर्ङ होममा लगिए पनि टाउकामा गहिरो चोट लागेकाले नर्सिङ होममा उपचार नहुने भएपछि तामाङलाई कोशी अञ्चल अस्पताल विराटनगर र त्यसपछि धरानसम्म पुर्‍याएको पारिवारिक स्रोतले जनाएको छ ।
टाउकोमा लागेको गहिरो चोटको थप जाँच र उपचार गर्न खर्चको अभावका कारण धरानको घोपा अस्पातलमा हुन नसकेकाले डाक्टरको सल्लाह अनुसार परिवारले उनलाई सेक्टर आई/१, छाप्रा नं. २७ मा ल्याएपछि आइतबारको दिन मृत्यु भएको क्याम्प ब्यावस्थापन समितिले जानकारी दिएको छ ।
विर्खबाहादुर तामाङ्गलाई घटनापछि शनिश्चरे सशस्त्र प्रहरी बलका सइ नरबहादुर बरुवालले मोरङ्गको उर्लाबारी प्रहरी चौकीमा बुझाएका थिए । प्रहरीका अनुसार तामाङ्गले मादक पर्दाथ सेवन गरी दाइमाथि जथाभावी कुटपिट गरि हत्या गरेको हो ।
तामाङ्गको सोमबार पथरी जङ्गलमा दाहसंस्कार गरिएको शनिश्चरेस्थित पत्रकार लाक्पा तामाङ्गले जानकारी गराएका छन् । साथै उनले शिविरमा सुरक्षा ब्यवस्था कडा पारिएको पनि बताएका छन् ।
त्यसैगरि टिमाई शिविरमा पनि क्याम्प सुरक्षा समितिका सदस्यको कुटाईबाट एक जना शरणार्थी घाइते बनेका छन् ।
रातीको समयमा शिविरभित्र घुमफिर गरिरहेको वस्थामा समितिले सोधपुछ गर्दा कुनै पनि उत्तर नदिएपछि टिमाई सेक्टर डि/१ छाप्रा नं. ४ का भिम अधिकारीलाइ समितिका केही सदस्यहरूले कुटपिट गरेका थिए । उनको शरीरको टाउको, दाँत र अन्य भागमा गम्भीर चोट लागेको बालमञ्च संयोजक चन्द्र पराजुलीले बताएका छन् । उक्त घटना सम्बन्धमा उनका परिवारले शुक्रकार दमक स्थित यूएनएचसीआर कार्यालयमा घटनाको थप अनुसन्धान गरी दोषीउपर कारवाही तथा शिविरमा थप सुरक्षाको माँग राखेको पनि पराजुलीले बताएका छन् । अधिकारीको उपचार भइरहेको जानकारीमा आएको छ ।
एक समाजसेवी तथा अगुवाको हत्या र केही अगुवाहरूलाइ दिइएको धम्किपछि सातै शिविरमा सुरक्षा कडा पारिएको छ । साँझ ७ बजेदेखि शिविरभित्र कुनै पनि आधिकारीक काम विना हिंडडुल गर्न मनाई गरिएको छ ।

दशैं शुभकामना भेट







बरिष्ट संगीतकारः
गगन गुरुङ सानी ठटाल मणिकमल श्रेत्री लगायत गणेश रसिकका साथमा प्रकाश बुढथोकी भूटान रिपोटर पत्रिका पढ्दै




गन्तब्य थिएटर दमकले सोमबार सृजना होटलमा दशैं शुभकामना भेट कार्यक्रमको आयोजना गरेको छ ।
कार्यक्रममा दार्जिलिङका बरिष्ट संगीतकर्मी गगन गुरुङ, शान्ति ठटाल, मणिकमल श्रेत्री र काडमाण्डौबाट गणेश रसिकको उपस्थिती थियो ।
उक्त कार्यक्रममा स्थानीय साहित्यकार प्रकाश आङदेम्बे, प्रकाश बुढाथोकी, भूपेन्द्र तिम्सिना, मायामितु न्यौपाने, चन्द्र अधिकारी, याम थुलुङ्ग, वैदिक अत्रीका साथै स्थानीय पत्रकारहरुको उपस्थिति रहेको थियो ।
कार्यक्रम थिएटरका निर्देशक प्रकाश आङदेम्बेको संयोजकत्वमा सम्पन्न भएको थियो ।

Sunday, September 20, 2009

शोक सभा सम्पन्न

समाजसेवी तथा पूर्व सचिव केवी खड्काको तेह्रौं दिने कामको दिन शरणार्थी समूदायले शोक सभा गरेको छन् ।
शोक सभामा शरणार्थी प्रतिनिधि लगायत शिविरमा विभिन्न कार्यबाट शरणार्थीमा सघाउ पुर्‍याउने सघं-सस्थाहरुले समवेदना ब्यक्त गरि सुरक्षा निकाय तथा नेपाल सरकारलाई खड्काको हत्या सम्बन्धमा जतिसक्दो छिटो छानविन गरि अपराधीलाई कानुनी कार्वाहीको मागसमेत राखेका छन् ।
त्यसैगरि मिडिया नेटवर्क भूटानले पनि समवेदना पत्र पठाई खड्काको आत्माको चीर शान्तिको कामना गर्दै एक प्रेश विज्ञाप्ति निकाली घटनाको छानविन गरि कडा कार्वाहीको मागसमेत राखेको नेटवर्कका अध्यक्ष मनोरथ पोख्रेलले बताउनु भएको छ । शोक सभामा मनोरथ पोखरेल, क्याम्प सचिब नारदमुनि सन्यासी, सुवास आचार्य, भू.क.पा. (मालेमा)का प्रतिनिधि पुष्प क्षेत्री लगायत सुरक्षा निकायका सशस्त्र प्रहरी निरीक्षकले पनि सुरक्षा सम्वन्धि मन्तव्य ब्यक्त गरेका थिए ।
शिविरमा सुरक्षा ब्यवस्था भने कडा पारिएको छ तर खड्का हत्याकाण्ड सम्बन्धी कुनै पनि अधिकारीक धारणा अहिलेसम्म निस्किएको छैन ।
खड्काको गत २०६६/०५/२३ गते विहिवारका दिन दमकबाट निवासतर्फ जाँदै गर्दा अज्ञात समूहले बेलडागी-१ र २मा रहेको हम्से दुम्से सामूदायिक वन कार्यालय अगाडि छुरा प्रहार गरि हत्या गरेका थिए । उनलाई कसले र किन हत्या गरेको थियो भन्नेबारेमा छानविन र अनुसन्धन भइरहेको प्रहरीले जानकारी दिएको छ ।
सो सभामा धेरैजसो शरणार्थी नेतृत्वहरुको भने उपस्थिति देखिएको दिएन् ।

'भूपाली’ भारतीय सुरक्षा निकायको कोड वर्ड हो


भक्त घिमिरे अर्थात् "वि.पि. काश्यप"ले चर्चित भूटानी साहित्य तथा पत्रकारिता जगत्मा निक्कै अग्रणी स्थानमा आउने मध्येको एक नाम हो । भूटानी साहित्यलाई विशेष भूटानीहरुले नेपाली भाषामा प्रयोग गर्ने साहित्यमा जताततै 'भूपाली साहित्य’ भनेर लेखिरहँदा वहाँ त्यसलाई पटक्कै स्वीकार गर्ने पक्षमा देखिनु भएन । 'भूपाली’ भूटानी साहित्य नभएर भारतीय सुरक्षा निकायले हामीलाई संकेत गर्न प्रयोग गर्ने विशेष शब्द (कोड वोर्ड) भन्नु हुन्छ । साहित्य संसारको जुनसुकै कुनामा गए पनि साहित्य परिवर्तन नहुने उदाहरण समेत वहाँको छ । सन् १९९० बाट साहित्य पत्रकारिता क्षेत्रमा प्रवेश गरे पनि सन् २००० बाट चर्चाको शिखरतर्फ लाग्नु भएका घिमिरे इतिहासको एक पात्र बन्ने नै छन् । सन् २००० को नोभेम्बरमा प्रकाशित 'सन्देश साप्ताहिक’का प्रधान सम्पादक रहेका भक्त घिमिरेसँग प्रतीतका सम्पादक दधिराम अन्तिमले गर्नुभएको छोटो वार्तालाप प्रस्तुत गरिएको छ -

यहाँलाई साहित्य जगतमा कलम चलाउने प्रेरणा कसबाट प्राप्त भयो ? कहिले ?

- यस प्रश्नको उत्तर दिन म ठ्याक्क समयविन्दु भेट्न सक्दिनँ । म यसरी औंल्याउन लायक साहित्यकार पनि होइन जस्तो लाग्छ मलाई । यद्यपि, सन्दर्भ उठेपछि केही भन्नै पर्ने भएकोले पर्गेल्न प्रयास गर्दछु । सन् १९८० को दशकमा हुनुपर्छ, म प्राथमिक तहमा पढ्दा भारतीय साहित्यकार पारसमणि प्रधानको 'कवि कविता होस्, कविता कवि होस्, कविता तब पो हुन्छ, शब्द थुपारिकन के हुन्छ ? भाव भए पो हुन्छ’, भन्ने कवितांशले मलाई निक्कै प्रभाव पारेको थियो । त्यसपछि लगातार मेरो विचार छिप्पिँदै गयो, साहित्यतर्फ लगाव बढ्दै गयो ।

आफैंले रुचाउनु भएको आफ्नो एक लेख वा कृति ?
- आफ्ना सृजनाहरु सबै प्यारा लाग्छन्, सन्तानजस्तै । तर छान्नु वा चुन्नु पर्ने घडी आए मैले पत्रकारितामा अन्तर्राष्ट्रिय राजनीति र साहित्यको 'बीट’ लिएर जाने अठोट गरेकोले राजनीतिक लेखहरु नै बढी मनपर्छ । आफ्नै कुरा गर्दा चाहिँ 'इतिहासले भुलेको क्षणमा अनुहार र जातको सञ्जालभित्र भूटान’ भन्ने लेखलाई लिन चाहन्छु । यो लेख सन् २००२ को मध्येतिर नेपालको राष्ट्रिय मासिक 'राजदूत’ले प्रमुखता दिएर छापेको थियो । यसकै हाराहारीमा भारतीय विदेशमन्त्री प्रणव मुखर्जीले भूटानी शरणार्थीहरु भूटान फर्किए त्यहाँको 'डेमोग्राफिक इम्व्यालेन्स’ हुन्छ भनेपछि प्रतिक्रियास्वरुप लेखेको 'भूटानीहरु देश जान्छन्, मुखर्जीको 'डेमोग्राफी’ कसरी जोगाउने’ भन्ने लेख अत्यधिक मन पर्छ । यो लेखलाई भारतको गुवाहाटीबाट निस्कने नेपाली पत्रिका 'सपरिवार’ मासिकले छापेको थियो र यसै लेख वापत मैले सन् २००७ को उत्तर-पूर्वाञ्चलस्तरीय उत्कृष्ट निबन्धको रुपमा 'खगेश्वर सड्कीया स्मृति पुरस्कार’ पनि पाएको थिएँ ।

भूपाली साहित्यलाई एकै शब्दमा कसरी समेट्नु हुन्छ ?
-पहिलो कुरा त म हाम्रो साहित्यलाई 'भूपाली’ भन्न रुचाउँदिनँ । 'भूपाली’ शब्द भारतीय सुरक्षा निकायलाई संकेत गर्न प्रयोग गर्ने एउटा विशेष (कोड वर्ड) हो । हामी भूपाली होइनौं, भूटानी हौं । हाम्रो साहित्य नेपाली हो । अंग्रेजहरुको साहित्य अमेरिका, अष्ट्रेलियालगायत विश्वभरिका विभिन्न देशमा पुगेर पनि अंग्रेजी नै रहन सक्षम छ । फ्रेञ्च भाषा र साहित्य फ्रान्सभन्दा बाहिरिएका देशहरूमा सोही नाम र रुपमा प्रयोग भइरहेको छ । तिब्बतको 'छ्चोके’ भाषा-साहित्य आएर 'ड्रक्पा साहित्य’ बनेको छ । त्यसो भए हामीचाहिँ किन हाम्रो भाषा-साहित्यमा नयाँ-नयाँ टाउको र पुच्छर गाँस्तै जाने ।

तेस्रो मुलुक पुनर्वासपछि साहित्यको अवस्था कस्तो होला ?
- यो मैले भविष्यवाणी गर्ने विषय होइन । तर, पुनर्वासअर्न्तर्गत तेस्रो मुलुक गएकाहरुमा आफ्नो जाति, भाषा र सँस्कृतिप्रति मोह बढ्ने कुराचाहिँ निश्चित छ । युवाहरुबाट लगन र लगानी दुवै जुट्यो भने अहिलेभन्दा पुनर्वासपछि हाम्रो साहित्य अझ फस्टाएर जानेछ । यद्यपिः चिन्ताको विषय के हो भने त्यो साहित्य प्रयोगविहिन, कल्पनाशीलमात्र हुने सम्भावना बढी छ । त्यसप्रति स्रष्टा र सर्जकहरु आजैदेखि सचेत हुनु जरुरी छ ।

प्रसंग मोडौं, तपाईको विचारमा पत्रकारिता के हो ?
- पत्रकारिता भनेको संसारलाई देखाइएको ऐना हो । चौदिशा फर्किएको ऐना हेरेर कुनै पनि मान्छेले आफू स्वयं र संसारलाई देख्न सक्दछ ।

पत्रकारितामा तपाईको प्रवेश कहिलेदेखि भयो ?
- अनौपचारिक ९० को दशकमा अनि सन् २००० देखि औपचारिक रुपमा ।

कस्ता चुनौती आफ्नो कार्यक्षेत्रमा विशेष अनुभव गर्नुभयो ?
- पत्र-पत्रिका र सञ्चारको महत्व नबुझेका मान्छेहरुको भीडमा बौद्धिक चेतनाको कमी, आर्थिक तथा प्रशासनिक, मानसिक तथा भौतिक आक्रमणसमेत सबै किसिमका चुनौती र बाधाहरु पार गर्दै आएको छ हाम्रो पत्रकारिताले । म त्यसको सानो अङ्ग मात्र हुँ ।

हाल पत्रकारिता क्षेत्रलाई कहाँ पाउनुहुन्छ ?
- भूटानभित्रको पत्रकारिता स्वतन्त्र भएकै छैन, निर्वासनमा पनि विभिन्न कारण पत्रकारिताले मौलाउने अवसर पाएको छैन । सुसुप्त अवस्थामै छ, शैशवकालमै छ, हाम्रो पत्रकारिता । यद्यपि, सबै कुरा छोडेर यस क्षेत्रमा लागेका हाम्रा केही युवामित्रहरुको परिश्रम हेर्दा भविष्य उज्यालै हुने आशा गर्न सकिन्छ ।

तपाईको विचारमा भूटानी पत्रकारहरुले नसमेटेको विषय ?
- भूटानी पत्रकारहरुको नजर वा पहुँच नपुगेको विषय भनेको भूटानको ऐतिहासिक परिप्रेक्ष्यमा हामीलाई कसरी प्रस्तुत गरिएको छ, विभिन्न लेखकहरुले विगतमा के लेखे र आज के लेख्दैछन्, हाम्रो जातीय अवधारणा र प्रजातन्त्रप्राप्तिको आन्दोलनबीचमा के भिन्नता छ ? वर्तमान हामीप्रति विभिन्न देशका विचारकहरुमध्ये धारणा के छ, विश्वका राजनीतिक वा सामाजिक विश्लेषकहरुले हाम्राबारे के-के लेख्दैछन् भन्ने कुरा हो ।

अन्तमा, नवागन्तुक साहित्यकर्मी र पत्रकारहरुलाई सुझाव ?
- साहित्यकारहरुले सुतेको साहित्य, मरेको साहित्य नलेखेर जिउँदो, चलायमान, झर्झाउँदो साहित्य लेखुन् । यथार्थ र प्रयोजनीय साहित्य लेखुन् । विलना, हिक्का र रोदनमात्र नभई जीवन्ततापूर्ण साहित्य लेखुन् अनि पत्रकारहरुले हाम्रो समाजको अन्तरचेतनालाई खोतलेर सीप, सृजना र नवचेतनाको मुहान फुट्ने हिसाबले आफ्नो क्षेत्रलाई अघि बढाउन्, शुभकामनासहित यही सुझाव छ मेरो । पत्रकारहरुको त्यस दायित्वपथमा म स्वयं पनि एउटा अङ्ग हुँ, माथि नै भनिसकेको छु ।

साभारः प्रतीत

Friday, September 18, 2009

शिविरमा पत्रकारको सुरक्षाबारे गम्भीर चासो



शरणार्थी शिविरभित्र आजकल पत्रकारहरु असुरक्षित हुँदै गएको कुराप्रति हाल अमेरिकामा रहेका Third World Media Network Bhutan Chapter का अध्यक्ष टीपी मिश्रले सम्वन्धित पक्षको गम्भीर ध्यानाकर्षण गराएका छन् ।तितोपिरोमिठो डट कम सँगको विशेष कुराकानीमा मिश्रले पछिल्लोपटक सन्देश साप्ताहिक का पूर्व प्रधान सम्पादक भक्त घिमिरेलाई शिविर छोड्न ड्रुक लियोपर्डले दिएको चेतावनी आफैंमा आपत्तिजनक रहेको बताएका छन् ।घिमिरे मात्र नभई अरु पनि निर्वासनमा रहेका पत्रकारहरु असुरक्षित बनेको कुरा आफूलाई बारम्वार जानकारी आइरहेकोले सम्वन्धित पक्षलाई पत्रकारको सूचनाको हक सम्वन्धीको काममा वाधा नल्याइदिन मिश्रले आग्रह गरेका छन् ।“हाम्रा केही पत्रकार साथीहरुले आफूहरु शिविरबाट समाचार संकलन गर्न नसक्ने जानकारी दिएका छन् ।” मिश्रले भनेका छन् – “यो अत्यन्तै गम्भीर कुरा हो ।”मिश्रका अनुसार शिविरमा देखिएको मतभिन्नताका कारण पत्रकारहरु चपेटामा परेका छन् । “हतियारको धारमा खुट्टा राखेर समाचार संकलन गर्न वाध्य छन् पत्रकार साथीहरु ।” मिश्रले थप भनेका छन् । उनका अनुसार – “यहि स्थिति आइरहने हो भने जनताको सूचना पाउने अधिकार पूरै कुण्ठित हुनेछ ।”
भूटानमा प्रेस स्वतन्त्रताको वकालत गर्दै निर्वासनमा करिव १०० को संख्यामा पत्रकारहरु काम गरिरहेको समेत मिश्रले जानकारी दिएका छन् ।निर्वासनमा रहेका भुटानी पत्रकारहरुलाई समाचार संकलनका लागि सुरक्षित वातावरण निर्माण गर्नमा सहयोग पुर्याइदिन नेपाल पत्रकार महासंघ, अन्तर्राष्ट्रिय पत्रकार महासंघ लगायत सम्वन्धित सवै पक्षलाई मिश्रले निवेदन समेत गरेका छन् ।पत्रकारको सुरक्षाबारे मिश्रले आफनो व्लग मा विगत चार दिनदेखि निरन्तर लेख प्रकाशित गरिरहेको अवस्थामा तितोपिरोमिठोले उनीसँग सम्पर्क गरेको थियो ।‘Becoming a journalist in exile’ का लेखक/सम्पादक समेत रहेका मिश्र शिविरमा अहिले पनि सञ्चालित एकमात्र अंग्रेजी पत्रिका The Bhutan Reporter मासिकका प्रकाशक तथा प्रधान सम्पादक समेत हुन् ।


(तितोपिरोमिठो डट कम)

शिविरहरूमा सुरक्षा कडा पारिने

झापा र मोरङमा रहेका भुटानी शरणाथीका शिविरको सुरक्षलाई थप व्यवस्थित गर्ने विषयमा सुरक्षा निकायले छलफल शुरु गरेको छ ।शिविर व्यवस्थापन समितिका पदाधिकारीसँग छलफल गरि सुरक्षा निकायका अधिकारीले अपनाउन सकिने सावधानी र सुरक्षाका विषयमा शरणार्थीका अगुवासँग सुझाव लिएको हो ।आज सशस्त्र प्रहरी बल पाथिभरा गण मेचीले त्यस विषयमा दमकस्थित बेलडाँगी शिविरको शिविर व्यवस्थापन समितिका पदाधिकारीसँग शिविरमा छलफल गरेको छ ।भुटान पिपुल्स पार्टी प्रवक्ता गोपाल गुरुङले त्यस क्रममा पछिल्लोपटक शिविरको सुरक्षा अवस्थाको विषयमा सुरक्षा निकायका पदाधिकारीलाई जानकारी गराइएको बताउनु भयो ।उहाँका अनुसार शरणार्थी युवा केबी खड्काको हत्यापछि उत्पन्न परिस्थिती र शरणार्थीका नेतालाई आएको धम्कीको विषयमा समेत छलफल भएको छ ।
छलफलमा सशस्त्र प्रहरी बल पाथिभरा गण मेचीका गणपति सशस्त्र प्रहरी उपरीक्षक गणेशठाडा मगर सहभागि हुनुहुन्थ्यो ।उहाँले शिविर भित्र र बाहिर आवतजावत गर्ने शरणार्थीहरुको व्यवहारलाई निगरानी गरिने बताउँदै आउट पासको व्यवस्थालाई थप कडाई गर्ने जानकारी दिनु भयो । शिविर बाहिर निस्कदा गृह मन्त्रालय अर्न्तगतको शरणार्थी समन्वय इकाई कार्यालयको इजाजत लिएर मात्र बाहिर निस्कनु पर्ने प्रावधान भएपनि शरणार्थीले अटेर गर्दै आएका छन् । उनीहरु लुकिछिपी शिविर बाहिर निस्कने गरेका छन् ।शिविरमा मोवाइल फोनको प्रयोग बढेपछि अपराधिक गतिबिधि समेत बढेको सुरक्षा अधिकारीहरुको अड्कल छ । अहिले साँझ ७ बजेपछि शिविर भित्र जान र बाहिर आउन कडाई गरिएको छ ।

Thursday, September 17, 2009

वैकल्पिक सुरक्षाको मागँ

शरणार्थी शिविरका आठ अगुवा तथा पत्रकारहरुमाथि भौतिक कार्वाहि गरिने भनि शिविरमा नयाँ सशस्त्र समूह Druk Leopard ले केवी खड्काको हत्यापछि शिविरमा छरेको पर्चालै शरणार्थीहरुमाथि त्रास फैलाएको छ ।
शिविरबाट विस्थापित भएका अगुवाले बुद्धवार प्रशासनसगँ वैकल्पिक सुरक्षाको मागँ गरेको शरणार्थी पत्रकार भक्त घिमिरैले जानकारी दिनुभएको छ । टोलीमा शिविर सचिव वेलडागी-१२३ र पर्चामा भएका अगुवालै झापाका प्रमुख जिल्ला अधिकारी एवंम् शरणार्थी समन्वय इकाइका निदैशक नरेन्द्र दाहाललाई भैटी जिवन रक्षाको मागँ पत्र चठाएका छन् ।
प्रजिअ दाहालका अनुसार शरणार्थी शिरिबाट पछिल्लौ पटक शरणार्थी अगुवाहरुलै जिवन रक्षाको माग गरेको जानकारी दिनु भयो भनि अगुवाहरुलाई सुरक्षा निकायसगँ निरन्तर सम्र्पकमा रहन भनिएकौ छ । बुद्धबार नै प्रजिअको उपश्थितीमा जिल्ालस्थित सुरथा अधिकारीहरुको बैठकले झापा र मोरङमा रहेका शरणार्थी शिविरमा थप सुरक्षा सर्तकता बढाउनै निर्णय गरैकौ समेत दाहाल जानकारी दिएं ।
शरणार्थी शिविरकौ बेलडागीमा विशेष मोवाइल गस्ती बढाउने र शिविरमा हिसाँ बढाउने तत्वहरुलाई र्कावाही गर्नै समैत छलफल भएकौ प्रशासन निकायले जानकारी दिएको छ ।
विस्थापित शरणार्थी माध्यैमा डि।आर। कटेल भूटान गोर्खा राष्ट्रीया मुक्ति मौर्चा तैसा्रे देश पूर्नवास भइसकैका छन् भनि शरणार्थी शिविर सचिव नारदमुनि सन्यासी, गणपति अधिकारी ,भूपु सचिव सुवास आचार्य ,प्रताप सुब्बा, भक्त घिमिर, गौपाल गुरुङ लगायतका शरणार्थी अगुवा शिविर बाहिरा विस्थापित रहैका छन् ।

Monday, September 14, 2009

चेतावनी पाउनेले गुहार मागे


शरणार्थी अगुवा तथा समाजसेवी केवी खड्काको हत्यापछि शिविरमा शरणार्थी समूदायलाई लक्षित गरि नयाँ सगठन "Druk Leopard" ले हिजो शिविरमा पर्चा फालि त्रास फैलिएको छ ।

पर्चामा स्वदेश फिर्ती आन्दोलनलाई दलाहहरुले मात्र सिमीत राखेको र साधारण जनताहरु मिठो भाषामा मात्र सिमीत गरि आफ्ना नातेदारहरुलाई पलाएन गरेको भन्दै आठ जना शरणार्थी अगुवाहरुलाई शिविर छाडि बाहिरा निस्कन चेतावनी दिएको छ । शिविर बाहिर सपरिवार ननिस्केमा भौतिक र्कावाहिको श्रूंखला बढेर जाने समेत चेतवनी दिएको छ ।
पर्चामा टि.बी थापा, डिल्लीराम कटेल, सुवास आचार्य, भक्त घिमिरे, प्रताप सुब्वा, गोपाल गुरुङ, आई बी.खड्का, नारदमुनी सन्यासीको नामावली क्रमबद्ध रुपमा रखिएको छ ।
आठ शरणार्थी अगुवाहरुले आफ्नो सुरक्षाको मागँ गदै नेपाल सरकार, यूएनएचसिआर लगायत विभिन्न निकायमा निवेदन पेश गरिका छन् ।

उक्त पर्चामा क्षेप्यास्त्र नाम गरेको प्रवाश संयोजकले विना हस्तक्षर शिविरको सवजानिक ठाँउमा फालैको सुवास अर्चाय र गौपाल गुरुङको निवेदनमा उल्लेख गरिएको छ ।
केवी खड्काको हत्या सम्बन्धि कुनैपनि पार्टीले जिम्मा लिएको छैन भने सुरक्षा ब्यवस्था भने कडा पारिएको इलाका प्रहरी कार्यलयले जानकारी दिएको छ ।

ह्युरोवको प्रेश विज्ञप्ति


भुटान मानवाधिकार संगठन (ह्युरोव) ले समाजसेवी तथा पूर्व शिविर सचिव केवी खड्काको हत्या सम्वन्धमा उचित छानविन गर्न नेपाल सरकारसँग माग गरेको छ । ह्युरोवद्वारा आज प्रकाशित एक विज्ञप्तिमा खड्काको हत्यारा पत्ता लगाइ उसलाई उचित कानुनी कार्वाहीको माग समेत गरिएको छ । सो विज्ञप्ति जस्ताको तस्तै ।

“चितुवा”ले भौतिक आक्रमण गर्ने चेतावनी

भर्खरै गठन भएको भनिएको “ड्रुक चितुवा” नामक एक समूहले आठ भूटानी शरणार्थीहरूलाइ भौतिक आक्रमण गर्ने चेतावनी दिएको छ । पहिलोपल्ट नाम सुनिएको समूहले वेलडाँगीका ३ वटै शिविरका सार्वजनिक ठाउँहरूमा आज विहान चेतावनीसहितका पम्पप्लेट टाँसेका छन् ।चेतावनी दिइएका शरणार्थीहरूलाई परिवारसहित जतिसक्दो चाँडो शिविर छाड्न या त शारिरीक आक्रमणको सामना गर्न पनि ती पम्पप्लेटमा उल्लेख गरिएको छ । “चितुवा”ले ती शरणार्थीहरूलाइ पहिले स्वदेश फिर्तीको कुरा उछाल्ने र अहिले आएर धमाधम आफ्ना नातेदार र परिवारका सदस्यलाइ तेश्रो देश पठाइरहेको पनि आरोप लगाएको छ ।
चेतावनी दिइएका शरणार्थीहरूमा टी.वी.थापा र गोपाल गुरूङ (भूटान पिपुल्स पार्टीसँग सम्वन्धित), डि.आर. कट्टेल (भुटान गोर्खा राष्ट्रिय मुक्ति मोर्चा), सुवास आचार्य (बेलडाँगी – २ विस्तारितका पूर्व सचिव), भक्त घिमिरे (सन्देश साप्ताहिकका पूर्व प्रमुख सम्पादक), प्रताप सुव्वा (शनिश्चरे शिविरका पूर्व सचिव), नारदमुनि सन्यासी (वेलडाँगी – २ का पूर्व सचिव) र आइ.वी. खड्का रहेका छन् ।चेतावनी दिएकामध्ये कट्टेल अहिले आइ ओ एम ट्रान्जिस केन्द्र काठमाण्डमा रहेका छन् केहि दिनमा अमेरिकाका लागि उड्नेछन् ।छेप्यास्त्रको नाममा हस्ताक्षर गर्नेको पद ड्रुक चितुवाको क्षेत्रीय संयोजक लेखिएका ती पम्प्लेटहरू सादा कम्प्युटर पेपरमा भएकोले यो समूह अस्तित्वमा छ नै भनेर विश्वास गर्ने आधार चाहिँ देखिँदैन ।गत सेप्टेम्वर ८ का दिन समाजसेवी के वी खड्काको हत्या भएकोमा अहिलेसम्म कुनै पनि व्यक्ति वा समूहले जिम्मेवारी नलिएको अवस्थामा यो प्रकरण थप रहस्यपूर्ण बनेको छ ।


Saturday, September 12, 2009

शरणार्थी पक्राउ

भुटानी शरणार्थी शिविर, बेलडाँगी-१ बाट प्रहरीले हिजो राती ३ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा बेलडाँगी - २ (विस्तारित), सेक्टर इ २, छाप्रो नं. २८ का खड्ग सुव्वा, बेलडाँगी - १ सेक्टर वी १, छाप्रो नं. १२ का आइत राज राइ र शनिश्चरे शिविर, सेक्टर बी १ छाप्रो नं. ३२ का किरण राई छन् ।उनीहरुले बेलडाँगी - २ सेक्टर बी ४, छाप्रो नं ३१-२१ का दीर्घ मगरको घरमा राति झण्डै नौ बजेको समयमा गई आक्रमण गरेका थिए । उनीहरुको आक्रमणमा परि भावना अधिकारीको देव्रे हात काटिएको छ भने ट्यामे मगरको टाउकोमा चोट लागेको छ भने अन्य ८-९ जना सामान्य घाइते भएका छन् ।

Friday, September 11, 2009

हत्याको बिरोधमा बन्द

भुटानी अगुवा केबी खड्काको हत्याको बिरोधमा आज पनि बेलडागीँ बजार बन्द रहेको छ ।
मगंलबार बेलुका दमकबाट भुटानी शरणार्थी शिविर बेलडागीँ जानेक्रममा खड्काको अज्ञात ब्यक्तिलहरुले छुरा प्रहार गरि हत्या गरेका थिए ।
हत्याको बिरोध गर्दै बेलडागीँका ब्यापारीहरुले हिजो र आज बजार र पसलहरु बन्द गरेका छन ।
बेलडागीँ ३ का पूर्व क्याम्प सचिव रहेका खड्काको हत्याको बिरोधमा शिविरमा रहेका सम्पुर्ण प्रशासनिक निकाय समेत बन्द छन् ।
हत्यापछि शरणार्थीहरु त्रसित बनेका छन् । शिविरमा सुरक्षा व्यवस्था कडा पारिएको छ । सशस्त्र र जनपथ प्रहरी शिविरमा उल्लेख्य मात्रामा परिचालन गरिएको छ ।
शिविर व्यवस्थापन समितिको आव्हानमा बजार, स्कुल, स्वास्थ्य संस्था बन्द रहेको छ ।
समितिले हत्याराको पहिचान गरी तत्काल कारवाहीको माग गरेको छ । प्रहरीले घटनामा संलग्नको खोजी भईरहेको जानकारी दिएको छ।

Thursday, September 10, 2009

सबका राजा केवी मामा


समाजसेवी तथा अगुवा केवी खड्का मेरो मात्र मामा नभएर हामी सबलाई माया गर्ने एक ब्यक्ति हुनुहुन्थ्यो । वहाँ शरणार्थीहरुको हक-अधिकारका निम्ति अहोरात्र काम गर्नु हुन्थ्यो । हिंसा, दुर्ब्यवहार र जाली कामका विरुद्ध सबैले काम गर्नु पर्छ भनी हामी युवा तथा पत्रकारहरुलाई अर्तिउपदेश दिइरहनु हुन्थ्यो ।
शिविरभित्र दिन-प्रतिदिन हिंसा, दुर्ब्यवहार, करणी, अपहरण, पारपाचुके, जस्ता आतंकपूर्ण गतिविधिले जेलिंदै विकारल रुप लिन थालेपछि लुथरन विश्व फेडेरेसन नेपालको सहयोगमा सात शिविरमा शान्ति समितिको स्थापना गरि मामा, म लगायत सुकराज राई बेलडाँगीबाट सचिवको रुपमा रहि विधान निर्माणको काममा जुटेका थियौं । मामाको हरपल सहयोगमा सुकराज र मैले (अन्य मित्रको सहयोगमा) वालमञ्च कार्यलयमा बसी विधान लेखी दर्ताको निम्ति चन्द्रगढस् पुगेको आज पनि सम्झना छ ।
मामाले सन् १९९२ देखि शरणार्थी शिविरमा समाजिक तथा धार्मिक अनि स्वदेश फिर्तीको पक्षमा लामो समयसम्म काम गरिरहनु भएको थियो । सबैको लोकप्रिय मामालाई मिति २०६६/५/२३ गते दमकबाट निवासतर्फ जाँदै गर्दा अपरिचित दुइ आक्रमणकारीले शिविर नजिकैको हंसे दुम्से सामूदायिक वन कार्यलयअगाडि पट्टि छुरा प्रहार गरि घटनास्थलमै ज्यान लिए । मामाले त सबैको पक्षामा काम गरेका थिए । कसैलाई पाखा, कसैलाई काख त कहिले पनि गरेका थिएन् । तर पनि ती भद्र पुरूषलाइ किन ती निर्दयी अपराधीले विना कसूर मारे ?

शरणार्थीहरुको स्वदेश फिर्ती पक्षको माग गर्न मामाको नेतृत्वमा भारत-नेपाल र अन्य देशमा ज्ञापन पत्रमार्फन धेरै ठूल-ठूला काम भईसकेका थिए । स्वदेश फिर्तीको पक्षमा सरकारी निकायबाट आएको सुझाव जस्ताको तस्तै पत्रकार समेल गरि सबैलाई सुनाइ आशावादी बनाएका थिए मामाले । तर काम गदै जाँदा शरणार्थीहरुका निम्ति अर्को नयाँ विकल्प निस्कियो - तेस्रो मुलुक पुनर्स्थाना। तेस्रो मुलुकका निम्ति शरणार्थीहरु धेरै इच्छुक भई फारम भरे अनि गए र जाँदैछन् पनि तर कुनै विरोध जनाएन् मामाले । जस-जसले विरोध जनाई बाटो छेक्न् खोज्थे उनीहरुलाई राम्रोसगं सम्झाउनु हुन्थ्यो र भन्नुहुन्थ्यो आन्दोलन भनेको लामो समयसम्म चलिरहने कार्य हो, तेस्रो मुलुक कोहि गएभने पनि हामीलाई सहयोग हुन्छ अनि विश्वले नै थाहा पाउँछ हाम्रो स्वदेश फिर्तीको मागलाई ।
सबैलाई परेको दुःख मेरै दुःख भनि काम गर्नु हुन्थ्यो । तर मामाले जब तेस्रो मुलुकको कार्य शिविरमा भित्रिएको दिनदेखि नै शिविरमा हिंसा, नेपाली नागरिकलाई भूटानी बनाउने तत्वहरुको विरोध जस्ता कार्यमा विरोध गरिरहनु भएको थियो ।
यसै शिलशिलामा मामाले मलाई दमकको कोठामा बोलाएर भन्नु भएको थियो "भान्जा शिविर त दिन-प्रतिदिन अपराधीहरुको बास बस्ने ठाउँ भएको छ, पत्रकारहरुले यसको विरूद्धमा केही लेख्नु पर्छ भनि केही घटनाहरुको स्मरण गराउनु भएको थियो । जस्तैः घरेलु हिंसा, अपहरण, पर्चापम्लेट छरि शरणार्थीहरुलाई आतंकित बनाउने, वलात्कार गरी शिविरमै बसेको, शरणार्थी अगुवाहरुको ज्यान मारि विभिन्न पार्टी खोल्ने, तेस्रो मुलुकको लागि मोटो रकम दिई पलायन हुने र जाली नोटको कारोबार गर्ने जस्ता विवरण केहि दिनमा सबै दिन्छु भन्नु भएको थियो । तर अपुरो नै रह्यो त्यो कार्य ।
अर्को कुरा मामाको मोटरसाइकलबाट एक्सिडेन्ट भई बाँया हात त्यति चल्दैन थियो । मलाई साइवरमा फोन गरेर बोलाउनु हुन्थ्यो र अमेरिकामा पुगेका शरणार्थी आफन्तसँग च्याट गर्न लगाउनु हुन्थ्यो । तर घटना हुनुभन्दा केहि दिनअगाडि जहाँ लुथरन विश्व फेडेरेसनको २५ औं रजत जयन्तीको कार्यक्रम थियो, त्यसबेला शिविर सचिवले माग गरेको विदेश भ्रमणको कागज लिई शिविर सचिवका साथ साइवरमा मलाई प्रेश विज्ञप्ति निकाली दिन आग्रह गर्नु भयो । मैले राम्ररी कुराहरु बुझेपछि कम्पूटरमा टाइप गरि दिएँ । त्यसमा विदेश भ्रमण नजाने भनि सातवटै शिविर सचिबको हस्ताक्षर संकलन गरि पत्रकारहरुलाई फोटोकपि गरि बाँड्दिनु भयो । त्यस दिनदेखि मैले मामालाई नभेटेको एक हप्ता नै भएको थियो । मामाले कहिले पनि आफ्नो शरिरमाथि धाकधम्कि भइरहेको कुरा कहिले पनि सुनाउनु भएन। खाली कहाँ, कस्लाई के भयो, के भो कस्लाई जस्ता प्रश्नमात्र गर्नु हुन्थ्यो । तर एक दिन अचानक मामामाथि आक्रमण भएको खवरले म दुखित भए । मामाको घटनासम्बन्धि शरणार्थी प्रभावित क्षेत्रका अगुवा, शरणार्थी सचिव टि.बी गुरुङ लगायत प्रशासन निकायमा स्थानिय पत्रकार कुमार लुइटेल, राजन दाई र म बसि घटना सम्बन्धि सबै कुरा बुझि मनमा अशान्त बोकि अनलाइन पत्रिकामा ब्रेकिङ समाचार लगायौं। घटना कसले र किन गर्यो भनेबारेमा म दमक इलाका प्रहरी कार्यलयमा पुगि प्रहरीसगँ बुझें तर केहि प्रमाण फेला नपरेका कारण प्रहरीले जानकारी दिन सकेन् तर आक्रमणकारीको साथमा रहेको केहि समान चाहिं मुद्दा फाँटकी अर्सइ गंगा राईले सार्वजनिक गर्नुभयो र उहाँहरु थप अनुसानधनको निम्ति शिविर जानुभयो ।
आज त घटना घटेको पनि दुइ दिन भईसकेको छ तर पनि कसले र किन यो घटना गराएको भन्ने बारेमा थाहा हुन आएको छैन ।
मलाई मामाको हत्या राजनैतिक तथा सामाजिक कारणबाटै भएको होला जस्तो लाग्छ । यस कुरामा अरूको पनि यस्तै विश्लेषण छ । जब मामाको शव पोष्टमर्टम गरि घर लगियो त्यसबेला मामालाई हार्दिक श्रदाञ्जली दिन स्थानिय मानवअधिकारवादी, राजनैतिक प्रतिनिधि, समाजिक कार्यकर्ताहरु, शरणार्थी शरोकारवालहरु र शरणार्थी समूदाय आँखमा आँसु बोकी शव यात्रामा सामेल भए । शरणार्थी युवा र सुरक्षा निकायलाई भिड नियन्त्रण गर्न गाह्रो परिरहेको थियो । कसैले पनि तपाई अलिक पर सर्नु त भन्ने कुरै थिएन । सबैका लोकप्रिय समाजिक कार्यकर्ता केवी खड्काको शवलाई केहि छिनमै सबैले रतुवा खोला जलाएर घर फर्किए मनलाई अशान्त पारेर ।
यस घटनाप्रति घोर भर्त्सना गर्दै नागरिक समाज, विभिन्न राजनैतिक पार्टी शान्ति समिति लगायत मानवअधिकारवादीहरुले घटनाको छानविन गरि दोषीमाथि कडाभन्दा कडा कावार्ही गर्नुपर्ने मागँ राखी शिविर सचिवहरु हिजो चन्द्रगढी पुगी सुरक्षाको माग गर्दै घटनाको छानविनमा नेपाल सरकारले सहयोग गर्नुपर्ने भन्दै ज्ञापन पत्र झापाका प्रमुख जिल्ला अधिकारीलाई बुझाएका छन् ।

यस्तै हो भने शिविरमा को बस्न सक्छ र ? हाम्रो सुरक्षामा कसले चासो देखाउने हो ? केवी मामा जस्ता असल र समाजसेवी मान्छेलाइ त अनाहकमा मारे, हामी जस्ता सर्वसाधारणको ज्यानको सुरक्षा कसरी होला अव ? त्यसैले नेपाल सरकारसँग हाम्रो एउटै माग छ, हाम्रो जीउधनको सुरक्षाको राम्रो प्रवन्ध होस् । नत्र हामी आफ्नो घरबार र देश नभएका शरणार्थीहरू कहाँ जाने सुरक्षा खोज्दै ?

Wednesday, September 9, 2009

खड्काको दाहसंस्कार सम्पन्न


भुटानी शरणार्थी शिविर, बेलडाँगीमा हिजो हत्या गरिएका शरणार्थी अगुवा तथा समाजसेवी केवी खड्काको आज दाहसंस्कार गरियो । उहाँको शवलाई चन्द्रगढीबाट पोष्टमर्टम गरि बेलुकी पाँच बजेतिर उनको वेलडाँगीस्थित निवासमा ल्याइएको थियो ।

उहाँको शवयात्रामा करिब १०,००० भूटानी तथा नेपाली सहभागी भएका थिए । विभिन्न राजनैतिक पार्टी प्रतिनिधि, विभिन्न संघसंस्थाका प्रतिनिधिहरू, शरणार्थी सरोकारसमद्ध, मानवाधिकारवादी, पत्रकार लगायत सवै पक्षका व्यक्तिहरूले उहाँको अन्तेष्टिमा सामेल भएर मृत आत्माको चीरशान्तिको कामना गरेका थिए ।
मृतक खड्का जेठा छोरा जितले बावुको चितामा साँझ 6 बजेतिर दागवत्ती दिएका थिए ।

केवी खड्काको हत्या भएकोमा घोर भर्त्सना गर्दै विभिन्न राजनैतिक तथा सामाजिक संघसंस्थाहरुले आज विज्ञप्ति प्रकाशित गरेका छन् । जुन यस प्रकार छन् ।


Tuesday, September 8, 2009

हत्यारा २ जना


केवी खड्काको हत्या सम्वन्धमा थप जानकारी केही पाइन्छ कि भनेर वेलुका आठ बजेतिर म दमकस्थीत इलाका प्रहरी कार्यालय पुगेको थिएँ । मलाइ कार्यालयबाट जानकारी दिइएअनुसार घटनाका प्रत्यक्षदर्शी तथा केवीसँगै मोटरसाइकलमा सवार खड्काका नाति डम्वर कुमार कार्की (वेल-१, एफ ३, २६७) थिए । उनका अनुसार नकाव लगाएका दुइ व्यक्तिले हात उठाएर मोटर साइकल रोक्न खोजेको तर खडकाले मोटरसाइकल नरोकेपछि अगाडीको चक्कामा रड घुसाइ मोटरसाइकल रोकेर एक्कासी जथाभावी छुरा प्रहार गरेका थिए । त्यसपछि ती आक्रमणकारीहरु जंगलैजंगल भागेका थिए ।
शिविरमा वेलुकादेखि सुरक्षा स्थिति कडा पारिएको छ । र हालसम्म घटना कसले र किन गरायो भन्ने खुल्न सकेको छैन ।

२० हजार नाघे

बिस हजार भन्दा धेरै भुटानी शरणार्थी तेस्रो मुलुक पुनर्वासमा गएका छन् ।
भूटानबाट लखेटिएर नेपाल आएका शरणार्थीहरू पुनर्बासको सिलसिलामा नेपालस्थित शिविरबाट विभिन्न तेस्रो मुलुक पुगेका हुन् ।
शरणार्थी मामिला सम्बन्धि संयुक्त राष्ट्रसंघीय उच्चयोग (यूएनएचसीआर) र अन्तर्राष्ट्रिय आप्रवासी सङ्गठन (आइओएम) ले विस हजार भन्दा धेरै भुटानी शरणार्थी अमेरिका सहित विभिन्न सात मुलुकमा पुनर्वास गर्राईएको आज संयुक्त प्रेस विज्ञप्ती प्रकासित गरि घोषणा गरेका हुन् ।
नोभेम्बर २००७ मा पुनर्बास शुरू भएदेखि हालसम्म संयुक्त राज्य अमेरिकाले सबभन्दा बढी १७ हजार ६सय १२ शरणार्थीहरू पुनर्बास गराएको छ । जसमध्ये धेरैजसो टेक्सास, न्यूयोर्क, जर्जिया, एरिजोना, पेन्सभेनिया र क्यालिफोर्नियामा पुनर्बास भएका छन् ।
अस्ट्रेलियामा ८ सय ४६, क्यानडामा ६ सय ७४, नर्वेमा २ सय ९९, न्यूजिल्याण्डमा २ सय ९४, डेनमार्कमा १ सय ७२ र नेदरल्याण्ड १ सय २२ जना पुनर्स्थापित भएको आयोगले जनाएको छ ।
शरणार्थीहरूलाई नयाँ देशमा नयाँ जीवन शुरू गर्न उदारतापूर्वक मौका प्रदान गर्ने मुलुकप्रति आभार व्यक्त गर्दै नेपालस्थित यूएनएचसीआरकी कायम मुकायम प्रतिनिधि डायन गुडम्यानले अवसर रोज्न शरणार्थीहरु स्वतन्त्र रहेको जनाउनु भएको छ ।
प्रत्येक महिना दुइ हजार शरणार्थीहरूको प्रस्थान यात्रालाई सहजीकरण गर्न आइओएमले भौतिक संरचना स्थापना गर्नुका साथै दक्ष जनशक्ति तयार गरेको र यस वर्षको अन्त्यसम्ममा २५ हजारभन्दा बढी शरणार्थीहरू पुनर्बासका लागि लगिने अपेक्षा रहेको आइओएमको नेपालस्थित मिसन प्रमुख सरत दासले बताउनु भएको छ । पुनर्वासमा जान ७८ हजार भन्दा धेरै शरणार्थीले इच्छा व्यक्त गरेका छन् ।

अगुवाहरूबाट समवेदना तथा सान्त्वना


पत्नी विष्णु कुमारीका साथ मृत खड्का
हिजो हत्या गरिएका बेलडागी-२ (विस्तारित)का पूर्व सचिव तथा सामाजिक कार्यकर्ता केवी खड्काको भूटानी शरणार्थी शिविर स्थित उनको घर पुगि नेपाल तथा भूटानका विभिन्न मानवअधिकारवादी संस्थाका प्रतिनिधि, स्वदेश फिर्ती सम्वन्धि सघं-सस्थाका अगुवाहरू, नागरिक समाज लगायत शरणार्थी शैक्षिक संस्था कारितासका प्रमुखहरुले उनका परिवारजनलाई सान्तवना दिँदै समावेदना प्रकट गरेका थिए ।
उनीहरूले नेपाल सरकारले सो घटनामा सम्लग्न ब्यक्तिहरुको खोजी गरि कडाभन्दा कडा र्कावाहि गर्नु पर्ने, सम्पूर्ण शरणार्थीहरुले अपराधीको खोजीमा प्रहरीलाई सहयोग गरी शिविरमा दिनप्रतिदिन घटने मानवीय घटनाहरुको रोक्थाममा जुट्नु पर्ने साथै शरणार्थीको सुरक्षा जस्ता माग गरेका छन् । खड्काको शव आजै पोष्टमर्टमका लागि मंगलबारेबाट भद्रपुर अस्पताल लगेको प्रहरीले जानकारी दिएको छ ।

दमकबाट गएका विभिन्न संघसंस्थाका प्रतिनिधिहरू खड्कापरिवारलाइ सान्त्वना दिँदै
खड्को दाहसंस्कार आज अपरान्ह झापाको रतुवा खोलामा हुने भएको छ । खड्काको हत्या कस्ले, किन गरेको भन्नेबारेमा जानकारी प्राप्त नभएको र अहिलेसम्म कसैले पनि जिम्वेवारी नलिएको दमक प्रहरीले जानकारी दिएको छ ।

सामाजिक कार्यकर्ता केवी खड्काको हत्या

भुटानी शरणार्थी बेलडाँगी - २ (विस्तारित) शिविरका पूर्व सचिव तथा सामाजिक कार्यकर्ता केवी खड्काको आज साँझ साढे छ बजे हत्या भएको छ । वेलडाँगी-१ र २ को विचमा रहेको हंसे दुम्से सामुदायिक वन उपभोक्ता समूहको कार्यालय नजिक अज्ञात आक्रमणकारीको छुरी तथा रड प्रहारबाट उनको हत्या भएको हो । उनको घटनास्थलमै मृत्यु भएको बेलडाँगी - १ शिविर सचिव टी.वी. गुरुङले बताउनु भएको छ ।

शरणार्थी शिविरका एक सकृय सामाजिक कार्यकर्ताका रुपमा कृयाशील खड्काको पूरा नाम कर्ण बहादुर खड्का हो । उनी भूटान ललाइ व्लकबाट शरणार्थीको रुपमा नेपाल आई सन् १९९२ देखि वेलडाँगी - २ (विस्तारित) को सेक्टर ए २, छाप्रा नं. ०९ मा बस्दै आएका थिए ।

उनको छातीको दायाँपट्टि छुरा प्रहार गरिएको युवा मैत्री केन्द्रका संयोजक मानधोज गुरुङले बताए । अहिले उनको शव सशस्त्र प्रहरी वलले उठाएको र परिवारजन शोकाकुल अवस्थामा रहेको पनि गुरुङले जानकारी दिएका छन् ।
(थप जानकारीका लागि प्रतिक्षा गर्नु होला)

Monday, September 7, 2009

शिविरमा इन्धनको समस्याले

आगो सल्काउने बेलामा दाउरा र कोइलाको अभाव, साँझमा बत्ती बाल्ने बेलामा मट्टितेलको अभाव उर्जाको यो अभावले शरणार्थीलाई हैरान बनाएको छ ।सहायता संस्था लुथरन विश्व महासंघले हरेक महिना खाना पकाउन शरणार्थीलाई ब्रिकेट कोइला दिन्छ । आधा दर्जन सदस्य भएका शरणार्थी परिवारले २५ किलो, आठ जनासम्म सदस्य भएका परिवारले ३० किलो र आठजना भन्दा बढि सदस्य भएका परिवारले ३५ किलो ब्रिकेट पाउँछन् । त्यो सँगै कोइला सल्काउन भन्दै हरेक छाप्रामा महिनाको एक घनो बाँस पनि दिइन्छ ।साँझ विहान देखिने धुँवाको कुइरीमण्डलले शरणार्थीलाई खाना पकाउन समस्यै छ भन्ने बुझाउँछ । न कोइलाले महिना मर्छ, न सुखले भात पकाउन नै सकिन्छ । शरणार्थीलाई इन्धन सहयोग गर्ने अर्को संस्था बज्र फाउण्डेसन हो । यसले शरणार्थीका हरेक दुईवटा छाप्राका विचमा घामबाट भात पाक्ने छाते चुल्हो दिएको छ । यो चुलोलाई प्याराभोलिक भनिन्छ । सातै शिविरमा गरेर छ हजार चारसय ४७ थान घामबाट खाना पकाउने छाते चुल्हो बाँडिएको छ । आकाशमा बादल लाग्यो भने वा हावाहुरी चल्यो भने यो चुल्होको काम छैन ।
विद्यार्थी भएको छाप्रामा त इन्धनको समस्याले झन धुरुक्कै पार्छ । महिनामा पाउने एक लिटर मट्टितेलले एक छेउ पनि थेग्दैन । विद्यार्थीहरु न बेलामा खाना खाएर विद्यालय जान पाउँछन् न त रातको समयमा लेखपढ गर्न नै ।
एकातिर दिइएको सहायताले नपुग्ने समस्या त्यहिँमाथि इन्धनको आपूर्ति पनि नियमित छैन । हरेक महिनामा दिनुपर्ने ब्रिकेट र मट्टितेल कोहीवेला दुई तीन महिनासम्म पनि नआउने शरणार्थीको गुनासो छ । शरणार्थीको आवश्यकता एकातिर छ अर्कातिर सहायता निकाय आफ्नै समस्या देखाउँछन् ।
शरणार्थीको गाँस र बासको व्यवस्था गर्न थुप्रै संस्थाहरु लागिपरेका छन् । तर उनीहरुको न्यूनतम आवश्यकतासमेत पूरा नहुने गरि दिइने राहतलाई के भन्ने ? खाना पकाउन चाहिने इन्धन जस्तो अत्यावश्यक चिज समयमै र चाहिएजति नपाउँदा हुने समस्या शरणार्थीले मात्रै भोगेका छन् तर यसको अनुभूति सहायता संस्थाका प्रतिनिधिलाई समेत हुनु आवश्यक छ ।
गोपाल(पूर्वसन्देशबाट साभार)

खाद्यको गुणस्तर खस्कँदै

राष्ट्रसंघिय बिश्व खाद्य कार्यक्रमले भुटानी शरणार्थीलाई दिइरहेको खाद्यको गुणस्तर खस्कँदै गएको गुनासो आइरहँदा बिश्व खाद्य कार्यक्रमको रोम स्थित कार्यालयका गुणस्तर अधिकारी शरणार्थी शिविर आइपुगेका छन् ।इटलीको राजधानी रोमस्थित बिश्व खाद्य कार्यक्रमको मुख्यालयका बर्टनार्ड नामका ती गुण्स्तर अधिकारीले अस्ति बुधबार मोरङको शनिश्चरेस्थित भुटानी शरणार्थी शिविरपुगी त्यहाँ बितरित खाद्यको २० वटा नमुना संकलन गरेका छन् ।स्रोतहरुका अनुसार उक्त शिविरमा गएको असार महिनामा अखाद्य खेसरी मिसाइएको चना बितरण गरिएको थियो ।ती अधिकारीले संकलन गरेको खाद्य सामग्रीको नमुनाको ब्याकटेरिया समेत परीक्षण गरिने बताइएको छ ।तर खाद्य सामग्रीका गुणस्तर अधिकारी अनुगमनका लागि आउने खबर पहिले नै स्थानीय तहसम्म थाहा भइसकेको हुँदा गुणस्तर खस्किएको वास्तविक तथ्य ढाकछोप हुनसक्ने शरणार्थीको भनाइ छ ।

Tuesday, September 1, 2009

पत्रकारीता सम्बन्धि अभिमुखिकरण तालिम

शरणार्थी युवाहरुका लागि आयोजित आधारभूत पत्रकारीता सम्बन्धि तीन दिने अभिमुखिकरण तालिम आइतबार झापाको दमकमा रहेको बेलडाँगी-२ को युवा मैत्री केन्द्रमा सम्पन्न भयो ।

युवा मैत्री केन्द्र र प्रतित साहित्यिक पत्रिकाको संयुक्त आयोजनमा भएको तालिममा झापा र मोरङका सातवटै शिविरमा रहेका युवा मैत्री केन्द्र र सञ्चार क्षेत्रका ६ महिलासहित २६ जना शरणार्थी सहभागी थिए । तालिममा प्रेस चौतारी झापाका अध्यक्ष गोपाल गड्तौला र उज्वल प्रसाईले सहजीकरण गरेको थिए ।
तालिम समापन कार्यक्रममा मैत्री केन्द्रका सह-कार्यक्रम संयोजक मनोरथ पोख्रेल र भूटानी साहित्यकार याम थुलुङ उज्यालो नेटवर्ककी सावित्रा ढुंगाना लगायतले बोल्दै शरणार्थी समाजका गतिविधिहरुलाई अझ सजिलो रुपले जस्ताको तस्तै बाहिर ल्याउन तालिमले सहयोग पुर्याउने विश्वास ब्यक्त गरेका छन् ।

लुथरनको २५ औं रजत जयन्ती


लुथरन विश्व फेडरेशनले आफ्नो २५ औं स्थापना दिवसको अवसरमा आज विविध कार्यक्रम गरि मनाएको छ । दमकस्थित लुथरनले आयोजना गरेको सो कार्यक्रममा संस्थामा २५ वर्ष सेवा गरेका कर्मचारीहरुलाई कदरपत्रसहित सम्मान गरेको छ भने क्रमशः २०, १५ र १० वर्षसम्म सेवा गरेका कर्मचारीहरलाई पनि कदर गरेको छ । दमकमा आयोजना गरेको सो कार्यक्रममा शरणार्थी मामिला सम्वन्धि अन्तराष्ट्रिय संस्था युएनएचसीआरकी दमक प्रमुख रैनावति रेनावतिले कर्मचारीलाई सम्मान तथा कदर पत्र प्रदान गर्नु भएको थियो । कार्यक्रममा उहाँले लुथरनलाई युएनएचसीआरको तर्फवाट निरन्तर सेवा सुविधा उपलव्ध गराउने प्रतिवद्धता समेत जाहेर गर्नुभयो ।

कार्यक्रममा एक दर्जन कर्मचारीहरुलाई सम्मान गरेको थियो । कार्यक्रमको सभापतित्व लुथरनका दमक प्रमुख ध्रुवराज पण्डितको अध्यक्षतामा भएको थियो । सो कार्यक्रममा सवै शरणार्थी शिविरका तर्फबाट शिविर सचिबको प्रतिनिधित्व गर्दै सचिब टि.वि.गुरुङले नेपाल सरकार र दातृ सघं-संस्थासंग शरणार्थीको दर्ता प्रकृयामा जोड दिन आग्रह गर्नु भएको थियो भनि लुथरनलाई शुभकामना पत्र बुझाएका थिए। ।त्यसै गरि भूटानी शरणार्थी बालमञ्चका कार्यक्रम संयोजक इन्द्र तिम्सिनाले बालबालिकाको क्षेत्रमा निरन्तर सेवा सुविधा प्रदान गर्न आग्रह गर्दै शुभकामना पत्र ध्रुवराज पण्डिलाई बुझाएका थिए । त्यसै गरि कार्यक्रममा नेपाल सरकारका प्रतिनिधि मोरङ्गका स्थानिय विकास अधिकारी, कारितास नेपाल, विशव खाद्यन्न कार्यक्रम, आप्रवाश संगठन, स्थानिय संघ-संस्थाका प्रतिनिधिहरुको उपस्थिति रहेको थियो ।